काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) निरन्तर अयोग्यता र बेथितिको नमुना बनिरहेको छ। हवाई क्षेत्रमा कसरी काम गर्नु हुँदैन भन्ने अध्ययनका लागि उपयुक्त दृष्टान्त बनिरहेको छ निगम। नेतृत्वमा रहेकाहरू गल्ती नगर्न होइन गरिएका गल्ती ढाकछोप गर्नमात्र समय खर्चिरहेका छन्।
राष्ट्रिय ध्वजावाहक निगममा अस्तव्यस्तता यति छ कि कुनै पनि जहाजमा न उडानको प्रबन्ध मिलिरहेको छ न त मर्मतको काम नै समयमा हुन सकेको छ। निरन्तर घाटामा गइरहँदा जहाज खरिदका लागि लिएको ऋणको किस्तासमेत समयमा भुक्तान हुन सकेको छैन। नेतृत्वको तन्नम कार्यशैलीले गर्दा ऋण बढेर निगम टाट पल्टिने अवस्था छ। नेतृत्व भने जहाज मर्मतमा मिलिरहेको कमिसनको चक्रले मस्त निद्रामा छ।
निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी जहाज नेपाल भित्र्याएको थियो। नेपाल सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ ऋण लिएर जहाज खरिद गरेको थियो।
दुईवटा वाइडबडी जहाज २०७५ को साउन र भदौबाट व्यावसायिक उडानमा आएको थियो। जहाज व्यावसायिक उडानमा आएको पाँच वर्ष ८ महिना भइसकेको छ तर निगमले जहाज खरिद गर्दा लिएको ऋणको कुनै पनि किस्ताको पूरा रकम तिर्न सकेको छैन। वाइडबडी जहाज खरिदमा लिएको २४ अर्ब ऋणको साँवा र ब्याजसमेत गरी ३९ अर्ब रुपैयाँ पुगिसकेको छ।
नागरिक लगानी कोषबाट निगमले जहाज खरिदका लागि लिएको १२ अर्ब रुपैयाँ ऋणको किस्ताबापत तिर्नुपर्ने रकमसमेत तिरेको छैन। १२ अर्ब रुपैयाँ ऋण बढेर गएको पुस मसान्तसम्ममा १९ अर्ब २३ करोड रुपैयाँ पुगिसकेको छ। निगमले चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा दुई किस्ता गरी २० करोड रुपैयाँमात्र तिरेको छ। जब कि निगमले एक किस्तामा नै ६३ करोड रुपैयाँ तिर्नुपर्ने भइसकेको छ।
निगमले अहिलेसम्म कुनै पनि किस्ताबापतको रकम न त समयमा नै तिरेको छ न त पूरा रकम नै तिर्न सकेको छ। यसले गर्दा ब्याज रकमसमेत जोडिँदै जाँदा ऋण बढिरहेको छ।
यसैगरी कर्मचारी सञ्चयकोष निगमले न्यारोबडी जहाज किन्दा लिएको ऋणको किस्ता र ब्याज तिरे पनि वाइडबडी जहाज किन्दाको ऋणको किस्ता भने तिरेको छैन। कर्मचारी सञ्चयकोषसँग निगमले न्यारोबडी खरिदको लागि २०७१ मा १० अर्ब रुपैयाँ र वाइडबडी खरिदका लागि २०७५ मा १२ अर्ब रुपैयाँ ऋण लिएको थियो।
पछिल्लो समय केही रकम तिरे पनि किस्ताबापत तिर्नुपर्नेजति रकम नतिरेको कोषका सूचना अधिकारी दामोदर सुवेदीले बताएका छन्। अहिले कोषलाई मात्रै निगमले तिर्नुपर्ने रकम २४ अर्ब ५० करोड रुपैयाँ नाघिसकेको छ। जसमा वाइडबडीको १२ अर्ब ऋण बढेर नागरिक लगानी कोषमा जस्तै १९ अर्ब रुपैयाभन्दा बढी भइसकेको छ।
यस्तोमा निगम व्यवस्थापन भने जहाज खरिदमा लिएको ऋण तिर्नुको सट्टा अनावश्यक खर्च तथा कमिसनमा रमाइरहेको छ। जहाज खरिदमा दुई पटकमा गरी लिएको ३४ अर्ब ऋणको रकम घटेर जानु पर्नेमा बढेको बढ्यै छ। किस्ताको रकमसमेत समयमा नतिरेको निगम व्यवस्थापन समयमा नै ऋण तिरिरहेको भ्रम छरिरहेको छ। जब कि समग्रमा निगमको ऋण ५० अर्ब रुपैयाँ नाघिसकेको छ।
गत आर्थिक वर्षमा २२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको भनेर झुटो प्रचार गर्ने निगमले जहाज खरिदको ऋण भने तिर्न सकेको छैन।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी त इन्जिन मर्मत र भाडालगायतमा कमसिनको पछाडिमात्रै लागेका छन्। जहाज समयमा मर्मत गरेर उडान गर्नमा उनको ध्यान छैन। सन् २०२३ को नोभेम्बर ३० मा ग्राउन्डेड भएको जहाज २०२४ मो मार्च २९ सम्म आउँदा पनि ग्राउन्डेड नै छ। इन्जिन मर्मत गर्न भनेर जहाज इजरायल लगेर राखिएको छ।
जहाज उडानमा नरहेपनि जहाजमा सेप्टेम्बर ३० मा प्रयोग भएको भाडाको इन्जिनबापत दैनिक दुई हजार डलर भने निगमले तिरिरहेको छ। कार्यकारी अध्यक्ष अधिकारी जहाज मर्मतमा ताकेदा गर्नुको सट्टामा घुमघाममा रमाइरहेका छन्। केही दिनअघि मात्रै दुईजना कर्मचारी लिएर भारत भ्रमणमा गएका उनी सेटिङको काम गरेर फर्किएका छन्। एयर इन्डियाको प्रतिनिधिसँगको भेटघाट भनेर भारत गएका उनले निगमको कमजोर अवस्था भइसक्दा पनि कुनै ध्यान दिएका छैनन्।
जहाज ग्राउन्डेड भएसँगै निगमको आम्दानि मासिक ३० करोड रुपैयाँले कम भइरहेको छ। तर पनि कार्यकारी अध्यक्ष अधिकारी भने व्यापार बढेको भ्रम फैलाउँदै हिँडिरहेका छन्। अधिकारीको स्वार्थपूर्ण योजनामा निगमका अधिकांश उच्च कर्मचारीहरूसमेत मतियार बनिरहेका छन्। निगम आर्थिक संकटको भुमरीमा परेकोमा भन्दा निगमको कमजोरी बाहिर आइरहेकोमा उनीहरू चिन्तामा छन्। अधिकारीलाई निर्देशक टंकनिधि दाहाल, अशोक सिग्देल, उमेश पौडेललगायतका निर्दशकहरूले नै साथ दिइरहेका छन्।
यतिसम्म कि निगमको अर्थ विभागले त आम्दानी भएको भन्दै गलत तथ्यांक सार्वजनिक गर्दै खर्चको भने कुनै पनि विवरण सार्वजनिक गरेको छैन। जब कि निगम गत आर्थिक वर्षमा साढे तीन अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको छ।
संकटमा पुगेको निगमलाई आर्थिक रुपमा सबल बनाउन समयमा नै बिग्रिएका जहाज मर्मत गरेर बढीभन्दा बढी उडान गर्नु पर्ने हो। तर निगम नेतृत्वमा अधिकारी आएपछि कुनै पनि दिन चारवटै जहाज उडानमा आएको छैन। अधिकांश समय एउटा न एउटा जहाज ग्राउन्डेड भएर बसेको छ।
सन् २०२१ को डिसेम्बरमा ग्राउन्डेड भएको न्यारोबडी जहाज २०२२ को मार्चसम्म ग्राउन्डेड भएको थियो। २०२२ को जुलाइमा ग्राउन्डेड भएको जहाज २०२२ को सेप्टेम्बरसम्म पूर्ण रुपमा नै ग्राउन्डेड नै थियो। दुईवटा न्यारोबडी जहाजमध्ये अधिकांश समय एउटा ग्राउन्डेड भएर नै बसेको छ।
दुईवटा वाइडबडी जहाजमध्ये एउटा वाइडबडी पनि ग्राउन्डेड भएर नै बसिरहेको हुन्छ। पछिल्लो समय सन् २०२३ को जुलाई १७ मा ग्राउन्डेड भएको न्यारोबडी नाइन एकेएक्स जहाज २०२३ को सेप्टेम्बर ३० सम्म ग्राउन्डेड भएको थियो। बीचमा केही समयमा उडानमा आएपनि यो जहाज नोभेम्बर ३० देखि फेरि ग्राउन्डेड नै छ। जहाज कहिलेदेखि उडानमा आउँछ निगमसँग नै सूचना छैन।
वाइडबडी उडानबाट गुमायो १९ अर्ब, आगामी ५ वर्षमा थप १० अर्ब नोक्सानी हुने
निगमले २०७५ को असार १४ मा पहिलो वाइडबडी र साउन ११ दोस्रो वाइडबडी नेपाल ल्याएको थियो। क्रमश: ३३ र ९९ दिनपछि जहाज व्यावसायिक उडानमा आएको थियो। यसरी उडानमा आएको जहाज अहिलेसम्म पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। जहाजको सरदर उडान क्षमताको ६५ प्रतिशतमात्रै उपभोग भएको निगमले नै सार्वजनिक गरेको रिपोर्टहरूमा देखिन्छ।
वाइडबडीबाट मात्रै निगमले अहिलेसम्म २० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोरेको छ। केही समयअघि राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा गठित समितिले गरेको अध्ययनअनुसार २०८० को बैशाखसम्ममा नै १९ अर्ब १४ करोड रुपैइाँको नोक्सानी भएको उल्लेख छ। अध्ययन समितिले दिएको रिपोर्टमा वाइडबडी सञ्चालनबाट आर्थिक वर्ष २०७४/०७४ मा १ अर्ब ५३ करोड ५१ लाख र आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ५९ करोड रूपैयाँ नोक्सानी भएको उल्लेख छ।
यसैगरी २०७६/०७७ मा ४ अर्ब १ करोड, २०७७/०७८ मा ३ अर्ब ७३ करोड, २०७८/०७९ मा ३ अर्ब र २०७९/०८० मा ३ अर्ब २८ करोड रूपैयाँ वाइडबडी सञ्चालनबाट निगमलाई घाटा भएको उल्लेख छ। अबको पाँच वर्षमा निगमले वाइडबडी सञ्चालनबाट नाफा लिन नसक्नेसमेत रिपोर्टमा उल्लेख छ।
जसमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६६ करोड, २०८१/०८२ मा २ अर्ब ८९ लाख, २०८२/०८३ मा २ अर्ब ३४ करोड, २०८३/०८४ मा १ अर्ब ७१ करोड र २०८४/०८५ मा ९७ करोड ७४ लाख रूपैयाँ नोक्सानी हुने जनाइएको छ।
यसैगरी न्यारोबडी जहाज सञ्चालनमा विगतमा नाफा भएको भए पनि अहिले भने घाटा नै रहेको छ। यही अवस्थामा नै निगमलाई सञ्चालन गर्न दिइरहने हो भने छिटै बिघटनकै स्थिति आउने कर्मचारीहरू नै बताउँछन्।
खस्कँदो व्यापार
समयमा जहाज मर्मत गरेर उडानमा ल्याउन नसक्दा निगमको आम्दानीमा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को कात्तिककै तुलनामा पुसमा आइपुग्दा निगमको आम्दानीमा ४५ करोड रुपैयाँले कमी आएको छ। निगमले प्रकाशन गरेको विवरणअनुसार कात्तिक, मंसिर र पुसमा निरन्तर आम्दानी घटेको छ। यो घट्ने क्रम माघमा अझ बढ्ने निश्चित छ।
निगमको एउटा न्यारोबडी जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड छ। उक्त जहाज इजरायल लगेर राखिएको छ। मर्मत भएको इन्जिन हालेर जहाज कहिले नेपाल ल्याइन्छ भन्ने निश्चित छैन। एउटा न्यारोबडीको दैनिक आम्दानी एक करोड रुपैयाँभन्दा बढी हुन्छ। जसबाट माघको आम्दानीमा समेत असर पर्ने देखिन्छ। मंसिर १५ देखि ग्राउन्डेड जहाज अझै उडानमा नआउँदा दैनिक हुने उडान तालिकामा समेत असर परेको छ। त्यसको प्रत्यक्ष असर आम्दानीमा पर्ने छ।
कात्तिकमा निगमको दुईवटा न्यारोबडी र दुईवटै वाइड बडी उडानमा रहेको थियो। जसका कारण एक महिनामै १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर जहाज ग्राउन्डेड भएसँगै निगमको आम्दानीमा असर परेको छ।
निगमको आम्दानी घटिरहँदा खर्च भने बढेको छ। निगमले कात्तिकमा १ अर्ब ७६ करोड आम्दानी गरेको थियो। तर मंसिरको आम्दानी १ अर्ब ५० करोडमा खुम्चिएको छ। मंसिरको तुलनामा पुसमा झन आम्दानीमा ठूलो गिरावट आएको छ। पुसमा निगमको आम्दानी १ अर्ब २० करोड रुपैयाँमा झरेको छ। कात्तिकमा भएको आम्दानीको तुलनामा मंसिरमा १७ करोड र पुसमा ४५ करोडले कमी भएको छ। यसैगरी मंसिरको तुलनामा पुसमा ३० करोड रुपैयाँले आम्दानी घटेको छ।
बजार हिस्सा गुमाउँदै निगम, २५ बाट १४.२० प्रतिशतमा झर्यो
आम्दानी खस्किएको कोभिडको समयसँग तुलना गरेर अहिले खर्चसमेत नदेखाइ आम्दानी बढेको गलत प्रचार गरिरहेको निगमको बजार हिस्सा भने खस्कँदै गएको छ। धेरै यात्रु बोकेको भन्दै नेतृत्वले भ्रम छरिरहँदा विदेशी कम्पनीले निगमको कमजोर अवस्थाको फाइदा पाइरहेका छन्। नेपाल वायुसेवा निमगले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ।
सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्याएको निगमको सन् २०२३ मा १०.७९ प्रतिशत बिन्दुले खस्किएको छ। सन् २०२३ को कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार निगमको सन् २०२३ को ११ महिनामा बजार हिस्सा १४.४३ प्रतिशतमा झरेको थियो। यो हिस्सा डिसेम्बरमा आइपुग्दा घटेर १४.२० प्रतिशतमा झरेको हो।
डिसेम्बर महिनाभरि निगमको एउटा न्यारोबडी ३२० विमानस्थलमा ग्राउन्डेड भएर बसेको थियो। जसको कारण निमगको बजार हिस्सा घटेको हो। विमानस्थल कार्यालयका अनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४५ लाख ४१ हजार १ सय ३७ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमध्ये नेपाल एयरलाइन्सको सेवा लिने यात्रुको संख्या ६ लाख ४५ हजार १ सय ६६ रहेको छ। यो कुल यात्रुको १४.२० प्रतिशत हो।
यसअघि सन् २०२२ मा निगमको बजार हिस्सा १६.५६ प्रतिशतमा झरेको थियो। व्यवस्थापनको लापरबाहीकै कारण बजार हिस्सा क्रमश: ओरालो लागेको हो। सन् २०२३ मा निगमको दुईवटा न्यारोबडी जहाजमध्ये कुनै पनि दिन दुईवटै उडानमा आउन सकेको थिएन।
सन् २०२० मा निगमको बजार हिस्सा सबैभन्दा बढी २५ प्रतिशत पुगेको थियो। सन् २०१७ देखि निगमको बजार हिस्सा निरन्तर बढेको थियो। सन् २०१७ मा निगमको बजार हिस्सा १० प्रतिशत थियो। १० प्रतिशतको बजार हिस्सा २०१८ मा १ प्रतिशतले बढेर ११ प्रतिशत भएको थियो। २०१९ मा एकैपटकमा ७ प्रतिशतले बजार हिस्सा बढेर १८ प्रतिशत भएको थियो भने २०२० मा पनि ७ प्रतिशतले नै बढेर निगमको बजार हिस्सा २५ प्रतिशत पुगेको थियो।
सन् २०२१ मा कोरोनाका कारण निगमको बजार हिस्सा ५ प्रतिशतले घटेको थियो। २०२२ मा भने निगम व्यवस्थापन तथा कार्यकारी अध्यक्ष अधिकारीको लापरबाहीका कारण बजार हिस्सा घटेर १६.५६ प्रतिशतमा झरेको हो। त्यसमा पनि सन् २०२३ मा बजार हिस्सा फेरि घट्यो।
सन् २०२२ मा निगमको दुईवटा न्यारोबडी जहाज ५ सय दिनभन्दा बढी ग्राउन्डेड भएका थिए। २०२१ को डिसेम्बरमा बिग्रिएको एउटा न्यारोबडी २०२२ को मार्चबाट मात्रै उडान भएको थियो भने २०२० को जुलाईमा बिग्रिएको अर्को न्यारोबडी जहाज सेप्टेम्बरमा मात्रै उडेको थियो।
जहाजको इन्जिन मर्मतमा लापरबाही हुँदा २०२२ मा कुनै पनि दिन दुईवटा न्यारोबडी जहाज पूर्णरुपमा उडान हुन सकेको थिएन। एउटा उडान भए अर्को ग्राउन्डेड हुने क्रम निरन्तर थियो। त्यसबाहेक पनि निमगको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएका दुईवटा वाइडबडी जहाज पनि निगम व्यवस्थापनले पूर्णरुपमा उडान गर्न नसक्दा बजार हिस्सा गुमाएको हो।
कमिसनको लोभकै कारण समयमा जहाज मर्मत नहुँदा ग्राउन्डेड हुने समय बढेको र बजार हिस्सा गुमाएको हो। निगमको बजार हिस्सा घट्दै गर्दा नेपालमा उडान गरिरहेका विदेशी एयरलाइन्स कम्पनीको बजार बढ्दो छ। निगम नेतृत्व भने जहाज व्यवस्थापन र भएका जहाज चलाउनेमा भन्दा खरिदको सेटिङमा रमाउने र तथ्य तोडमोड गर्नमै समय खर्चिरहेको छ।
समयमै उड्दैनन् निगमका जहाज
निगम आफैले सार्वजनिक गरेको रिपोर्टका आधारमा निगमका जहाज कुनै पनि दिन समयमा उडेको देखिँदैन। गत आर्थिक वर्ष २०७९/८० मा निगमको जहाज कुनै पनि महिना तोकिएको समयमा उडानसमेत भएको देखिँदैन।
एक महिनामा निगमका जहाजले ६८ प्रतिशत समयमात्रै तोकिएको समयमा नै उडान भरेको रिपोर्टमा उल्लेख छ। गत आवको भदौमा त निगमको जहाज ४० प्रतिशतमात्रै तोकिएको समयमा उडान भएको छ।
निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार साउनमा ५८ प्रतिशत उडान समयमा भएको थियो भने असोजमा ६१ प्रतिशतमात्रै उडान भएको देखिएको छ।
यसैगरी कात्तिकमा ६०, मंसिरमा ५४, पुसमा ५३, माघमा ६८, फागुनमा ५९, चैतमा ५३, बैशाखमा ४४, जेठमा ४४ र असारमा जम्मा ५४ प्रतिशत उडानमात्रै समयमा भएका छन्। समयमा जहाज नउडे पनि विश्वसनियता भने शतप्रतिशत नै रहेको हाँस्यास्पद दाबी निगमको छ।
अझै गायब छ दुई करोड
निगमका कर्मचारीको लापरबाहीका कारण ह्याकरले दुई करोड रुपैयाँ लगेको सात महिना हुन लागिसकेको छ तर अहिलेसम्म निगमले रकम फिर्ता ल्याउन सकेको छैन। निगमको दुबई स्टेसनका कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा निगमको दुई करोड रूपैयाँ ह्याकरले लगेको थियो।
ह्याकरले निगमको दुबई स्टेसनको ईमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको हो। ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले तीनपटकसम्म गरी दुई करोड रुपैयाँ हालेकी हुन्। सुवेदीलाई अहिले काठमाडौं तानिएको छ। गल्ती गर्ने कर्मचारीलाई निलम्बन गरेर छानबीन गर्नुपर्ने भएपनि कुनै कारबाही नगरी कार्यकारी अध्यक्ष अधिकारीले जिम्मेवारीमा नै काम गराइरहेका छन्।
अस्मिता सुवेदीले २०२३ को अगस्ट १ मा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ मा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ मा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा रकम हालेकी थिइन्।
तत्कालीन सयममा प्रति एक दिराम बराबर ३६ रूपैयाँको हिसाबमा ५ लाख ३५ हजार ८ सय ५५ दिराम बराबर १ करोड ९२ लाख ९० हजार ७ सय ८० रूपैयाँ ह्याक भएको हो। उक्त रकम अहिलेसम्म पनि फिर्ता आउन सकेको छैन।
रकम ह्याक भएको विषय संसदीय समितिमा समेत उठिसकेको छ। कार्यकारी अध्यक्ष अधिकारीले सबैलाई रकम आउने बताएपनि अहिलेसम्म रकम निगमको खातामा आएको छैन।
निगम सञ्चालकहरूले समेत अधिकारीलाई बारम्बार यो विषयमा प्रश्न गरिरहेको एक सञ्चालकले बताए। तर कार्यकारी अध्यक्ष अधिकारीले रकम आउँछमात्रै भन्दै कुनै विवरण बोर्डमा दिएका छैनन्।
निगमको दुई करोड गायब भएको घटना कर्मचारीको लापरबाहीको विषयमात्रै होइन, निगम कसरी चलिरहेको छ भन्ने उदाहरणसमेत हो। यस्तोमा नेतृत्वको नाकामीबीच ऋणको पहाडले थिचिएर टाट पल्टिएको निगम सामान्य उपचारले मात्र ब्युँतनसक्ने देखिँदैन।
नेपाल एयरलाइन्समा बारम्बार दोहोरिँदै गल्ती, यी हुन् प्राधिकरणले फेला पारेको २७ गम्भीर त्रुटि नेपाल एयरलाइन्सको हवाई सुरक्षामा आईकाओ र ईयूको गम्भीर चासो हवाई सुरक्षामा नेपाल एयरलाइन्सको लापरबाही : ३६ वर्षअघिको सुरक्षा मेनुअलबाटै उडान नेपाल एयरलाइन्सले सरकारी सहानुभूतिमा पाइरहेको ग्राउन्ड ह्यान्डलिङ, न सेवामा गुणस्तर न भरोसा वायुसेवा निगम दोहनमा सर्वोच्चसम्म सेटिङ, दुई करोड गुम्दा पनि यसकारण चुपचाप छन् अध्यक्ष अधिकारी