काठमाडौं- विद्युतीय सवारीको प्रयोग बढेसँगै पुराना पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जन गर्ने विषयमा समेत चर्चा भइरहेको छ।नेपालमा ४/५ वर्षदेखि पुराना सवारीलाई कन्भर्जन गर्नेबारे कुरा सुनिन थालेको थियो। यद्यपी त्यसबीचमा कन्भर्जन चर्चामा मात्र सीमित थियो।
कानूनी रुपमा कन्भर्जन गर्न पाइने व्यवस्था नहुँदा कानून परिमार्जन गर्नुपर्ने आवाज उठिरहेको थियो। सोही कुरालाई सम्बोधन गर्दै मन्त्रिपरिषदले निर्णय गरेर २०७८ चैत १४ गते राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीयमा बदल्न सकिने बताएको थियो।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न नीतिगत बाटो खोलिदियो। गत आर्थिक वर्षको बजेटमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा परिवर्तन गर्न सहजीकरण गर्ने उल्लेख भएअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरि नीतिगत व्यवस्था गरेको हो।
विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा दर्ता भइ सञ्चालनमा रहेका सवारीसाधनको स्वरुप वा अन्य कुनै परिवर्तन गर्नुपरेमा यातायात कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था थियो। यसरी स्वीकृति दर्ता लिँदा ५० प्रतिशत दस्तुर लिइने कानूनी व्यवस्था थियो। २०७८ चैत १४ को राजपत्रको सूचनाले यो व्यवस्था भने नलाग्ने बनायो।
तर त्यसपछि आवश्यक पर्ने विभिन्न प्रक्रियागत कानून तथा कार्यविधि बनाउने बारेमा भने हालसम्म कुनै छलफल भएको छैन। पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जन गर्दा गाडीको पावर ट्रेन्ड नै फेरिने भएकाले त्यसमा प्राविधिकदेखि सञ्चालन जटिलताहरू आउँछन्। त्यसलाई निमयन गर्ने र कन्भर्जन गर्दा अपनाउनु पर्ने न्यूनतम मापदण्डको जरुरत पर्छ। यसबारेमा हालसम्म सरकार वा सरोकारवालाहरूले चासो दिएको पाइँदैन।
के हो कन्भर्जन?
सामान्यतया कन्भर्जनमा पेट्रोलियम सवारीमा भएको इन्जिन निकालेर त्यहाँ ब्याट्री र मोटर राखेर त्यसैबाट सवारी चल्ने बनाउने हो। आम बुझाइ पनि त्यही हो। सोही कुरालाई आधार मानेर कन्भर्जनको कन्सेप्ट आएको हो। उपभोक्ताको तर्फबाट हेर्दा कन्भर्जन गर्नु केही फाइदाजनक छ। तर राज्यका लागि भने नयाँ गाडी आयात नै बढी लाभदायक छ। सुरुमा आयात गर्दा कर सहुलियत दिएरै भएपनि आयातलाई नै प्रोत्साहन गर्ने र पछि पनि आयातित सिंगो गाडीमा कर लिन सकिने व्यवस्था रहेको छ।
तर कन्भर्जन गर्दा निश्चित मापदण्ड अपनाइएन र सुरक्षामा ध्यान दिइएन भने त्यो घातक हुन्छ। सामान्य नीतिगत व्यवस्था भएपनि त्यसका लागि आवश्यक व्यवहारिक कार्यविधि र नियमनको मापदण्ड बन्न सकेको छैन। त्यसैले एकाध व्यक्तिले कन्भर्जनको काम गरेपनि त्यो व्यवसायिक रुपमा अगाडि आउन सकेको छैन।
पेट्रोलियम कारमा भएको इन्जिनलाई निकालेर त्यसमा ब्याट्री तथा मोटर प्रयोग गरेर गाडी गुडाउँदा त्यो गाडी चल्ने ‘पावर ट्रेन्ड’ नै फेरिन्छ। त्यसरी इन्जिन निकालेर ब्याट्री र मोटर जडान गर्दा त्यो गाडीको आन्तरिक इन्जिनियरिङ खलबलिन्छ। यसरी खलबलिएको आन्तरिक इन्जिनियरिङ मिलाउन प्राविधिक दक्षता तथा मापदण्डसहितको नियामक निकाय चाहिन्छ। तर नेपालमा हालसम्म यसबारे छलफल भएको छैन।
प्राविधिक रुपमा कन्भर्जनको मुख्य जटिलता भनेको ‘म्यानुफ्याक्चरिङ लेबल’को ज्ञान नहुनु नै भएको दीगो ग्रुपको कन्भर्जन परियोजना हेरिरहेका इन्जिनियर भरत सापकोटाको भनाइ छ। ‘हामी ब्याट्री पनि बनाउन सक्ने भएका छौँ। ब्याट्री, मोटर र कन्ट्रोलरको समन्वय मिलाएर त्यसलाई चलाउन सकिनेबारे जानकार छौँ। अहिले हामीसँग भएको स्रोत साधन भनेको वर्कसप र रिसोर्सेस छ,’ उनले भने, ‘तर नेपालमा कोहीसँग पनि एसेम्बलिङ गर्ने ज्ञान नै छैन। कन्भर्जन गर्नका लागि चाहिने न्यूनतम् ज्ञानकै अभावले समस्या ल्याएको हो। पुरानो कारलाई कन्भर्जन गरिएला, त्यो फितलो भयो भने त लगानी पनि खेर जाने र जोखिम पनि बढ्ने हुन्छ।’
त्यसैले प्राविधिक रुपमा चाहिँ सक्षम नभइ व्यवसायिक रुपमा कन्भर्जन गर्न नहुने उनको भनाइ छ। इन्जिन काटेर त्यसको ठाउँमा ब्याट्री र मोटर राख्ने हो भनेर सामान्य रुपमा लिनु भनेको दुर्घटना निम्त्याउनु हो।
कन्भर्जनपछिको सवारी प्राविधिक रुपमा सुरक्षित छ/छैन वा हुन्छ/हुँदैन भन्ने सबैभन्दा महत्वपूर्ण पक्ष हो। ब्याट्री भनेको ऊर्जा संचय हुने ठाउँ हो। त्यो ऊर्जा ४/६ घण्टा लगाएर नियन्त्रित रुपमा रिलिज गर्दा न त्यसले परिणाम दिन्छ। त्यो मिसयुज भएको खण्डमा ५/१० सेकेन्डमै रिलिज हुन्छ र त्यसले भयंकर परिणाम निम्त्याउँछ। यी सबै कुरामा ध्यान नदिइ कन्भर्जनमा जान कठीन हुने प्राविधिकहरूको भनाइ छ।
राजपत्रको सूचनाले भनेको के हो?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १७६ को विशेष अधिकार प्रयोग गरी सरकारले राजपत्रमा सूचना निकालेर उक्त छुट दिएको हो। दफा १७६ मा ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सवारीको सम्बन्धमा यस ऐनको कुनै व्यवस्था तोकिएको अवधिसम्म लागु नहुने गरि नेपाल सरकारले छुट दिन सक्नेछ’ उल्लेख छ।
सरकारले सोही दफाले दिएको विशेष अधिकार प्रयोग गरि दफा ३९, ९१० मा रहेको ‘स्वीकृति नलिइ हेरफेर गर्न नहुने : सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिइ सवारीको रंङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरि सवारीमा हेरफेर गर्न हुँदैन’ भन्ने व्यवस्थालाई ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा’ छुट दिने निर्णय गरेको थियो।
दफा ३९, ९२० मा अधिकार प्राप्त अधिकारीले हेरफरका लागि आवश्यक जाँचबुझ गरि उपयुक्त देखेमा स्वीकृति दिनसक्ने व्यवस्था गरिएको छ। यस्तो स्वीकृति पछि अब भने इन्धनबाट चल्ने पुराना सवारी धनीले विद्युतीय सवारीमा बदल्न चाहेमा सहजै बदल्न सक्ने छन्।
इन्धनबाट चल्ने पुराना सवारीलाई विद्युतीयमा बदल्न सकिए पनि त्यसले राम्रो पर्फमेन्स दिन सक्छ वा सक्दैन, यसबारे भने अध्ययन भइसकेको छैन। पुराना सवारी विद्युतीय सवारीको डिजाइनमा नबनेको हुँदा प्राविधिक रुपमा यसबारे ठोस अध्ययन भएको पाइँदैन। भारतले तथा चीनले कन्भर्जनलाई प्राथमिकता दिएका छैनन्। भारत कन्भर्जनको नीतिबाट पछिहटिसकेको छ भने चीनले कन्भर्जनको विषयलाई सार्वजनिक रुपमा ‘इन्डोर्स’ नै गरेको छैन।
मुख्यगरि सवारीसाधनमा चीनको केही र भारतको ८० प्रतिशतभन्दा बढी दबदबा रहेको नेपालमा ती देशहरूले कन्भर्जनलाई स्वीकार नगर्दा यहाँ सफल हुनेमा संका उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ।
व्यवहारिकता भन्दा बढी चर्चा?
प्राविधिक रुपमा नेपालसँग कन्भर्जनका लागि आवश्यक कुनै पनि मापदण्ड, नियामक निकाय र इक्युपमेन्ट नभएको हाल कन्भर्जनमा संलग्नहरूले बताएका छन्। यस्तो अवस्थामा ठूलो परिमाणमा कन्भर्जन गर्नु सुरक्षाका दृष्टिले घातक छ।
सैद्धान्तिक ज्ञान भएपनि कन्भर्जनको व्यवहारिक ज्ञान कन्भर्जनमा संलग्न व्यक्ति वा संस्थासँग लगभग नभएको इन्जिनियर सापकोटाले बताएका छन्। यसका बीच केही संस्था तथा व्यक्तिहरूले पुराना पेट्रोलियम कारलाई विद्युतीयमा कन्भर्जन गरे ठूलो आर्थिक तथा वातावरणीय लाभ हुने भन्दै ‘अतिरिक्त लबिङ’ गरिरहेका छन्। जसको परिणाम सुखद् नहुन सक्छ।
कन्भर्जनमा जानका लागि पहिले सैद्धान्तिक ज्ञान, त्यसपछि तालिम, आवश्यक टुल्सको उपलब्धता, सुरक्षा विशेषतासहितको मापदण्ड र नियामक निकाय चाहिन्छ।
योभन्दा महत्वपूर्ण पक्ष भने लागतको गणना हो। नयाँ गाडी आयात गर्दा सहर नै लागत पूर्ण विद्युतीय कन्भर्जनमा लाग्ने हो भने त्यसको कुनै ‘इकोनोमिक बेनिफिट’ हुँदैन। यी सबै कुराको अध्ययन नभइ नै कन्भर्जन भनेर कराइरहनु अतिरिक्त चर्चामात्र देखिन्छ।