मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

विद्युत प्राधिकरण प्राङ्‍गणमा २० टाटा नेक्सन इभीको लस्कर

आइतबार, चैत २७ २०७८
विद्युत प्राधिकरण प्राङ्‍गणमा २० टाटा नेक्सन इभीको लस्कर

प्राधिकरणले केही समयअघि २० वटा विद्युतीय कार खरिदका लागि टेन्डर आह्वान गरेको थियो। विभिन्न कम्पनीले उक्त टेन्डरमा भाग लिएर सबैभन्दा उपयुक्त टाटा नेक्नस इभी ठहरियो। 

काठमाडौं- सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। यसको मुख्य कारण वातावरणमैत्री सवारीलाई प्रवर्द्धन गर्नु र स्वदेशमै उत्पादन हुने विद्युतको खपत थोरै भए पनि बढाउनु। त्यसैले सरकारले विद्युतीय सवारीमा लाग्ने करमा सहुलियत दिँदै आएको छ।

यसैको परिणामस्वरुप विद्युतीय सवारीको प्रयोग तथा आयात बढ्न थालेको छ। निजी प्रयोजनमा त विद्युतीय सवारीको प्रयोग बढी नै रहेको छ। तर अब भने सरकारी निकायहरूले समेत विद्युतीय सवारीको प्रयोग बढाउन थालेका छन्। 

यसको पछिल्लो उदाहरण हो- विद्युत प्राधिकरणले खरिद गरेका २० टाटा नेक्सन इभी।

प्राधिकरणले केही समयअघि २० वटा विद्युतीय कार खरिदका लागि टेन्डर आह्वान गरेको थियो। विभिन्न कम्पनीले उक्त टेन्डरमा भाग लिएर सबैभन्दा उपयुक्त टाटा नेक्नस इभी ठहरियो। 

विद्युतीय कार आपूर्तिको टेन्डर जितेसँगै टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अघिल्लो साता २० वटा नेक्सन इभी कार विद्युत प्राधिकरणलाई उपलब्ध गराएको हो। विद्युत प्राधिकरणले विद्युतीय कार किनेको र केही दिनअघि उपलब्ध गराएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। 

यसअघि पनि विद्युत प्राधिकरणले हुन्डाईको कोना इभी तथा बीवाईडीका केही कार खरिद गरेको थियो। विद्युत उत्पादन तथा व्यापारमै संलग्न प्राधिकरणले ठूलो संख्यामा कार किन्नुले सरकारी कार्यालयहरू पनि विद्युतीय कारको स्वीर्कातामा गएको देखिन्छ। 

केही समयअघि सडक विभागले खरिद गरेको विद्युतीय कार चलाउन विभागमातहतका चालकले नमानेको बिजनेस न्युजले लेखेको थियो। विद्युतीय कारमा इन्धनबाट चल्ने कारमा जस्तो कमिसन नपाउने भएपछि चालक नभेटिएको विभागले नै स्वीकार गरेको थियो। तर अब भने अवस्था बदलिँदै जाने विद्युतीय कारको खरिद बढेकोबाटै थाहा हुन्छ। 

टाटा नेक्सन इभीको विशेषता 

टाटा नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ जसमा ९५ किलोवाट क्षमताको विद्युतीय मोटर छ। एक पटकको फुल चार्जमा ३ सय १२ किलोमिटर यात्रा गर्न सकिने दाबी कम्पनीको छ। नेक्सन इभीमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। सो इभी सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेन्ज दिन्छ। फास्ट चार्जरबाट नेक्सन इभी ८० प्रतिशत चार्ज गर्न ६० मिनेटमात्र लाग्छ। कम्पनिका अनुसार नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिने छ। एसी चार्जरबाट फुल चार्ज हुन ६/७ घण्टा लाग्नेछ। 

टाटा नेक्सन इभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डललगायत विशेषता उपलब्ध छ। 

त्यस्तै नेक्सन इभीमा लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टमलगायत विशेषाता रहेका छन्।

टाटाको नेक्सन इभी केही महिनाअघि सार्वजनिक भएको हो। क्रसओभर एसयूभी सेगमेन्टको यो कार नेपाली बजारमा निक्क रुचाइएको कार हो। टाटा नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। 

टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६०हजार किलोमिटर (जुन पहिले आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको (जुन पहिले आउँछ) वारेन्टी रहेको छ ।


प्रकाशित : आइतबार, चैत २७ २०७८०६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend