प्रविधिको बेग्लै दुनिया : साइबर क्याफेबाट विश्व मञ्चसम्म नेपालको ई-स्पोर्ट्स

प्रविधिको बेग्लै दुनिया : साइबर क्याफेबाट विश्व मञ्चसम्म नेपालको ई-स्पोर्ट्स

युवापुस्तामाझ लोकप्रिय बनिरहेका खेलमा बुढापुरानाले पनि बन्देज कम गर्दै गइसकेका छन्। सीप भए मोबाइल र कम्प्युटर स्क्रिनबाट जीवन फेरिन्छ भन्ने उदाहरणीय पात्रहरू देखिन थालेका छन्।

काठमाडौं- खेलकुदको परम्परागत परिधिभन्दा बाहिर अहिले बेग्लै विश्व बनिसकेको छ। कतिलाई समय कटाउने मेसो र मनोरञ्जनमात्र बनिरहेको खेल धेरैका लागि संसार देख्ने रंगिन पर्दा बनेको छ। अघिल्लो पुस्ताले बिग्रने मेसो ठानिरहेका त्यस्ता खेल नौजवानका लागि जीवनको उद्देश्य समेटिएको स्पष्ट बाटो बनिरहेको छ।   

नेपालमा बाह्य वातावरणमा खेलिने पुराना खेलजस्तो मुख्य धार बन्न नसके पनि ई-स्पोर्ट्स क्षेत्र संसारभर द्रुत गतिमा विस्तार भइरहेको छ। युवापुस्तामाझ लोकप्रिय बनिरहेका ती खेलमा बुढापुरानाले पनि बन्देज कम गर्दै गइसकेका छन्। सीप भए मोबाइल र कम्प्युटर स्क्रिनबाट जीवन फेरिन्छ भन्ने उदाहरणीय पात्रहरू देखिन थालेका छन्। 

नेपालमा ई-स्पोर्ट्सको सुरुवात अनौपचारिक रूपमा भयो। सन् २००० को सुरुतिर काठमाडौंमा धेरै साइबर क्याफे खुलेपछि गेमिङ रमाइलोको रूपमा लोकप्रिय बन्दै गयो। काउन्टर स्ट्राइक र डोटा जस्ता खेल कम्प्युटरमा बढी रुचाउन थालियो। ती गेम खेल्न समूह बनाइ अनौपचारिक प्रतियोगिताहरूमा सहभागिता जनाउन सुरु भयो। त्यो समय ई-स्पोर्ट्सलाई वैध खेलको रूपमा स्वीकार गरिएको थिएन।

मोबाइल फोन र इन्टरनेटको पहुँच विस्तार भएसँगै नेपालमा ई-स्पोर्ट्सप्रति आकर्षण बढ्न थाल्यो। सन् २०१८ मा पब्जी मोबाइलको आगमन भएपछि त नेपालमा ई-स्पोर्ट्सको नयाँ आयामकै थालनी भयो।

'पब्जी मोबाइलले नेपालको ई-स्पोर्ट्समा क्रान्ति नै ल्यायो। यसबीचमा नेपाली युवाले टिम बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थाले,' पब्जी टिम टीटूकेका कन्टेन्ट क्रिएटर बिपुल भट्टराई भन्छन्।

कोभिड-१९ महामारीका क्रममा लकडाउनले मानिसहरूलाई घरभित्रै बस्न बाध्य बनाएपछि ई-स्पोर्ट्सको विकास अझ तीब्र भयो। भट्टराई भन्छन्, 'महामारीको बेला, मानिसहरूसँग गर्ने काम कम थिए, त्यसैले खाली समयमा मोबाइल गेमहरू खेल्न थाले, जसले गर्दा ई-स्पोर्ट्सले लोकप्रियता हासिल गर्‍यो।'

भारतले पब्जी मोबाइलमा प्रतिबन्ध लगाएपछि त नेपाली खेलाडीका लागि फलदायी काम नै भयो। प्रतिबन्धसँगै भारतीय टोली पब्जी मोबाइलको क्षेत्रीय प्रतियोगितामा सहभागिता पाउन छाडे। जसको फाइदा नेपाललाई भएको भट्टराई बताउँछन्। नेपालले पाएको उक्त अवसरपछि नेपाली ई-स्पोर्ट्स टिमको संख्या उल्लेखनीय रूपमा बढ्यो।

नेपालमा पब्जी मोबाइल अहिले प्रमुख ई-स्पोर्ट्स बनेको छ। रमाइलोका लागि मात्र होइन पेशा नै ई-स्पोर्ट्स बनाएर यसमा संलग्न हुने युवाको संख्या ठूलो छ। पब्जी मोबाइल नेशनल च्याम्पियनसिप (पीएमएनसी) जस्ता प्रतियोगितामा ठूलो संख्यामा टिमहरूको सहभागिता हुने गरेको छ।

भट्टराईका अनुसार पीएमएनसीमा मात्रै करिब चार हजार खेलाडी आबद्ध भएका थिए। 'अहिले करिब ५०-६० टिम व्यावसायिक रूपमा सञ्चालनमा छन्, जसले खेलाडी र म्यानेजर राखी तलब दिएका छन्। जस्तै 'टीटूके'मा हामीले मासिक रुपमा ४ लाख खर्च गर्छौँ। बुथ क्याम्पको लागि भनेर हामीले सिं‌गो घर भाडामा लिएका छौँ, जसमा मासिक रुपमा एक लाख रुपैयाँभन्दा माथि खर्च गरेका छौँ। त्यस्तै तलबमा साढे दुई लाख रुपैयाँभन्दा माथि छुट्याएका छौँ।'

ई-स्पोर्ट्सको खेलाडी र टिमको मुख्य आम्दानीको स्रोत भनेको प्रतियोगिताको पुरस्कार राशी, स्ट्रिमिङ तथा ब्रान्ड इन्डोरसमेन्ट रहँदै आएको छ। साउदी अरेबियाले आयोजना गरेको 'पब्जी मोबाइल विश्वकप २०२४' मा विभिन्न पुरस्कार राशीमात्र ३० लाख अमेरिकी डलरभन्दा बढी थियो। 

पब्जी मोबाइलबाहेक मोबाइल लेजेन्ड्स र अनर अफ किङजस्ता खेलहरू पनि नेपालमा लोकप्रिय हुँदै गएको छ। मोबाइल लेजेन्ड्समा गत वर्ष एक नेपाली टिम ई-स्पोर्ट्स विश्वकपमा छनोट भएको थियो।

team2k.jpg
टिम टीटूके

नेपालमा ई-स्पोर्ट्सलाई प्रोत्साहन र व्यावसायिक बनाउन सन् २०१६ मा नेपाल ई-स्पोर्ट्स संघसमेत स्थापना भयो। 'त्यतिबेला नेपाल ओलम्पिक कमिटिका तत्कालीन महासचिव जीवनराम श्रेष्ठसँगको छलफल गर्यौँ। उहाँको मद्दतले अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स महासंघसँग सम्पर्क गर्न मद्दत गर्‍यो र अन्ततः नेपाल ई-स्पोर्ट्स संघ स्थापना भयो,' ई-स्पोर्ट्स संघका अध्यक्ष सुरज डंगोलले बताए।

नेपाल ओलम्पिक कमिटिद्वारा मान्यताप्राप्त नेपाल ई-स्पोर्ट्स संघले हाल अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स महासंघ, ग्लोबल ई-स्पोर्ट्स फेडेरेसन र एसियन इलेक्ट्रोनिक स्पोर्ट्स फेडेरेसन (एईएसएफ) को पूर्ण सदस्यता प्राप्त गरेको छ।

ई-स्पोर्ट्स इकोसिस्टम निर्माण गर्न हिजोआज व्यावसायिक घराना र शैक्षिक संस्थामा कुराकानी तीब्र बनाइरहेको संघका अध्यक्ष डंगोल बताउँछन्। 'हामी ई-स्पोर्ट्स के हो र किन आवश्यक छ भन्ने विषयमा धेरै समयदेखि व्यावसायिक र शैक्षिक क्षेत्रसँग काम गरिरहेका छौँ,' डंगोलले भने।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सन् २०२७ मा साउदी अरेबियामा पहिलो ओलम्पिक ई-स्पोर्ट्स खेल आयोजना गर्ने भएको छ। यो घोषणा गरेसँगै नेपालमा संघले आफ्नो प्रयासलाई तीव्र बनाएको छ। जसअन्तर्गत संघले 'स्कूल पोडियम टू ओलम्पिक' अवधारणा अपनाएर विद्यालयस्तरमै ई-स्पोर्ट्स प्रशिक्षण सुरु गरी विद्यार्थीहरूलाई ओलम्पिक स्तरसम्म लैजाने योजना बनाएको डंगोलले बताए।

'ई-स्पोर्ट्स अरु खेलको तुलनामा अझै नयाँ हो तर यसको क्षेत्र निकै फराकिलो भइसकेको छ। विश्वमा जहाँ अन्य खेलहरूलाई सयौँ वर्ष लागेको थियो, ई-स्पोर्ट्सले १०/२० वर्षमै त्यो स्तर पुर्‍याएको छ,' डंगोलले भने, 'यदि हामीले निरन्तर प्रयास जारी राख्यौँ भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति मजबुत बनाउन सक्छ। हामी दक्षिण एसियामा राम्रो प्रदर्शन गरिरहेका छौँ, अब २०२७ को ओलम्पिक ई-स्पोर्ट्स खेलको तयारी गर्दैछौँ।'

चीनको हाङ्जाउमा आयोजित १९औँ एसियन खेलमा नेपालको सहभागिता ई-स्पोर्ट्सको इतिहासमा ठूलो उपलब्धि रह्यो। नेपालका २२ खेलाडीहरूले पाँच खेलमा प्रतिस्पर्धा गरे र तीन खेलमा पाँचौँ स्थान हासिल गरे। 'यो मध्यम प्रदर्शन भए पनि अनुभव अमूल्य रह्यो। नेपाली टिमले अन्तर्राष्ट्रियस्तरको व्यावसायिकता प्रत्यक्ष देख्न पाए' डंगोलले बताए।

एक नेपाली खेलाडीले त प्रदर्शनका आधारमा छात्रवृत्तिसमेत प्राप्त गरेको र उक्त उपलब्धिले सरकारलाई ई-स्पोर्ट्सको सम्भावनाबारे विश्वस्त बनाउन सकेको डंगोल बताउँछन्। भविष्यमा अझ ठूलो सहयोगको आशा गरिएको उनको भनाइ छ।

संघले हालै नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको शिक्षा विभागसँग तीन वर्षे सम्झौता गरेको छ। जसको लक्ष्य नेपालमा प्रमुख खेलकुद, फिटनेस र ई-स्पोर्ट्स कार्यक्रमहरू प्रवर्द्धन गर्नु रहेको छ। यस्तै नेपाल उद्योग परिसंघका युवा उद्यमी मञ्च र नेपाल उद्योग वाणिज्य महासंघसँग पनि सहकार्य भइरहेको डंगोलले बताए।

डंगोलका अनुसार संघले नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको चार संस्करण आयोजना गरिसकेको छ। अहिले पाँचौँ संस्करणको तयारी भइरहेको छ। जसमा वर्ल्ड ई-स्पोर्ट्स च्याम्पियनसिप २०२५ का लागि छनोट गर्ने प्रमुख मञ्च हुनेछ। 'यो नेपाली गेमरहरूका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर हो,' डंगोलले बताए।

नेपालमा ई-स्पोर्ट्सका लागि औपचारिक कानून तथा नियमहरूको अभाव रहेको डंगोल बताउँछन्। 'सरकारले अझै ई-स्पोर्ट्सको संरचना बुझ्ने प्रयास गर्दैछ। नयाँ कुरा भएकाले केही समय लाग्छ,' उनले भने।

संघले अन्तर्राष्ट्रिय निकाय विश्व एन्टी-डोपिङ एजेन्सी र एसियाली इलेक्ट्रोनिक खेलकुद महासंघसँग सहकार्य गरेर नेपालमा ई-स्पोर्ट्ससम्बन्धी नियम बनाउन पहल गरिरहेको छ। 'ई-स्पोर्ट्स भविष्य हो। २०२५ सम्म विश्वव्यापी ई-स्पोर्ट्सको दर्शक संख्या ६४० मिलियन नाघ्ने अनुमान छ। आज ई-स्पोर्ट्सको दर्शक संख्या विश्वका शीर्ष पाँचमा पर्छ, जुन हलिउड चलचित्रहरूको समग्र दर्शक संख्याभन्दा पनि बढी हो' उनले भने। 

कस्तो छ त यसमा लागिरहेकाहरूको अनुभव?

subin kumar parajapati.jpg
सुबिन कुमार प्रजापति

पब्जी खेलेरै आमाबुबालाई घर उपहार : सुबिन कुमार प्रजापति, खेलाडी

म पहिले डिजेको काम गर्थेँ। यसैक्रममा कोरोनाका कारण लकडाउन भयो र खाली समयमा गर्ने काम पनि केही थिएन। बच्चादेखि नै भिडियो गेममा रुचि भएकोले मैले पब्जी खेल्न सुरु गरेँ।

कमाइ खासै राम्रो नभएकोले मोबाइल सेट खासै राम्रो किन्न सकिनँ, त्यसपछि फेरि काम गर्न थालेर बचत गरी राम्रो डिभाइस किनेँ। त्यसपछि पुन: पब्जीमा फर्किएँ। एकता भन्ने पब्जी टिममा व्यावसायिक पबजी प्लेयरको रुपमा यात्रा सुरु गरेँ। मैले पहिलो प्रतियोगिता पोखरामा खेलेँ। 

पहिले त मेरो अभिभावकले ई-स्पोर्ट्सलाई राम्रोरूपमा स्वीकार गर्नेभएको थिएन। तर मैले उँहाहरूलाई खेलमार्फत विश्वास दिलाएँ। खेल राम्रो गर्दै जाँदा अहिले पछाडि फर्केर हेर्नुपरेको छैन। विस्तारै नामसँगै आम्दानी पनि हुन थाल्यो। महिनाको १० हजार रुपैयाँबाट सुरु गरेको खेल यात्रा अहिलेसम्म आइपुग्दा दुई लाख रुपैयाँसम्म पुगिसकेको छ। 

मैले पब्जी खेलेर जम्मा गरेको पैसाले नै आमा-बुबालाई घर उपहार दिएँ, जुन मेरो जीवनको ठूलो उपलब्धि हुन पुग्यो। निम्नमध्यम वर्गीय पारिवारिक पृष्ठभूमि जन्मेको हुनाले मलाई परिवारको लागि केही गर्नु थियो। त्यो दृढ अठोटका कारण पनि मेहनत गर्दै मैले कम उमेरमा नै परिवारको लागि केही गर्न सकेँ भनेर खुसी लाग्छ।

मैले एउटै सिजनमा पब्जी मोबाइलको पीएमसीओ पीएमपीएल जित्न सफल भएँ। त्यस्तै डीआरएस टिमबाट पब्जी ग्लोबल च्याम्पियनसिप अर्थात पब्जीको विश्वकपमा दोस्रो भएँ।

ajaya shrestha.jpg
अजय श्रेष्ठ

रमाइलोको लागि खेलेको पब्जीबाट फेरिँदै छ जीवन : अजय श्रेष्ठ, खेलाडी

म अहिले १९ वर्षको भएँ, नेपालमा बसेर पब्जीबाट केही गर्न पाउँदा खुसी नै छु। रमाइलोको लागि सुरु गरेको पब्जीमा आज राम्रो आम्दानी गर्न सकिरहेको छु।

सुरुमा घरबाट खासै सपोर्ट थिएन तर पछि मैले प्रगति गर्दै जाँदा घरबाट सहयोग पाएँ। अहिले त देश विदेशमा हुने प्रतियोगिताका लागि मभन्दा धेरै उत्साह घरमा अरूमा पाइरहेको हुन्छु। म यो खेलमा शीर्ष खेलाडि बन्न चाहन्छु। त्यसको लागि सक्दो मेहनत पनि गर्दै छु।

mausam gurung.jpg
मौसम गुरुङ

पुर्ख्यौली व्यवसाय सम्हाल्नभन्दा पब्जी नै प्यारो : मौसम गुरुङ, खेलाडी

मैले पब्जी खेलमा रमाइलो लागि नै खेलेँ। अरुभन्दा अलि राम्रो खेल्ने भएको हुनाले विस्तारै पब्जी कम्युनिटिमा पसेँ। अहिले नेपालमा ठूलै पब्जी टिममा आबद्ध भएँ।

घरबाट विशेषगरी बुबाले मैले पब्जी खेलेको मन पराउनु हुन्न। बुबालाई मैले उहाँको व्यावसाय समालिदियोस् भन्ने चाहना थियो। उहाँले बरु पब्जीमा भन्दा धेरै पैसा मै दिन्छु घरमा नै बस भनेर सुझाव दिनुहुन्छ। तर म पब्जीमा नै रमारहेको छु। अब जति खेल्न सकिन्छ यसलाई निरन्तरता दिन्छु। जुन दिन सक्दिनँ त्यसपछि विकल्पहरू हेरौँला। 

dipesh gurung.jpg
दिपेश गुरुङ

यसमा राम्रो भविष्यको आशा छ : दिपेश गुरुङ, खेलाडी

सुरुमा रमाइलोको लागि खेलेको पब्जी खेल आज व्यावसायिक रूपमा अघि बढिरहेको छ। व्यावसायिकरुपमा यसलाई अघि बढाएको नै तीन वर्ष भइसक्यो। अब यसमा राम्रो प्रयास गर्दै निरन्तरता दिन्छु। भएन भने पनि अरू कामहरू गर्ने विकल्प त छँदै छ।

यसमा राम्रो गर्न सकिन्छ जस्तो लाग्छ। राम्रो खेल्न सक्यो भने ठीकै हुन्छ। मलाई परिवारबाट पनि सहयोग छ। यस क्षेत्रमा राम्रो भविष्यको आशा राख्दै छु, हेरौँ।

bipul bhattarai.jpg
बिपुल भट्टराई

ई-स्पोर्ट्स आज व्यावसायिक खेल : बिपुल भट्टराई, कन्टेन्ट क्रिएटर- टिम टीटूके

काठमाडौंको साइबर क्याफेमा सीमित  ई-स्पोर्ट्स आज व्यावसायिक हुन्छ भन्ने कसैले पनि कल्पना गरेको थिएन। तर पब्जी मोबाइलको उदयसँगै सबै कुरा बदलियो। नेपालभर गेमिङ अचानक बढ्यो। कोभिड लकडाउनको समयमा भारतले पब्जीमा प्रतिबन्ध लगाएपछि, नेपाली टोलीको लागि सुनौलो अवसर साबित भयो।

आज नेपालमा ई-स्पोर्ट्स फस्टाइरहेको छ। टोलीहरू व्यावसायिक बन्दैछन्। खेलाडीहरूले वास्तविक तलब कमाइरहेका छन्। प्रतियोगिताहरूमा हजारौँ मानिसहरूको सहभागिता देखिन्छ। भर्खरै सुरु भएर बढिरहेको यो क्षेत्रको हिस्सा बन्न पाउँदा खुसी लागेको छ।

suraj dangol.jpg
सुरज डंगोल

ई-स्पोर्ट्स भविष्य हो : सुरज डंगोल, अध्यक्ष- नेपाल ई-स्पोर्ट्स संघ

म दक्षिण कोरियामा हुँदा गेमिङ कल्चर देखेँ र मलाई पनि ई-स्पोर्ट्समा नेपालमा आएर केही गर्न मन थियो। नेपाल ओलम्पिक कमिटिको सहयोगमा सन् २०१६ मा हामीले नेपाल ई-स्पोर्ट्स संघको स्थापना गर्‍यौँ। सन् २०२७ मा पहिलो ओलम्पिक ई-स्पोर्ट्स गेम्स हुँदैछ। यसको लागि हामीले ई-स्पोर्ट्सको इकोसिस्टम बनाउन लागिपरिरहेका छौँ।

अब आउने दिनहरू निश्चय नै नेपाली ई-स्पोर्ट्सका लागि थप उत्साहजनक हुनेछ। विश्वव्यापीरूपमा ई-स्पोर्ट्स हेर्ने दर्शकहरूको संख्यामा भएको अभूतपूर्व वृद्धिले नेपाललाई पनि यो अवसरको सदुपयोग गर्न प्रेरित गरेको छ।

प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:०२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend