काठमाडौं- भौतिक पूर्वाधार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री कुलमान घिसिङले इन्धन सवारीलाई विद्युतीयमा कन्भर्जन गर्ने निर्णय गरे। त्यसका लागि उनले समिति बनाएर एक साताभित्र प्रतिवेदन तयार पारी आफूलाई दिन मन्त्रालयका सचिव केशवकुमार शर्मालाई सोमबार निर्देशनसमेत दिए।
निर्वाचनको मेन्डेट पाएर आएको अन्तरिम सरकारको ऊर्जासँगै भौतिक र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका घिसिङले सार्वजनिक खपत बढाउने खालका निर्णय गरिरहेका छन्। भौतिक मन्त्रालयको पदभार ग्रहण गर्दै उनले पेट्रोलियम पदार्थबाट चल्ने पुराना सवारीलाई विद्युतीय बनाउने जुन घोषणा गरे, त्यो निकै अव्यवहारिक र नेपालको सन्दर्भमा असम्भव छ।
नेपालमा पहिलोपटक दिगो ग्रुपले इन्धन सवारीलाई विद्युतीयमा कन्भर्जन गरेको थियो। त्यसपछि साझा यातायातलगायत अन्य विभिन्न समूह तथा व्यक्तिले इन्धन सवारीलाई ईभीमा कन्भर्जन गरेको थिए। तर यी सबै परियोजना असफल भए। असफल हुनुको मुख्य कारण कन्भर्जन भएका सवारीको परीक्षण गर्ने मेकानिजम नहुनु हो।
कन्भर्जनमा लागेका व्यक्ति तथा समूहले कानूनी जटिलताका कारण इन्धन सवारीलाई ईभीमा कन्भर्जन गर्न कठीन भएको बताउँदै आएका थिए। उनीहरुको उक्त कुरा सम्बोधन गर्न सरकारले २०७८ चैत १४ गते राजपत्रमा सूचना प्रकाशित गरेर कन्भर्जन गर्ने कुरालाई स्वीकार गर्दै सहजीकरण गरेको थियो।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा संशोधन गरेर सहजीकरण गरेको थियो। यसकाबीच कन्भर्जनको काम अघि बढ्न नसकिरहेको अवस्थामा नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री घिसिङले कन्भर्जन गर्न सात दिनभित्र प्रतिवेदन बनाएर आफू कहाँ ल्याउन निर्देशन दिए।
‘इलेक्ट्रिसिटी हामीसँग छ। केही समस्या होलान्। प्राविधिक र म्यानेजरियल समस्या होलान्। त्यसलाई समाधान गर्नुपर्छ। पेट्रोल, डिजल र ग्यासको इम्पोर्ट घटाउँदै लानुपर्छ। जसले इम्पोर्टमा जाने पैसा रोकिन्छ र इलेक्ट्रिसिटीको खपत बढ्छ। त्यसले क्लाइमेट चेन्जमा ठूलो इम्प्याक्ट ल्याउँछ,’ उनले भनेका छन्, ‘ट्रान्सपोर्टसन र कुकिङमा इलेक्ट्रिसिटी प्रयोग गर्नासाथ धेरै कुरा समाधान हुन्छ। त्यसका लागि पूर्वाधार बनाउनुपर्छ। हामीसँग भएका पुराना सवारीसाधनलाई पनि इलेक्ट्रिकलमा कन्भर्सन गर्नुपर्यो। सार्वजनिक सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्यो। त्यसका लागि कहाँ के मिलाउनुपर्छ मलाई भन्नुहोस्। सात दिनभित्र प्रतिवेदन आओस्। त्यसपछि कार्यान्वयनमा जानुपर्छ। प्रतिवेदनका लागि प्रतिवेदन तयार पार्ने होइन। काम गर्न सकिन्छ।’
नेपालमा सवारीसाधन परीक्षण गर्ने कुनैपनि मेकानिजम छैन। आयात हुने सवारीसाधन आयातकर्ताद्वारा पेस गरिएका काजगपत्र हेरेर जाँचपास हुँदै आएको छ।
पछिल्लो समय विद्युतीय सवारी आयातमा मोटरको पिक पावर कम गरेर आयात गरेको आरोप सरकारले नै लगाएको छ। सवारी आयातकर्ता व्यवसायीले कर कम तिर्न विद्युतीय कारको मोटरपावर घटाएर ल्याएको जिकिर गर्दै महालेखा परीक्षक कार्यालयले माथिल्लो मोटर पावरमा आउने पर्ने र त्यसमा छुट हुन गएको कर भन्दै बेरुजु ठहर गरिदियो।
सरकारसँग आयात भएको विद्युतीय कारमा रहेको मोटर पावर कति हो भनेर यकिन गर्ने कुनै मेसिन वा उपकरण छैन। जसका कारण अहिले भन्सार विभाग र त्यस मातकहका कार्यालयहरु मोटर पावर कम गरेको यकिन गर्न नसकेर के गर्ने भन्ने अन्यौलमा परेका छन्।
यो यथार्थबीच इन्धन सवारीलाई विद्युतीयमा कन्भर्जन गर्दा सवारीको सम्पूर्ण कुरा परिवर्तन हुन्छ। इन्जिन काटेर ब्याट्री राख्दा त्यसका लागि धेरै ठाउँ चाहिने हुँदा त्यो गाडीको ‘सेन्टर अफ ग्राभिटी’ नै असन्तुलित हुन्छ। यसरी कन्भर्जन भएका सवारीको नयाँ गाडीकै जसरी आरएन्डडी र परीक्षण गरेरमात्र गुडाउने अनुमति पाउनु पर्नेहुन्छ। बिना परीक्षण यस्ता सवारीले दर्ता अनुमतिसमेत पाउँदैनन्।
कन्भर्जनको प्राविधिक र व्यवहारिक जटिलता
कन्भर्जनमा आईसी इन्जिनको पावरट्रेन पूर्ण रुपमा परिमार्जन गरिन्छ। पेट्रोल इन्जिनयुक्त सवारीमा रहेको इन्जिन, गेयर बक्स (ट्रान्समिसन), इन्टेक, एक्झस्टलगायत सबै कुरा निकालेर विद्युतीय सवारीको सिस्टम राखिन्छ। विद्युतीय सवारीको सिस्टम भन्नले इन्जिनलगायत निकालिएको सवारीमा ईभी पावरट्रेन अन्तर्गत विद्युतीय मोटर, ब्याट्री प्याक, एचभी केवलसहित भन्य विभिन्न आवश्यक तत्वहरू जडान गरिन्छ।
यसरी एउटा प्रयोजनका लागि त्यसले बहन गर्ने क्षमता र शक्तिका आधारमा डिजाइन गरिएको सवारीको बडीलाई अर्कै प्रयोजनका लागि प्रयोग हुनु कुनैपनि हिसाबमा राम्रो मानिदैन। सवारी उत्पादकहरूले सवारीको डिजाइन गर्दा त्यसको प्रयोजन र त्यसमा प्रयोग हुने कम्पोनेन्टहरू कहाँ कहाँ, कसरी राख्ने भनेर निश्चित गरेका हुन्छन्। तर पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जन गर्दा त्यसको आर्किटेक्ट नै परिवर्तन गर्न सकिँदैन। भएको आर्किटेक्टलाई नयाँ पावरट्रेन राखेर ‘बाध्यात्मक एडजस्ट’ गर्नुपर्ने हुन्छ।
सवारीको संरचनागत परिमार्जन
पेट्रोलियम सवारीलाई ईभीमा कन्भर्जन गर्ने क्रममा आईसी इन्जिनयुक्त कारको सम्पूर्ण पावरट्रेन नै बदलिन्छ। बदलिएको सो स्ट्रक्चरमा विद्युतीय पावरट्रेन फिट गरिन्छ। यो परिमार्जनले सवारीको विद्यमान संरचनामा पूर्णबदलाव ल्याउँछ। पवरट्रेनमा हुने यो फेरबदलले सवारीको सुरक्षा सूचकहरू ब्रेक, सस्पेन्सन, स्टेरिङ सिस्टमलगायतमा प्रत्यक्ष प्रभाव पार्छ।
सवारीको तौल सन्तुलन
आईसी इन्जिनयुक्त सवारीमा भएको इन्जिनलाई विद्युतीय मोटर र ब्याट्रीले विस्थापन गर्दा सवारीको तौल सन्तुलनमा अतिरिक्त समस्या आउँछ। पेट्रोल इन्जिन सवारीमा हुने इन्जिन र गेयर बक्सको तौलको तुलनामा मोटर र ब्याट्रीको तौल निकै कम हुन्छ। जसका कारण ईभीमा कन्भर्जन गरिएको सवारीको तौल सन्तुलनको इन्जिनियरिङमै गडबडी आउँछ।
अर्को महत्वपूर्ण कुरा विद्युतीय सवारीमा राखिने ब्याट्री प्याक थोरै ठाउँमा नभइ च्यासिसमा फराकिलो प्लेट बनाएर राखएिको हुन्छ। तर ईभीमा कन्भर्जन गरिने पुराना सवारीमा त्यसरी फराकिलो प्लेटमा ब्याट्री प्याक राख्न सकिँदैन। पहिलेको इन्जिन भएको ठाउँमा वा पछाडि डिक्कीमा ब्याट्री प्याकलाई अटाएर राख्नु पर्ने बाध्यता हुन्छ। यसरी जवरजस्त एकै ठाउँमा ब्याट्री प्याक राख्दा सवारीको सेन्टर अफ ग्राभिटीमा प्रत्यक्ष प्रभाव पर्छ। यसले सवारीलाई सन्तुलित मोडमा चलाउन निकै कठीन हुन्छ।
कन्भर्जन गरिएका सवारीको संरचनामा पहिलेको डिजाइनमा बनेको सस्पेन्सन, ब्रेक र स्टेरिङ सिस्टमले साविक रुपमा काम गर्न सक्दैन। कन्भर्जन पूर्वको सवारीमा जसरी लोड ब्यालेन्स मिलाइएको हुन्छ त्यसमा कन्भर्जन पश्चात झिकिएकै स्थानहरूमा समान रुपमा ब्याट्री प्याक तथा विद्युतीय मोटर राख्न सकिँदैन। यसको परिणाामका रुपमा सवारीको सन्तुलन मिलाउन कठीन हुने भएकाले सुरक्षित यात्रामा प्रश्न उठ्छ। कन्भर्जन गर्दा सवारीको सुरक्षा र मूल्यमा ठूलो सम्झौता गर्नुपर्ने हुन्छ।
भएको पुराना विद्युतीय सिस्टमसँग नयाँलाई मिलाउन कठीन
सवारीसाधनमा इस्ट्रुमेन्ट क्लस्टर, एबीएस, इमोबिलाइजरलगायत धेरै प्रकारका विद्युतीय सिस्टम जडान गरिएको हुन्छ। विद्युतीयमा कन्भर्जन गरिने आईसी इन्जिनयुक्त सवारीमा पुरानै विद्युतीय सिस्टमलाई नयाँ विद्युतीय मोटरबाट चलाउनु पर्ने हुन्छ। यो प्राविधिक रुपमा ज्यादै नै जटिल विषय हो। कन्भर्जन गरिएको पुरानो आईसी इन्जिनयक्त कारमा पुनः विद्युतीय वाइरिङ गर्ने हो भने त्यो पनि अझ जोखिमपूर्ण हुनसक्छ।
कन्भर्जनको लागत
पुरानो आईसी इन्जिनयुक्त सवारीलाई विद्युतीयमा कन्भर्जन गर्न धेरै विद्युतीय पार्टहरू थप गर्नुपर्ने हुन्छ। त्यसका लागि आई इन्जिनले काम गर्ने इन्जिन, गेयर बक्सलगायत निकाल्नु पर्छ। कारबाट निकालिएको पुरानो कम्पोनेन्ट काम लाग्दैनन्। विद्युतीय कम्पोनेन्टहरू आयात गर्नुपर्ने भएकाले यस्तो कम्पोनेन्टको मूल्य फ्याक्ट्री लागतभन्दा बढी पर्छ। यसरी हेर्दा पुराना कारलाई कन्भर्जन गरेर बनाइने विद्युतीय कार नयाँ विद्युतीय कारकै सरहमा मूल्य पर्न जान्छ। त्यसैले पुराना कारलाई महँगो लागतमा कन्भर्जन गरेर असुरक्षित सवारी बनाउनु सबै दृष्टिबाट उपयुक्त छैन।
नयाँ विद्युतीय गाडी आयात गर्दा सरकारले लाखौं रुपैयाँ राजस्व पाउँछ, तर कन्भर्जन किट आयातगर्दा राज्यलाई खासै राजस्व आउँदैन र कन्भर्जन गरिएको सवारीबाट त राजस्व आउने कुरै भएन। न उपभोक्तालाई न त राज्यलाई नै फाइन पुग्ने विषय भनेको पैसा र समय दुवैको बर्बादी हो। अनि किन मानिसले आफ्नो पुरानो गाडीलाई विद्युतीयमा कन्भर्जन गर्छ?
सर्भिस्याबिलिटी
कुनै पनि परम्परागत सवारी उत्पादक (ओईएम)ले ईभी कन्भर्जन किट उत्पादन तथा आपूर्ति गर्दैनन्। यस्ता किटहरू स्पेयर पार्टस उत्पादकले बनाएर आपूर्ति गर्छन्। यसरी किट बनाउनेहरूले मर्मत तथा सर्भिसका लागि आवश्यक पार्टपूर्जा नियमित रुपमा बनाएर पठाउँदैनन्। उनीहरूको ध्यान एक पटकको बिजनेसमा हुन्छ। यस्तो अवस्थाको मोडिफिकेसनमा अर्को पटकलाई समान प्रकारको कन्भर्जन किट पाउने सम्भावना लगभग हुँदैन।
अर्को महत्वपूर्ण पक्ष भनेको पार्टस निर्माताहरूले कन्भर्जन किट बनाउँदा रिसर्च एन्ड डेभलपमेन्ट(आरएन्डडी) मा खासै खर्च गर्दैनन्। त्यसैले उनीहरूले बनाउने किटको विश्वसनीयतामा प्रश्न उठ्छ। यो अवस्थामा कन्भर्जन गरिएको ईभीमा केही समयस्या आयो भने कसरी र कसले मर्मत गर्ने, सेवा दिनेमा ठूलो जटिलता आउँछ।
परीक्षण र प्रमाणीकरण
मुख्यगरि नेपाल देशसँग सवारी परीक्षण गर्ने आफ्नै कुनै संयन्त्र नै छैन। तर पनि यातायात व्यवस्था विभाग र त्यस अन्तर्गतका निकायहरूले सम्बन्धित देशका सवारी उत्पादन परीक्षण निकायले दिएको सर्टिफिकेटका आधारमा सवारी परीक्षण गर्दै आएका छन्।
अहिले पुराना आईसी इन्जिन सवारीलाई ईभीमा कन्भर्जन गरिएकामा पनि त्यसरी नै परीक्षण गरिँदै आएको छ। तर यसको जटिलना भनेको पुराना सवारीको आवरण बाहेक सबै बदलेर के आधारमा परीक्षण हुने हो त्यो परीक्षण गर्ने स्वयमलाई नै थाहा हुँदैन।
कन्भर्जन गरिएको ईभीको सुरक्षा सूचकहरूले काम गरेका छन् वा छैनन्, इन्जिन निकालेर ब्याट्री प्याक राख्दा लोड व्यालेन्स असन्तुलित पो भएको छ कि, कन्भर्जन गर्दा सवारीको संरचनामै दख्खल गरेको छ कि, यी र यस्ता विषयमा जाँच गर्न नेपालसँग न उपकरण छ न त यहाँ भएका प्राविधिकसँग दक्षता नै।
त्यसैले सुरक्षाका हिसाबमा, प्राविधिक वैधानिकताका आधारमा, कन्भर्जन भएको सवारीको फिटनेस, कन्भर्जन ईभीको दीर्घकालिकता आदिले कन्भर्जनको उपादेयता र विश्वसनीयतामा प्रश्नैप्रश्न उठेको छ।
नेपालमा माथि उल्लेखित परीक्षणका विधिहरु अहिले त छैनन् नै अबको केहीसमयमा आउने सम्भावनासमेत छैन। विश्वका विभिन्न देशमा पनि इन्धन सवारीलाई विद्युतीयमा कन्भर्जन गर्ने कुरा र काम नभएका होइनन्।
परीक्षणका लागि भएका कन्भर्जन न त सार्वजनिक यातायात न त निजी सवारीमा नै व्यवहारिक देखियो। तर यसरी हुने कन्भर्जनको लागत, पुराना गाडीको अस्थित्व वा नयाँ के अस्थित्व हुने, परीक्षणबाट देखिएको अव्यवहारिकतालगायत कारण कन्भर्जन गर्ने कार्यबाट सबैजसो देश पछि हटेका हुन्।
के हो ‘कन्भर्जन’, पेट्रोलियम सवारीलाई विद्युतीय बनाउन चाहिनेभन्दा बढी चर्चा भएको हो?
चर्चा भएजस्तो सहज छैन पेट्रोलियम इन्जिनलाई ईभीमा कन्भर्जन, यस्ता छन् प्राविधिक जटिलता
