शनिबार, वैशाख १५ गते २०८१    
images
images
दुईपांग्रे एसेम्बलको अन्तरकथा

रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ

images
images
images
रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ

रोयल इनफिल्ड जस्तो विश्वप्रसिद्ध कम्पनीको नेपालमा मोटरसाइकल एसेम्बल हुँदा एबीएस जस्तो अत्यावश्यक सुरक्षा विशेषता झिकिएको सुन्दा आफूलाई दुःख लागेकोसमेत उनले बताए।

images
images

काठमाडौं- विश्वभर सवारी निर्माता कम्पनीहरूले सवारीसाधनमा सबैभन्दा बढी विचार गर्ने पक्ष हो, सुरक्षा। सवारीमा अन्य विषयभन्दा विशेष ध्यानपूर्वक हेरिन्छ सुरक्षासम्बन्धी व्यवस्था। कुन सवारीमा कति सुरक्षा विशेषता छन् भन्ने कुराले सवारी कस्तो हो भन्ने मापन पनि गरिन्छ।

images
images
images

यस्तोमा नेपालमा भने त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले रोयल इनफिल्ड मोटरसाइकलको एसेम्बल गर्दा सुरक्षा विशेषतामा नै गम्भीर खेलबाड गरेको छ। सुरक्षासम्बन्धी अत्यावश्यक पाटोहरू हटाएर नाफा कमाउने कमसल तरिका अपनाएको छ। बलियो सुरक्षा विशेषताबिना मानवीय जीवन जोखिममा पारिरहेको छ।

images

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालि हो। यही समूहअन्तर्गतको अर्को कम्पनी टीजी अटो ग्रुप प्रालिले रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गरेर अल्फा अटोमोटिभलाई बिक्री गर्छ। 

images

भारतमा जुन विशेषता र कम्पोनेन्ट राखेर रोयल इनफिल्डका मोटरसाइकल उत्पादन भइरहेको छ नेपालमा भने त्यसलाई ‘कस्टमाइज’ गरेर ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) र पछाडिको ‘डिस्क ब्रेक’लगायत अन्य ३/४ वटा विशेषता झिकिएको छ। 

images
images

यसरी भारतमा त अनिवार्य नै गरिएको सुरक्षासम्बन्धी विशेषता झिकेर नेपालमा रोयल इनफिल्ड एसेम्बल भइरहँदा उपभोक्ता त ठगिएका छन् नै सडकमा हुने जोखिमसमेत बढेको छ। 

सवारीसाधन एसेम्बलको विषयमा हामी किन यति कमजोर भयौँ भन्ने समीक्षा आवश्यक देखिएको यातायात व्यवस्था विभागका पूर्वप्राविधिक निर्देशक गोविन्दप्रसाद खरेल बताउँछन्। सवारीसाधन प्राविधिक विषय भएको र त्यसमा मानिस बसेर यात्रा गर्नुपपर्ने भएकाले सुरक्षा विशेषता थप्नु पर्नेमा झिकिनु त अपराध बराबर नै भएको खरेलको भनाइ छ। 

रोयल इनफिल्ड जस्तो विश्वप्रसिद्ध कम्पनीको नेपालमा मोटरसाइकल एसेम्बल हुँदा एबीएस जस्तो अत्यावश्यक सुरक्षा विशेषता झिकिएको सुन्दा आफूलाई दुःख लागेकोसमेत उनले बताए।

‘यस्तो अपराध हुँदा पनि उपभोक्ता र सरकारले किन केही कदम चालेको छैन?,’ खरेल प्रश्न गर्छन, ‘एबीएस राखेर डिजाइन र टाइप एप्रुभल गरिएको मोटरसाइललमा एबीएस झिक्दा ब्रेकिङ प्रणाली नै खलबलिन्छ। डिस ब्रेकमा इफिसियन्सी धेरै हुने भएकाले ठूलो इन्जिन क्षमताका मोटरसाइलमा त्यो अनिवार्य गरिएको हुन्छ। यस्ता महत्वपूर्ण कुरा झिक्नु अपराध हैन?’ 

मोटरसाइकलको अत्यावश्यक सुरक्षा विशेषता झिकेर बनाउनु भनेको मोटरसाइकल चलाउनेको जीवनलाई सिधै पासोमा हालेजस्तो भएको यातायात व्यवस्था विभागका पूर्वप्राविधिक निर्देशक शरद अधिकारी बताउँछन्।

‘यस्तो अत्यावश्यक र संवेदनशील विषयमा उद्योग लगाउन दिने निकाय उद्योग विभाग र परीक्षणलगायतको काम गर्ने विभागले तत्काल एक्सन लिनु पर्छ,’ अधिकारीले भने, ‘अहिले केही भएको छैन भनेर बस्ने होइन, समस्या आएको अवस्थामा मोटरसाइकल चालकको जिउधनको जिम्मा कसले लिन्छ?’ 

यस विषयमा अटोमोबाइल क्षेत्रमा नै काम गरिरहेका ७ जना इन्जिनियरहरूसँग पनि हामीले कुरा गर्यौँ। कुनै एउटा कम्पनीमा आबद्ध भएका कारण अर्को कम्पनीको कामबारे बोल्न अप्ठ्यारो मानेका उनीहरूले उपभोक्ताको सुरक्षाका विषय भएकाले परिचय गोप्य हुने शर्तमा आफ्ना कुरा राखे। 

‘अटोमोबाइल इन्जिनियरिङ’मा सवारीसाधनबारेको योजना, डिजाइन, निर्माण र स्तरवृद्धिका सबै विषयमा पछाडि फर्कनेभन्दा थप परिस्कृत गर्नेतर्फ नै विश्व लागिरहेको उनीहरू बताउँछन्। यस्तोमा केही सस्तो हुने नाममा भएकै सुरक्षा विशेषतासमेत झिकेर सवारी निर्माण गर्न नहुने उनीहरूको मत छ। 

आजकल दुईपाङ्‍ग्रे सवारी उत्पादकहरूले विभिन्न ‘हाई इन्ड’ विशेषताहरूमा ध्यान दिइरहेको समयमा रोयल इनफिल्डजस्तो ठूलो मोटरसाइकलमा ‘एबीएस’समेत नराखिनु लज्जाको विषयसमेत हुनुपर्ने एक इन्जिनियर सुनाउँछन्। भारतमा टाइप एप्रुभल स्वीकृत हुँदा राखिएका महत्वपूर्ण विशेषताहरू नेपालमा एसेम्बल हुँदा झिक्न कसरी पाइएको हो भन्दै उनले प्रश्न गरे। 

सुरक्षाको विषयलाई मजाक बनाउन नहुने भन्दै उनी भन्छन्, ‘कानून छैन, यहाँ जे गरे पनि हुन्छ भन्ने कुरा कम्तिमा सवारी उत्पादकहरूले चाहिँ सोच्नु हुँदैन, के थाहा त्यही कुराको असर भोलि कोही आफ्नैमा पनि त पर्न सक्छ।’

सवारीसाधन आरामदायी हुनुपर्ने कुरामा विशेष ध्यान दिइरहँदा चाहेको बेला राम्रो नियन्त्रण दिन सक्ने र सुरक्षा बढाउने विशेषता झिक्नु दुर्घटनालाई निम्तो दिने काम भएको अर्का इन्जिनियरले सुनाए। ‘भारतमा १२५ सीसीभन्दा कमका मोटरसाइकलमा समेत अहिले एबीएस राख्न थालिसकेका छन्। हामीले भने ३५० सीसीभन्दा माथिको त्यस्तो मोटरसाइकलमा समेत खेलाँची गरिरहेका छौँ, यो ठीक होइन’ उनले भने। 

मोटरसाइकलमा धेरै स्पेसिफिकेसनमध्ये ड्रम ब्रेकिङ सिस्टम हटाउन भएका नयाँ कामहरू महत्वपूर्ण रहेको भन्दै अर्का इन्जिनियर सुनाउँछन्, ‘सडकमा हुने अनावश्यक घर्षणको कुरामा होस् या त चाहेको बेला आरामदायी रुपमा नै नियन्त्रण गर्नका लागि होस्, सन्तुलित रुपमा अड्याउन एबीएस त महत्वपूर्ण हुन्छ नै अझ पछाडिको डिस्क ब्रेक पनि हटाएको भन्ने सुन्दा त निकै नराम्रो लाग्यो। अब कुराहरू उठ्न थालेछ, सुधार गर्ला कि त?’ 

अर्का एक इन्जिनियरले भने एबीएस नहुँदैमा ठूलो दुर्घटनाको जोखिम हुन्छ भनेर भन्न नमिल्ने भए पनि भारतमा अनिवार्य गरिएको र उता प्रयोग भइरहेको उही मोटरसाइकलको नेपाल एसेम्बलमा भने विशेषता हटाउन नहुने बताए। 

‘एउटै मोटरसाइकलमा उता भारतमा चाहिँ चाहिने अनि हाम्रोमा चाहिँ यतै जोडेको हो भनेर जे पनि गर्न भएन नि, किन्नेहरू त ठगिए नि त्यसरी, जोखिम पनि बढ्यो’ उनले भने। 

‘मोटरसाइकलमा एबीएस झिक्नु भनेको अब कारबाट भइरहेको एयरब्याग हटाइदेको जस्तोमात्र हो भनेर बुझ्नु भएन, दुईपाङ्‍ग्रेमा त्योभन्दा बढी नै हुन्छ जोखिम त। सकेसम्म सुरक्षित बनाउन ध्यान दिनुपर्नेमा जानाजान सुरक्षा विशेषता झिकिदिनु त भएन नि’, १० वर्षदेखि यही क्षेत्रमा रहेका अर्का इन्जिनियरले भने, ‘यो कुरा त तपाईंले टोलतिर रहेका सामान्य ग्यारेजमा नै सोध्नुभए पनि भनिदिन्छ।'

भारतमा एबीएस अनिवार्य गर्ने समयमा भएका विभिन्न अध्ययनहरूले पनि दुईपाङ्‍ग्रेमा एबीएस हुँदा दुर्घटना कम गराउन मद्धत पुग्ने निष्कर्ष निकालिएको थियो। 

एबीएस मोटरसाइकल तथा गाडीहरूमा प्रयोग गरिएको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउने प्रविधि हो। यसको प्रयोगले एक्कासी ब्रेक लगाउनु पर्दा टायरलाई फस्न वा जाम हुनबाट पनि बचाउँछ। अचानक ब्रेक लगाउँदा हुनसक्ने दुर्घटना रोक्न पनि यसले महत्वपूर्ण भूमिका खेल्छ। यसको सहयोगले ब्रेक अचानक लगाउँदा मोटरसाइकलको सन्तुलन बिग्रँदैन। 

अझ कतिसम्म भने भारतमा त एबीएस नभएका दुईपाङ्ग्रे सवारीहरूमा इन्स्योरेन्सलगायत अन्य झन्झटसमेत हुने गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गर्ने गरेका छन्। लोन लिने समयमा समेत एबीएस हुँदा एप्रुभल सहज हुने र नहुँदा कठीन हुने गरेको भारतीय उपभोक्ताहरूको अनुभव छ। इमर्जेन्सी ब्रेकिङमा भर दिने भएकाले त्यस्ता विशेषताबारे उनीहरू चनाखोसमेत छन्। 

भारतमा एबीएस उत्पादन गरिरहेको अग्रस्थानको कम्पनीहरूमध्येको एक कन्टिनेन्टल अटोमोटिभ ब्रेक सिस्टम्सका अनुसार अहिले १०० सीसीकै मोटरसाइकलहरूले समेत एबीएस राखेर नै काम गरिरहेका छन्। आफूहरूले गरिरहेको उत्पादन पनि १०० सीसीसम्मका हुने मागलाई ध्यानमा राखेर गरिरहेको कम्पनीले जनाएको छ। 

यस्तोमा नेपालमा भने रोयल इनफिल्ड एसेम्बल गर्दासमेत एबीएस सिस्टममा बेइमानी भइरहेको छ। यसमा सरोकारवालाहरू मौन भइहरहँदा उपभोक्ताहरूले भने प्रश्न उठाउन सुरु गरिसकेका छन्। ‘पहिले त अलि सस्तोमा पनि आयो भन्ने सुनेर धेरै त सोध्दा पनि नसोधि आरई किनिहालेँ अहिले पो एबीएसबारे थाहा पाउँदै छु, लास्ट नमज्जा लाग्यो। बोक्नु कि फाल्नु’ एक उपभोक्ताले दु:खेसो गर्दै सुनाए।   

सवारी उत्पादक कम्पनीहरूले पनि पैसाका लागि आम प्रयोगकर्ताको जीवनसँग खेलबाड गर्न नहुने विभागका पूर्वप्राविधिक निर्देशक खरेल बताउँछन्। जे भइरहेको छ त्यसमा सरकार र एसेम्बलकर्ता दुवैले तत्काल केही न केही कदम चाल्नु पर्ने मेकानिकल इन्जिनियरसमेत रहेका खरेलले बताए।  

मोटरसाइकल मेसिनरी उपकरण भएकाले यसको निश्चित डिजाइन, मापदण्ड, अत्यावश्यक विशेषता राखेर उत्पादन गरिने र त्यसको कठोर परीक्षणपछि मात्र बिक्रीका लागि पठाइने विभागका पूर्वप्राविधिक निर्देशक अधिकारी बताउँछन्। 

‘मान्छे बोकेर कुद्ने भएकाले यसमा मानिसको ज्यान हुन्छ। यस्तो उपकरण जस्तो पायो त्यस्तैगरी विशेषता झिक्ने, परीक्षण नगरी बिक्री गर्न दिने कुरा हुनै मिल्दैन,’ अधिकारीले भने, ‘घोडा बनाउने भनेर ल्याउने अनि गधा बनाएर बिक्री गर्न कहाँ पाइन्छ? बनाउनेले जे बनाउँछु भनेको छ, त्यो हेरेर जाँचेर दिने काम सरकारको हो’ उनले भने।  

सवारी एसेम्बलका अन्तर्राष्ट्रिय अनिवार्य मान्यताहरू छन्। जस्तो कि ठूला क्षमताका मोटरसाइकलको हकमा एबीएस अनिर्वाय हुनुपर्छ। त्यसमा पनि २०० सीसीभन्दा बढी इन्जिनमा त त्यो नभइ नहुने विशेषताको रुपमा वर्षौँअघिदेखि कार्यान्वयनमा रहेकाले बनाउनेले पनि झिक्न नपाउने र झिकेको छ भने सरकारले त्यसरी उत्पादन गर्नेको उत्पादन तुरुन्त बन्द गर्नुपर्ने अधिकारीको भनाइ छ।

रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो'

images

प्रकाशित : शुक्रबार, चैत १६ २०८००७:०६
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस