काठमाडौं- बीवाईडीको एटो थ्री मर्मतका लागि गाडीको मूल्यबराबर नै असुल गरेको साइमेक्स इंकले उपभोक्तालाई गाडी बिक्री गर्दा भने निकै कम मूल्यमा ब्याट्री फेरिदिने भनेर एटो थ्री बिक्री गरिरहेको पाइएको छ। सस्तोमा एटो थ्रीको ब्याट्री फेर्ने भन्दै उभोक्तालाई झुटा बाचा गरेर देशका विभिन्न सहरबाट बीवाईडीको गाडी बिक्री गरिरहेको पाइएको हो।
यसबारेमा बिजनेस न्युजले देशभर रहेका बीवाईडी शोरुममा एटो थ्री खरिद गरेर आवश्यक परेपछि ब्याट्री फेर्दा कति लागत पर्छ भन्ने बारेमा सर्भे गरेको थियो। उक्त सर्भेमा बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आफ्ना डिलरहरूलाई गलत विषय सिकाएर गाडी बेच्ने उद्देश्यमात्र राखेको देखिएको छ।
बिजनेस न्युजले पछिल्लो दुई सातामा देशभर विभिन्न सहरमा रहेका बीवाईडी शोरुमका सेल्स पर्सनसँग बीवाईडीका विद्युतीय कारमा ब्याट्रीको सेल फेर्न मिल्ने वा नमिल्ने र मिल्ने भए एउटा गाडीको ब्याट्री फेर्न कति लागत पर्छ? भन्ने जिज्ञासा राखेको थियो।
सेल्स पर्सन र उपभोक्ताको नाम भने व्यक्तिगत गोपनियताका कारण यहाँ उल्लेख गरिएको छैन। यहाँ देशका विभिन्न ठाउँमा रहेका बीवाईडी शोरुममा राखिएको जिज्ञासा प्रस्तुत गरिएको छ :
भैरहवा शोरुम : यहाँको शोरुममा रहेका सेल्स पर्सनले ब्याट्रीको सेलसमेत फेर्न मिल्ने बताए। प्रतिसेल लागत करिब ६ हजार रुपैयाँमा आउने र ४९ किलोवाट आवरको ब्याट्री भएको एटो थ्रीमा १ सय ५ वटा सेल रहेका छन्।
यसरी एउटा एटो थ्रीमा भएको सबै सेल फेर्नुपर्दा पनि ६ लाख चानचुनमा सेल आउने र फेर्नेलागत तथा सर्भिस पनि जोड्दा ७ लाख हाराहारीमा हामी ब्याट्री फेर्न सक्ने अवस्थामा छौँ। हामीलाई कम्पनीबाट यस्तै व्याख्या आएको छ र हामी यसबारेमा उपभोक्ताहरूलाई उक्त कुरा भन्न सक्छौँ।
पोखरा शोरुम : ब्याट्री फेर्ने विषयमा नेपालका लागि आधिकारिक बिक्रेताले भनेअनुसार नै हुने भयो। यसमा हामीले यो वा त्यो भन्न सक्ने अवस्था छैन। अब रह्यो ब्याट्री फेर्न लाग्ने लागत। हामीलाई साइमेक्स इंकले भनेअनुसार पूरै ब्याट्री फेर्न चाहिँ सकिन्छ।
कम्पनीले भनेअनुसार एटो थ्रीको ४९ किलोवाटवाला ब्याट्री फेर्न १५ लाख रुपैयाँ लाग्ने भनिएको छ। हामीले एटो थ्री किन्न आउने उपभोक्तालाई तपाइँलाई भनेजस्तै १५ लाखमा ब्याट्री फेर्न सकिन्छ भनेर गाडी बिक्री गरिरहेका छौँ।
चितवन शोरुम : बीवाईडीको ब्याट्री सबैभन्दा उत्कृष्ट छ। यो ब्लेड प्रविधिमा आधारित ब्याट्री हो। हामीले सेल फेर्ने विषयमा अहिले केही गरिसकेका छैनौँ। अब तपाइँले भन्नुभएअनुसार एटो थ्रीमा ब्याट्री फेर्न अलिक महँगो नै पर्छ। साइमेक्ससँग हाम्रो समन्वय र उहाँहरूले भनेअनुसार हामीले १६ लाख रुपैयाँमा ब्याट्री फेर्न सक्छौँ।
यही कुराका आधारमा हामीले ४९ किलोवाटको ब्याट्री भएको एटो थ्रीमा १६ लाख रुपैयाँमा हाइभोल्टेज ब्याट्री प्याक फेर्न सक्छौँ भनेर एटो थ्री बिक्री गरिरहेका छौंँ। ठूलो ब्याट्री भएको एटो थ्रीको ब्याट्री फेर्न अलि बढी खर्च हुन्छ।
जनकपुर शोरुम : बीवाईडीमा ब्लेड ब्याट्री रहेको छ। यो विश्वको एक नम्बर ब्याट्री हो र यही ब्याट्री भएको एटो थ्री तथा बीवाईडीका अन्य विद्युतीय गाडी हामीले बिक्री गरिरहेका छौँ। बीवाईडीको अब्बल ब्याट्री भएको एटो थ्री हामीले बिक्री गरिरहेका छौँ। यसमा समस्या आउने सम्भावना कम हुन्छ।
कथम कुनै ब्याट्रीमा समस्या आइहाल्यो भने हामीले ब्याट्री सिस्टम नै फेर्नुपर्छ। त्यसका लागि १७ देखि १८ लाख रुपैयाँ लाग्ने कम्पनीले हामीलाई बताएको छ। हामीले उपभोक्तालाई यही भनेर विद्युतीय गाडी बिक्री गरिरहेका छौँ।
बिर्तामोड शोरुम : बीवाईडीको ब्याट्री राम्रो छ भनेर कम्पनीले पनि भनेको छ र संसारभर पनि यस्तै सुनिएको छ। सेल फेर्ने विषय अटिल छ, मिल्ने हो भने पनि यहाँ पर्याप्त प्रविधि र जनशक्ति छैन। ब्याट्रीमा समस्या आइहाल्यो भने अहिले पूरै ब्याट्री नै फेर्नुपर्ने हुन्छ।
ब्याट्री फेर्ने लागत भने साइमेक्सले भनेअनुसार नै हामीले उपभोक्तालाई सोही मूल्यमा दिन्छौँ। ठ्याक्कै भन्नेभन्दा पनि आवश्यकताअनुसार ब्याट्री फेर्ने लागत तोकिन्छ।
अब यहाँ बीवाईडी बिक्रेता साइमेक्स इंंकले ब्याट्री सिस्टम फेर्न तय गरेको लागत हेरौँ। विराटनगरको सुपेरियर मोटर्सले बनाएको कोटेसनमा साइमेक्स इंकले संशोधन गरेर ५० लाख ५८ हजार रुपैयाँ लाग्ने कोटेसन उपभोक्तालाई थमायो। उक्त कोटेसनमा हाइ भोल्टेज ब्याट्री फेर्न २१ लाख ९५ हजार रुपैयाँ लाग्ने भनियो।
यसरी बीवाईडी बिक्रेता साइमेक्स इंकले सरासर उपभोक्तालाई ढाँटेर गाडी बिक्री गरिरहेको छ। शोरुममा गाडी किन्न जाने उपभोक्तालाई '७ लाख रुपैयाँमै एटो थ्रीको ब्याट्री फेर्न सक्छौँ अहिले नै, भविष्यमा यो अझ घट्ने कुरा आइरहेको छ', भनेर शोरुमहरूले गाडी बिक्री गरिरहेका छन्। तर साइमेक्सले एटो थ्रीको ब्याट्री फेर्न भने २१ लाख ९५ हजार रुपैयाँ उपभोक्ताबाट असुल गरिरहेको छ।
बीवाईडी बिक्रेता साइमेक्सको अर्को बेइमानी पुष्टि भएको छ। साइमेक्सले बीवाईडीको पुराना ई-सिक्स आयातमा करछली गरेको समाचार बिजनेस न्युजले प्रकाशित गरेको थियो। त्यतिबेला साइमेक्स इंकले बिजनेस न्युजमाथि ‘झुटो समाचार’को आरोप लगाएको थियो। तर अन्ततः बिजनेस न्युजले लेखेको उक्त समाचार ठीक थियो भन्ने पुष्टि हालै साइमेक्सले राजस्व न्यायाधीकरणमा दायर गरेको मुद्दा हारेपछि भएको हो।
त्यस्तै बिजनेस न्युजले एक महिनाअघिदेखि बीवाईडीले सामान्य बम्पर कुच्चिएको एटो थ्रीको मर्मत खर्च गाडीको मूल्यबराबर नै रहेकोबारे समाचार प्रकाशित गरेको थियो। धरानमा ठोक्किएको बीवाईडी एटो थ्रीको मर्मतका लागि विराटनगरेको बीवाईडी सर्सिस सेन्टर २५ लाखको कोटेसन बनाउँदा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले त्यसमा हस्तक्षप परेर ५० लाख ५८ हजार रुपैयाँभन्दा बढीको कोटेसन थमाएको हो।
गाडीको मूल्यको ७० प्रतिशतभन्दा बढी मर्मत खर्च आएमा त्यसलाई ‘टोटल लस्ट’ गरेर जानु पर्नेमा साइमेक्सले बीमा दाबी र आफ्नो सर्भिसको ‘महँगो मानक’ स्थापित गर्न चर्को मूल्यको कोटेसन दिएको थियो।
यतिमात्र होइन बीवाईडी बिक्रेता साइमेक्स इंकले विद्युतीय गाडी बिक्री गर्दा ब्याट्री फेर्नुपर्दा लाग्ने शुल्कसमेत ज्यादै न्यून लाग्ने बताएर बिक्री गरिरहेको छ। हाँस्यास्पद कुरा त के भने एउटै गाडीको एकै क्षमताको ब्याट्री फेर्ने लागत भने शोरुमपिच्छे फरक भएकोसमेत पाइएको छ।
बीवाईडीको भैरहवामा रहेको शोरुमले ७ लाखमै ब्याट्री फेर्छौँ भनिरहँदा त्यही एटो थ्री (४९ किलोवाट आवर ब्याट्रीवाला)को ब्याट्री पोखराको शोरुमले भने १५ लाख रुपैयाँमा फेरि दिन्छौँ भनिरहेको छ।
यता चितवनको शोरुमले १६ लाख रुपैयाँमा त्यही एटो थ्रीको ब्याट्री फेर्छु भनिरहेको छ भने जनकपुरको शोरुमले समान किसिमको ब्याट्री फेर्ने लागत १७ देखि १८ लाख रुपैयाँ पर्छ भनेर उपभोक्तालाई गाडी बिक्री गरिरहेको छ। २१ लाख ९५ हजार रुपैयाँमा ब्याट्री बिक्री गरिरहेको साइमेक्स इंकले उपभोक्तालाई गाडी बिक्री गर्नकै लागि अव्यवसायिक र गैरजिम्मेवार काम गरिरहेको छ।
साइमेक्स इंकले त व्यवसायिक बेइमानी गरिरहेको छ नै ग्लाबल ईभी उत्पादकको रुपमा उदाइरहेको बीवाईडी अटो इन्डस्ट्रीले नेपालमै आफ्ना कर्मचारी राखेर दैनन्दी काम हेरिरहँदा समेत यसका बारेमा चासो नदिनुलाई अनौठा मानिएको छ।
आम उपभोक्तालाई दिनुपर्ने अनिवार्य सर्भिस (ब्याट्री, स्पेयर पार्ट्स र सर्भिस शुल्क) ढाँटेर महँगोमा बिक्री गर्ने अनि तिनै उपभोक्तालाई थप भ्रमित तुल्याउन अनेक 'फन्डा' गर्न बीवाईडी र साइमेक्स उद्दत रहेका छन्।
बम्पर कुच्चिएको बीवाईडी एटो थ्री : २५ लाखको कोटेसनलाई बीवाईडी र साइमेक्सको दबाबमा ५० लाख ५८ हजार पुर्याइयो
बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको ५० लाख मर्मत खर्च : बीमाबाट कमाउने दाउ कि ‘बिउल्ड क्लालिटी’मा प्रश्न?
५० लाख ५८ हजार मर्मत खर्च लागेको बीवाईडी एटो थ्रीमा के फेर्न कति पैसा लिइयो? पार्ट्सको नाम र मूल्यसहित
सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्