
न्यून उत्पादन र उच्च उपभोगले गर्दा बढाएको यो जोखिमलाई न्यूनीकरण गर्नका लागि पछिल्लो समय एउटा सम्भावित क्षेत्रको चर्चा भएको छ। सूचना प्रविधिको क्षेत्रलाई यस्तो संकट मोचनको झ्यालका रुपमा हेरिएको छ।
काठमाडौं- नेपाली अर्थतन्त्र पछिल्ला केही वर्षदेखि निरन्तर दबाबमा रहेको छ। चक्रिय समस्याले थिचिएको अर्थतन्त्रमा नयाँ-नयाँ समस्याहरू देखिएका छन्। सुरूमा बाह्य क्षेत्रमा देखिएको दबाब र त्यसको निवारणका लागि भन्दै सरकारले लिएको नीतिका कारणले सुस्ताएको अर्थतन्त्र अझै मौलाउन सकेको छैन।
पछिल्लो समय बाह्य क्षेत्र निरन्तर मजबुत बन्दै आएको छ। तर पनि आन्तरिक सुस्तताको मार अझै रहेको छ। बाह्य क्षेत्र बलियो भएर आन्तरिक चलायमान भएपनि दीर्घकालमा यसले खासै बलियो आधार निर्माण गर्ने सम्भावना न्यून छ।
नेपाली अर्थतन्त्रको एउटा नियति के देखिन्छ भने रेमिट्यान्सबाट आम्दानी गर्ने, खपतका लागि आयात गर्ने अवस्था छ। जति रेमिट्यान्स उति आयात र जति आयात त्यही आधारमा राजस्व संकलन हुने देखिन्छ। न्यून उत्पादन र गुणस्तरहीन पुँजी निर्माणका कारणले अर्थतन्त्र चक्रिय संकटमा फसेको छ। कुनै निश्चित बिन्दुमा पुगेर बाह्य क्षेत्रमा राहत मिले पनि फेरि आन्तरिक अर्थतन्त्र चलायमान हुँदा त्यसले आयात बढाउँछ जब आयात बढ्दै गएर रेमिट्यान्सको भन्दा धेरै माथि वृद्धिदर पुग्छ तब बाह्य क्षेत्र फेरि समस्यामा पर्छ।
पछिल्लो ६ वर्षदेखि घाटामा रहेको चालु खाता यो वर्ष भने नाफामा गएको छ। न्यून माग सिर्जनाले थलिएको अर्थतन्त्रको लाभ चालु खातामा देखिएको छ। तर अर्थतन्त्र सामान्य अवस्थामा फर्किँदा भने यसको कथा त्यति राम्रो हुने देखिँदैन। देशले वर्षभरमा वस्तु तथा सेवाको निर्यातबाट गर्ने आम्दानी र त्यसबापत भुक्तानी गर्ने रकमको अन्तर ऋणात्मक हुँदा घाटा हुन्छ।
आर्थिक वर्ष २०५६/५७ भन्दा अघिको २६ वर्षमा नेपालको चालु खाता निरन्तर घाटामा थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार त्यो अवधिमा जम्मा चार वर्षमात्र चालु खाता बचतमा रहेको थियो। आर्थिक वर्ष २०५७/५८ देखि भने अवस्था फेरियो। त्यसपछिका १६ वर्षमा जम्मा ३ वर्षमात्र चालु खाता ऋणात्मक भएको थियो। अर्थात् १६ वर्षमध्ये १३ वर्षसम्म मुलुकको वस्तु तथा सेवाको खुद निर्यात बचतमा थियो।
अघिल्लो २६ वर्षमा चार वर्षमात्र बचत रहेको खाता पछिल्लो १६ वर्षमा १३ वर्ष बचतमा जानुको एउटा मुख्य कारण रेमिट्यान्स थियो। जुन आर्थिक वर्षदेखि रेमिट्यान्सको प्रवाह मुलुकमा बढ्न थाल्यो त्यही वर्षदेखि खाता बचतमा गएको छ।
आर्थिक वर्ष २०५७/५८ मा मुलुकमा ४७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। त्यसैले सो वर्ष खाता बचतमा थियो। त्यसपछिका वर्षमा रेमिट्यान्स प्रवाहमा वृद्धि हुँदै गयो र १६ वर्षमा १३ वर्ष मुलुकको चालु खाता बचतमा रह्यो।
आर्थिक वर्ष २०७३/७४ देखि यता चालु खाता निरन्तर घाटामा गएर गत वर्षदेखि भने सकारात्मक भएको छ। अर्थतन्त्र सामान्य अवस्थामा फर्किनेबित्तिकै बाह्य क्षेत्रमा फेरि दबाब सिर्जना हुनेछ। पछिल्लो तथ्यांकले के देखाइरहेको छ भने नेपालका लागि थप विकास र विस्तारका लागि स्पेस साँघुरो हुँदै गएको छ। नेपालभित्रै थप माग सिर्जना हुनु भनेको थप विदेशी मुद्राको माग हो। आन्तरिक उत्पादन नभएको नेपालका लागि त्यस्तो मागले यस्तो घाटालाई अझै बढाएर भुक्तानी असन्तुलनको दुश्चक्रमा नेपाली अर्थतन्त्रलाई धकेल्ने जोखिम बढेको छ।
न्यून उत्पादन र उच्च उपभोगले गर्दा बढाएको यो जोखिमलाई न्यूनीकरण गर्नका लागि पछिल्लो समय एउटा सम्भावित क्षेत्रको चर्चा भएको छ। सूचना प्रविधिको क्षेत्रलाई यस्तो संकट मोचनको झ्यालका रुपमा हेरिएको छ। कृषि, पर्यटन र जलविद्युतपछि अहिले फेरि आईटी क्षेत्रको चर्चा एकाएक चुलिएको छ। अहिलेसम्म सरकारको नीतिगत अग्रसरताबिना नै झन्डै एक खर्ब बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको यो क्षेत्र अझै औपचारिक भइसकेको छैन।
वस्तु उत्पादन गरेर निर्यातमा लगभग पछिल्लो ३० वर्षको प्रयास असफल भइसकेको छ। सरकारले निर्यातका लागि गरेका प्राय सबै प्रायस असफल भइसकेका छन्। तर अब सूचना प्रविधिको क्षेत्रमा सम्भावना देखिएको सरकारले पनि बताइरहेको छ। नीतिगत घोषणामै यस्तो घोषणा सरकारले गरेको छ। बाह्य क्षेत्रमा देखिएको अहिलेको संकट समाधानका लागि सूचना प्रविधिको क्षेत्र एउटा लाभदायक क्षेत्र हुनसक्ने सरोकारवालाहरूले बताइरहेका छन्।
अहिले नै हजारौँ मान्छे सहभागी भएको यो क्षेत्रबाट मुलुकले राम्रै आम्दानी गरेको छ। ग्लोबल कम्पनीका लागि नेपालमै बसेर काम गर्ने यस्ता व्यक्ति तथा कम्पनीहरूले गर्ने आम्दानी जति धेरै बढ्छ त्यति नै भुक्तानी सन्तुलनमा देखिएको चुनौती न्यून हुँदै जान्छ।
मुलुकको भुक्तानी सन्तुलनलाई नै प्रभावित पार्ने गरी अहिले नै सूचना प्रविधि क्षेत्रको उदय भएको छैन। यसका लागि नेपालमा ठूला विदेशी कम्पनी आउनुपर्छ। विश्वव्यापी श्रृंखलामा जोडिनुपर्छ। अहिलेसम्म नेपालमा भइरहेको विस्तार जेनतेन हो। साँच्चिकै ठूलो लाभ लिनका लागि गर्नुपर्ने काम धेरै रहेका छन्।
तर विश्व बजारमा आईटी क्षेत्रको माग कोडिङबाट विकासमा गइसकेको छ। यसका लागि शिक्षादेखि अन्य तयारीसम्म व्यापक हुनुपर्छ। नीतिगत लचकताबाहेक पनि यसमा आधारभूत तहमै धेरै गर्नुपर्ने छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend