विराटनगर- कोशी प्रदेश लगानी सम्मेलनमा ४७ वटा परियोजनामा सम्झौता भएकोमा त्यसमध्ये दुईवटा पाँचतारे स्तरका होटल छन्। गएको बैशाखमा भएको सम्मेलनमा प्रत्युस राउतले होटल रोयल्टन र विजय चौधरीले ‘द एक्सिस होटल’मा लगानी सम्झौता गरे।
रोयल्टनमा २ अर्ब ३० करोडको र द एक्सिसमा १ अर्ब ७५ करोड रुपैयाँका लागि कोशी प्रदेश सरकारसँग सम्झौता भएको छ। सम्झौतासँगै होटलको निर्माण प्रक्रिया अगाडि बढिसकेको छ।
श्री एक्सिस हस्पिटालिटी प्रालिले निर्माण गर्न लागेको द एक्सिस होटलमा सम्झौता भएभन्दा दोबर लगानी हुने भएको छ। होटलका सञ्चालक चौधरीले २ अर्ब ८० करोड रुपैयाँको लागत अनुमान गरिएको भए पनि ३ अर्ब रुपैयाँ लगानी पुग्ने बताएका छन्।
विराटनगर महानगरपालिका-६ स्थित ब्रह्मापुरमा निर्माण हुने एक्सिस होटलमा रेस्टुरेन्ट, स्विमिङपुल, बार, जिम, ब्युटी पार्लर, साउना, सेमिनार हल, बेन्क्वीट हल, मिटिङ हल रहने भएको छ। ४ बिघा १३ कट्ठा १९ धुर जग्गामा निर्माण हुन लागेको होटलले स्थानीयलाई योग्यता, सीप र इच्छाअनुसार रोजगारी दिइने भएको छ।
वन तथा वातावरण मन्त्रालयमा प्रकाशित वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा चारवटा भवन र २१५ कोठामा ३५० बेड रहने उल्लेख छ। जोगवनी नाकाबाट ७ किलोमिटरको दुरीमा खुल्न लागेको होटलमा मुख्यरुपमा भारतीय पर्यटक आउने अनुमान गरिएको छ।
बिल्डिङ सर्भिसदेखि पाँचतारे होटलसम्म
सप्तरीको राजविराजका चौधरी काठमाडौंका स्थापित व्यवसायी हुन्। कृषि पेसाबाट कर्पोरेट बिजनेसमा लागेका उनी परिवारका पहिलो पुस्ता हुन्। पाँच भाइमध्येका चौथो छोरा विजय व्यवसायमा छन् भने अर्का दाइ कमल विभिन्न होटलको म्यानेजमेन्ट हेर्छन्।
२५ वर्षदेखि हिमाल रेफ्रिजेरेसन प्रालि सञ्चालनमा ल्याएका उनले बिल्डिङ सर्भिसको गर्छन्। ठूला भवन तथा होटलमा एचभीएसी, फायर फाइटिङ, इलेक्ट्रिकल, स्यानेटरी एण्ड प्लम्बिङलगायत काममा अब्बल छ 'हिमालय रेफ्रिजेरेसन'।
ललितपुरको सानेपामा कर्पोरेट अफिस सञ्चालन गरेका उनले सुकेधारामा रहेको मर्क्योर होटलको बिल्डिङ सर्भिसको काम गरिरहेका छन्। बिल्डिङको संरचना निर्माण भएपछि सम्पूर्ण सजावट र अपरेसनको काम गर्ने गरेको बताउँछन् चौधरी।
होटल एक्सिस एकलरूपमा सुरु गर्न लागेको बताउँदै उनले दीर्घकालीन लगानीको योजना अगाडि सारेको सुनाए। ट्रेडिङ बिजनेसले स्थायित्व नदिने बुझेका चौधरीले हस्पिटालिटि इन्डस्ट्रीमा धेरै सम्भावना देखेका छन्। विराटनगरमा खासै साइनो नभएका उनी नयाँ सम्बन्ध बनाउने तयारीमा छन्।
तीन अर्ब लगानीको लागि विराटनगरको छनौट नै किन? भन्ने प्रश्नमा चौधरीले भने, ‘विराटनगर आर्थिक हिसाबमा चलायमान सहर हो। यो प्रदेशको राजधानी पनि भएको र पाँचतारे होटलको लागि भर्जिन मार्केट हो भन्ने मलाई लाग्छ। छिमेकी देश भारतका पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेजमा काम गर्न सकिन्छ। भारतीय जनसङ्ख्या धेरै भएकाले त्यो ठूलो बजार छ। विराटनगरमा चुनौती पनि धेरै छ र चुनौतीअनुसारको कमाइ पनि हुन्छ।’
द एक्सिस होटलको अपरेसनका लागि अन्तर्राष्ट्रियस्तरको होटल म्यानेजमेन्ट कम्पनीसँग सम्झौताको तयारी भइरहेको चौधरीले बताए।
एमओयू गर्ने तयारीमा रहेको सुनाउँदै विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कम्पनीबाट पहिलोपटक सेवा प्रदान गर्ने दाबी उनले गरे। धेरै होटलको बनावट र सजावटको अनुभव गरेका उनी अन्तर्राष्ट्रिय म्यानेजमेन्टले थप उत्साहित भएको बताउँछन्।
कोशी प्रदेश पछिल्लो समय तारे होटलको हब बन्दै गएको छ। झापाको धुलाबारीमा पाँचतारे होटल मेची क्राउनको स्थापनासँगै सुरु भएको होटलको तारे अभियान किंग्स बेरीदेखि होटल गरिमा, होटल विगसम्म पुग्यो।
अहिले इटहरीमा रमदा, विराटनगरमा रोयल्टन र धुलाबारीमा पाँचतारे स्तरको इस्टर्न होटल निर्माणाधीन छन्। इटहरीमा निर्माणाधीन रमदा होटल सञ्चालनमा आउन लागेको छ भने गरिमा होटलको म्यानेजमेन्ट सोल्टी वेस्टेण्डले सम्हालिरहेको छ।