अपराधमा प्रविधिको चुनौती : अनुसन्धान शैली नै परिवर्तन गर्नुपर्ने आवश्यकता

अपराधमा प्रविधिको चुनौती : अनुसन्धान शैली नै परिवर्तन गर्नुपर्ने आवश्यकता

प्रविधिको दुरुपयोग गरेर सिस्टममा छिरेर मोटो रकम बाहिरिँदासमेत प्रहरी अनुसन्धान फितलो बन्यो। यसको मुख्य कारण अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रविधि सीमितता नै रहेको अनुसन्धानका जानकारहरूको बुझाइ छ।

काठमाडौं- २०८१ चैत २३ गते शनिबार अमेरिकामा एक दुई वर्षका बच्चा बेपत्ता भए। बच्चा हराएको जानकारीपछि अमेरिकी प्रहरीले खोजी तीब्र पार्‍यो। प्रविधिमा अब्बल मानिएको अमेरिकी प्रहरीले हेलिकप्टरमा जडान गरिएको इन्फ्रारेड क्यामेराको सहयोगमा खोजी सुरु गर्‍यो। कठिन अवस्थामा रहेका बच्चालाई १५ मिनेटभित्रै सकुशल फेला पार्‍यो।

उक्त खोजिको भिडियो निकै चर्चामा रह्यो। त्यस घटनाले उच्च प्रविधिको प्रयोगले कसरी जीवन बचाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। उक्त भिडियो नेपालका केही सुरक्षाकर्मीले समेत सेयर गरेका छन्। भिडियो सेयर गर्दै उनीहरूले नेपाल प्रहरीमा प्रविधिको आवश्यकताबारे औँल्याएका छन्।

अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी प्रविधिको मामलामा भने कमजोर छ। प्रहरीले गरेका केही अनुसन्धान हेर्दा नेपाल प्रहरीमा प्राविधिक पहुँचको अभावबारेको स्पष्ट चित्र देखिन्छ। आवश्यक प्रविधि नहुँदा अनुसन्धान नै अपुरो हुने गरेको छ। प्रविधिको राम्रो पहुँच नहुँदा अपुरो भएको एउटा अनुसन्धानको उदाहरण एफवान सफ्टको सिस्टम ह्याक पनि हो।

एफवान सफ्टको सिस्टममा छिरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रुपैयाँभन्दा बढी रकम चोरी भयो। जब कि सिटिजन्स बैंकको सफ्टवेयर नै एफवान सफ्टले निर्माण गरेको थियो। सिटिजन्स बैंकमै एफवान सफ्टले खोलेको खाताबाट साढे तीन करोड रुपैयाँ चोरी भएको उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा पर्‍यो। ब्यूरोले यसमा अनुसन्धान अघि बढायो।

साइबर ब्यूरोले देशका विभिन्न ठाउँहरूबाट ९ जनालाई पक्राउ गर्दै सार्वजनिक गर्‍यो। ब्यूरोको अनुसन्धानको क्रममा सन् २०२४ अक्टोवर १ देखि अक्टोवर ४ तारिखसम्म पटक-पटक गरेर एफवान सफ्टको खाताबाट ३ करोड ५१ लाख ५० हजार ३ सय ७० रुपैयाँ चोरी भएको खुल्यो। तर प्रहरीले न त्यो रकम फिर्ता गराउन सक्यो न यसको मुख्य गिरोहसम्म पुग्न सक्यो।

खातामा रकम जम्मा भएका विभिन्न २४ जना देखिएको बताएको प्रहरीले ९ जनालाई मात्र पक्राउ गरेर मुद्दा चलायो। तर ती ९ जनालाई पनि काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सामान्य धरौटीमा रिहा गर्न आदेश दियो।

साइबर ब्यूरोकै प्रवक्ता तथा एसपी दीपकराज अवस्थीको भनाइअनुसार उक्त अनुसन्धान निकै जटिल थियो। प्रविधिको दुरुपयोग गरेर सिस्टमभित्र प्रवेश गरेर मोटो रकम चोरी भएको र उक्त रकम विदेश पुगेको बताए पनि प्रहरीले यसको मुख्य नाइकेसमेत पहिचान गर्न सकेन।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार यो अनुसन्धान निकै जटिल थियो। ‘मुख्य गिरोह देशबाहिरै बसेर सिस्टममा छिरेर रकम चोरी भयो। त्यतिञ्जेलसम्म बैंकले भेउसमेत पाएन। सिस्टममा छिर्नेले नेपालीहरूको बैंक खाता भाडामा लिएर रकम हुण्डी, क्रिप्टोमार्फत विदेश पुगेको देखिन्छ’ ती अधिकृत भन्छन्। ती व्यक्ति को हुन्, कसरी सिस्टममा प्रवेश गरे र यो रकम ठ्याक्कै कहाँ पुग्यो भन्नेबारे प्रहरी अहिलेसम्म अनुत्तरित छ।

विभिन्न तह-तहमा फरक फरक व्यक्ति बसेर रकम चोरी गरेको 'रेडिमेट' जवाफ दिनबाहेक प्रहरीले योभन्दा केही बताउन सकेको छैन। अझ एफवान सफ्टले बनाएको सफ्टवेयर र उसैको खाताबाट रकम चोरी भएपछि शंकाको कोण एफवान सफ्टमा समेत राखेर प्रहरीले अनुसन्धान गरेको थियो। तर प्रहरीले कुनै नयाँ तथ्य फेला पार्न सकेन। जसकारण कमजोर प्रमाण भएपछि पक्राउ परेका ९ जना पनि सामान्य धरौटीमा रिहा भए।

प्रविधिको दुरुपयोग गरेर सिस्टममा छिरेर मोटो रकम बाहिरिँदासमेत प्रहरी अनुसन्धान फितलो बन्यो। यसको मुख्य कारण अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रविधि सीमितता नै रहेको अनुसन्धानका जानकारहरूको बुझाइ छ।

यस किसिमको अपराध अनुसन्धानका लागि प्रहरीसँग दक्ष जनशक्तिको अभाव छ। यस्ता किसिमका अपराधले नेपाल प्रहरीको अपराध अनुसन्धान पद्धतिलाई नै चुनौती दिँदै आएको छ। प्रविधिको पहुँच विस्तार भएसँगै अपराधमा पनि प्रविधि जोडिएपछि अनुसन्धानकर्ता प्रहरीको टाउको दुखाइ बनेको छ।

अपराधमा प्रविधि जोडिएपछि अनुसन्धान चुनौतीपूर्ण बनेको स्वीकार्दै तत्कालीन एआईजी (हाल अवकाश) कुँवेर कडायतले प्रहरी प्रधान कार्यालयमा भनेका थिए, ‘अबको अनुसन्धान हवल्दारले मुचुल्का गरेर सईले साइन गरेजस्तो हुँदैन। प्रविधिको ज्ञानबिना अनुसन्धान अपुरो हुन्छ।’

अर्धवार्षिक समीक्षा कार्यक्रममा अपराधको विश्लेषण गर्दै अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका एआईजी कडायतले भनेका थिए, ‘पुरानो शैलीको अनुसन्धानबाट अब सफलता मिल्न गाह्रो छ।’

पहिला भौतिक उपस्थितिमा हुने अपराधहरू अहिले मान्छेको उपस्थितिबिनै प्रविधिको प्रयोग गरेर हुन थालेका छन्। बैंकमा गएर रकम लुटपाट हुने अवस्थाबाट अहिले बैंकमै उपस्थित नभइ सिस्टमको दुरुपयोग गरेर रकम चोरी गरेर विदेशसम्म पुग्ने गरेका छन्। अर्कोतर्फ फिसिङ, स्क्याम, पार्सल पठाएको भन्दै रकम हाल्न लगाएर प्रविधिको माध्यमबाट अपराधहरू भइरहेका छन् ।

अनलाइन जुवाको धन्दामा प्रहरीले एक साताको अवधिमा (२०८१, माघ २६ र फागुन ५मा) दुई ठूला अपरेसन गरेर काठमाडौं उपत्यकाबाट ५१ भारतीयलाई पक्राउ गरेको थियो। उनीहरूले ६ अर्ब रुपैयाँको अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको खुलेको थियो। भारतीय समूहले काठमाडौंलाई सेल्टर बनाएर भौतिक उपस्थितिबिनै प्रविधिको दुरुपोग गरी संघीय राजधानीमै अपराधको धन्दा चलाएका थिए।

यो समूहले अनलाइन जुवा खेलाएर रकम भारत लैजाने गरेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए। तर प्रहरीले उनीहरूबाट रकम आदानप्रदान भएकोबाहेक केही प्रमाण फेला पार्न सकेन। यसको मुख्य कारण नै पर्याप्त प्रविधिको पहुँच नहुनु रहेको प्रहरीको बुझाइ छ।

अपराधहरू प्रविधिमैत्री हुँदै जाँदा अपराध अनुसन्धानमा पनि प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता रहेको देखिन्छ।

चुनौती थपिएपछि प्रविधिमैत्री बन्ने प्रहरी प्रयास

अधिकांश घटनाहरूमा अभियुक्तले इन्कारी बयान दिने गर्छन्। उनीहरूको इन्कारी बयानलाई प्रहरीले सबुद प्रमाण जुटाएर अकाट्य बनाउन नसकेको अवस्थामा अभियुक्तहरू सहजै उन्मुक्त हुन्छन्। केही अपराधको घटनाहरूमा यस्तो देखिएको पनि छ। प्रविधिले अपराधमा चुनौती थपिएपछि प्रहरीले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान सुरु गरेको छ।

अनुसन्धान कार्यमा संकलित दशीप्रमाणको परीक्षणका लागि सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला एक दर्जन शाखा खडा गरिएको छ। जहाँ रसायन, लागुऔषध, विस्फोटक पदार्थ, ब्यालेस्टिक, विष विज्ञान, डिएनए, जीवसिरम विज्ञान, विवादास्पद प्रलेख, भौतिक (फुट प्रिन्ट, सवारी साधनको इन्जिन-चेसिस), पोलिग्राफ, एफआईएस अटोमेटेड फिंगर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम (एफआईएस), डिजिटल फरेन्सिक ल्याब (डिएफएल) फोटोग्राफीको वैैज्ञानिक परीक्षण एवं विश्लेषण गरिँदै आएको छ।

ट्राफिक प्रहरीले पनि प्रविधिको उच्चतम प्रयोग गर्दै आएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा अनुसन्धानका लागि ट्राफिकले विभिन्न प्रविधि प्रयोगमा ल्याएको छ।

सिसीटिभी क्यामेरा, राडर गन, लिडार गन, ब्रेथ लाइजर, ड्रग्स डिटेक्सन किट, गोप्रो क्यामेरा, भ्वाइस रेकर्डर, सर्भिलेन्स क्यामेराजडित सवारी साधन, म्याजिक लाइटको ट्राफिकले गर्दै आएको छ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख तथा एसएसपी विनोद घिमिरेका अनुसार उपत्यकाको मुख्य-मुख्य नाकामा भेहिकल स्क्यानरलगायत थप प्रविधि भित्र्याउनेसमेत पहल भइरहेको छ।

यसका साथै अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपीआर) प्रयोगमा ल्याइएको छ। यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताइन्छ। सिट बेल्ट लगाए/नलगाएको, चालकले फोनमा कुरा गरे/नगरेको लगायत यसले पत्ता लगाउने उनी बताउँछन्।

अपराध अनुसन्धानमा थपियो एआई

प्रविधिको प्रयोगले अपराधमा चुनौती थपिदिएपछि नेपाल प्रहरीले पनि यसलाई परिस्कृत गर्दै लगेको छ। यसका लागि प्रहरीले एआईको प्रयोग सुरु गरेको छ। एक भारतीय कम्पनीसँग ९ करोड ११ लाखमा एआई बिजनेस इन्टेलिजेन्स टुल्स खरिद गरेर प्रहरीले प्रयोगमा ल्याएको छ।

एआई प्रविधि प्रयोगमा आएपछि ‘एनालाइटिकल्स टुल्स’को प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ। यसमा अपराधका डेटाहरू राखेपछि आगामी दिनमा आउनसक्ने सम्भावित अपराधका चुनौती र न्यूनीकरण गर्न ध्यान दिनुपर्ने सुझावहरू बताउन सकिने जनाइएको छ। यो प्रविधिलाई नेपाल प्रहरीले अपराध अनुसन्धानमा गेम चेन्जरको रुपमा लिएको छ।  

प्रहरीको कम्प्युटर सेवा निर्देशनालयका प्राविधिक डीआईजी अरुण भण्डारीले पनि एआई टुल्सले अपराध अनुसन्धानमा धेरै सहजता हुने बताएका छन्। २०८१ फागुन ५ मा अपराध अनुसन्धान विभागले गरेको कार्यक्रममा उनले भनेका थिए, ‘यसले अपराधका डाटाहरूको विश्लेषण गर्छ र भविष्यमा ध्यान दिनुपर्ने विषयहरूबारे सुझाव पनि दिन्छ। भावी चुनौतीका विषयसमेत बताउने भएकाले कहाँ कस्तो अपराध हुन्छ र कस्तो रणनीति बनाउनुपर्छ भन्नेबारे जानकारी दिइने छ।'

यो एआई टुल्स सञ्चालन ल्याउनका लागि भारतमै पठाएर १५ जना प्रहरीलाई तालिम समेत दिइएको छ। भारतको पुणेमा १५ दिनको तालिम सकाएर प्रहरी टोली नेपाल फिर्ता भइसकेको छ। अब उक्त एआई टुल्सलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने अन्तिम तयारीमा प्रहरी छ।

प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:००
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend