काठमाडौं- बीवाईडी अटो इन्डस्ट्रिजको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठले बीवाईडी ब्याट्रीको विषयमा सरासर झुट बोलेका छन्।
बीर्वाडीको विद्युतीय कार सामान्य कुच्चिँदा मर्मत खर्च गाडीको मूल्यबराबर आएको विषय ढाकछोप गर्ने क्रममा सीईओ श्रेष्ठले नेपालमा फेर्नै ‘असम्भव’ रहेको ब्लेड ब्याट्रीको सेल फेर्न सकिने भन्दै झुट बोलेका हुन्।
बीवाईडीले एलएफपी केमेस्ट्रिकै ब्याट्री ब्लेड फरम्याटमा प्याकिङ प्रविधि विकास गरेको छ। यो भनेको प्याकिङमा भएको भिन्नता मात्र हो। जब कि नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र यसका पदाधिकारीले यो ब्याट्री नै अलग्गै केमेस्ट्रिको भएझैँ गलत प्रचार गरिरहेका छन्। यसका साथै उनीहरूले विभिन्न फोरमहरूमा ब्लेड ब्याट्रीको सेल नै फेर्न सकिने बताउँदै आएका छन्।
साइमेक्सका सीईओ साहिल श्रेष्ठले त सेतोपाटी अनलाइनसँगको कुराकानीमा नेपालमै ब्लेड ब्याट्रीको सेल फेर्न सकिने बताए। बीवाईडीले उत्पादन गरेको ब्याट्री मोडुल नभइ सेलमा आधारित रहेको र त्यस्ता सेल जुनमा समस्या आयो त्योमात्र फेर्न सकिने जिकिर उनले गरेका छन्।
बीवाईडी बिक्रेता साइमेक्सका सीईओ श्रेष्ठले सेतोपाटीसँग भनेका छन्, ‘केही कारणवश समस्या आयो भने पूरै ढिक्का ब्याट्री फेर्नुपर्दैन। यो ब्लेड ब्याट्री १०५ वटा पाता (जसलाई सेल भनिन्छ) जोडेर बनाइएको हुन्छ। त्यसैले बिग्रेको सेलमात्र झिकेर मर्मत गर्न वा फेर्न सकिन्छ। यसरी सेल फेर्दा धेरै खर्च लाग्दैन।’
सीईओ श्रेष्ठको भनाइ सरासर झुट छ। गत महिना सामान्य ठोक्किएको बीवाईडीको एटो थ्रीको ब्याट्री करभरको एउटा हुक भाचिँदा पूरै हाइभोल्टेज ब्याट्री सिस्टम नै फेराइएको थियो। विराटनगरमा रहेको साइमेक्सको आधिकारिक सर्भिस सेन्टरले २५ लाख मर्मत खर्च लाग्ने भनेर कोटेसन दिएको थियो। तर साइमेक्सकै दबाबमा उक्त एटो थ्रीको हाइभोल्टेज ब्याट्री नै फेराइएको थियो। सो ब्याट्रीको २१ लाख ९५ हजार रुपैयाँ मूल्य लगाइएको थियो।
ब्याट्रीको बाहिरी कभर नफेरेर सिंगो ब्याट्री फेराएको साइमेक्स इंकका सीईओले नेपालमा वर्तमान समयमा असम्भव रहेको ब्याट्री सेल फेर्छु भनेर झुट बोलेका छन्। त्यसमा जसरी पनि गाडी बिक्री गर्ने उनको दूसित उद्देश्य देखिन्छ। ‘पूरै ढिक्का ब्याट्रीको भाउ हेरेर यसका सेल फेर्न महँगो पर्छ भन्न मिल्दैन,’ उनले भनेका छन्, ‘फेरि पछिल्लो समय संसारभर ब्याट्रीको मूल्य क्रमशः कम हुँदै गएको छ। आज किनेको गाडीको १०/१५ वर्षपछि ब्याट्री फेर्ने बेला त मूल्य झनै सस्तो भइसकेको हुन्छ।’
साइमेक्स सीईओ श्रेष्ठले भनेजस्तै ब्याट्रीको सेल फेर्न मिल्ने गलत दाबी गर्दै बीवाईडीको शोरुमले पनि गाडी बिक्री गरिरहेको छ।
भैरहवाको बीवाईडी शोरुमले पनि ब्याट्रीको सेलसमेत फेर्न मिल्ने बताउँदै उपभोक्तालाइै गाडी बिक्री गरिरहेको छ। शोरुममा आउने उपभोक्तालाई भन्ने गरिएको छ, ‘प्रतिसेल लागत करिब ६ हजार रुपैयाँमा आउने र ४९ किलोवाट आवरको ब्याट्री भएको एटो थ्रीमा १ सय ५ वटा सेल रहेका छन्। यसरी एउटा एटो थ्रीमा भएको सबै सेल फेर्नुपर्दा पनि ६ लाख चानचुनमा सेल आउने र फेर्ने लागत तथा सर्भिस पनि जोड्दा ७ लाख हाराहारीमा हामी ब्याट्री फेर्न सक्ने अवस्थामा छौँ। हामीलाई कम्पनीबाट पनि यस्तै जानकारी आएको छ।’
साइमेक्स सीईओ श्रेष्ठ र भैरहवा शोरुमको भनाइ मिल्दोजुल्दो देखिन्छ। यसको अर्थ बीवाईडीले योजनावद्ध नै उपभोक्तालाई झुटो कुरा भनेर अलमल्याउँदै गाडी बिक्री गर्ने योजना बनाएको देखिएको छ।
एउटा ग्लोबल कम्पनीको आधिकारिक बिक्रेताले एउटै देशमा रहेका शोरुमलाई एकैकिसिमको काउन्सिलिङ गर्न नसक्नु पनि आधिकारिक बिक्रेता कम्पनीको अक्षमता हो। बीवाईडीका देशभर रहेको शोरुममध्ये बिजनेस न्युजले ६ वटा शोरुमसँग कुरा गर्दा ६ वटै शोरुमले ब्याट्री फेर्ने लागत मूल्य अलग-अलग भनेको पाइयो।
बीवाईडीले चीनबाहिर दिएको छैन सेल फेर्ने अनुमति
बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले ब्लेड आकारमा प्याकिङ पेटेन्टयुक्त ब्याट्री उत्पादन गर्दै आएको छ। बीवाईडीले अर्को भगिनी कम्पनीमार्फत उत्पादन गर्ने ब्लेड ब्याट्री बीवाईडीका विद्युतीय सवारीमा तथा अन्य कम्पनीहरूलाई ब्याट्रीमात्रै बिक्री गर्दै आएको छ। बीवाईडीले उत्पादन गर्दै आएको ब्लेड ब्याट्री पनि एलएफपी केमेस्ट्रीमै बनेको हो।
बीवाईडीले ब्याट्री नै फेर्न दिए पनि हालसम्म चीनबाहिर सिंगल ब्लेड फेर्न अनुमति दिएको छैन। सेल फेर्न निकै जटिलता रहेको छ। ब्याट्री उत्पादन गर्दा नै फेर्न जटिल हुनेगरी 'कम्प्याक्ट' बनाइएको छ। त्यो जरुरी किन पनि छ भने हाइ भोल्टेज करेन्ट प्रवाह हुने भएकाले सुरक्षा प्राथमिकतामा आउँछ। एउटा ब्लेड फेर्दा सिंगो ब्याट्रीको सन्तुलन बिग्रन सक्ने र थप जटिलता आउने सम्भावना भएकाले पनि बीवाईडीले सेल फेर्न अनुमति नदिएको हो।
ब्याट्रीको सेल फेर्दा दीर्घकालीन रुपमा कम्पनीको ब्याट्री व्यापारमा धक्का पुग्ने भएकाले पनि बीवाईडीलगायत ब्याट्री उत्पादक कम्पनीहरूले एउटा एउटा सेल फेर्न नमिल्ने गरी ब्याट्रीको विकास गरिरहेका हुन सक्छन्। सामान्य रुपमा सुरक्षा र ब्याट्रीको व्यापारलाई हेरेर सेल फेर्न जटिलता पैदा हुँदै जानेछ। जसमा बीवाईडीले अहिलेदेखि नै सेल फेर्ने विषयलाई थप जटिल बनाउँदै लगेकाले कम्पनीबाहेक अन्यत्र अनुमति दिएको छैन।
ब्लेड ब्याट्रीको सेल फेर्न यस्ता छन् प्राविधिक जटिलता
बीवाईडीको ब्लेड ब्याट्री मोडुलमा आधारित नभएर एउटै प्लेटमा ब्लेडहरूलाई जोडेर बनाइएको छ। निश्चित सेलहरू मिलाएर मोडुल बनाउने र मोडुलहरू जोडेर ब्याट्री प्याक बनाउँदा मोडुल फेर्न केही सहज हुने प्राविधिकहरूको भनाइ छ।
अर्थात यसलाई सेल टू मोडुल र मोडुल टू ब्याट्री प्याक भनिन्छ। सीएटीएललगायत अन्य केही कम्पनीले बनाएका ब्याट्री मोडुलमा बनेका छन्। तर बीवाईडीको ब्लेड ब्याट्री मोडुलमा नभइ एउटै प्लेटमा सेल जोडेर बनाइएको छ। सोही कारण एउटा सेल फेर्दा अर्को सेलमा प्रत्यक्ष प्रभाव पर्न सक्छ। जसका कारण दुई सेलबीचको भोल्टेज तलमाथि हुन्छ। परिणमतः सिंगो ब्याट्रीकै कार्यक्षमता खलबलिन सक्छ।
अब ब्लेड ब्याट्री बनोटको कुरा गरौँ। यो ब्याट्री सेल-टू-प्याक (सीटीपी) आधारित रहेर बनेको हुन्छ। जो सुरुमा बनाउन सजिलो हुने भए पनि मर्मत गर्नुपर्ने अवस्थामा यो डिजाइन जटिल हुन्छ।
ब्लेड ब्याट्रीको सेल फेर्न जटिल हुने मुख्य तीन प्राविधिक कारण :
१. सेल-टू-प्याक (सीटीपी) डिजाइन कम्प्लेक्सिटी
ब्लेड ब्याट्रीमा सीटीपी प्रविधिको प्रयोग गरिएको हुन्छ। यसको अर्थ हरेक सेल ब्याट्री प्याक बनेको प्लेटमा इन्टिग्रेटेड हुन्छ। परम्परागत मोडुल बनाएर ब्याट्री प्याक बनेको हुँदैन।
यही कारणले सेलकै तहमा गएर ब्याट्री मर्मत निकै जटिल बन्छ। यसका लागि विशेष किसिमको उपकरण र दक्ष प्राविधिकको आवश्यकता पर्छ।
विशेष किसिमबाट मर्मत गर्दासमेत सेलको लेजर कटिङ, पुनः लेजर वेल्डिङ र भोल्टेज मिलाउन त्यति सहज छैन। विशेष उपकरण र निकै नै दक्ष प्राविधिक इन्जिनियरले मात्रै ब्याट्रीलाई मर्मतका लागि सुरक्षित तवरले गाडीबाट अलग्याउन सक्छन्। जुन नेपालमा ब्लेड ब्याट्री मर्मतका सन्दर्भमा सम्भव देखिँदैन।
२. थर्मल म्यानेजमेन्ट र सुरक्षा जोखिम
लिथियम आइरन फोसफेट (एलएफपी) केमेस्ट्री भन्दा अर्को लिथियम आयन ब्याट्री बढी सुरक्षित हुन्छ। तर थर्मल रेनवे रिस्क अझै कायमै हुन्छ।
ब्लेड ब्याट्रीको इन्डिभिजुअल सेल फेर्दा वा अनुपयुक्त मर्मत गर्दा ब्याट्री तात्ने र आगो लाग्ने जोखिम कयौँ गुणा बढेर जान्छ। त्यसैले पनि नेपालमा ब्लेड ब्याट्रीको सेल फेर्न कठीनमात्र होइन वर्तमान समयमा असम्भव छ।
३. स्ट्यान्डराइज्ड रिपेयर प्रोसिड्युवरको अभाव
परम्परागत ईभी ब्याट्री प्याकको मर्मतको एउटा स्ट्यान्डर्ड तय भइसकेको छ। सोहीअनुसार कम्पनीहरूले प्राविधिकलाई तालिम दिएर त्यसका लागि पोख्त बनाउँछन् र त्यसको मर्मत सहज हुँदै गएको छ।
बीवाईडीले भने हालसम्म ब्लेड ब्याट्रीको सेलको तहसम्म मर्मत गर्ने आधिकारिक प्रोसिड्युवर तयार पारेको छैन। यसबारेमा बीवाईडीले आफ्नो आधिकारिक वेबसाइटमा पनि केही उल्लेख गरेको छैन। यसको अर्थ कम्पनीले ब्लेड ब्याट्रीको कुनै सेल मर्मत गर्ने वा फेर्ने विषयलाई प्राथमिकतामा राखेको छैन।
सोही कारण बीवाईडीले ब्लेड ब्याट्रीको सेल फेर्ने वा त्यसलाई मर्मत गरेर प्रयोग गर्नेभन्दा पूरै ब्याट्री प्याक नै फेराउन उत्प्रेरित गरिरहेको छ।
आवश्यक उपकरण
लेजर वेल्डिङ/कटिङ मेसिन, आईपी टेस्टर, प्याक चार्जर/डिसचार्जर मेसिन, सेल चार्जर/डिसचार्जर मेसिन र बीएमएस क्लालिब्रेसन/रिसेट सेफ्टवेर तथा हार्डवेरको जरुतर पर्छ। यी उपकरण हाल नेपालमा उपलब्ध छैन।
ब्लेड ब्याट्री प्रयोग गएका अन्य ब्रान्ड र बीवाईडीले नै पनि भनेका छैनन् - ‘सेल फेर्न मिल्छ’
बीवाईडीका विद्युतीय कारमा मात्र होइन अन्य कतिपय ब्रान्डका विद्युतीय कारमा पनि बीवाईडीले नै बनाएको ब्लेड ब्याट्री प्रयोग भइरहेको छ। विश्वमा उत्पादन हुने कुल ब्याट्री (विद्युतीय सवारीमा प्रयोग हुने) मध्ये करिब १५ प्रतिशत हिस्सा बीवाईडीको रहेको छ। सोहीकारण बीवाईडीले बनाएका ब्याट्री बीवाईडी ब्रान्डका विद्युतीय सवारीबाहेक अन्य ब्रान्डका विद्युतीय सवारीमा पनि प्रयोग भइरहेको छ।
नेपालमै पनि बीवाईडीले उत्पादन गरेको ब्लेड ब्याट्री प्रयोग भएका विद्युतीय कार बिक्री भइरहेका छन्। ती विद्युतीय गाडी बिक्री गर्नेहरूले ब्लेड ब्याट्रीको सेल फेर्न नसकिने भनेरै बिक्री गरिरहेका छन्।
अन्य कम्पनीले प्रविधिक र व्यवहारिक जटिलताका कारण सेल गर्न नसकिने भएकाले उभोक्तालाई सोहीअनुसार ब्रिफिङ गरेर विद्युतीय कार बिक्री गर्न आधिकारिक बिक्रेता कम्पनीलाई भनेका छन्। अन्य देशहरूमा पनि बीवाईडीकै विद्युतीय कारमा सिंगल ब्लेड फेर्न नसकिने भनेर नै गाडी बिक्री भइरहेको छ।
२०२४ मार्च २० मा यूफाइनब्याट्री डटकममा प्रकाशित एक अध्ययनअनुसार ब्लेड ब्याट्रीको बेफाइदामा उच्च मर्मत खर्चको बारेमा उल्लेख गरिएको छ। त्यसमा भनिएको छ, 'ब्लेड ब्याट्रीका सबै सेलहरू लेजर वेल्डिङ गरेर एउटा प्लेटमा निश्चित गरी राखिएको हुन्छ। यो भनेको जब कुनै बेला ब्याट्रीको एउटा सेलमा समस्या आउँछ वा बिग्रन्छ, त्यसलाई मर्मत गर्नुपर्ने हुन्छ। त्यतिबेला पूरै ब्याट्री प्याक नै फेर्नुपर्ने हुन्छ। जसरी लेजर वेल्डिङ गरेर सेललाई फिक्स गरिएको हुन्छ, त्यो वेल्डिङ काटेर एउटामात्र सेल फेरेर ब्याट्रीलाई पुरानै अवस्थामा पुग्नेगरी वेल्डिङ गर्न र फेरिएको सेल र ब्याट्रीमा भएको सेलबीचको पावरमा एकरुपता कायम गर्न सामान्य सेटअपमा असम्भव हुन्छ। त्यसैले सिंगो ब्याट्री प्याक नै फेर्नुपर्ने भएकाले यसका मर्मत लागत महँगो पर्छ।'
विभिन्न खोज, लेखरचना तथा ईभी इन्थुजियास्टहरूले बीवाईडीको ब्लेड ब्याट्री नै खोलेर सेल फेर्न मिल्ने वा नमिल्ने भनी बनाएका भिडियोहरूमा कतै पनि नेपालमा बीवाईडी बिक्रेता साइमेक्स इंकका सीईओ श्रेष्ठले भनेजस्तै सजिलै ब्लेड ब्याट्रीको सेल फेर्न मिल्ने कुरा उल्लेख भएको पाइएन। बीवाईडीको वेबसाइटमा समेत उक्त कुराबारे स्पष्ट उल्लेख गरिएको छैन। बीवाईडीसँग ईमेलमार्फत राखिएको जिज्ञासामा समेत ब्लेड ब्याट्रीको सेल फेरेर सर्भिस दिन सकिने विषयमा जवाफ दिइएन।
साइमेक्स सीईओ सेल फेर्न मिल्छ भन्ने, डिलरलाई सेल फेर्न सकिँदैन भनेर व्याख्या गर्ने
बिजनेस न्युजले केही दिनअघि ७ लाखमा ब्याट्री फेर्न मिल्छ भनेर गाडी बिक्री गर्ने अनि ब्याट्रीको बिल ३ गुणा बढीको थमाइएको बारेमा समाचार प्रकाशित गरेको थियो।
देशभर रहेका विभिन्न डिलरमा गरिएको कुराकानीका आधारमा उक्त समाचार तयार पारिएको थियो। सोही क्रममा शोरुममा रहेका सेल्स पर्सनहरूलाई बीवाईडीका विद्युतीय कारमा भएका ब्लेड ब्याट्रीको सेल फेर्न मिल्छ वा मिल्दैन? आयातकर्ता साइमेक्स इंकले के भनेको छ भनेर पनि सोधिएको थियो।
त्यसक्रममा साइमेक्स इंकका सीईओ श्रेष्ठले भनेझैँ एउटा एउटा सेल फेर्न मिल्छ भनेर भैरहवाको शोरुमले मात्र भनेको पाइयो। सीईओ श्रेष्ठको झुट पछ्याउँदै उक्त शोरुमले मात्र गरेर उपभोक्तालाई ढाँट्दै बीवाईडीका विद्युतीय कार बिक्री गरिरहेको छ।
भैरहवा शोरुमले त सीईओ श्रेष्ठले भन्दा केही कदम अघि बढेर ब्याट्रीको सेल फेर्न मिल्नेमात्र बताएनन्। प्रतिसेल लागत करिब ६ हजार रुपैयाँमा आउने र ४९ किलोवाट आवरको ब्याट्री भएको एटो थ्रीको ब्याट्रीमा १ सय ५ वटा सेल रहेको र त्यो पूरै ब्याट्री नै फेर्दा सर्भिस शुल्कसमेत गरेर ७ लाख हाराहारीमात्र पैसा लाग्ने बताएका थिए। उनीहरूले प्रष्ट रुपमा ब्लेड ब्याट्रीको सेल फेर्न मिल्ने भनेर गाडी बिक्री गरिरहेका छन्। जुन प्रथम दृष्टिमै झुटो हो।
यसबाहेक बिजनेस न्युजले कुरा गरेका अन्य चार शोरुमका सेल्स पर्सनले साइमेक्स इंकका सीईओ श्रेष्ठले भनेभन्दाबिपरित बीवाईडीका विद्युतीय कारमा प्रयोग भएको ब्लेड ब्याट्रीमा एउटा सेलमा समस्या आयो भने त्यसलाई मात्र फेर्न नसकिने बताएका छन्।
पोखरा शोरुम, चितवन शोरुम, जनकपुर शोरुम र बिर्तामोड शोरुमका सेल्स पर्सनले तत्काललाई ब्याट्रीको एउटा वा दुईवटा सेलमा समस्या आउँदा त्यसलाई मात्र फेर्न सकिने अवस्था नरहेको साइमेक्स इंकले भनेको र आफूहरूले उपभोक्तालाई सोहीअनुसार बताएर गाडी बिक्री गरिरहेको बताए।
एउटै कम्पनीको गाडीमा प्रयोग भएको, एकै क्षमताको ब्याट्री, एउटै कम्पनी (साइमेक्स इंक) आधिकारिक बिक्रेता भएर उसैले देशभर बनाएको शोरुम नेटवर्कमा ब्याट्री फेर्दा लाग्ने लागत भने निकै फरक पाइयो। अनि त्यही आधिकारिक बिक्रेता कम्पनीका सीईओ आफ्नै शोरुमलाई ब्याट्रीको सेल फेर्न मिल्दैन भनेर गाडी बेच्न पठाउने अनि सार्वजनिक रुपमा भने त्यसबिपरीत उपभोक्तालाई झुक्याउन सेल फेर्न मिल्छ भन्दै हिँडिरहेका छन्। यसले साइमेक्स इंक प्रालिको व्यावसायिकतामा गम्भीर प्रश्न उब्जिएको छ।
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक भए पनि बीवाईडी अटो इन्डस्ट्रीले प्रत्यक्ष रुपमा दैनिक कामकाज हेर्नेगरी आधादर्जन कर्मचारी नेपालमा राखेको छ। सर्भिस, बिक्रीको कोर पक्षलगायत सबै प्रकारका निर्णयमा प्रत्यक्ष ‘हस्तक्षप’ नै गरेर काम गरिरहेको छ। सोहीकारण ब्लेड ब्याट्रीको सेल फेर्न मिल्ने नमिल्नेलगायत प्राविधिक पाटोबारे साइमेक्स नेतृत्वलाई पूर्ण जानकारी नदिइएको पनि हुन सक्छ।
सीएटीएलले एक वर्षअघिसम्म नेपालका आधिकारिक बिक्रेताहरूलाई सबै सुविधा भएको वर्कशपमा ब्याट्रीको सेल फेर्न सक्नेगरी तालिम तथा अनुमति दिएको थियो। तर केही महिनाअघि सीएटीएलले ब्याट्रीको सेल फेर्ने निर्णयमा नजान सर्कुल नै गरिसकेको छ।
अब नेपालमा सीएटीएलका ब्याट्रीको सेल नभइ मोडुल मात्र फेर्न सकिने छ। मोडुल भएको सीएटीएलले सेल नफेर्नु भनिसक्दा मोडुल नै नभएको, एकै प्लेटमा सेल जोडेर बनाइएको बीवाईडीको ब्लेड ब्याट्रीमा सेल फेर्न नेपालमा पूर्णतः असम्भव छ।
ब्लेड ब्याट्रीको सेल फेर्न सम्भव त्यतिबेलामात्र हुन्छ, त्यसमा पहिला त कम्पनीले अनुमति दिनु पर्छ, दोस्रो पूर्णदक्ष प्राविधिकहरू तयार हुनुपर्छ, तेस्रो उच्च गुणस्तर, प्रविधि र उपकरणले भरिएको एसेम्बलसरहको कारखाना चाहिन्छ।
उल्लेखित सबै कुरा भएको अवस्थामा ब्याट्री उत्पादक कम्पनीले ब्याट्रीलाई एकलौटी दीर्घकालीन व्यापारको रणनीति बनाएको छैन भने उनले अनुमति दिएको अवस्थामा मात्र सेल फेर्न सम्भव छ। अहिले नेपालमा बीवाईडीको आधिकाकिर बिक्रेतासँग उल्लेखित कुनै कुरा नभएकाले साइकेक्स सीईओ साहिल श्रेष्ठले भनेजस्तै सजिलै ब्लेड ब्याट्रीको सेल फेरिन सम्भव छैन।
त्यस्तै साइमेक्स सीईओ श्रेष्ठले बीवाईडीको ब्याट्री चार्जिङ साइकल ४ हजार साइकल रहेको दाबी गरेका छन्। उनको यो कुरा पनि झुटो नै हो। प्रयोग र उत्पादक कम्पनीले ३ हजार साइकल प्लसभन्दा बढी कतै उल्लेख नगरेकाले गाडी बेच्न मनगणन्ते रुपमा उनले उक्त कुरा भनेको देखिन्छ। यसका साथै उनले बीवाईडीको गाडीले १६ लाख किलोमिटर यात्रा तय गरिसकेको बताएका छन्। तर उक्त तथ्य कहिँ कतै भेटिँदैन। करिब आधा दर्जन आर्टिकल र अध्ययन प्रतिवेदन पढ्दा बीवाईडीको विद्युतीय कारले १२ लाख किलोमिटरभन्दा बढी यात्रा तय गरेको भेटिएको छैन।
बीवाईडी ब्याट्री सेलको केमेस्ट्री
केमेस्ट्री- एलएफपी
क्यापासिटी- २०२ एएच
नर्मल भोल्टेज- ३.२ भी
इनर्जी स्टोरेज क्यापाबिलिटी- ६४६.४ डब्लूएच
लम्बाई- ९०५ एमएम
चौडाई- ११८ एमएम
उचाई- १३.५ एमएम
तौल- ३.९२ केजी(करिब)
भोलुम- १.४४ एल
ग्राभिमेट्रिक इनर्जी डेन्सिटी- १६५ डब्लूएच/केजी
भोलुमेट्रिक इनर्जी डेन्सिटी- ४४८ डब्लूएच/केजी
साइकल लाइफ- ३ हजार प्लस साइकल
बम्पर कुच्चिएको बीवाईडी एटो थ्री : २५ लाखको कोटेसनलाई बीवाईडी र साइमेक्सको दबाबमा ५० लाख ५८ हजार पुर्याइयो
बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको ५० लाख मर्मत खर्च : बीमाबाट कमाउने दाउ कि ‘बिउल्ड क्लालिटी’मा प्रश्न?
५० लाख ५८ हजार मर्मत खर्च लागेको बीवाईडी एटो थ्रीमा के फेर्न कति पैसा लिइयो? पार्ट्सको नाम र मूल्यसहित
सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्