लगानीकर्तामैत्री प्रविधि बन्दै स्वचालित मार्ग

लगानीकर्तामैत्री प्रविधि बन्दै स्वचालित मार्ग

५० करोड रुपैयाँको थ्रेसहोल्ड, १० अर्ब ८७ करोड लगानी प्रतिवद्धता

स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुनेगरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भइ सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिन सक्छन्।

काठमाडौं- मुलुकमा विदेशी लगानी भित्र्याउन सरकारले मौजुदा कानून संशोधन गर्नेदेखि प्रविधिमैत्री प्लाटफर्म तयार गरेको छ। दशकौँ पुराना लगानीसम्बन्धी ऐन तथा नीतिहरू अध्यादेशबाट भए पनि संशोधन गरेर लगानीमैत्री वातावरण बनाएको सन्देश दिन खोजेको सरकारले झण्डै एक वर्षअघि लगानीकर्ता नेपालमै आउन नपर्नेगरी लगानी स्वीकृत गर्ने प्रणालीको विकास गरेको थियो। यद्यपी यसरी हुने लगानी स्वीकृतिको भने थ्रेसहोल्ड तोकेको छ।

अहिले ५० करोड रुपैयाँसम्मको लगानी नेपालमा गर्नका लागि विदेशी लगानीकर्ताले नेपाल आइरहनु पर्दैन। सरकारले २०८१ बैशाख १७ (तेस्रो लगानी सम्मेलन) गतेदेखि लागु गरेको स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत लगानीकर्ताले उक्त सीमामा रहेर आफ्नै देश वा स्थानमा बसेर लगानी स्वीकृत गर्न सक्छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तेस्रो लगानी सम्मेलनको अवसर पारेर अटोमेटिक रुट लागु गरेको थियो। उद्योग विभागले तयार गरेको विद्युतीय प्रणालीमा लगानीकर्ताको आकर्षण देखिएको छ।

सरकारले मुलुकमा लगानी भित्र्याउने प्रक्रियालाई थप सरलिकृत गर्नका लागि प्रविधिमैत्री प्रणालीको विकास गरेसँगै त्यसलाई विदेशी लगानीकर्ताले पनि विश्वास गर्न थालेका छन्। जसका कारण अटोमेटिक रुट लागु भएको गत आर्थिक वर्षको ११ महिनामा नै अर्थात् फागुन अन्तिमसम्ममा यो रुट भएर १० अर्ब ८७ करोड ३१ लाख रुपैयाँ बराबरको विदेशी लगानी उद्योग विभागले स्वीकृत गरेको छ। बैशाखदेखि फागुनसम्म कुल ३३३ वटा विभिन्न परियोजनाका लागि नेपालले उक्त लगानी प्रतिवद्धता स्वीकृत गरेको हो।

नेपालले चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा भने २ अर्ब ७५ करोड रुपैयाँको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत गरेको छ। स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुनेगरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भइ सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिन सक्छन्।

विभागका अनुसार निवेदन दिएपछि लगानीकर्ताले आवश्यक कागजात पुगेपछि स्वतः स्वीकृति प्राप्त गर्छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर यस्तो व्यवस्था गरेको थियो।

उद्योग व्यवसायका क्षेत्रका लागि विदेशी लगानी स्वीकृत गर्न विदेशी लगानीकर्ताले स्वचालित मार्गमार्फत निवेदन दिइ विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै प्राप्त गर्न सक्ने र सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन्।

सरकारले तोकेको उक्त लगानी सीमासम्मको लगानीका लागि विदेशी लगानीकर्ता भौतिकरुपमा डकुमेन्ट बोकेर उद्योग विभागमा आउनु पर्दैन। उनीहरूले अनलाइन प्रणालीबाट उक्त रूट हुँदै कम्पनी दर्तासम्म गर्न सक्छन्। अर्कोतर्फ सूचना प्रविधिमा आधारित उद्योगहरूको लागि यो स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमासमेत राखिएको छैन।

विदेशी लगानी स्वीकृति गर्ने निकायमध्ये उद्योग विभागले न्यूनतम २ करोड रुपैयाँदेखि अधिकतम ६ अर्ब रुपैयाँसम्मको लगानी स्वीकृत गर्छ। सूचना प्रविधिमा आधारित उद्योगलाई उक्त मार्गबाट आउँदा उक्त २ करोड रुपैयाँको सीमा हटाइएको छ। यो क्षेत्रमा न्यूनतम लगानी सीमा नहुँदा सूचना प्रविधिका प्रोजेक्टको संख्या पनि धेरै देखिन्छ।

भारत, बंगलादेशलगायत देशमा लागु भएको यो रुट नेपालमा लागु भएको धेरै समय नभए पनि लगानीकर्ताले स-सानो लगानीका लागि यही रुट बढी प्रयोग गरेको विभागका अधिकारी बताउछन्। अहिले विभागले दुई तरिकाले लगानी स्वीकृत गर्छ। एउटा म्यानुअल (साविककै प्रणाली विभागमा आएर निवेदन दिनेदेखि कम्पनी दर्तासम्म) र अर्को स्वचालित मार्ग।

पहिलो चरणमा विदेशी लगानीका लागि उक्त प्रणाली लागु गरेको विभागले विस्तारै थ्रेस होल्ड बढाएर र स्वदेशी लगानीकर्ताका लागि पनि यस्तै प्रणाली लागु गर्ने बताएको छ।

अटो रुट सूचना तथा प्रविधिमूलक (आईसीटी)सम्बन्धी उद्योगमा लगानी परियोजना र प्रतिवद्धता बढ्न थालेको देखिएको छ। यो रुटबाट आईसीटीमा आउने लगानीको न्यूनतम सीमा हटाएसँगै चालु आर्थिक वर्ष २०८१/८२ मा यो क्षेत्रमा आउने लगानी प्रतिवद्धता बढेको छ। विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराले सूचना तथा प्रविधिमूलक उद्योगका परियोजना र लगानी बढेको बताउँछन्।

स्वचालित मार्गबाट आउँदा थ्रेस होल्ड नलाग्ने भएको हुँदा यो वर्षको सुरूदेखि नै आईसीटीमा विदेशी लगानीका प्रतिवद्धता धेरै आएका छन्। विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा स्वीकृत भएका कुल ४२७ लगानीमध्ये सूचना प्रविधिमूलक मात्रै १५४ वटा छन्। यद्यपि पहिलो नम्बरमा भने पर्यटनमूलक १८० वटा परियोजना स्वीकृत भएका छन्।

लगानीकर्ताको दोस्रो शीर्ष रोजाइमा रहेको सूचना प्रविधिका लागि आउने प्रतिवद्धता स्वचालित मार्गबाटै धेरै रहेको बोहराले जानकारी दिए। उनले विभागले स्वीकृत गरेका परियोजनामध्ये ५० प्रतिशतसम्म स्वचालित मार्गबाट स्वीकृत गरेको उल्लेख गरे।

‘अटोमेटिक रुटको प्रयोग बढ्दो छ किनभने लगानीकर्तालाई विभागमै आइरहन परेन। विभागले तयार गरेको प्रणालीबाट निवेदन र आवश्यक कागजात प्रविष्ट गरेपछि सबै जानकारी लगानीकर्ताले अनलाइनबाटै पाउने भएकाले लगानीकर्ताका लागि प्राविधिक रुपमा पनि सजिलो भएको छ,’ उनले भने, ‘यद्यपी अटो रुटबाट स्वीकृत गरिएको लगानी कत्तिको सञ्चालनमा आउँछ त्यो भने हेर्न बाँकी छ।’

यस्तै उनले अटोमेटिक रुटबाट स्वीकृत हुने लगानी स्वदेशी लगानीकर्ताका लागि पनि खुला गर्ने कि भन्ने विषयमा विभागले तयारी थालेको बताए।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा विदेशी लगानीका लागि खुला गरिएका उद्योगमा लगानी भित्र्याउँदा स्वचालित प्रक्रियाबाट स्वीकृत प्राप्त हुने व्यवस्था मिलाइने उल्लेख गरेको थियो। उक्त प्रणाली लागु भएपछि लगानीकर्ताका लागि झन्झटिलो प्रशासनिक प्रक्रियाबाट सहजता पाएका छन्।

राजपत्रमा प्रकाशित सूचनाअनुसार ७ वटा क्षेत्रहरूमा लगानी ल्याउनका लागि यो स्वचालित मार्ग प्रयोग हुन्छ। ती क्षेत्रमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सेवामूलक, उत्पादनमूलक लगायत ६० प्रकारका व्यवसायमा लगानीकर्ताले ५० करोड रुपैयाँको सीमासम्म लगानी स्वीकृति स्वचालित मार्गबाट प्राप्त गर्न सक्छन्।

यस्तो छ लगानी स्वीकृति गर्ने प्रक्रिया

स्वचालितमार्ग (अटोमेटिक रुट)बाट विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा गइ सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजात प्रविष्ट गर्नु पर्छ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिको लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीमा पेश गर्नुभन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनु पर्ने भएमा सच्याउन सकिन्छ।

प्रणालीमा प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकताअनुसार सच्याए पछि विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश गर्न सकिनेछ। लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा निवेदन प्राप्त भए पश्चात त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको लगानीकर्ताको लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) आउनेछ।

त्यस्तो जानकारीको अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ। लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा नियमावली बमोजिम सम्बन्धित लगानीकर्ताको विदेशी लगानी स्वतः स्वीकृत हुन्छ।

स्वचालित मार्गबाट आएको लगानी प्रतिवद्धता

swochalit.jpg

प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:०३
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend