बुधबार, वैशाख १९ गते २०८१    
images
images
दुईपांग्रे एसेम्बलको अन्तरकथा

रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड

टाइप एप्रुभल र सीओपी कसले र कहाँ जाँच्ने?

images
images
images
रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड

२०७९ भदौमा मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुपमार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्नेगरी कम्पनी दर्ता गरेको थियो। उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापना भइसकेको छ।

images
images

काठमाडौं-  त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले रोयल इनफिल्ड मोटरसाइकलको एसेम्बल गर्दा सुरक्षा विशेषतामा गम्भीर खेलबाड गरेको पाइएको छ। 

images
images
images

दुगड समूहबाट रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता खोसेर लिएको त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले भारतबाट एसेम्बल किट ल्याएर नेपालमा मोटरसाइकल एसेम्बल गर्दा महत्वपूर्ण सुरक्षा विशेषता नै हटाएको पाइएको हो। 

images

भारतमा टाइप एप्रुभल स्वीकृत हुँदा राखिएका महत्वपूर्ण विशेषताहरू नेपालमा एसेम्बल हुँदा गायव गरिएको पाइएको छ।

images

भारत सरकारले हेभी मोटरसाइकलहरूमा २ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमतामा 'एबीएस' (एन्टिलक ब्रेकिङ सिस्टम) अनिर्वाय गरेको छ। २०१७ देखि भारतमा यस्ता मोटरसाइकलमा 'एबीएस' अनिवार्य गरिएको थियो। उक्त सयमदेखि नेपालमै एसेम्बल हुनुपूर्व आएका सबै मोटरसाइकलमा 'एबीएस' जडित छन्। 

images
images

यसका साथै टीजी अटो ग्रुपले नेपालमा एसेम्बल भएका मोटरसाइकलमा पछाडिको डिस्क ब्रेक पनि झिकेको छ। भारतमै बनेर आउँदा रोयल इनफिल्डका सबै मोटरसाइकलमा डुअल डिस्क ब्रेक थियो। तर कस्ट कटिङका नाममा मोटरसाइकलका महत्वपूर्ण सुरक्षा विशेषता झिकेर रोयल इनफिल्डको ‘ब्रान्ड लिगेसी’मै खेलबाड भएको छ। 

भारतमा स्वीकृत भएको टाइप एप्रुभलमा सबै विशेषता राखिएको र त्यहीअनुसार सीओपी (कन्फर्मेसन अफ प्रोडक्सन) जारी हुने गरेको छ। यसरी उत्पादन भएको सवारीसाधन टाइप एप्रुभलअनुसार बन्यो कि बनेन भनेर परीक्षण गरी तोकिएअनुसार बनेपछि सीओपी जारी गरिन्छ। भारतमा यसरी परीक्षण गर्ने आधादर्जन भन्दा बढी निकाय छन्। त्यसमध्ये अधिकांश सवारीको परीक्षण गर्ने निकाय एआरएआई (अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया) बाटै हुने गरेको छ।

नेपालमा भारतबाट आउने सवारीसाधनको आयात स्वीकृतिका लागि एआरएआई सर्टिफाइड सीओपी बुझाउनु पर्ने व्यवस्था थियो। अहिले विशेषगरी प्रदूषणको हकमा मात्र यो सर्टिफिकेट यातायात व्यवस्था विभागले हेर्दै आएको छ। तर नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेपछि सीओपीको सबै पाटो हेर्न छाडियो। अहिले प्रदूषण मापदण्ड पूरा गरेको छ भने अन्य कुराको वास्ता गरिँदैन। 

royal enfield.jpg

भारतमा स्वीकृत भएको टाइप एप्रुभलकै आधारमा नेपालमा टीजी अटो ग्रुपले रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गरिरहेको भएपनि त्यसको सीओपी कसले, कसरी र कहाँ परीक्षण गरेर आइरहेको छ पत्तो छैन। टाइप एप्रुभलमा भएको महत्वपूर्ण विशेषता झिकेर उत्पादन गर्दा त्यो रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) को सिद्धान्तविपरीतमात्र हुँदैन, सवारीको सक्षम परीक्षणसमेत हुन सक्दैन। 

टीजी अटो ग्रुपले नेपालमा एसेम्बल गरिरहेको एक्लासिक ३५० र हन्टर ३५० मोटरसाइकलमा एबीएस राख्ने ठाउँ देख्न सकिन्छ र त्यो ठाउँ खाली छ। यी दुवै मोटरसाइकलमा पछाडिको डिस्क ब्रेक झिकिएको छ। पछिल्लोपटक भने उपभोक्ताबाट धेरै नै गुनासो आएपछि कम्पनीले दुवै डिस्क ब्रेक भएको मोटरसाइकलसमेत एसेम्बल थालेको हो, जसको मूल्य बढाइएको छ। 

एबीएस अर्थात एन्टिलक ब्रेकिङ सिस्टमले मोटरसाइकललाई दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ। ठूलो अध्ययन र अनुसन्धानपछि विकास भएको यो सिस्टम टीजी ग्रुपले नेपालमा रोयल इनफिल्डको मोटरसाइकबाट हटाएर सुरक्षा विशेषतामै चुनौती दिएको छ। 

के हो एबीएस?

एबीएस मोटरसाइकल तथा गाडीहरूमा प्रयोग गरिएको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउने प्रविधि हो। यसको प्रयोगले एक्कासी ब्रेक लगाउनु पर्दा टायरलाई फस्न वा जाम हुनबाट बचाउँछ। अचानक ब्रेक लगाउँदा हुनसक्ने दुर्घटना रोक्न यसले महत्वपूर्ण भूमिका खेल्छ। यसको सहयोगले ब्रेक अचानक लगाउँदा मोटरसाइकलको सन्तुलन बिग्रँदैन। स्ट्यान्डर्ड डेफिनेसनका अनुसार सामान्यतया एक्कासी ब्रेक लगाउँदा मोटरसाइकल असन्तुलित हुन्छ। जसले मोटरसाइकल घिस्रने, फनक्कै घुम्ने वा पल्टिने जोखिम धेरै हुन्छ। तर एबीएस प्रविधिको प्रयोग भएका मोटरसाइकलमा यस्तो समस्या आउँदैन र यात्रा सुरक्षित हुन सहयोग पुग्छ।

टाइप एप्रुभलअनुसार बनेको मोटरसारइकल परीक्षणमा सबै कुुराले ठीक देखिएपछि सीओपी जारी हुने र त्यसरी तयार भएको सवारीसाधन अर्को देशमा लगेर एसेम्बल गर्दा महत्वपूर्ण विशेषता झिकेर मोटरसाइकल बनाउनु भनेको ‘प्राविधिक अपराध’ भएको एक मेकानिकल इन्जिनियरले बताए।

‘तपाईँले भन्नुभएजस्तै यसरी एबीएस, एउटा डिस्क ब्रेक नै झिकेर एसेम्बल भएको छ भने त्यसले सवारीको प्राविधिक पक्षमै खलल पुग्नेछ,’ ती इन्जिनियरले भने, ‘यो कसरी सम्भव भयो होला। हाम्रो देशमा परीक्षणको व्यवस्था त छैन होला तर उत्पादकले उपभोक्ता र प्रविधिमाथि नै अपराध गरेको भन्न सकिन्छ।’ 

यता यातायात व्यवस्था विभागले भने नेपालमा कानूनी रुपमा प्रदूषणबाहेक अन्य कुराको नियमन गर्ने आधार नभएको जनाएको छ।

विभागले नेपालमा एसेम्बल गर्न के-के आवश्यक पर्छ, त्यसको केही विधि र प्रक्रियाबारे मापदण्ड बनाउन खोजेको तर नसकिएको विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडलले बताए।

‘हामीले एसेम्बलको मापदण्ड बनाउन कोसिस गरेका हौँ,’ उनले भने, ‘त्यसको ड्राफ्ट पनि बनाएर कानून मन्त्रालयमा पठाएको तर ऐनमा त्यसबारे स्पष्ट व्यवस्था नभएको भन्दै प्रस्ताव नै फिर्ता पठाइदिको छ।’

कानूनी रुपमा केही व्यवस्था नभएको र आफूहरूले मापदण्ड बनाउन खोज्दा रोकिएकाले ब्रान्ड विशेषले के गरिरहेका छन् र उनीहरूको उत्पादनमा के छ/छैन भनेर आफूहरूले किटानी गर्न सक्ने अवस्था नरहेको पौडेलले जानकारी दिए।

टीजी अटो ग्रुपका निर्देशक हर्ष संघई तथा अल्फा अटोमोटिभ प्रालिका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले एबीएस तथा डिस्क ब्रेकसहित अन्य ४/५ वटा विशेषता झिकेर एसेम्बल गरिएको बारेमा पटक-पटक जिज्ञासा राख्दा प्रतिक्रिया दिएनन्। 

२०७८ चैतमा दुगड समूहबाट रोयल इनफिल्ड ब्रान्ड खोसिएको थियो। त्यसलगत्तै सोहीमहिना त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालि रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको थियो। 

२०७९ भदौमा मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुपमार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्नेगरी कम्पनी दर्ता गरेको थियो। उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापना भइसकेको छ। उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने दर्ता विवरणमा उल्लेख छ। उद्योगमा ६७ जनाले रोजगारी पाउने प्रस्तावमा उल्लेख थियो। 

सुरुवाती चरणमा टीजी अटो ग्रुपले रोयल इनफिल्डको क्लासिक ३५० मोटरसाइकल एसेम्बल गर्न २०८० बैशाखमा पहिलोपटक एसेम्बल किट ल्याएको थियो। त्यसयता टीजी अटो ग्रुपले हन्टरसहित अन्य तीन मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आएको छ।

नेपालमा एसेम्बल सुरु भएपछि कम्पनीले साविक मूल्यमा १ लाख रुपैयाँ छुट दिएको भन्दै ठूलो प्रचार गरेको थियो। त्यो छुट तथा सरकारले दिएको कर सहुलियभित्रका अन्तरकथाहरू बिजनेस न्युजले थप केलाउँदै जानेछ। 

सरकारले नेपालमै सवारी एसेम्बल होस् र स्वदेशमै केही रोजगारी सृजना भएर अन्य स्थानीय सामान बन्ने आधार तयार होस् भनेर यस्ता उद्योगलाई प्राथमिकता दिने नीति लिएको छ। सोहीअनुसार सरकारले नेपालमा एसेम्बल गर्नेगरी आयात हुने सीकेडीका दुई तह अर्थात ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

यो छुटको व्यवस्था गर्दा नै सरकारले आयातित तयारी मोटरसाइकलको कर भने केही बढाएको थियो। त्यसैले पनि सबैजसो मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ताहरू नेपालमै एसेम्बल उद्योग स्थापना गर्न लागिपरेका हुन्।

बेलायती ब्रान्ड रोयल इनफिल्डको स्वामित्व अहिले भारतीय कम्पनी आइसर ग्रुपसँग रहेको छ। रोयल इनफिल्डका मोटरसाइकल १९०५ देखि निरन्तर उत्पादन हुँदै आएको छ। 

images

प्रकाशित : सोमबार, फागुन २८ २०८००६:००
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस