काठमाडौं- गत असोजमा दुर्घटनामा परेको बीवाईडी एटो थ्रीको कोटेसन बढाइएको खुलेको छ। गाडी उत्पादक कम्पनी बीवाईडी अटो इन्डस्ट्री र यसको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकको मिलेमतोमा मर्मत कोटेसन दोबरले बढाइएको खुलेको हो।
एटो थ्री ठोक्किएलगत्तै उपभोक्ताले उक्त कार लिएर विराटनगरमा रहेको सर्भिस सेन्टर लगेका थिए। बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सुपेरियर मोटर्सले आफ्नोतर्फबाट ‘इन्स्पेक्सन’ गरेर बीवाईडी एटो थ्रीको मर्मत खर्च २५ लाख रुपैयाँ लाग्ने भनेर कोटेसन दियो। तर जब उक्त कोटेसन स्वीकृतिका लागि साइमेक्स इंकको मुख्य सर्भिस सेन्टरमा आयो, त्यसपछि कोटेसन नै बदल्नु पर्ने र पुनः बीमा कम्पनीका सर्भेयरसहितको टोलीले ‘इन्स्पेक्सन’ गर्नुपर्ने भनियो।
साइमेक्स इंकको सर्भिस सेन्टरले यसमा गाडी उत्पादक कम्पनीलाई समेत यसबारेमा सहभागी गरायो। ठोक्किएको गाडी करिब २५ लाख रुपैयाँमा बन्नेगरी दिइएको कोटेसनलाई अब बीवाईडी अटो इन्डस्ट्री, साइमेक्स इंक र बीमा कम्पनीको सहभागितामा मर्मत लागत ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लाग्ने बनाइयो।
सामान्यत: जो कोहीले हेर्दा सहजै देखिन्छ कि दुर्घटनामा परेको बीवाईडीको एटो थ्रीको मर्मत खर्च सामान्य नै आउनु पर्ने हो। ठोक्किएको एटो थ्रीको तस्बिर हेर्दा पनि प्रष्ट रुपमा देखिन्छ कि गाडीको पछाडिको भागको बम्पर अलिक बढी कुच्चिएको छ भने अन्य भागमा निक्कै सामान्य ठोक्किएको छ।
सुरुमा सुपेरियर मोटर्सले दिएको २५ लाख रुपैयाँको कोटेसनको लागत नै धेरै भएको इन्जिनियरहरूको भनाइ छ। त्यसलाई स्वभाविक मान्न सकिए पनि त्यसपछिको कोटेसनलाई स्वभाविक मान्नै नसकिने उनीहरूको जिकिर छ।
त्यसमा पनि सवारी उत्पादक कम्पनी र आधिकारिक बिक्रेताकै संलग्नतामा मर्मत खर्च धेरै देखाइनु अझै आश्चर्यजनक भएको धेरैको बुझाइ छ। बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको बीवाईडी एटो थ्रीका धनी नै २५ लाखको मर्मत कोटेसनलाई ५० लाख ५८ हजार रुपैयाँभन्दा धेरैको संशोधित कोटेसनले तिलमिल्याउने बताएका छन्।
‘सुरुमा विराटनगरको सर्भिस सेन्टर सुपेरियर मोटर्सले सबै हेरेर ठोक्किएको एटो थ्रीको मर्मत खर्च २५ लाख रुपैयाँ हाराहारीको कोटेसन दिएको थियो,’ गाडी धनीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुपेरियरले दिएको कोटेसन साइमेक्स इंकले स्वीकृतिका लागि माग्यो र त्यसको केही समयपछि इन्स्पेक्सन नै नयाँ गर्नुपर्ने भनियो। त्यसपछि गाडी बनाउन ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसाको नयाँ कोटेनस दिइयो। यो देखेर त हामी नै तिलमिलायौँ।’
बीमा, तेस्रो पक्ष (एटो थ्रीलाई ठक्कर दिने) र सर्भिस सेन्टरले केही हेरेर गरिदिने भनेपछि आफूहरू मौन बसेको गाडी धनीले बताएका छन्।
गाडी दुर्घटनामा परेपछि त्यसको मर्मत खर्च निकाल्न सर्भिसका इन्जिनियरको रोहबरमा त्यसमा पुगेको क्षतिका आधारमा तय गरिन्छ। दुर्घटनामा परेको गाडीको बीमा गरिएको छ भने त्यसमा बीमा कम्पनीका प्रतिनिधि पनि हुन्छन्। तर बीवाईडी एटो थ्रीको हकमा भने आधिकारिक बिक्रेताकै संलग्नतामा गाडीको मूल्यबराबर हुनेगरी कोटेसन दिइएको छ।
ठूलै दुर्घटनामा परेको गाडीको मर्मत खर्च धेरै आउनु स्वभाविक हो। तर सामान्य ठोक्किएको गाडीको मर्मत खर्च नयाँ गाडीको मूल्यबराबर नै आउनु वा बनाइनु गम्भीर विषय हो। त्यसमा पनि नयाँ सेगमेन्टका रुपमा उदाएको विद्युतीय कार र अझै संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्री गरेको दाबी गर्ने बीवाईडीका कारमा यस्तो हुनु अनौठो हो।
दुर्घटनामा परेको बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको बीवाईडी एटो थ्री सामान्य मर्मत गर्दा हुने देखिन्छ। प्रविधिकरुपमै पनि उक्त एटो थ्री बाउन ५० लाख रुपैयाँभन्दा धेरै रकम नलाग्ने मेकानिकल इन्जिनियरहरू बताउँछन्।
यसबारेमा बिजनेस न्युजले मेकानिकल इन्जिनियर र विद्युतीय सवारी मर्मत गर्ने सर्भिस सेन्टरका प्रमुखसहित ७ जनासँग सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीको तस्बिर देखाएर यसको सम्भावित मर्मत खर्च तथा फेर्नुपर्ने पार्ट्सका बारेमा स्वतन्त राय लिएको थियो। त्यसपछि उनीहरूलाई बीवाईडीको आधिकारिक सर्भिस सेन्टरले दिएको कोटेसन देखाउँदा सबै चकित परे। एकजनाले पनि उक्त कोटेसन विश्वास गर्न सकिने नरहेको बताए।
जतिजना इन्जिनियरसँग यसबारेमा जिज्ञासा राखियो सबैको राय पनि करिब एकै थियो। उनीहरूले सामान्य ठोक्किएर बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको हाइभोल्टेज ब्याट्री फेर्न लगाउनुले धेरैलाई ईभी बारे सोच्नु पर्ने बनाएको तर्क छ। हाइभोल्टेज ब्याट्री निकै सुरक्षित र बलियो गरि प्याकिङ र प्रोटेक्सन गरिएको हुनाले सामान्य ठोक्किँदैमा साँच्चै फेर्नुपर्ने हुन्छ भने त्यो गाडी उत्पादनको गुणस्तरमै प्रश्न उब्जाएको उनीहरूको जिकिर छ।
विद्युतीय कार बिक्री गर्ने कम्पनीका सम्बन्धित व्यक्तिहरूको भनाइ पनि इन्जिनियरहरूको जस्तै छ। सामान्य ठोक्किएको गाडीमा यति ठूलो मर्मत खर्च लाग्ने आधिकारिक सर्भिस सेन्टरले नै कोटेसन दिँदा विद्युतीय कारको मर्मत र स्पेयर पार्ट्स महँगो हुने सन्देश जाने र यसप्रति उपभोक्तामा नकारात्मक भाव पैदा हुने उनीहरूको भनाइ छ। सर्भिसका बारेमा अब वाणिज्य विभाग, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायले अनुगमन गर्ने वा मापदण्ड तय गर्नुपर्ने धेरैको भनाइ छ।
ठोक्किएको बीवाईडी एटो थ्रीको अगाडि र पछाडिको बम्पर, हेडलाइट, सेन्सरलगायत फेर्नु पर्ने अवस्था आउनु त सामन्य हो। तर सामान्य ठोक्किएको एटो थ्रीको हाइ भोल्टेज ब्याट्री सिस्टम नै फेर्नुपर्ने भनिएको छ। सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीमा १ सय ४२ वटा पार्टपुर्जा फेर्नुपर्ने गरि कोटेसन दिइएको छ।
मर्मतमा धेरै पैसा देखाएर इन्स्योरेन्स कम्पनीलाई झुक्याएर पैसा कमाउन खोजिएको एउटा पक्ष र यति सानो दुर्घटनामा हाइ भोल्टेज ब्याट्री फेर्नु नै पर्ने अवस्था हो भने त्यो सवारीको ‘बिउल्ड क्यालिटी’मै प्रश्न उठेको सर्भिस इन्जिनियरहरूको भनाइ छ। यसमा ओईएम र आधिकारिक बिक्रेताकै संलग्नतामा मर्मत खर्चको कोटेसन दोबर बनाइनुले बीवाईडी जस्तो कम्पनीले सर्भिसबाट कमाउन खोज्नु चिन्ताको विषय भएको उनीहरूले बताए।
सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्