
नेपालमा जागिरको अवसर नपाएर दैनिक हजारौँ युवा विदेशिन बाध्य छन् तर आईटी शिक्षा लिएकाहरूलाई आफ्नो सीप देखाउन सके विदेशिनु पर्दैन। यहाँ नै राम्रो कमाइ गर्न सक्छन्।
विश्व प्रविधिमा भएका नविनतम विकाससँगै सूचना प्रविधि (आईटी) को क्षेत्रमा आकर्षण बढ्दो छ। नेपालमा समेत विद्यार्थीहरूको प्रमुख रोजाइमा आईटी परिरहेको देखिन्छ। स्वदेशमा नै बसेर आकर्षक तलब पाइने भएकाले आईटी अध्ययन गर्नेको संख्या बढिरहेको छ।
कम्प्युटर साइन्स, सफ्टवेयर इन्जिनियरिङ र डेटा साइन्स जस्ता विषय त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायत विश्वविद्यालयहरूमा पढाइ हुँदै आएको छ।
पछिल्लो समय एआई (आर्टिफिसियल इन्टेलिजेन्स) का विषयमा विकसित मुलुकमा भइरहेको अनुसन्धान र विकासका साथै यसको फैलँदो स्वरुपले नेपालमा समेत आकर्षण बढिरहेको छ। एआईका विभिन्न विषयमा नेपालमा समेत पढाइ हुन थालेको छ।
विश्व बैंकले समेत भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले डिजिटल क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने जोड दिएको छ। हालै सार्वजनिक गरिएको 'नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर' प्रतिवेदनमा नेपालको डिजिटल क्षेत्रमा तीब्र सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अबलम्बन र डिजिटल पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने जनाइएको छ।
नेपालमा कम डिजिटल सीप एउटा प्रमुख चुनौतीका रूपमा रहेकाले विद्यालय पाठ्यक्रममा डिजिटल सीप समावेश गर्नुका साथै विभिन्न उमेर समूहका लागि र जनसांख्यिक विशेषताका आधारमा तालिम कार्यक्रम सञ्चालन गर्न विश्व बैंकले सुझाव दिएको छ।
विश्वसँगै नेपाल पनि डिजिटलाइजेसनतर्फ अघि बढ्दै छ। कामलाई सरल र छिटोछरितो बनाउन नेपालमा स्वास्थ्य, बैंकिङ, सरकारी कार्यालय र अन्य विभिन्न क्षेत्रमा प्रविधिलाई अपनाउँदै गइएको छ।
सूचना प्रविधि क्षेत्रमा लगानी र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न सरकारले ई-गभर्नेन्स, प्राविधिक उद्यमशीलता र आईटी पूर्वाधारमा ध्यान केन्द्रित गर्न प्रमुख सहरमा आईटी पार्कहरूको स्थापना र आईटी स्टार्टप प्रोत्साहन गर्ने नीति लिएको छ।
निजी क्षेत्रको लगानी विस्तारले गर्दा आईटी इकोसिस्टमलाई अझ बलियो बनाउन योगदान पुगिरहेको छ। प्राविधिक उद्यमीले नेपालमा नै बसेर विश्वका ठूला कम्पनीमा कामसमेत गरिरहेका छन्। विदेशी मुद्दा भित्र्याउनमा उनीहरूको योगदान उल्लेख्य हुन थालेको छ। नेपालमा खोलिएका आईटी कम्पनीहरूले लाखौँलाई रोजगारी दिइरहेका छन्।
नेपालमा नै बसेर विश्वको जुनसुकै कुनाका क्लाइन्टसँग काम गर्न सकिने सुविधा, सरकारले पछिल्लो समय दिइरहेको महत्त्व र निजी क्षेत्रले गरिरहेको पूर्वाधार विस्तारका कारण नेपाली युवा आईटी क्षेत्रमा आकर्षित भइरहेका छन्।
आम्दानी उच्च
नेपालमा अन्यत्रभन्दा आईटी क्षेत्रमा आम्दानी राम्रो हुने गरेको छ। नेपालमा ने बसेर डलर कमाउन सक्ने नयाँ क्षेत्र आईटी बराबर अर्को छैन। विकसित विश्वको दाँजोमा कम भए पनि सरकारले तोकेको न्यूनतम मासिक तलब १७ हजार ३ सय रुपैयाँ भएको देशमा आईटी क्षेत्रमा लाग्नेहरूको तलब स्केल निकै राम्रो मान्नुपर्छ। जुन स्केल अझ बढ्दो नै छ। आफूले लिनसक्ने कामको आधारमा कमाइ सीमासमेत छैन।
युवालाई नेपाल बस्न प्रेरित
नेपालमा जागिरको अवसर नपाएर दैनिक हजारौँ युवा विदेशिन बाध्य छन्। तर आईटी शिक्षा लिएकाहरूलाई आफ्नो सीप देखाउन सके विदेशिनु पर्दैन। यहाँ नै राम्रो कमाइ गर्न सक्छन्। ल्यापटप र राम्रो इन्टरनेट भए जता बसेर पनि युरोप र अमेरिकाका ठूला कम्पनीमा काम गर्न सकिन्छ। यसको लागि युवाहरूले अपवर्क, फाइभर, टोपल र लिंक्डइन जस्ता विभिन्न फ्रीलान्सिङ प्लेटफर्म प्रयोग गर्दे आएका छन्। विदेशिने मोह र बाध्यता बढिरहँदा आईटीले युवालाई नेपालमा नै बसेर गर्न सकिन्छ भन्नेमा प्रेरित गरिरहेको छ।
डिजिटल विकासमा सरकार र निजी क्षेत्रको जोड
प्रविधि पूर्वाधारको विकास, उद्यमशीलता र नीतिगत सुधारमार्फत नेपालको डिजिटल विकासका लागि सरकार र निजी क्षेत्र मिलेर काम गरिरहेका छन्। सरकारको डिजिटल नेपाल फ्रेमवर्कले सन् २०३० सम्ममा ५ लाखभन्दा बढी प्राविधिक रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। आईटी स्टार्टपहरूका लागि कर प्रोत्साहन गर्ने नीति लिएको छ। भेन्चर क्यापिटलले प्राविधिक स्टार्टपमा विदेशी लगानी ल्याएका छन्। निजी कम्पनीहरूले फिन-टेक र एआई आउटसोर्सिङमा नवीनतालाई जोड दिइरहेका छन्।
नेपालमा सूचना-प्रविधि शिक्षा हासिल गर्न भोग्नुपरेका चुनौती
नेपालमा सूचना प्रविधिमा भविष्य बनाउन चाहने युवाका लागि धेरै प्रणालीगत र व्यावहारिक समस्याहरू पनि छन्। विश्वविद्यालयहरूमा समयानुकूल पाठ्यक्रमको अभाव हुँदा विद्यार्थीहरूले चाहेजति सिक्न पाइरहेका छैनन्। आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ वा साइबर सुरक्षाजस्ता विषयमा पाठ्यक्रमले ध्यान नदिँदा फेरिँदो सीपको कमी भइरहेको छ।
त्यसैगरी दक्ष शिक्षकहरूको विदेश पलायनले कलेजमा संकायको अभाव सिर्जना हुँदा आईटी शिक्षाको गुणस्तर थप कमजोर बनेको छ। यसैले पनि धेरै विद्यार्थीले विदेशमा अध्ययन गर्न रुचि देखाउँदा नेपालमा अध्ययन गर्नेको संख्या कम हुन थालेको छ। आईटी शिक्षाका लागि विद्यार्थीहरूले बर्सेनि ठूलो रकम विदेश लगिरहेका छन्। स्नातकपछि सूचना प्रविधि उद्योगमा खोजेजस्तो अवसरहरूको कमी र देशको राजनीतिक अस्थिरताले पनि विद्यार्थीहरूलाई निरुत्साहित गरेको छ।
'हाम्रो पाठ्यक्रम सामग्री उत्कृष्ट भए पनि, यो धेरै सैद्धान्तिक छ। यदि यो धेरै व्यवहारिक र करियर-केन्द्रित भएको भए हामीले कलेजमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न धेरै सजिलो हुने थियो' पूर्वाञ्चल विश्वविद्यालयबाट बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन्स) गरिरहेका निर्मल बिष्टले सुनाए।
'आईटी अधिक व्यावहारिक र प्रयोगात्मक विषय हुनुपर्छ तर हामीले व्यावहारिक विषयभन्दा धेरै सैद्धान्तिक विषयहरू पढ्नुपर्छ' उनले गुनासो गरे। पाठ्यक्रमलाई अझ व्यवहारिक र अद्यावधिक बनाउनुपर्नेमा त्यसो हुन नसकेको बताउँदै उनी भन्छन्, 'पाठ्यक्रम व्यवहारिक त छैन नै विश्वविद्यालयको तालिकाले समेत हामी प्रभावित हुनुपरेको छ। परीक्षा समयमा नै सञ्चालन भएका छैनन्।'
देखिएको आशा
अन्य व्यवसायमा स्थापित तथा सफल उद्यमीहरूले पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा आफ्नो लगानी विस्तार गरिरहेका छन्। विभिन्न क्षेत्रमा स्थापित भएकाहरूले पछिल्लो समय सूचना प्रविधिका विभिन्न क्षेत्रमा आफ्नो लगानीको फुटप्रिन्ट विस्तार गरिरहेका हुन्। उत्पादन तथा वित्तीय मध्यस्थता वा अन्य क्षेत्रमा लगानी गरेकाहरूले लगानीको आकर्षक क्षेत्रका रुपमा सूचना प्रविधिलाई अघि बढाएका छन्।
थिंकट्यांक आईआईडीएसले गरेको एक सर्वेक्षणअनुसार २०७९ मा नै सूचना प्रविधिको क्षेत्रबाट नेपालमा ५१ करोड अमेरिकी डलर भित्रिएको थियो। यस्तो आम्दानी पछिल्ला वर्षमा अझ बढ्दै आएको छ। नेपाल सरकार तथा राष्ट्र बैंकले आधिकारिक वर्गीकरण नगरेकाले यकिन तथ्यांक भेट्न भने कठिन छ।
आईटी फ्रिल्यान्सर तथा कम्पनीहरूले नेपालमा बसेर काम गर्छन्। प्राविधिक सहायतादेखि सफ्टवेयर डेभलपमेन्ट तथा बिजनेस प्रोसेसिङसम्मको काम उनीहरूले गर्दै आएका छन्। यसरी गरिने कामबाट हुने आम्दानी बढिरहेको छ।
आईटी उद्योगमा लागिरहेकाहरू भारत र फिलिपिन्सजस्तै नेपाल पनि आईटी आउटसोर्सिङको लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउँछन्। उचित नीतिनियम र सीप विकासमा सहयोग पुर्याउने समायनुकूल शिक्षातर्फ बढ्ने हो भने त्यो सम्भव भएको उनीहरूको भनाइ छ।
डिजिटल अर्थतन्त्रतर्फ लम्किरहेको युगमा नेपालको युवा जनसंख्यालाई आर्थिक स्वतन्त्रता र विश्वव्यापी पहुँच उपलब्ध गराउन आईटीले आशाको किरण छरेको छ। शिक्षा र पूर्वाधारमा थप लगानी गर्न सके देशले छिटै प्रविधिको क्रान्तिमा आफूलाई समाहित गराउन सक्ने छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend