काठमाडौं- एक शताब्दीको व्यावसायिक विरासत भएको संघई परिवारको त्रिवेणी समूहले लगातार उपभोक्ता, लगानीकर्ता र सरकारमाथि छलछाम गरिरहेको तथ्यहरू भेटिएका छन्। व्यावसायिक फाइदाका लागि गलत अभ्यास अपनाउँदै यो समूहले नियामकीय परिपालनामा कमजोरी गरिरहेको देखिएको छ।
एक शताब्दीको व्यावसायिक विरासत भएको त्रिवेणी समूहले विभिन्न क्षेत्रमा हात हालेको छ। उत्पादनमूलक उद्योगदेखि व्यापारसम्मका काम गरिरहेको समूहले कपडाको व्यापारबाट सन् १९३० को दशकदेखि व्यावसायिक यात्रा सुरू गरेको हो।
यो पारिवारिक समूहले पछिल्लो समय उद्योग र व्यापारका दर्जन बढी क्षेत्रमा काम गरिरहेको छ। उत्पादनमूलक उद्योगमा सिमेन्ट, चिया, ग्यास, घरायसी सामग्री, चामल, दाल तथा तेल, धागो, कपडा, चिनी तथा साबुन जस्ता क्षेत्रमा लगानी गरेको छ।
उत्पादनका साथै यो समूहले व्यापारमा भने ३० वटा ब्रान्डको आयात गरेर बिक्री गर्दै आएको छ। त्रिवेणी व्यापार कम्पनीको नामबाट समूहले कस्मेटिक, खाद्यान्न, इलेक्ट्रोनिक्स, स्यानिटरी र हार्डवेयर जस्ता सामग्री आयात तथा व्यापार गरिरहेको छ।
बैंक तथा वित्तीय संस्था, ऊर्जा, रिटेल (बिगमार्ट), शिक्षा (डेली पब्लिक स्कुल), मनोरञ्जन तथा कृषि क्षेत्रमा पनि लगानी गरेको छ। विभिन्न ब्रान्डका ट्र्याक्टर आयात तथा बिक्री वितरण गर्दै आएको समूहले पछिल्लो समय रोयल इन्फिल्ड नेपालमै एसेम्बल गर्दै आएको छ।
राजनीतिक पहुँचको दुरुपयोग गर्दै त्रिवेणी समूहले लगातार नीति नियमको धज्जी उडाउँदै आइरहेको छ। मोटरसाइकलको सुरक्षामा खेलाची र चिया उत्पादनमा राज्यलाई ठग्ने काम गरेको यो समूहले कृत्रिम नाफा देखाउँदै सर्वसाधारणका लागि घोराही सिमेन्टको प्रिमियम सेयरसमेत जारी गर्यो।
मोटरसाइकलको सुरक्षामा खेलाची
त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले रोयल इनफिल्ड मोटरसाइकलको एसेम्बल गर्दा सुरक्षा विशेषतामा गम्भीर खेलबाड गरेको पाइएको छ। भारतमा टाइप एप्रुभल स्वीकृत हुँदा राखिएका महत्वपूर्ण विशेषताहरू नेपालमा एसेम्बल हुँदा गायव बनाइएको छ।
दुगड समूहबाट रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता खोसेर लिएको त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले भारतबाट एसेम्बल किट ल्याएर नेपालमा मोटरसाइकल एसेम्बल गर्दा महत्वपूर्ण सुरक्षा विशेषता नै हटाएको पाइएको हो।
भारत सरकारले हेभी मोटरसाइकलहरूमा २ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमतामा 'एबीएस' (एन्टिलक ब्रेकिङ सिस्टम) अनिर्वाय गरेको छ। २०१७ देखि भारतमा यस्ता मोटरसाइकलमा 'एबीएस' अनिवार्य गरिएको थियो। उक्त सयमदेखि नेपालमै एसेम्बल हुनुपूर्व आएका सबै मोटरसाइकलमा 'एबीएस' जडित छन्।
यसका साथै टीजी अटो ग्रुपले नेपालमा एसेम्बल भएका मोटरसाइकलमा पछाडिको डिस्क ब्रेक पनि झिकेको छ। भारतमै बनेर आउँदा रोयल इनफिल्डका सबै मोटरसाइकलमा डुअल डिस्क ब्रेक थियो। तर कस्ट कटिङका नाममा मोटरसाइकलका महत्वपूर्ण सुरक्षा विशेषता झिकेर रोयल इनफिल्डको ‘ब्रान्ड लिगेसी’मै खेलबाड भएको छ।
टीजी अटो ग्रुपले नेपालमा एसेम्बल गरिरहेको एक्लासिक ३५० र हन्टर ३५० मोटरसाइकलमा एबीएस राख्ने ठाउँ देख्न सकिन्छ र त्यो ठाउँ खाली छ। यी दुवै मोटरसाइकलमा पछाडिको डिस्क ब्रेक झिकिएको छ। पछिल्लोपटक भने उपभोक्ताबाट धेरै नै गुनासो आएपछि कम्पनीले दुवै डिस्क ब्रेक भएको मोटरसाइकलसमेत एसेम्बल थालेको छ, जसमा मूल्य पनि बढाइएको छ।
यसरी भारतमा त अनिवार्य नै गरिएको सुरक्षासम्बन्धी विशेषता झिकेर नेपालमा रोयल इनफिल्ड एसेम्बल भइरहँदा उपभोक्ता त ठगिएका छन् नै सडकमा हुने जोखिमसमेत बढेको छ।
रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ
कृत्रिम सजावटगरी घोराहीको प्रिमियम सेयर
त्रिवेणी ग्रुपको घोराही सिमेन्ट कम्पनीले वित्तीय विवरण विन्डो ड्रेसिङ (कृत्रिम सजावट) गरी प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गरेको थियो। १०० रुपैयाँ अंकित मूल्य भएको यस कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी ४ सय ४५ रुपैयाँमा सर्वसाधारणका लागि प्रिमियममा प्राथमिक सेयर निष्कासन गरेको थियो। खराब कम्पनीलाई आर्थिक लाभ लिँदै तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्रिमियममा सेयर जारी गर्न दिएका थिए।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१ करोड ८४ लाख रूपैयाँ खुद घाटा रहेको यस कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण थप खराब आएको छ। तेस्रो त्रैमासमा घोराही सिमेन्ट उद्योगको खुद घाटा बढेर ६४ करोड २४ लाख रूपैयाँ पुगेको छ।
सम्पत्तिको आयु बढाउँदै मूल्यह्रासको रकम कम देखाएर कम्पनीले प्रिमियममा प्राथमिक सेयर निष्कासन गर्न सफल भएपनि यो कम्पनीमा वित्तीय संकट बढ्दो छ। अघिल्लो त्रैमासको तुलनामा यस कम्पनीको घाटा करिब २२ करोड ४० लाख रूपैयाँले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले आफ्नो ब्याज लागत र मूल्यह्रासको खर्च बढेको भन्दै घाटा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो।
आईपीओ जारी गर्ने समयमा कम मूल्यह्रास देखाएको कम्पनीले चालु आर्थिक वर्ष भने निरन्तररुपमा मूल्यह्रास बापत बढी खर्च बुक गर्दै आएको छ। गत वर्षको चैत मसान्तमा २३ करोड ८७ लाख रूपैयाँ मूल्यह्रासको रुपमा खर्च कट्टा गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २८ करोड ६९ लाख रूपैयाँ मूल्यह्रासबापत खर्च कट्टी गरेको छ।
गत चैत मसान्तको तुलनामा यस कम्पनीको ब्याज खर्चसमेत करिब ८ करोडले बढेको देखाएको छ। अघिल्लो चैत मसान्तसम्म ३३ करोड २७ लाख रूपैयाँ रहेको ब्याज खर्च चालु आर्थिक वर्षको सोही अवधिमा ४१ करोड ८५ लाख रूपैयाँ ब्याज खर्च भएको विवरण सार्वजनिक गरेको छ।
अर्थतन्त्रमा आएको संकुचनका कारण यस सिमेन्ट कम्पनीको आम्दानी गत वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्ष ३ अर्ब १३ करोड रूपैयाँ बराबरको कारोबार गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८ करोड रूपैयाँको मात्रै कारोबार भएको जनाएको छ।
गत वर्षको तुलनामा कम्पनीले आफ्नो बिक्री खर्च बढेको देखाएको छ। गत वर्ष बिक्री खर्च २ अर्ब ४८ करोड रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ८१ करोड रूपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ। चालु आर्थिक वर्ष उत्पादन घटेपनि कम्पनीले बिक्री खर्च र प्रशासनिक खर्च घटेको देखाउनुले यस पटक पनि वित्तीय विवरणमा कृत्रिम सजावट भएको तथ्य नकार्न सकिँदैन।
उत्पादन तथा बिक्री घटेको समयमा यस कम्पनीले २२ करोड ५८ लाख रूपैयाँ प्रशासनिक खर्च रहेको उल्लेख गरेको छ। गत वर्षको यसै अवधिमा यस्तो खर्च १७ करोड ४४ लाख रूपैयाँ मात्रै रहेको थियो। यद्यपी चैत मसान्तसम्म कम्पनीसँग २ अर्ब ३४ करोड रूपैयाँको मौज्दात रहेको देखाइएको छ। गत वर्ष यसै अवधिमा १ अर्ब ७९ करोड रूपैयाँ बराबरको बिक्री मौज्दात रहेको थियो।
निर्माण क्षेत्र मन्दीमा रहेको समयमा कम्पनीले उत्पादन बढाएर स्टक राख्ने तथ्यलाई मान्न सकिने अवस्था छैन। यस कम्पनीले बजारबाट उठ्न बाँकी रहेको रकम २ अर्ब १३ करोड रूपैयाँ देखाएको छ। गत वर्षको यसै अवधिमा १ अर्ब ९१ करोड रूपैयाँ बजारबाट रकम उठ्न बाँकी रहेको थियो।
वित्तीय विवरणअनुसार कम्पनीको आफ्नो सञ्चित नाफा २ अर्ब ७६ करोड रूपैयाँ र सेयर प्रिमियमबापत २ अर्ब ६५ करोड रूपैयाँ छ। यस अविधिमा कम्पनीले ८७ करोड ४९ लाख रूपैयाँ बिल तिर्न बाँकी रहेको सार्वजनिक विवरणमा छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.०७ रूपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २२०.५५ रूपैयाँ र तरलता अनुपात ०.८ रहेको छ।
कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराहीमा बढ्दो वित्तीय संकट, ६ महिनामै ४१ करोड ८४ लाख रुपैयाँ घाटा कृत्रिम नाफा देखाएर प्रिमियममा सेयर जारी गरेको घोराही सिमेन्टको घाटा ९ महिनामा ६४ करोड
चिया उत्पादनमा राज्यमाथि ठगी
सातवटा चिया बगान भएको चिया विकास निगम सरकारले सञ्चालन गर्न नसक्ने भन्दै व्यावसायिक घराना त्रिवेणी समूहले २०५७ सालमा बगानसहितको निगम लिएको थियो।
बजार हिस्सा बढाउँदै गएपनि समूहले सरकारलाई तिर्नुपर्ने भाडा भने १८ वर्षदेखि एउटै दरमा चलेको छ। प्रत्येक पाँच वर्षमा भाडा पुनरावलोकन गर्ने सुरुवाति सम्झौताविपरीत त्रिवेणी समूहले सरकारलाई प्रभावित पारेर रोक्दै आएको छ।
यतिसम्म कि ३५ प्रतिशतको सेयर साझेदार सरकारलाई लाभांश छल्नका लागि त्रिवेणी समूहले चिया विकास निगममा समेत बद्मासी गरिरहेको पाइएको छ। उक्त चिया उद्योगको उत्पादन तथा व्यापार नै लुकाएर समूहले काम गरेको पाइएको हो। चिया विकास निगमको नाफा कम देखाउनका लागि त्यहाँको उत्पादन नै निजी उद्योगमा लैजाने गरेको पाइएको छ।
संघई परिवारको त्रिवेणी ग्रुपले २०५७ सालदेखि चिया विकास निगमको करिब ५ हजार २ सय एकड जग्गामा भाडा सम्झौता पुनरावलोकन नगरी व्यापार गरिरहेको छ। त्रिवेणीले झापा र इलामको सातवटा चिया बगान सस्तो भाउमा भाडामा लिँदै चिया खेती तथा व्यापार गरिरहेको हो।
कम्पनीले झापा र इलाममा नै थप चारवटा निजी चिया प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ। साना किसानको उत्पादन खरिद गरेर चिया उत्पादन गर्ने भनी उद्योग खोल्दै सरकारी जग्गामा उत्पादन भएको चियाको पात निजी उद्योगमा लगेर बिक्री गर्ने गरेको विषय खुल्न आएको छ।
ग्रुपले झापामा मंगलम चिया उद्योग र हल्दिबारी टी उद्योग सञ्चालन गरिरहेको छ। यसैगरी ग्रुपले गणेश हिमाल र हिमाल टी उद्योग पनि सञ्चालन गरिरहेको छ। यी उद्योगबाट अर्थोडक्स तथा ग्रिन टी उत्पादन भइरहेको छ।
यी उद्योगमा इलाममा रहेका बगानका चियापत्ता प्रयोग भएको छ। स्राेतले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ग्रुपको लगानी रहेको चारवटा उद्योगमार्फत १५ लाख किलो प्रशोधित चिया उत्पादन भएको छ। यसमा प्रयोग भएका ९० प्रतिशत हरियो चियापत्ता सरकारी जग्गामा नै उत्पादन भएको स्रोतको दाबी छ।
झापामा रहेको मंगलमले गत आवमा ७ लाख किलो र हल्दिबारी उद्योगले ५ लाख चिया उत्पादन गरेको छ। यसैगरी गणेश हिमाल र हिमाल चिया उद्योगबाट साढे ३ लाख अर्थोडक्स तथा ग्रिन टि उत्पादन गरेको छ। यहाँ इलाम र कन्याम बगानका हरिया चियापत्ता प्रयोग भएको छ।
यो उद्योगका नाममा मात्रै किसानको चियापत्ती खरिद हुन्छ। स्रोतका अनुसार त्यहाँ ९० प्रतिशतभन्दा बढी चियापत्ती सरकारी बगानकै पुग्छ। सरकारी बगानको पत्ती निजी उद्योगमा लगेर सीटीसी तथा अर्थोडक्स चिया उत्पादन गरिरहेको छ। यी चारवटै उद्योगमा सरकारी बगानकै हरियो चिया पत्ता पुग्ने गरेको छ।
झापामा सञ्चालन रहेको मंगलम र हल्दिबारीमा टोकला र चिलिङकोटलगायतका उद्योगमा सरकारी बगानकै चियापत्ती सप्लाइ भइरहेको छ। मंगलम र हल्दिबारीमा सरकारी बगानको चियापत्ता प्रयोग भएको छ। यी उद्योगमा प्रयोग भएका कुनै पत्तामा त्रिवेणी ग्रुपको लगानी छैन। चिया विकास निगमकै खर्चमा उत्पादन भएको पत्ती प्रयोग भएको छ।
चिया विकास निगमको उत्पादन निजी उद्योगबाट बेचेर सरकारमाथि छलछाम गर्दै त्रिवेणी ग्रुप १८ वर्षदेखि भाडा पुनरावलोकन नगरी चिया विकास निगमको ५२ सय एकड जग्गामा त्रिवेणी ग्रुपको ढलीमली