
एआईमा विश्वले गरिरहेको नवितम प्रयोग बढ्दै गइरहेको छ। नेपालमा पनि एआईको प्रयोग र यसको सम्भावनाबारे छलफल र बहसहरू चलिरहेकै छन्।
काठमाडौं- फ्युज मेसिनका संस्थापक कम्युटर वैज्ञानिक डा. समिर मास्केको शब्द सापटी लिएर भन्ने हो भने 'मानिसले जस्तै सोच्ने, बोल्ने र काम गर्न सक्ने गरी इनपुट, प्रोसेसिङ र आउटपुटका आधारमा विकास गरिएको मेसिन नै एआई (आर्टिफिसिल इन्टेलिजेन्स) हो।'
दैनिक जीवनमा प्रयोग भइरहेका सूचना, जानकारी, तस्बिर, तथ्यांकसमेतलाई प्रशोधन गरी साधारणदेखि जटिल गणितीय विधि, प्रोग्रामिङ र अल्गोरिदमका आधारमा मेसिनलाई कृत्रिम दिमाग उपलब्ध गराउने काम नै आर्टफिसियल इन्टेलिजेन्स (एआई) रहेको मास्के बताउँछन्।
अमेरिकाको स्टक एक्सचेन्ज दर्ता भएको फ्युज मेसिनले एआई शिक्षा, प्रविधि उत्पादन, बिक्री वितरण र जनशक्ति उत्पादनको काम गर्दै आएको छ। काठमाडौंका ठमेल निवासी डा. मास्के अमेरिकाको स्टक एक्सचेन्जमा कम्पनी सूचीकृत गराएर संसारभर एआई प्रविधिको विस्तार गरिरहेका छन्। संसार एआईतर्फ गइरहेको समयमा नेपालीहरू पनि कम छैनन् भन्ने कुरा डा. मास्के कामबाट पनि पुष्टि हुन्छ।
डा. मास्के र उनको कम्पनी फ्युज मेसिन एक उदारणमात्रै हो। उनीजस्तै थुप्रै नेपालीहरू आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, बिग डाटा लगायतका प्रविधिहरूमा काम गरिरहेका छन्।
एआईमा विश्वले गरिरहेको नवीनतम् प्रयोग बढ्दै गइरहेको छ। नेपालमा पनि एआईको प्रयोग र यसको सम्भावनाबारे छलफल र बहसहरू चलिरहेकै छन्।
विश्वमा आर्टिफिसियल इन्टेलिजेन्समा अध्ययन सुरु भएको ४ दशकभन्दा बढी भइसकेको छ। जोन म्याकार्थेले सुरुवातमा एआईको विषय अगाडि सारेका थिए। उनैलाई एआईको सर्जकसमेत मान्ने गरिएको छ। म्याकार्थेपश्चात विश्वमा एआईको निकै ठूलो अनुसन्धान र प्रयोग भइसकेको छ।
अहिले एआईलाई मानिसले गर्नसक्ने कुनै काममा मात्रै प्रयोग गरिँदै आइएको छ। हलिउड चलचित्रमा देखाउनेझैँ गरी एउटा मानवले सोच्ने वा कार्य सम्पादन गर्ने हिसाबमा एआई प्रयोगमा ल्याउन सकिएको छैन। तर त्यसतर्फ अध्ययनहरू नभएका होइनन्।
मानिसजस्तै कृत्रिम मानव निर्माण गर्ने दिशामा संसारभर थुप्रै खोजहरू भइरहेकै भएर हुनसक्छ विश्वविख्यात इजरायली इतिहासकार तथा लेखक युवल नोहा हरारीले 'एआई हतियार परमाणु हतियारभन्दा खतरनाक हुन सक्छन्', भनेका छन्। एआईमा आधारित हतियारहरू जस्तै ड्रोन, किलर रोबोट, साइबर हतियार परमाणु हतियारभन्दा सस्तो, छिटो उत्पादनयोग्य र नियन्त्रण गर्न गाह्रो हुने भएकाले अझ धेरै विनाशकारी हुनसक्ने उनको मत छ।
मानव विकासक्रम जस्तै एआई हाल एककोषीय जीव 'एमिवा' को चरणमा रहेपनि यसको विकासक्रम निकै तीब्ररुपमा अगाडि बढेको उनको दाबी छ। एआई तीब्ररुपमा विकास हुँदै गएमा मानिसका कामहरू खोसिँदै जाने र यसले बेरोजगारी बढाउने सम्भावना रहेको भन्दै यसको विरोध हुने गरेको छ। भविष्यमा गलत व्यक्तिले एआईको दुरुपयोग गर्न चाहेमा मानव सभ्यता नै जोखिममा पर्ने आलोचकहरूको मत भएपनि यसको प्रयोग अझै तीब्ररुपमा बढिरहेकै छ।
विश्वमा ओपन एआई च्याट जीपीटी हुँदै चिनियाँ डिपसिकसम्म यसको प्रयोग भइरहेको छ। हरेक ठूला टेक कम्पनीहरूले एआईको प्रयोगलाई तीब्रता दिइरहेका छन्। शिक्षा, स्वास्थ्य, उद्योग, वित्तीय संस्थाहरूदेखि सञ्चारमाध्यमसम्म एआईको प्रयोग तीब्ररुपमा भइरहेको छ। जसअन्तर्गत डीप लर्निङ पनि एआईको एक शाखाको रुपमा प्रयोग भइरहेको छ। जसले नेटवर्कहरूको प्रयोग गरेर कठिन समस्याहरू समाधान गर्छ। एआईभित्र मेसिन लर्निङमात्रै नभएर अब्जेक्ट डिटेक्सन, नेचुरल ल्याङग्वेज प्रोसेसिङ र रोवोटिक्स पनि पर्छ।
एआईलाई खासगरी तीन भागमा वर्गीकरण गररे हेर्ने गरिएको छ। आर्टिफिसियल न्यारो इन्टेलिजेन्स जसलाई न्यारो एआई पनि भनिन्छ। दोस्रो, आर्टिफिसियल जेनरल इन्टेलिजेन्स र तेस्रो, आर्टिफिसियल सुपर इन्टिलिजेन्स रहेको छ।
साधारणतया हामीले मोबाइल फोनहरूमा प्रयोग गर्ने एआईसी विक एआईभित्रै पर्छन्। यस्तो एआई निश्चित काममा मात्रै प्रयोग हुन्छ। एमेजनको एलेक्सा, मोबाइल फोनमा प्रयोग हुने फेस भेरिफिकेसन, गुगल म्यापलगायतका प्रविधिहरू न्यारो एआईभित्रै पर्छन्।
स्ट्रोङ एआईले मानिसले गर्नसक्ने कठिन कामहरू सम्पादन गर्नसक्ने बताइएको छ। यस विषयमा विभिन्न अनुसन्धानहरू भइरहेका छन्। जसलाई हालसम्म प्रयोगमा ल्याउन सकिएको छैन। स्ट्रोङ एआई प्रयोग गर्ने विषयमा संसारभर नै विवाद छ। प्रोफेसर हरारीले इंगित गरेको एआई स्ट्रोङ एआईतर्फको अनुसन्धान पनि हो। यसलाई प्रयोगमा ल्याएमा मानव अस्वित्व नै समाप्त हुने चेतावनी विश्व प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङ्सले समेत दिएका थिए।
'स्ट्रोङ एआईले आफूले आफूलाई यति चाँडो विकास गर्छ कि मानिसको विकासक्रम गति निकै धिमा हुन्छ। फलस्वरुप मानिसले एआईसँग प्रतिस्पर्धा गर्न सक्दैन र अन्त्यमा मानव सभ्याताको अन्त्य हुनेछ', उनले भनेका थिए।
मानवले जस्तै सोच्ने एआईको विकास अबको १५/२० वर्षभित्र हुने सम्भावनालाई डा. मास्केले समेत नकार्दैनन्। 'मानिस जस्तै एआईको विकास हुनु विश्वका लागि चिन्ताजनक बन्न सक्छ', उनले भनेका छन्।
यस्तै आर्टिफिसियल सुपर इन्टिलेजेन्स एक यस्तो समयको परिकल्पना हो जहाँ कम्युटरहरू मानिसभन्दा लाखौँ गुणा तेज हुन्छन्। साइन्स फ्रिक्सन हलिउड चलचित्रहरूमा जस्तो मेसिनले संसार चलाउन खोज्ने र मानिस त्यसलाई रोक्न खोज्ने स्थितिको परिकल्पना यसमा गरिन्छ।
पछिल्लो समय सामाजिक सञ्जाल जस्तै फेसबुकमा अनुहार पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई ट्याग गर्ने प्रविधिमा एआईको प्रयोग हुने गरेको छ। फेसबुक, एक्स, यूट्युव जस्ता सामाजिक सञ्जालहरूले आपत्तिजनक तथा कानूनले बर्जित गरेका सामाग्रीहरू एआईको प्रयोग गरेर हटाउने गरेका छन्।
गुगल सर्ज इन्जिनमार्फत कुनै सामाग्री सर्च गर्न खोज्दा किवर्डहरूको सजेसन आउनु पनि एआई नै हो। यस्तै गुगल, फेसबुकलगायतले एआईको माध्यमबाट प्रयोगकर्ताको उमेर, ठाउँ, व्यक्तिका रुची, चाहाना, आवश्यकता र इन्टरनेट गतिविधि हेरेर तथ्यांक संकलनका आधारमा विभिन्न वस्तु तथा सेवाको प्रयोगका लागि रिकोमेन्डेसन वा सजेसन गर्छ।
भर्चुअल एसिस्टेन्टहरू एमेजनको सिरी, एलेक्सा, माइक्रोसफ्टको कोटना र सेल्फ ड्राइभिङ कार, डिफ फेक, डिप सिक, जेमिनाई, च्याट जीपीडीलगायत एआई र मसिन लर्निङमा वास्तविक प्रयोगका केही उदारण हुन्। भाषाबाहेक कप्म्युटर भिजन स्टिमहरू मानव स्वास्थ्यको चेकजाँज, रोगको पहिचान र जटिल शल्यक्रियासम्म एआईको प्रयोग हुन थालेको छ।
यस्तै सरकारी सुरक्षा व्यवस्था मजबुत बनाउन पनि विश्वव्यापीरुपमा एआईको प्रयोग बढ्दो छ। मानवले गर्न नसक्ने औद्योगिक उत्पादनमा एआई प्रविधिको प्रयोग गरेर मानवरहित उत्पादन विश्वले गरिहेको छ। यस्तै फ्रड डिडेक्सन (झुट) पत्ता लगाउनदेखि ग्राहकसँग कुराकानी गर्ने मेसिन तथा प्रविधिमा एआईको प्रयोग हुने गरेको छ।
नेपाल भने च्याटबोट्समा नै सीमित
विश्वमा तीब्ररुपमा एआई तथा मेसिन लर्निङको प्रयोग भएपनि नेपालमा च्याटबक्स, रोवोटिक्सको रुपमा पाइलट टेक्नोलोजी, फिनटेक र केही कर्पोरेट हाउसमा मात्रै सीमित हुन पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरू वा वालेट कम्पनीहरूले आफ्नो शंकास्पद कारोबार नियन्त्रण गर्नका लागि एआईको प्रयोग गर्न थालेका छन्।उनीहरूले एकैपटक निकै ठूलो कारोबार हुने र कुन कारोबार शंकास्पद भएको भनि व्यक्तिले पत्ता लगाउन कठिन हुने भएकाले भुक्तानी प्रणलीभित्र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालेका हुन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले बैंकहरूले आफ्ना फ्रड कारोबार नियन्त्रण गर्नका लागि एआई तथा मेसिन लर्निङ प्रविधको प्रयोग गरिरहेको बताए।
शंकास्पद कारोबार पत्ता लगाउन राष्ट्र बैंकबाट भुक्तानी कारोबार इजाजत प्राप्त गरेका संस्थाहरूले आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ प्रविधिको प्रयोग गरिरहेका छन्। नियमितरुपमा काठमाडौंमा कारोबार गरिरहेको वित्तीय ग्राहक एकपटक दार्चुलामा गएर कारोबार गरेको देखेमा बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी वा भुक्तानी सेवा सञ्चालक कम्पनीहरूको यस्ता प्रविधिबाट पत्ता लगाउन सक्छन्।
'कुनै पनि ग्राहकको कारोबार गर्ने प्याटर्न परिवर्तन भयो भने पनि यसबाट पत्ता लाग्ने भयो। आज काठमाडौं गएर सामान्य कारोबार गरिरहेको व्यक्ति भोलि महाकालीको दार्चुला पुगेर सिमेन्ट खरिद गर्छ भने उसको कारोबारमा यस्ता प्रविधिमार्फत निगरानी बढाउन सकिने भयो', पण्डितले बताए।
यस्तै कतिपय बैंकहरूले ऋणको जोखिम विश्लेषण र च्याटबोट्सको रुपमा एआईलाई प्रयोगमा ल्याएका छन्। अनलाइन शिक्षण प्लेटफर्महरू, भाषा अनुवाद उपकरण र पढाइ सहज बनाउन, भिडियो बनाउनलगायतका काममा नेपालमा एआईको प्रयोग भइरहेको छ।
यसबाहेक स्वास्थ्य क्षेत्रतर्फ मेडिकल जाँच परिक्षण, रोग पत्ता लगाउन र सामान्य चिकित्सामा पनि छिटफुटरुपमा एआईको प्रयोग हुन थालेको पाइन्छ। कृषितर्फ बालीको रोग पहिचान गर्न र मौसम तथा उत्पादन पूर्वाअनुमानमा पनि एआईको प्रयोग भएको बताइन्छ। नेपालका केही मिडियाहरूले पनि एआईको प्रयोग गरेर आफ्ना सामाग्रीहरू उत्पादन तथा प्रसारण गर्न थालेका छन्।
प्रविधिको प्रयोगले अपराधमा चुनौती थपिदिएपछि नेपाल प्रहरीले पनि यसलाई परिस्कृत गर्दै लगेको छ। यसका लागि प्रहरीले एआईको प्रयोग सुरु गरेको छ। एक भारतीय कम्पनीसँग ९ करोड ११ लाखमा एआई बिजनेस इन्टेलिजेन्स टुल्स खरिद गरेर प्रहरीले प्रयोगमा ल्याएको छ।
एआई प्रविधि प्रयोगमा आएपछि ‘एनालाइटिकल्स टुल्स’को प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ। यसमा अपराधका डेटाहरू राखेपछि आगामी दिनमा आउनसक्ने सम्भावित अपराधका चुनौती र न्यूनीकरण गर्न ध्यान दिनुपर्ने सुझावहरू बताउन सकिने जनाइएको छ। यो प्रविधिलाई नेपाल प्रहरीले अपराध अनुसन्धानमा गेम चेन्जरको रुपमा लिएको छ।
पछिल्लो समय ‘एआई’को विषयमा न्यायको क्षेत्रमा पनि निरन्तर छलफल र अध्ययनहरू गर्ने काम भइरहेको उपन्यायाधिवक्ता अमित उप्रेती बताउँछन्। 'अन्यत्रभन्दा न्यायपालिकामा अलि छिटै नै यसबारे बहसहरू सुरु भएको हो। एआईको प्रयोगमार्फत सिर्जना भएका केही फैसलाहरू अध्ययन गर्ने कामहरू समेत भइरहेका छन्। व्यक्तिगत रुपमा नै भएका भए पनि ती अध्ययनहरू महत्वपूर्ण छन्' उनले भने।
हालै सरकारले एआई प्रयोग तथा अभ्यासका लागि अवधारणापत्र ल्याएको छ। यसले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमाका साथै एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षण समेटिएका कानून तर्जुमा गर्न सुझाव दिएको छ।
प्रतिवेदनले एकीकृत राष्ट्रिय पोर्टलको विकास गरी एआईसम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचनाको निर्माण गर्नुपर्नेमा समेत जोड दिएको छ। आगामी समयमा एआईको प्रयोगमा गति प्रदान गर्दै आर्थिक सामाजिक विकासमा उपभोग गर्न राष्ट्रिय परियोजना एवम् क्षेत्रगत पहलहरूको विकास गर्न सुझाव दिएको छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend