काठमाडौं- नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा गरेको अवलोकन अध्ययनबाट विभिन्न गम्भीर गल्ती कमजोरीहरू फेला पारेको छ। गल्ती कमजोरीका विभिन्न २७ बुँदा उल्लेख गर्दै उक्त विषयमा जवाफ दिन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले पत्रसमेत काटेको छ।
प्राधिकरणले सात दिनभित्र जवाफ दिनु भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई पत्र काटेको हो। पत्रको जवाफ चित्त नबुझे प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीलाई 'अकाउन्टेबल म्यानेजर'बाट हटाउने छ। अध्यक्ष अधिकारीलाई 'अकाउन्टेबल म्यानेजर'बाट हटाउन पाउने अधिकार प्राधिकरणसँग रहेको छ।
निगमले हवाई सुरक्षामा चरम लापरबाही गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र युरोपेली युनियन (ईयू) ले समेत नेपाल नागरिक उड्डयन प्राधिकरणमा असहमति पत्र पठाएको थियो।
दुवै संस्थाले गम्भीर चासो दिँदै नेपाल वायुसेवा निगममाथि तत्काल कारबाही नभए उड्डयन प्राधिकरणमाथि नै जुनसुकै कदम चाल्ने चेतावनी दिएका थिए। हवाई सुरक्षाको विषयमा कमजोरीहरू देखिएपछि सात दिने स्पष्टीकरणपत्र पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। निगम नेतृत्वले हवाई सुरक्षामा कुनै चासो नदिएपछि बाध्य भएर पत्र काट्नु परेको निरौलाले जानकारी दिए।
निगम कार्यकारी अध्यक्ष अधिकारीले सुरक्षासँग सम्बन्धित तीनवटा अत्यावश्यक विभागलाई नेतृत्वविहीन बनाएका छन्। निगममा गएको ६ महिनादेखि उडानयोग्यता व्यवस्थापनसम्बन्धी विषयमा काम गर्ने 'कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन' (क्यामो) म्यानेजर खाली रहेको छ। जसमार्फत जहाजको योग्यता जाँच गरेपछिमात्रै उडान गर्ने व्यवस्था रहेको छ। त्यसमा उडानको योग्यता स्वीकृत गर्ने एएमओ (एप्रुभ्ड मेन्टेनेन्स अर्गनाइजेसन) पनि रिक्त राखिएको छ।
निगमको ड्युटी मर्मतसम्भार विभाग, कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन र कर्पोरेट सुरक्षा विभागलाई नेतृत्वविहीन बनाइएको छ। यी विभागहरू महत्त्वपूर्ण रूपमा विमान मर्मत र सुरक्षासँग सम्बन्धित छन्।
प्राधिकरणको हवाई सुरक्षा विभागले पटक-पटक निगमको बारेमा प्रश्न उठाउँदै आएको छ। प्राधिकरण नेतृत्वले पनि निगम नेतृत्व र मन्त्रीदेखि प्राधानमन्त्रीसम्मलाई निगमका बारेमा जानकारी गराइसकेको छ। तर राष्ट्रिय ध्वजावाहक भन्दै कारबाही गर्नबाट रोकिएपछि अहिले झनै गम्भीर समस्या सिर्जना भएको छ।
सेटिङमा हुने फाइदाका कामबाहेक निगममा सुधारका लागि आवश्यक काम नगर्ने तर कारबाहीबाट जोगिन अख्तियारदेखि अदालतसम्म धाउने गरेका कार्यकारी अध्यक्ष अधिकारीलाई अब भने प्राधिकरणले चित्तबुझ्दो जवाफ नपठाए कारबाही गर्ने छ।
निगमसँग हाल चारथान ठूला र तीन थान साना जहाज छन्। चिनियाँ ६ थान जहाज वर्षौंदेखि ग्राउन्डेड छन्। विभिन्न १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सयौँ यात्रु बोकेर उड्ने राष्ट्रिय ध्वजावाहकको चरम लापरबाहीले जुनसुकै बेला ठूलो दुर्घटना निम्तन सक्ने त्रास प्राधिकरण नेतृत्वमा छ। जब कि कुनै निजी वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगममा जस्तो यति धेरै कमजोरीको विषय देखिएको भए तत्कालै ग्राउन्डेड गरिने थियो।
यस्ता छन् निगमका देखिएका गल्ती कमजोरीका २७ बुँदा
१) एयर ओर्थिनेस म्यानेजर र मेन्टेनेन्स म्यानेजर नहुनू। जसले गर्दा नियमित उडानअघि चेकजाँचको कामसमेत हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सका लागि यो अति नै खतरापूर्ण अवस्था हो।
२) मेन्टेनेन्सलगायतका कामहरू नियमित रुपमा समयभित्रै गर्नुपर्नेमा हुन सकेको छैन।
३) निगमको मेन्टेनेन्सको स्तरीयतासमेत निकै कमजोर रहेको छ। त्यसमा कस्ता-कस्ता कमजोरी भएका छन् भन्नेसमेत पत्रमा उल्लेख गरिएको छ।
४) लामो समयदेखि ए ३२० एयरक्राफ्ट नाइन एन एकेएक्स इजरायलमा ग्राउन्डेड भएर बसेको छ। जसले गर्दा उडानमा समस्या आउनुका साथै बिग्रिएको इन्जिन मर्मतबारे समेत कुनै यकिन छैन।
५) ए ३२० को इन्जिमा पटक-पटक समस्या देखिएको छ। जसमा इन्जिन व्यवस्थापनको निर्णयसमेत समयमा हुन सकेको छैन।
६) नाइन एन एबिएक्स लामो समयदेखि ग्राउन्डेड भएर बसेकोमा मर्मत भएको छैन। तर उक्त जहाजको विभिन्न पार्ट अन्य ट्वीनअटर जहाजका लागि प्रयोग गरिएको पाइएको छ।
७) ट्वीनअटरमा लामो समयदेखि भीएचएफ सुधारका लागि निगमले काम गरेको छैन। जसले गर्दा निकै उडानहरू डाइभर्ट भएका अवस्था देखिएका छन्।
८) निगमको आन्तरिक लेखापरीक्षणका कामहरू समयमा नै हुने गरेको देखिए पनि त्यसमा समयमा नै अन्य सुधारात्मक कार्ययोजनाहरूमा काम भएको देखिँदैन। अडिट गर्ने विषयमा पनि जिम्मेवार ढंगले काम भएको देखिँदैन।
९) ह्याङ्गर ब्यवस्थापनको काममा समेत निकै कमजोरीहरू भेटिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरको काममा निगमले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न सकेको देखिँदैन।
१०) मिनिमम एयरओर्थिनेसको स्ट्यार्न्डर्डको काममा विश्वसनीयता देखिएको छैन। अन्तर्राष्ट्रिय मान्यताअनुरुप जहाजको न्यूनतम उडान योग्यताको मानक बनाउन कठिन अवस्था देखिएको छ।
११) मर्मत र अन्य सुधारका काममा लाग्नुपर्ने कर्मचारीहरूले नै पनि सधैँजसो जहाजका पार्टस् र अन्य उपकरण भाडामा लिने र व्यवस्थापन गर्ने काममा नै समय खर्चिनु परिरहेको छ। त्यसमा अन्य जुनियर कर्मचारीमा नै धेरै निर्भर हुनुपरिरहेको देखिएको छ।
१२) क्वालिटी डिपार्टमेन्टको एक्सन प्लानअनुसार काम हुन सकेको देखिँदैन। 'कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन' (क्यामो) र उडानको योग्यता स्वीकृत गर्ने एएमओ (एप्रुभ्ड मेन्टेनेन्स अर्गनाइजेसन) को कामका विषयमा गम्भीरता देखिँदैन।
१३) आन्तरिक रुपमा हुनुपर्ने कम्युनिकेसनको विषयमा पनि निकै ग्याप देखिएको छ। त्यसमा सञ्चार प्रोटोकलको पालना भएको देखिँदैन। जसले गर्दा जहाजको अवस्थाका बारेमा समेत समयमा रिपोर्टिङ भएको देखिँदैन।
१४) ह्याङ्गरका लागि चाहिने र प्रयोग भइरहेको ठाउँमा समेत अन्य सामानहरूले स्थान ओगटेर राखिएको छ। जसले गर्दा काममा नै बाधा पर्ने स्थिति आइरहेको छ।
१५) निगमले ओसीसीको प्रक्रियासमेत राम्ररी पालन गरेको देखिँदैन। ओसीसी अपरेसन म्यानुअलमा रहेका चेकलिस्टका बारेमा सम्बन्धित कर्मचारीलाई जानकारी नै नभएको समेत पाइएको छ। कर्मचारीबीच कामको विभाजन राम्ररी हुन सकेको छैन।
१६) ओसीसीमा सम्बन्धित कर्मचारीको एफडीटीएलअनुसार तालिमलगायतमा पनि कमी देखिएको छ। सम्बन्धित जिम्मेवार कर्मचारीलाई कार्यान्वयनमा रहेको एप्रुभ्ड प्रोसेडुयर्सका बारेमा समेत जानकारी छैन।
१७) ए ३३० मा अटोमेटेट एक्सटर्नल डिफाइबिलेटर (एईडी) नराखिएको विषय ईयूको अध्ययनबाट समेत देखिएको थियो।
१८) पाइलटको ड्युडी रोस्टरका विषयसमेत अनुगमन नगरिएको अवस्था छ। त्यसमा आर्म्स सिस्टममा समेत अपग्रेड गरिएको छैन।
१९) एयरलाइन संशाधन व्यवस्थापन प्रणाली (आर्म्स) मा राम्ररी काम नहुँदा कर्मचारीको व्यवस्थापनमा समेत समस्या देखिएको छ।
२०) ‘सीएसडी’का सम्बन्धमा हुनुपर्ने योजनाबमोजिम काम भएको देखिँदैन। सीएसडीमा आवश्यक मानव संशाधनको व्यवस्थपनमा कमजोरी छ।
२१) सुरक्षाका विषयमा हुनुपर्ने जवाफदेयिता देखिँदैन। सुरक्षाका विषयमा जिम्मेवारी र जवाफदेयिताका लागि सम्बन्धित कर्मचारीहरुलाई आवश्यक (औपिएस, क्यामो र एएमओ) मा समावेश गरिएको छैन। प्रदान गरिएका कतिपय विषयहरू नै पनि सम्बन्धित कर्मचारीले नै स्वीकार गरेका छैनन्।
२२) आन्तरिक छानबिनका कतिपय विषयहरूमा सम्बन्धितहरू छानबिनका लागि आवश्यक पर्ने अनिवार्य तालिमप्राप्त व्यक्ति छैनन्।
२३) कतिपय अध्ययन र अनुसन्धानका विषय र सुरक्षाका सम्बन्धमा भेटिएका त्रुटीमा पनि अपरेसन डिपार्टमेन्टबाट त्यसको पहिचार गरी हुनुपर्ने सुधारको काम भएको छैन।
२४) संस्थाभित्र विभिन्न महत्वपूर्ण कागजातहरूको दस्तावेजीकरणमा समेत समस्या देखिएको छ।
२५) सेफ्टी अडिटका विषयमा अध्ययन त भएको छ तर त्यसमा लेखापरीक्षणलगायत प्रभावकारिता, अनुसन्धान सिफारिसहरूको कार्यान्वयन र अन्य सुरक्षाका सम्बन्धमा देखिएका महत्वपूर्ण पक्षहरूमा सुनिश्चितता मिल्ने अवस्था छैन।
२६) कतिपय प्रोडक्ट र सर्भिसका लागि विभिन्न संस्थाहरूसँग अनुबन्धमा आवश्यकताअनुसार स्तरीय काम पूरा गर्न सक्ने स्वीकार्यताको अवस्था देखिँदैन। निगममा सेफ्टीका विषयलाई लिएर गम्भीरताका साथ काम भएको देखिँदैन।
२७) सेफ्टी म्यानेजमेन्ट सिस्टमका विषयमा मापदण्ड र मानक नै दुईवटा रहेको देखिएको छ। त्यसमा कतिपयको दक्षता संगठनात्मक मापदण्डअनुसार कायम गरिएको अवस्था छैन भने त्यो पूरा भएको नभएको विषयमा अनुगमनसमेत भएका छैनन्।