
पुमरीजस्तै कयौँ यस्ता टेक प्रडक्ट हराएर गए अर्थात् देशको शक्ति कमजोर हुँदै गयो तर जनशक्ति भने विश्वव्यापी उत्पादनको विकासतिर सक्रिय हुन थाले।
काठमाडौं- इन्टरनेटमा भइरहेको तीव्र विकास र कोभिड महामारीसँगै कार्यालय नगए पनि काम गर्न सकिने संस्कृतिको विकास भयो। विशेषगरी सूचना प्रविधिको विकास र प्रवर्द्धनमा काम गर्ने कर्पोरेटहरूमा यो अझ लोकप्रिय भयो। यही विकासक्रमले संसारका जुनसुकै देशमा रहेका कुशल जनशक्तिले जहाँसुकैको कम्पनीको काम गर्ने लहर बढ्यो।
यही मेसोमा नेपाली युवाहरू पनि यसमा झनै लोभिए। कम्पनी बनाएर आउटसोर्सिङको काम गरिरहेका कम्पनीको काममा सीमित भएका यस्ता युवा जनशक्ति व्यक्तिगतरुपमै प्रतिष्ठित कम्पनी वा उनीहरूको परियोजनामा सहभागी हुन थाले। यसरी धेरै युवाहरू जोडिँदा आकर्षक तलब हात पार्न थाले।
केही वर्ष पहिलेसम्ममात्र वाणिज्य बैंक र केही विशाल व्यापारिक समूहका कार्यकारी तहमा बस्नेले वर्षमा करोड बढीको तलब पाउँदा जिब्रो टोक्नेहरू सामान्य युवाहरूले कमाउन थाल्दा यो क्षेत्रमा धेरै युवाहरू आकर्षित हुँदै गए। जति धेरै यवा सहभागिता उति धेरै विदेशी मुद्रा आर्जन हुने भयो। यसरी धेरै विदेशी मुद्रा मुलुकले आर्जन गर्न थालेपछि भने यो क्षेत्रमा धेरैको चासो पर्न थाल्यो। नीति निर्माता, अर्थशास्त्रीदेखि राजनीतिक नेताहरूले पनि यो क्षेत्रमा भविष्य रहेको बताउन थाले।
सरकारले गत वर्ष त सूचना प्रविधिबाट अर्बौँ डलर आम्दानी गर्ने महत्वाकांक्षी योजना नै सार्वजनिक गर्यो। अहिले आएर यति धेरैको नजरमा परेको यो क्षेत्रमा न त पछिल्ला केही वर्षमामात्र काम भएको हो न विदेशी कम्पनीका परियोजनाले बुस्ट गरे।
दुई देशकभन्दा लामो समयदेखि नेपाली कम्पनीहरू यो क्षेत्रमा निरन्तर लागिरहेका छन्। सूचना प्रविधिको विकासमै उनीहरूले महारथ हासिल गरेर विश्व बजारमा जान नसके पनि बजारको हैसियत र देशको अवस्थाअनुसार निरन्तर रहिरहेका छन्। दुई दशक लामो विरासत भएर आखिर यी कम्पनीले किन आफ्नो उपस्थिति बलियो बनाउन सकेनन्?
अहिलेको जस्तो बहुराष्ट्रिय कम्पनीका परियोजनामा काम गरेर पारिश्रमिकका रुपमा डलर भित्र्याउनेमात्र होइन आखिर किन नेपाली कम्पनी आफ्नै उत्पादन विश्व बजारमा पुर्याएर रकम भित्र्याउन सफल भएनन्? कुनै समय नेपालको बैंकिङ क्षेत्रमा प्रयोग हुने सफ्टवेयर नेपली कम्पनीकै उत्पादन थियो। मर्कन्टायलले विकास गरेको पुमरी सफ्टवेयर नेपालका बैंकहरुमा प्रयोग हुन्थ्यो। यही सफ्टवेयरको एकछत्र राज थियो।
तर समयक्रमसँगै वाणिज्य बैंक विश्व बजारमा चलेका प्रतिष्ठित कम्पनीका उत्पादनमा गए। अहिले पुमरीको लिगेसी सफ्टवेयर तीनवटा बैंकमा सीमित भएको छ। समयक्रमसँगै वाणिज्य बैंकमा विदेशका ठूला कम्पनीका सफ्टवेयर आउन थाले। पुमरीले समयक्रमसँगै परिस्कृत गर्न सकेन। तर यसको ठाउँमा इन्फोसिस ओराकलजस्ता कम्पनीका सफ्टवेयर अहिले वाणिज्य बैंकमा छन्। नेपालका तीनवटा बैंक नेपाल, वाणिज्य र प्राइम बैंकमामात्र सीमित भएको छ।
यसबाहेक पुमरीले माल्दिभ्सको एउटा बैंकमा पनि सेवा दिएको छ। नेपालका सबै विकास बैंक र फाइनान्समा छ। मर्केन्टायलले विश्वस्तरीय सफ्टवेयरसँग प्रतिस्पर्धा गर्न नसकेरै पछाडि पर्यो। निरन्तरको परिस्कृत र विकास गर्नका लागि विश्वस्तरीय कम्पनीसँग मर्केन्टायलले प्रतिस्पर्धा गर्न सकेन।
अन्तत: पछिल्लो समय मर्केन्टायलको पुमरीलाई इन्फोडेभलर्सले लिइसकेको छ। पुमरी आफैमा दुई दशक लिगेसी भएको कम्पनी हो। २५० जनालाई रोजगारी दिएको यो कम्पनीले अहिले पुमरीको थप परिष्कृत गर्ने काम गरिरहेको कम्पनीका संस्थापक उमेश रघुवंसीले जानकारी दिए। नेपालीले पनि यो लेभलको सफ्टवेयर विकास गर्न सक्छन् भनेर पुमरीले नै देखाए पनि त्यसमा थप विकास नहुँदा देशको पहिचान बन्न नसकेको उनको बुझाइ छ।
पुमरीजस्तै कयौँ यस्ता टेक प्रडक्ट हराएर गए अर्थात् देशको शक्ति कमजोर हुँदै गयो तर जनशक्ति भने विश्वव्यापी उत्पादनको विकासतिर सक्रिय हुन थाले।
इन्फो डेभलपर्स आफैले पनि यसमा कयौँ सिस्टममा काम गरिरहेको रघुवंसीको भनाइ छ। तर पनि सानो बजार हुनेबित्तिकै कमजोर पुँजी संरचना र परम्परागत नियम कानूनका कारणले पनि यो क्षेत्रले गति लिन नसकेको उनको भनाइ छ।
‘बजारका लागि पहिचान चाहिन्छ। जुन हामीसँग कहिलै थिएन। म पाँच वर्ष पहिले भारतको मुम्बई जाँदा त्यहाँका मान्छेले नेपालमा पनि सफ्टवेयर डेभलेप हुन्छ र भनेर प्रश्न गरेका थिए। अर्थात् नेपालमा पनि यो विकास हुन्छ र काम पनि हुन्छ मान्छेहरू पनि छन् भन्ने कुरा संसारले थाहा पाएपछि पो यसको विकास हुन्छ र विश्वमा बजार सिर्जना हुन्छ जुन हामीसँग ब्रान्डिङ नै कहिलै थिएन’, उनी भन्छन्।
यही पहिचान नभएका कारण कयौँ नेपालीले राम्रो विकास गरे पनि त्यसका लागि विदेशी कम्पनीसँग साझेदारी गरेर त्यसको व्यापार गर्न बाध्य छन्।
लचिलो श्रम नियम, खुकलो पुँजी पहुँच सूचना प्रविधि क्षेत्रका उद्यमीले नेपालमा कहिलै पनि इन्ज्योय गर्न पाएनन्। एउटा कुनै निश्चित सफ्टवेयर विकास गरेर विश्वस्तरीय बनाउनका लागि कुनै एउटा देशभित्रको जनशक्तिले मात्र पुग्दैन। त्यसका लागि संसारका विभिन्न ठाउँमा रहेका मान्छेको सेवा लिनुपर्छ।
तर नेपालमा खुलेको कुनै पनि कम्पनीले कुनै विदेशीलाई श्रम स्वीकृति नलिइ काम लगाउन पाउँदैन वा त्यसका लागि भुक्तानी दिन पाउँदैन आजका मितिसम्म। त्यस्तै केही वर्ष पहिलेसम्म सानो सेवा खरिद गर्न पनि छुट्टै स्वीकृति लिनुपर्ने बाध्यता थियो।
यस्ता जटिल कानूनी व्यवस्था र अभ्यासका कारण आजभन्दा दुई दशक पहिले नै विश्वस्तरीय प्रविधिको विकास गर्न सक्षम नेपालीहरू अहिले भने धमाधम पलायन भएर विदेशी कम्पनीको उत्पादन बनारहेका छन्।
पछिल्लो समय सरकारले ल्याएका केही व्यवस्थाले आश गर्न ठाउँ दिए पनि यतिमात्र पर्याप्त नहुने रघुवंसीको भनाइ छ। नेपाली कम्पनीलाई विकासमै सक्षम बनाउनका लागि जटिल प्रणालीको जडान तथा सञ्चालनमा अनिवार्य स्वदेशी साझेदारीको सर्त सरकारले नै राख्नुपर्ने, पुँजीमाथि सहज पहुँच र सहुलियतमा ऋण पाउने व्यवस्थाका साथै देशको प्रवर्द्धनमा सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend