
वीरगञ्जको उत्पादनलाई विश्वास नगर्ने व्यावसायिक मनोविज्ञानबाट पिरोलिएको दु:खद अनुभव टिमले भोग्नुपर्यो। वीरगञ्जमा बनेको सफ्टवेयर भन्नेबित्तिकै नपत्याउने अवस्था आयो। विश्वास दिलाउन धेरै गाह्रो भएको अनुभव सुनाउँछन् दीपक।
विराटनगर- दीपक साहका बुबा वीरगञ्ज चिनी कारखानाका कार्यरत थिए। बुबाले कम्प्युटरमा हिसाब गर्नुहुन्छ भन्ने कुरा सुनेर दीपकलाई बाल्यकालमै निकै उत्सुकता लाग्थ्यो। त्यही उत्सुकताले थप सिक्ने र बुझ्ने ऊर्जा थपियो। तत्काल कम्प्युटर चलाउन पाउने अवस्था नभए पनि सपना भने त्यतिबेलै बुनियो।
बाल्यकालमा नै बुनिएको त्यही सपनाअनुसार दीपक अहिले सफलताको पहाड चढिरहेका छन्। कम्प्युटरमा प्रयोग हुने सफ्टवेयर उत्पादन र बिक्री उनको पेसा बन्यो। कम्प्युटर छुन नपाउने अवस्थाबाट हजारौँ कम्प्युटर र मोबाइलमा एकैपटक आफ्नो प्रडक्ट पुर्याउने प्रविधिको विकास उनको टिमले गर्यो।
दीपक र सचिन साह बाल्यकालदेखिका साथी हुन्। प्लसटूमा सँगै कम्प्युटर साइन्स अध्ययन गरे। पछि तीन वर्ष सँगै स्नातक गरेर वर्ल्डलिंकमा जागिर गरे। जागिरको दैनिकीमा रमाउन सकेनन् सचिन र दीपक। सन् २०१० मा जागिर छाडेर आफ्नै कम्पनी खोले। उद्यमी बन्ने पहिलो खुड्किलोमै भेटिए अर्का साथी अर्जुन साह।
१६ वर्ष अगाडि आईटीमा यस्तो चर्चा थिएन। कम्प्युटरका सामान्य कोर्सहरूबाहेक सफ्टवेयर डेभलपमेन्टको कुनै बजार थिएन। तर त्यहीबेला सुरु भयो 'डायनामिक टेक्नोसफ्ट प्राली'। स्थापनाको केही वर्ष राम्ररी मौलाउन सकेन डायनामिक। कम्पनीले विभिन्न सफ्टवेयर उत्पादन सुरु गर्यो। सचिन टेक्निकल अफिसर, अर्जुन सीओओ र दीपक सीईओको रूपमा कार्यरत छन्।
विद्यालयको सफ्टवेयरबाट उनीहरूको बिजनेस सुरुवात भयो। स्कूलका शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालक सबैलाई आवश्यक पर्नेगरी फिचर्स तयार पारे। सुरुवातमा विद्यालयले धेरै आनाकानी गरेर लिए। कतिपयले आवश्यक नपर्ने भन्दै अस्वीकार गरे। अस्वीकारको श्रृंखला सुरुवातदेखि नै भयो। तरपनि निरन्तरको प्रयासले एउटा उचाइमा कम्पनी पुगेको छ।
सुरुवातमा स्कूलको एकाउन्ट, मार्कसिट, बिलिङ सिस्टमसहितको फिचर्स विकास गरे। विद्यालयले मात्र उल्लेख्य व्यावसायिक सुधार नभएको अनुमान गरेको डायनामिक टिमले एकाउन्ट सफ्टवेयर विकास गर्यो। सन् २०१२ मा केएल दुगड ग्रुपसँग मिलेर ईएमआई क्यालकुलेटर सफ्टवेयर निर्माण गरे।
कम्पनीले ट्याक्टर बेच्दा सहज हुनेगरि किस्ता र कारोबारको व्यवस्थापनमा सहयोगी बन्यो क्यालकुलेटर। त्यसैको परिष्कृत रूपमा विकसित सफ्टवेयर दुगडको ४० बढी ब्रान्चमा प्रयोग भइरहेको छ। त्यही सफलताले एकाउन्टको सफ्टवेयर विकासमा एक खुड्किला उक्लियो डायनामिक। अहिले दुगडसँगै डाबर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एसियन थाई फुड्सलगायत ठूला कर्पोरेट हाउस डायनामिकका ग्राहक बनेका छन्।
वीरगञ्जको उत्पादनलाई विश्वास नगर्ने व्यावसायिक मनोविज्ञानबाट पिरोलिएको दु:खद अनुभव टिमले भोग्नुपर्यो। वीरगञ्जमा बनेको सफ्टवेयर भन्नेबित्तिकै नपत्याउने अवस्था आयो। विश्वास दिलाउन धेरै गाह्रो भएको अनुभव सुनाउँछन् दीपक।
त्यही अनुभवको आधारमा सन् २०१५ मा काठमाडौंमै कार्यालय खोल्ने निर्णयमा पुग्यो डायनामिक। वीरगञ्जमा कम्पनीको लागि आवश्यक जनशक्ति नपाइरहेको अवस्थामा काठमाडौंले त्यसमा सहयोग पुर्यायो। अहिले काठमाडौंको बानेश्वरमा कर्पोरेट हाउस र प्रडक्ट डेभलपमेन्टका दुईवटा अफिस छन्।
नेपालभर ७ ठाउँमा रिजनल अफिस स्थापना भएका छन्। सबै कार्यालयबाट प्रतिस्पर्धात्मक व्यापार भइरहेको छ। तीनजनाले सुरुवात गरेको व्यावसायिक यात्रामा १०५ युवाहरू सफ्टवेयर कम्पनीमा छन्। ५० जना त डेभलपर्समात्र छन्। डायनामिक ग्रुप शिक्षा क्षेत्रमा पनि सक्रिय भएपछि टिम पनि ठूलो बन्दै गएको छ।
डायनामिक टेक्नोसफ्ट प्रालिमार्फत मुख्य दुईवटा प्रडक्ट छन्। कम्पनीले स्कूल कलेज व्यवस्थापनको लागि डायनामिक एकेडेमिक इआरपी र कर्पोरेट हाउसको लागि डायनामिक एकाउन्ट इआरपी विकास गरेको हो। एकेडेमिक इआरपी सबैभन्दा पुरानो प्रडक्ट हो। सुरुमा १० हजारमा बिक्री हुने सफ्टवेयर अहिले विद्यार्थी संख्याको आधारमा मूल्य निर्धारण भएर बिक्री हुन्छ।
एपको लगइनको आधारमा मूल्य लिने गरेको दीपक बताउँछन्। एउटा लगइनको १५० रुपैयाँ शुल्क तोकिएको छ। एक हजार विद्यार्थी भएको विद्यालयबाट प्रतिवर्ष एक लाख ५० हजार भुक्तानी लिने गरेको उनले बताए। नेपाल र भारतमा मात्र एक हजार बढी विद्यालयले डायनामिक इआरपीको प्रयोग गरिरहेका छन्।
मोबाइल एपबाटै विद्यार्थीको हाजिर र पढाइको अवस्थाबारे अभिभावकले थाहा पाउँछन्। आफ्ना बच्चाको सम्पूर्ण गतिविधि अभिभावकले घरैमा बसेर हेर्न पाउने व्यवस्था एकेडेमिक इआरपीले गरेको छ। बालबालिकाबारे थाहा पाउन जीपीएस ट्रयाकिङ लगायतको सुविधा छ।
शिक्षकले पनि होमवर्कको अवस्था, विद्यार्थीको क्षमता, विषयको जानकारी, परीक्षाको रुटिनलगायत आवश्यक पर्ने सम्पूर्ण डिटेल सेवा पाउँछन्। एपबाटै होमवर्क र नम्बर दिन मिल्ने गरी व्यवस्थापन गरिएको छ। सञ्चालकले वित्तीय कारोबार पनि सोही एपबाट गर्न सक्ने भएकाले एउटा एकेडेमिक हाउसको लागि यो एप अत्यावश्यक भइसकेको छ।
डायनामिक एकाउन्ट इआरपी ३५ हजारदेखि ३० लाख रुपैयाँसम्मको प्रडक्ट हो। युजर्स र बिजनेस हाउसको ब्रान्चको आधारमा मूल्य निर्धारण हुन्छ। यसले बिजनेसको भ्याल्यु बढाउने काम गर्छ। सामानको स्टक, ग्राहकसँगको कारोबार, इन्भेन्ट्री, लेजरलगायत सम्पूर्ण हिसाबकिताब यही एपबाट गर्न सकिन्छ। धेरै कर्मचारी राख्नुपर्ने ठूला कम्पनीको खर्च कटौतीमात्र नभइ झन्झटिलो प्रक्रियालाई पनि सहज बनाएको छ।
सेल्स र आम्दानीमात्र होइन एचआरको सम्पूर्ण डिटेल राखेर यसैमार्फत व्यवस्थापन गर्न सकिन्छ। उत्पादन, बिक्री, नाफाघाटाको विवरण सहजै हेर्न मिल्ने बनाइएको छ। सेल्स एरिया, सेल्सम्यान, डिलरको प्रस्तुतिको तथ्यांक एपले बताउँछ। जसको कारण बिजनेसको नयाँ रणनीति तय गर्न कर्पोरेट हाउसलाई सहज हुने दीपकको विश्वास छ।
अवार्डले थपेको उत्साह
‘नेसनल आईसीटी अवार्ड २०२४’ मा डायनामिक टेक्नोसफ्ट सम्मानित भयो। प्राइभेट सेक्टर-प्रोभिन्सियल विधामा डायनामिक टेक्नोसफ्टले अवार्ड प्राप्त गरेको हो। नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसीटी अवार्ड प्रदान गर्यो।
एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो)ले जापानमा आयोजना गरेको डिजिटल समिटमा डायनामिकले एडटेक विधामा अवार्ड पायो। एसियाका २४ देशमा सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीलाई छनोट गरेर अवार्ड प्रदान हुन्छ। अवार्ड पाएपछि झनै उत्साहले डायनामिक टिम अगाडि बढेको छ।
नेपाली बिजनेस हाउस र विद्यालयमा मात्र होइन विदेशका कम्पनीहरूमा पनि डायनामिक पुगेको छ। एकाउन्टको विश्वव्यापी तरिका समान भएको कारण बजार विस्तारमा सहज भएको हो। भारतको चेन्नइमा कार्यालय नै खोलेर एकेडेमिक सफ्टवेयर बिक्री गरिरहेका छन्।
भारतको बिहारमा वीरगञ्जकै कार्यालयले सेवा दिइरहेको दीपकको भनाइ छ। जापानमा समेत प्रयोगमा आएका दुवै प्रडक्टको प्रतिक्रिया सकारात्मक पाएपछि डायनामिक टिम उत्साहित भएको छ।
जापान र यूएईको सफलताले ऊर्जाशील भएको डायनामिक टिमले मलेसियामा कार्यालय स्थापना गरेर व्यवसाय बढाउने योजना बनाएको छ। अहिलेपनि वार्षिक १० देखि १५ करोड रुपैयाँको कारोबार गर्ने डायनामिकले कम्पनीलाई थप व्यापक बनाउने तयारी गरेको हो।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend