एक इथिकल ह्याकरसँग : उटपट्याङ काम होइन ‘ह्याकिङ’

एक इथिकल ह्याकरसँग : उटपट्याङ काम होइन ‘ह्याकिङ’

साइबर सुरक्षाको विषयमा नेपाल प्रतिक्रियात्मक व्यवहारमा निर्भर हुनेभन्दा यसबाट अघि बढेर सक्रिय ढंगले पूर्वतयारीसहित लाग्नुपर्छ।

काठमाडौं- इन्टरनेटभन्दा बाहिर रहेर दैनिकी कल्पना गर्नै मुस्किल हुने डिजिटल युगमा साइबर सुरक्षा चुनौतीपूर्ण विषय बनिरहेको छ। बैंकका एटीएमदेखि सरकारी वेबसाइटसम्म ह्याकरको निशानामा परिरहेका छन्। सामान्य फिसिङमार्फत ठगीका अन्य घटना त कतिकति!

सामाजिक सञ्जाल, अनलाइन सेवा, डिजिटल बैंकिङजस्ता विषयले जीवनशैलीमा सहजता त ल्याएको छ तर यससँगै साइबर अपराधको जोखिम पनि उत्तिकै गतिमा बढिरहेको छ। प्रविधिले दैनन्दिनी सहज बनाएभन्दा ज्यादा यसको अर्को पाटोले गम्भीर चिन्ताका विषय अगाडि सारिदिएको छ। हुन पनि पछिल्ला वर्षमा नेपालमा साइबर अपराधका घटनाहरूको चित्र डरलाग्दो छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधका ९ हजार १३ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये १ हजार ८ सय ३५ उजुरी विभिन्न अनलाइन ठगीसम्बन्धी थिए। आर्थिक वर्ष २०८०/८१ मा उजुरी संख्या १९ हजार ७ सय ३० पुग्यो। त्यसमा अनलाइन ठगीसम्बन्धी उजुरी ४ हजार १ सय १२ थिए।

अनलाइन ठगीमा साइबर ब्यूरोको तथ्यांकअनुसार ठगी भएको रकम हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा ३५ करोड ८८ लाख २० हजार रुपैयाँ ठगी भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपैयाँ ठगी भएको थियो। चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांक हेर्दा विभिन्न अनलाइन ठगीको रकम ६ करोड ५५ लाख २५ हजार रुपैयाँ रहेको देखिन्छ।

अनलाइन ठगीमा प्रायजसो सामाजिक सञ्जालमार्फत गरिने ठगी, अनलाइन बैंकिङमा हुने ठगी, अनलाइन सपिङ, ईसेवा, फोन-पेजस्ता पेमेन्ट सिस्टमको प्रयोगमार्फत हुने ठगी, अनलाइन चिठ्ठा, विभिन्न स्क्याम र फिसिङका घटनाहरू देखिएका छन्।

पछिल्लो समय बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाएर अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउनुपर्ने साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन्। 'सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिंक खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिंक पठाउने गरेको पाइएको छ' अवस्थीले भने। 

विभिन्न वेबसाइट र सिस्टम ह्याकिङसम्बन्धी प्रहरीकोमा पुगेको उजुरीहरू हेर्ने हो भने २०७६/७७ मा जम्मा तीन उजुरी थियो। यस्तै २०७७/७८ मा २८, २०७८/७९ मा १२ र २०७९/८० मा ४५ घटनाको उजुरी भएको थियो। २०८०/८१ मा वेबसाइट र सिस्टम ह्याकिङबारे १३ घटनाको उजुरी भएको थियो भने २०८१/८२ को फागुनसम्म यस्ता ६ घटनाको उजुरी भएको देखिन्छ। प्रहरीसम्म नपुगेका यस्ता ठगीहरू अझ धेरै छन्।

प्रविधिबारे जानकारी नपाएर पनि कतिपय वित्तीय अपराधहरू हुने गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित बताउँछन्। 'कसैको घरभित्रै आफन्तहरूले यसको दुरुपयोग गरी पैसा वालेटबाट ट्रान्सफर गरिदिएको घटनाहरू बाहिर आउने गरेको छ। कतिपयलाई लोभले पनि काम गरेको छ। चिठ्ठा परेको भन्दै कसैले अनलाइनबाट म्यासेज पठाएको भरमा पत्याउने र आफ्नो ओटीपीसम्म दिएकाले रकम चोरी हुने घटनाहरू भइरहेका छन्। कतिपय यस्ता घटना घट्नुको पछाडि अज्ञानता वा लोभले काम गरेको देखिन्छ' उनले भने।

यस्ता गतिविधि नियन्त्रण गर्नका लागि उपलब्ध प्रविधि प्रयोग गर्न इजाजतप्राप्त संस्थाहरूलाई राष्ट्र बैंकले भनिरहेको उनी बताउँछन्। 'आर्टिफिसियल इन्टेलिजेन्स वा मेसिन लर्निङका माध्यमबाट ग्राहकको व्यवहार अध्ययन गरी गलत मनसाययुक्त गतिविधि पत्ता लगाएर नियन्त्रण गर्न सकिन्छ। तर यस्तो प्रविधि निकै महँगो छ' उनले भने।

ह्याकिङ सुरक्षाको प्रत्याभूति!

कुनै कम्प्युटर प्रणाली, नेटवर्क वा डिजिटल उपकरणमा असामान्य तरिकाले पहुँच पुर्‍याउने क्रियाकलाप नै 'ह्याकिङ' हो। ह्याकिङ खतरनाक औजार हो, जसमा व्यक्तिको नियतले ठूलो उथलपुथल ल्याइदिन सक्छ। निश्चित सीमाबाट बाहिर गइ कुनै प्रणालीभित्र पसेर त्यसमा परिवर्तन गरिनु दुरूह काम हो।

ह्याकिङ सधैँ गलत नै हुन्छ भन्ने चाहिँ होइन। नैतिकता, जिम्मेवारी र कानूनी दायराभित्र रहेर गरिने ह्याकिङले भने प्रविधिको दुनियाँमा सुरक्षाको प्रत्याभूति नै दिन्छ। यसैका लागि आएको हो ‘इथिकल ह्याकर’। इथिकल ह्याकरहरू सुरक्षा प्रणालीलाई अझ बलियो बनाउन सहयोग गर्छन्।

यसैगरी काम गरिरहेका इथिकल ह्याकर हुन्, भरत बस्याल। जो गएको १० वर्षदेखि सेक्युरिटी रिसर्चरका रुपमा काम गरिरहेका छन्। स्वतन्त्ररुपमा नै देश विदेशमा विभिन्न काम गरेका भरत गएको दुई वर्षयता डोल्पो सेक्युरिटी ल्याबका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत पनि हुन्।

सफ्टवेयर प्रणालीहरूमा रहेका सम्भावित कमजोरीहरू पहिचान र विश्लेषण गर्ने क्षेत्रमा उनको विशेष अनुभव छ। बग बाउण्टी कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने भरत 'जिम्मेवार ह्याकर' हुन्।

‘नेपालमा बसेर डलर कमाउने भन्ने अहिलेको भाष्यसँग मेरो काम मेल खान्छ। नेपालमा काम गर्दा सुरुवातको दिनमा कठिनाइहरू धेरै थियो, पछिल्लो समय सहज हुँदै गएको छ’ उनले भने।

भरतले काम सुरु गर्दाका वर्ष र अहिलेको समयमा नेपालमा डिजिटल सुरक्षासम्बन्धी अवस्था निकै फेरिएको छ। तर देशले स्पष्ट सोच बनाउन नसक्दा सोचेजति काम हुन नसकेको उनलाई लाग्छ। साइबर सुरक्षामा राष्ट्रिय सोच के हो भन्ने नै स्पष्ट छैन। त्यो सोच स्पष्ट भयो भने मात्र त्यसपछाडि गरिने काम स्पष्ट हुँदै जान्‍छन्। साइबर सुरक्षामा नेपालको अवस्था ‘प्ले ग्राउन्ड’जस्तो रहेको भरत सुनाउँछन्।

कानूनी सीमाभित्र रहेर काम गर्ने भएकाले भरतले नेपालको वेबसाइटहरूमा अनाधिकृत पहुँच राखेर कमजोरी खोज्ने काम गरेका त छैनन् तर वेबसाइट खोलेर हेर्दा नै त्यहाँको कमजोर पाटोहरू उनको आँखाअघि आइहाल्छ। नेपालमा पुरानै प्रणालीमा नै काम भइरहेकाले पनि जोखिम बढेको उनको भनाइ छ।  

‘नेपालको वेबसाइटहरू त त्यति धेरै ट्राइ गरेको छैन। लिगल फ्रेमवर्कभित्र बसेर नै काम गरिरहेको छु। लिस्टिङ गरेर साइटहरूमा रिपोर्ट गर्ने, तपाइँहरूको यो यो कमजोरी छ भनेर भनिदिने काम चाहिँ गर्छु’ उनी भन्छन्, ‘समस्या जहाँ देखिएको हो त्यहाँ नै भनिदिनु पर्छ, अनावश्यक रुपमा प्रचारप्रसार गर्न हुँदैन भन्ने लाग्छ। भेटिएका त्यस्ता समस्याहरुको बारेमा विभिन्न फोरमहरूमा नाम नलिइकन छलफलहरू चाहिँ गरेको छु।'

bharat basyal.jpg

डर होइन, जिम्मेवारी

साइबर सुरक्षाको कुरा सामूहिक छलफलको विषय त बनाउनुपर्छ तर त्यसभित्र कायम गर्नुपर्ने गोप्यता कायम हुनुपर्छ भन्ने भरत ठान्छन्। ‘साइबर सेक्युरिटीको कुराले धेरै डर पैदा गरेको हुन्छ, त्यसैले निकै चनाखो हुनुपर्छ। मैले धेरै काम विदेशमा गरेको भएर पनि त्यता हुने अभ्यासहरूबारे ज्ञान छ। यसैले स्टन्ट र पब्लिसाइज गर्ने कुरामा पछाडि नै छु’ उनले भने।  

साइबर सुरक्षामा ध्यान दिँदै जोखिमको अवस्थाअनुसार काम गर्नुपर्ने भरत सुनाउँछन्। ‘क्रिटिकल र ननक्रिटिकल भनेर संस्थाहरूलाई छुट्याउनु पर्छ। इकोनोमीको ब्याकबोनमा रहेका संस्थाहरूलाई क्रिटिकल मानेर त्यसमा विशेष चनाखो हुनुपर्छ। ऊर्जा क्षेत्रकै कुरा गर्दा हाम्रो ग्रिड एकदिनको लागि मात्र सटडाउन भयो भने त्यसले कस्तो प्रभाव पार्ला?’ उनले भने।

साइबर सुरक्षाको कुरामा ह्याकरले के गर्‍यो भन्ने भन्दा पनि त्यसपछि त्यसको प्रभाव के भयो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। ह्याकरले सामान्य रुपमा ‘एउटा स्टेपमात्र लिएको त हो’ भने पनि त्यसको प्रभाव निकै भयानक पनि हुन सक्ने भरत बताउँछन्।

साइबर सुरक्षाको विषयमा नीति निर्माता र सरकारको गहन सोच र व्यवहार देखिँदैन। डाटा, नेटवर्क र एप्लिकेसन तीनै कुरामा ध्यान दिएर साइबर सुरक्षामा भरपर्दा कामहरू गर्न ढिलो गर्नु हुँदैन। खर्चिलो विषय भएकाले बजेटको सीमितताले पनि आवश्यक कामहरू हुन सकेका छैनन्।

‘डाटा सुरक्षा निकै महत्वपूर्ण र चुनौतीपूर्ण कुरा हो। त्यसमा लागि हामीसँग स्पष्ट नीति नियम पनि छैन। डार्क वेबहरुमा नेपालको डेटा सेलमा छ भन्ने कुराहरू आइरहेको हुन्छ। डेटाको भण्डारण र सुरक्षा कुन प्रविधिमा कसरी गर्ने भन्नेमा स्पष्ट कामहरू हुन जरुरी छ। विश्व पोस्ट क्वान्टममा गइसक्यो हामी अहिले पनि भएका प्रविधिमा नै स्पष्ट छैनौँ’ भरतले भने।

प्रविधि कमजोर छ भनेर अत्तालिनेभन्दा पनि भएका कुरालाई राम्रो व्यवस्थापन गर्नुपर्ने भरत बताउँछन्। ‘डाटा लिक हुने कुरा टेरोराइज गर्नु हुँदैन, लिक हुन्छ तर त्यसपछि के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। धेरै हल्ला नगरी एउटा मेकानिजम बनाएर त्यसमा काम गर्नुपर्छ’, उनी भन्छन्, ‘प्राइभेट सेक्टरले कस्टुमर गुम्ला भन्ने डरले पनि साइबर सुरक्षाका लागि लगानीहरू गरिरहेका हुन्छन्। सरकारी साइटहरूमा आउटडेटेड सिस्टम भएकाले पनि ह्याकिङ भएको धेरै सूचनाहरु बाहिर आइरहेका हुन्छन्।'

सरकारी क्षेत्रमा साइबर सुरक्षामा किन कमजोर काम भइरहेको हो त? यसमा भरत भन्छन्, ‘अलि दक्ष जनशक्तिको अभाव भएको पनि हुन  सक्छ। म यहाँ घण्टाको हिसाबले डलरमा काम गरिरहेको छु भने यही काम सरकारी संस्‍थामा मासिक निश्चित सानो तलबमा रहेर गर्न त मुस्किल नै हुन्छ नि।'

साइबर सुरक्षाको कुरामा डर पैदा गर्ने भन्दा पनि सुरक्षित महसुस गराउने र त्यसबारे जानकार बनाउने पाटो महत्वपूर्ण हुने भरत ठान्छन्। नेपालमा फिसिङ र सोसियल इन्जिनियरिङबाट मात्रै ठगीमा पर्नेहरू पनि बढिरहँदा व्यापकरुपमा प्रभावकारी शैलीमा सचेतना दिन नसकिएको उनी बताउँछन्। ह्याकरहरूको निशानामा पहिले डाटाका लागि सरकारी वेबसाइटहरू मात्र थियो भने पछिल्लो समय सामान्य मानिसहरूलाई ठग्नसमेत त्यसको प्रयोग हुन थालेको छ।

‘करोडौँ रुपैयाँ त्यसरी ठगिएको छ। फिसिङमा परेर त्यसरी पैसा डुबाउनेहरूले त्यसपछि के गर्ने भन्ने नै ठम्याउन सक्दैनन्। सामान्य एकदुई हजार रुपैयाँ ठगिनेहरूले त रिपोर्ट पनि गरिरहेका हुँदैनन्। जसको संख्या ठूलो छ।

यस्ता जोखिमबारे पहिले नै अध्ययन गरेर योखालको ठगी भइरहेको छ या हुनसक्छ भन्ने कुरामा मानिसहरुमा सचेतना फैलाउन जरुरी छ’, भरत भन्छन्, ‘त्यसमा सूचना निकालेर केही भनिदिने र छाडिदिनेभन्दा पनि ह्याकरले कसरी मानिसहरूलाई ठगीको निशाना बनाउँछन् भन्ने विषय राम्ररी बुझाउनुपर्छ भन्ने लाग्छ।'

शक्तिशाली सीपको सदुपयोग कि दुरुपयोग

ह्याकिङ यस्तो एउटा शक्तिशाली सीप हो जसमा सही र गलतको सीमा निकै मसिनो रेखाले छुट्टिन्छ। ह्याकरहरू प्रशासन र पीडितभन्दा पनि निकै अघि हुन्छन्। तिनीहरूको चलाखी सामान्य मानिसको त कल्पनाभन्दा बाहिरको कुरा हो। सोचलाई मूर्त रुप दिने क्रियात्मक शक्ति यसरी प्रयोग भएको हुन्छ कि ह्याकिङ देखिने दुनियाँमा पर्दैन।

‘मानिसहरूलाई ह्याकरले कसरी-कसरी काम गर्न सक्छन् भन्नेमा सन्देश दिन व्यापक कामहरू गर्न सकिन्छ। अब आउने जोखिमहरू यी-यी हुन् भन्ने स्पष्ट रुपमा अध्ययनका लागि विज्ञहरूको सहयोग लिन सकिन्छ’ भरतले भने।

उनी अघि भन्छन्, ‘साइबर अट्याक भयो, त्यसपछि त्यसले के-के भयो भन्ने कुरा सेयर गर्न नै हिचकिचाउने प्रवृत्ति नेपालमा छ। त्यो कुराहरू त रेकर्ड हुनुपर्छ। कतिपय संस्थाहरूले नै पनि आफ्नोमा ह्याकिङ भएपछि त्यसबारे डाटाहरु दिन हिचकिचाउने गरिरहेका हुन्छन्। ह्याकिङमा प्रपोस र मोटिभेसन हुन्छ। ह्याकरले किन त्यो काम गरिरहेको छ भन्ने कुरा त बुझ्नुपर्‍यो नि!'

‘ह्वाइट ह्याट ह्याकर’ले कमजोरीहरु पत्ता लगाएर जसको कमजोरी देखिएको हो उसलाई मात्र यस्तो-यस्तो कमजोरी छ भनेर त्यसलाई सुधार गर्नका लागि भनिदिन्छन्। यसैले पनि यस्ता इथिकल ह्याकरहरूलाई सहयोग हुनुपर्छ।

घटना भइसकेपछि आत्तिने र लुकाउने गर्नुभन्दा आगामी दिनमा त्यसो हुन नदिन सचेत हुनुपर्छ। ‘ब्ल्याक ह्याट ह्याकर’को उद्देश्य र मनसाय बुझ्न सक्नुपर्छ। केही न केही कुराले ह्याकिङतर्फ उनीहरू आकर्षित भइरहेका हुन्छन्। उनीहरु स्पष्ट योजनामा स्पष्ट उद्देश्यका लागि सोचविचार गरेर नै काम गरिरहेका हुन्छन्। उनीहरूको काम कुशलतापूर्वक सुनियोजित गरिएको हुन्छ।

यसैले केही डाटा लिक भइरहेको छ भने पहिले त सकेसम्म डाटा लिक नहुने उपाय नै अपनाउनुपर्ने भरत बताउँछन्। ‘प्रिभेन्टिभ उपायहरु अपनाउनुपर्छ। ह्याकिङ भइसकेपछि के गर्ने र ह्याकिङ हुन नदिन के गर्ने भन्ने कुरा ध्यान दिनुपर्छ। केही असामान्य व्यवहार पाइयो भने त्यसमा ध्यान दिइहाल्नुपर्छ। शंकास्पद अवस्था केही देखिन्छ भने विचार गर्नुपर्छ’ उनले भने।

आफू ह्याकिङको शिकार भएको थाहा भएपछि अत्तालिनेभन्दा पनि सुरक्षित गर्नतिर लाग्नुपर्ने सुझाव दिन्छन् भरत। ‘प्यानिक हुनु भएन। एकाउन्टहरू सुरक्षित गर्नतिर लाग्नुपर्छ। डिभाइस आइसोलेट गर्नुपर्छ। त्यसपछि विज्ञको सुझाव र सहयोग लिन सकिन्छ’ उनले भने।

भरत आफै विज्ञ हुँदाहुँदै पनि उनी नै झुक्यानमा परेका घटना पनि छन्। उनी एकपटक फिसिङमा परेका छन्।

पुरानो घटना सम्‍झिँदै उनी भन्छन्, ‘गुगलबाट इमेल आयो भनेर लिंक क्लिक गरेर खोल्दा त्यो गुगलको इमेल होइन भन्ने पछिमात्र थाहा पाएँ। म त कम्प्रमाइज भइसकेछु भन्ने बल्ल बुझेँ। जति नै विज्ञ भए पनि जोसुकै जुनसुकै बेला भिक्टिम हुन सकिन्छ। त्यसमा चनाखो हुनुपर्‍यो।'

bharat.jpg

क्षमता भए नेपालमै छ

भरतलाई अनइथिकल ह्याकिङका लागि पनि अफरहरू व्यापक नै आइरहेको हुन्छ। ‘साइबर सेक्युरिटीमा काम गरिरहेको भएर कसले कसरी कस्तो अफर गर्‍यो भन्ने कुरा भन्न त मिल्दैन तर अफरहरू आइरहेको हुन्छ। व्यक्तिगत सामाजिक सञ्जालको खाताबारेदेखि लिएर ठूला अफरहरू आएका छन्’ उनले सुनाए।

त्यसमा आफूले आफ्नो सीमा बिर्सन हुँदैन भन्ने भरतलाई लाग्छ। यसैले त्यसको प्रभाव कतिसम्म हुन्छ भन्ने कुरा विचार गरेर झनै कानूनी क्षेत्रभित्र रहेर जोगिएर काम गरिरहेका छन्। अदालतमा चलिरहेको मुद्दाकै विषयदेखि लिएर कतिपय कर्पोरेट विषयहरूमा समेत मानिसहरूले करोडौँ अफर गरिरहँदा त्यस्तो नचाहिँदो लोभमा उनी परेका छैनन्।

विज्ञताका आधारमा सहयोग र सुझावका लागि भरतसँग विभिन्न सरकारी निकायहरूले सहयोग पनि मागिरहेका हुन्छन्। त्यस्तो अवस्थामा उनी बिनाहिचकिचाहट सहयोग गर्छन्। ‘त्यस्तो केही पर्दा आगामी दिनमा पनि सहयोगहरू गरिन्छ नै। सरकारी निकाय कानूनभित्रै रहेर काम गर्नुपर्ने हुँदा अनइथिकल अफरहरू चाहिँ त्यहाँबाट आउँदैनन्’ उनले भने।

नेपालमा इथिकल ह्याकरको लागि अवसर नै अवसर देख्छन् भरत। ‘यो स्किल क्रसबोर्डर हो। चुनौतीहरू बढ्दै जाँदा दक्ष मानिसहरूको अभाव नै छ। करिअरको हिसाबले राम्रो छ’ उनले भने, ‘अब यहाँको सर्भिसेस बाहिर बेच्न सकिन्छ र नेपालबाहिर कसरी लिएर जाने भन्ने कुरामा कनेक्टेभिटी बढाउन लाग्नुपर्छ। हामीले बाहिरको क्लाइन्टबाट आफ्नो पैसा लिँदा अप्ठ्याराहरू भोग्नुपरेको अनुभव छ। यस्ता कुराहरू सहजीकरण गरिदिँदै जानुपर्छ भन्ने लाग्छ।'

नेपालमा बसेर नेपालमा मात्रै गर्छु भनेर नसोच्न युवाहरूलाई सुझाव दिन्छन् भरत।  उनकै अनुभवले पनि नेपालमा बसेर जुनसुकै देशका लागि पनि काम गर्न सकिन्छ। त्यसैले वृहत रुपमा सोच्नुपर्छ। आफूलाई कुनै दायरामा सीमित गर्नु हुँदैन। आफ्नो दक्षता विश्वको जुनसुकै देशमा पनि प्रयोग गर्न सकिने उदाहरण भरतले दिइरहेका छन्। भारत, दक्षिण अफ्रिका, अमेरिका, अस्ट्रेलिया, बेलायतलगायत धेरैवटा देशका क्लाइन्टसँग काम गरेको अनुभव उनीसँग छ।

नेपालमा प्रविधिको क्षेत्रका विषयमा नेताहरूले बुझिनबुझी विभिन्न भाषणबाजी पनि गरिरहेका हुन्छन्। त्यसपछि समाजको तल्लो तहसम्म एक प्रकारको हल्लाखल्ला र तरंग सिर्जना हुन्छ।

‘नेताहरूले गरेका पछिल्ला भाषणहरूबारे म त्यति जानकार त छैन तर पैसा कमाउने कुरा चाहिँ सम्भव भएकै कुरा हो। मैले नै गरिरहेको छु र मेरा वरपर साथीभाइले पनि राम्रै कमाएर काम गरिरहेका छन्। सम्भावना त अथाह नै छ। आएका कतिपय काम गर्न भ्याइएन भनेर नै मैले अहिले टिम नै बनाएर काम गरिरहेको हो’ उनले सुनाए।

नेपालमा साइबर सुरक्षाको क्षेत्रमा जति अवसरहरू देखिएका छन् त्यहीअनुरुप सरकारले सहज वातावरण बनाइदिँदै जानुपर्ने भरत बताउँछन्। ‘नेपाल टेक सेक्टरमा धेरै नै भविष्य छ। इथिकल ह्याकिङको लागि पनि स्किल म्यानपावरहरू बढाउने कामहरु भइरहेका छन्। यसमा अझ कसरी राम्रो गर्न सकिन्छ भनेर सोच्नुपर्छ’ उनले भने।

विभिन्न अध्ययन, अनुसन्धान र विकासमा ध्यान दिएर साइबर सुरक्षाका वृहत आयामहरूलाई विचार गर्दै भरत अघि बढिरहेका छन्। देशलाई उनीजस्तै इथिकल ह्याकरहरू चाहिएको छ जो डर सिर्जना गर्ने होइन सुरक्षा दिने काम गरुन्।

साइबर सुरक्षाको विषयमा नेपाल पनि प्रतिक्रियात्मक व्यवहारमा निर्भर हुनेभन्दा यसबाट अघि बढेर सक्रिय ढंगले पूर्वतयारीसहित लाग्नुपर्छ।

प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:०२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend