काठमाडौं- पुराना पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्ट गर्ने विषयको चर्चा र नीतिगत फुकुवासँगै केही कम्पनीले एकाध कन्भर्जन पनि गरेका छन्। विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले कन्भर्जनलाई बन्देज गरेकाले त्यो फुकुवा नहुन्जेल सहजीकरण गर्नुपर्ने आवाज ‘चर्कै’ थियो।
सरकारले २०७८ चैतमा यातायात व्यवस्था ऐनमा भएको बन्देजात्मक व्यवस्थालाई मन्त्रिपरिषद निर्णयमार्फत राजपत्रमा सूचना प्रकाशित गरेर ऊर्जा दक्षताका आधारमा विद्युतीयमा कन्भर्जन गर्न सकिने व्यवस्था गरेको हो। कानूनी सहजता नहुन्जेल धेरैले कन्भर्जन गर्न अवरोध पुगेको बताउँदै आएका थिए। तर कानूनी रुपमा सहजीकरण गरेपछि भने चर्चा भए झैँ पुराना पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जनको काम अघि बढ्न सकेको छैन।
त्यति सहजै पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जन गर्न सकिने अवस्था नरहेको प्राविधिकहरूले बताएका छन्। सरकारले सामान्य नीति ल्याएको र त्यसपछि आवश्यक पर्ने मापदण्ड, जाँचपास गर्ने नियामक निकाय तथा कन्भर्जनका अन्य व्यवस्थाबारे केही नबोलेकाले व्यवसायिक रुपमा कन्भर्जन तत्काल सम्भव नरहेको उनीहरूको भनाइ छ।
पुराना पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जन गर्न के के गर्नुपर्छ र यसका जटिलताबारे बिजनेस न्युनले यससँग संलग्न आधा दर्जन इन्जिनियरहरूसँग कुरा गरेको थियो। उनीहरूसँग गरिएको कुराकानीको निष्कर्षका रुपमा यहाँ अहिले कन्भर्जन गर्दा आउन सक्ने जटिलताका बारेमा उल्लेख गरिएको छ।
परम्परागत इन्टरनल कम्बस्चन इन्जिन (आईसीई)युक्त सवारीलाई विद्युतीय सवारी (ईभी)मा बदल्दा हुने मुख्य चुनौतीहरू
पछिल्लो समय पेट्रोलियम कार वा अन्य सवारीलाई ईभीमा कन्भर्जन गर्ने विषयलाई सामान्य रुपमा लिइने गरेको छ। त्यसैले कन्भर्जनलाई जोकोहीले जहाँ सुकै सहजै कन्भर्जन गर्न सक्ने विषय भनेर अर्थ्याइएको छ। केही कम्पनीहरूले कन्भर्जन किटहरू पनि बनाइरहेका छन्।
यद्यपी आईसी इन्जिन सवारीलाई ईभीमा बदल्ने कुरालाई संसारका कुनै पनि देशले औपचारिक रुपमा स्वीकार गरेका छैनन्। भारतमा समेत कन्भर्जनबारे त्यति धेरै बहस भएको छैन। २०२०/०२१ ताका कन्भर्जनको विषयमा धेरै कम्पनीहरूले चासो देखाएपनि अहिले ती सबै सेलाएका छन्। नीतिगत रुपमा भारत कन्भर्जनको विषयबाट पछि नै हटिसकेको छ।
कन्भर्जनमा आईसी इन्जिनको पावरट्रेन पूर्ण रुपमा परिमार्जन गरिन्छ। पेट्रोल इन्जिनयुक्त सवारीमा रहेको इन्जिन, गेयर बक्स (ट्रान्समिसन), इन्टेक, एक्झस्टलगायत सबै कुरा निकालेर विद्युतीय सवारीको सिस्टम राखिन्छ। विद्युतीय सवारीको सिस्टम भन्नले इन्जिनलगायत निकालिएको सवारीमा ईभी पावरट्रेन अन्तर्गत विद्युतीय मोटर, ब्याट्री प्याक, एचभी केवलसहित भन्य विभिन्न आवश्यक तत्वहरू जडान गरिन्छ।
यसरी एउटा प्रयोजनका लागि त्यसले बहन गर्ने क्षमता र शक्तिका आधारमा डिजाइन गरिएको सवारीको बडीलाई अर्कै प्रयोजनका लागि प्रयोग हुनु कुनैपनि हिसाबमा राम्रो मानिदैन। सवारी उत्पादकहरूले सवारीको डिजाइन गर्दा त्यसको प्रयोजन र त्यसमा प्रयोग हुने कम्पोनेन्टहरू कहाँ कहाँ, कसरी राख्ने भनेर निश्चित गरेका हुन्छन्। तर पेट्रोलियम सवारीलाई विद्युतीयमा कन्भर्जन गर्दा त्यसको आर्किटेक्ट नै परिवर्तन गर्न सकिँदैन। भएको आर्किटेक्टलाई नयाँ पावरट्रेन राखेर ‘बाध्यात्मक एडजस्ट’ गर्नुपर्ने हुन्छ।
सवारीको संरचनागत परिमार्जन
पेट्रोलियम सवारीलाई ईभीमा कन्भर्जन गर्ने क्रममा आईसी इन्जिनयुक्त कारको सम्पूर्ण पावरट्रेन नै बदलिन्छ। बदलिएको सो स्ट्रक्चरमा विद्युतीय पावरट्रेन फिट गरिन्छ। यो परिमार्जनले सवारीको विद्यमान संरचनामा पूर्णबदलाव ल्याउँछ। पवरट्रेनमा हुने यो फेरबदलले सवारीको सुरक्षा सूचकहरू ब्रेक, सस्पेन्सन, स्टेरिङ सिस्टमलगायतमा प्रत्यक्ष प्रभाव पार्छ।
सवारीको तौल सन्तुलन
आईसी इन्जिनयुक्त सवारीमा भएको इन्जिनलाई विद्युतीय मोटर र ब्याट्रीले विस्थापन गर्दा सवारीको तौल सन्तुलनमा अतिरिक्त समस्या आउँछ। पेट्रोल इन्जिन सवारीमा हुने इन्जिन र गेयर बक्सको तौलको तुलनामा मोटर र ब्याट्रीको तौल निकै कम हुन्छ। जसका कारण ईभीमा कन्भर्जन गरिएको सवारीको तौल सन्तुलनको इन्जिनियरिङमै गडबडी आउँछ।
अर्को महत्वपूर्ण कुरा विद्युतीय सवारीमा राखिने ब्याट्री प्याक थोरै ठाउँमा नभइ च्यासिसमा फराकिलो प्लेट बनाएर राखएिको हुन्छ। तर ईभीमा कन्भर्जन गरिने पुराना सवारीमा त्यसरी फराकिलो प्लेटमा ब्याट्री प्याक राख्न सकिँदैन। पहिलेको इन्जिन भएको ठाउँमा वा पछाडि डिक्कीमा ब्याट्री प्याकलाई अटाएर राख्नु पर्ने बाध्यता हुन्छ। यसरी जवरजस्त एकै ठाउँमा ब्याट्री प्याक राख्दा सवारीको सेन्टर अफ ग्राभिटीमा प्रत्यक्ष प्रभाव पर्छ। यसले सवारीलाई सन्तुलित मोडमा चलाउन निकै कठीन हुन्छ।
कन्भर्जन गरिएका सवारीको संरचनामा पहिलेको डिजाइनमा बनेको सस्पेन्सन, ब्रेक र स्टेरिङ सिस्टमले साविक रुपमा काम गर्न सक्दैन। कन्भर्जन पूर्वको सवारीमा जसरी लोड ब्यालेन्स मिलाइएको हुन्छ त्यसमा कन्भर्जन पश्चात झिकिएकै स्थानहरूमा समान रुपमा ब्याट्री प्याक तथा विद्युतीय मोटर राख्न सकिँदैन। यसको परिणाामका रुपमा सवारीको सन्तुलन मिलाउन कठीन हुने भएकाले सुरक्षित यात्रामा प्रश्न उठ्छ। कन्भर्जन गर्दा सवारीको सुरक्षा र मूल्यमा ठूलो सम्झौता गर्नुपर्ने हुन्छ।
भएको पुराना विद्युतीय सिस्टमसँग नयाँलाई मिलाउन कठीन
सवारीसाधनमा इस्ट्रुमेन्ट क्लस्टर, एबीएस, इमोबिलाइजरलगायत धेरै प्रकारका विद्युतीय सिस्टम जडान गरिएको हुन्छ। विद्युतीयमा कन्भर्जन गरिने आईसी इन्जिनयुक्त सवारीमा पुरानै विद्युतीय सिस्टमलाई नयाँ विद्युतीय मोटरबाट चलाउनु पर्ने हुन्छ। यो प्राविधिक रुपमा ज्यादै नै जटिल विषय हो। कन्भर्जन गरिएको पुरानो आईसी इन्जिनयक्त कारमा पुनः विद्युतीय वाइरिङ गर्ने हो भने त्यो पनि अझ जोखिमपूर्ण हुनसक्छ।
कन्भर्जनको लागत
पुरानो आईसी इन्जिनयुक्त सवारीलाई विद्युतीयमा कन्भर्जन गर्न धेरै विद्युतीय पार्टहरू थप गर्नुपर्ने हुन्छ। त्यसका लागि आई इन्जिनले काम गर्ने इन्जिन, गेयर बक्सलगायत निकाल्नु पर्छ। कारबाट निकालिएको पुरानो कम्पोनेन्ट काम लाग्दैनन्। विद्युतीय कम्पोनेन्टहरू आयात गर्नुपर्ने भएकाले यस्तो कम्पोनेन्टको मूल्य फ्याक्ट्री लागतभन्दा बढी पर्छ। यसरी हेर्दा पुराना कारलाई कन्भर्जन गरेर बनाइने विद्युतीय कार नयाँ विद्युतीय कारकै सरहमा मूल्य पर्न जान्छ। त्यसैले पुराना कारलाई महँगो लागतमा कन्भर्जन गरेर असुरक्षित सवारी बनाउनु सबै दृष्टिबाट उपयुक्त छैन।
उदाहरणको लागि कन्भर्जन गर्न लागिएको एउटा गाडी सेकेन्ड ह्यान्डमा बिक्री गर्दा १० लाख रुपैयाँ आउँछ। अब त्यो गाडीको धनीले त्यसलाई कन्भर्जन गर्न लाग्यो। त्यसको मूल्य शून्यमा आयो। कन्भर्जनका लागि सो गाडीको धनीले १२ देखि १५ लाख रुपैयाँ कन्भर्जनका लागि खर्चनु पर्छ। कन्भर्जनपछि उसको गाडी कति सुरक्षित हुन्छ, त्यसको माइलेज कति हुन्छ, कति वर्ष टिक्छ त्यसको कुनै टुंगो छैन।
त्यही गाडी धनीले विद्युतीय गाडी नै चढ्न मन लागेको हो भने उसले त्यो गाडी बिक्री गर्दा १० लाख रुपैयाँ आउँछ। त्यो रकम ५० देखि ६० लाख रुपैयाँको नयाँ विद्युतीय गाडी खरिदका लागि अहिलेको व्यवस्थाअनुसार डाउन पेमेन्ट गर्न पुग्ने पैसा हो। कन्भर्जन गर्ने १२ लाख रुपैयाँमात्र पैसाले पनि उसलाई २ वर्षभन्दा बढी किस्ता तिर्न पुग्छ। नयाँ गाडी भएकाले कम्पनीले ८ वर्ष ब्याट्री तथा मोटरमा वारेन्टी दिन्छ। सुरक्षा विलासीतामा सम्झौता गर्नुपर्दैन।
नयाँ विद्युतीय गाडी आयात गर्दा सरकारले लाखौं रुपैयाँ राजस्व पाउँछ, तर कन्भर्जन किट आयातगर्दा राज्यलाई खासै राजस्व आउँदैन र कन्भर्जन गरिएको सवारीबाट त राजस्व आउने कुरै भएन। न उपभोक्तालाई न त राज्यलाई नै फाइन पुग्ने विषय भनेको पैसा र समय दुवैको बर्बादी हो। अनि किन मानिसले आफ्नो पुरानो गाडीलाई विद्युतीयमा कन्भर्जन गर्छ?
सर्भिस्याबिलिटी
कुनै पनि परम्परागत सवारी उत्पादक (ओईएम)ले ईभी कन्भर्जन किट उत्पादन तथा आपूर्ति गर्दैनन्। यस्ता किटहरू स्पेयर पार्टस उत्पादकले बनाएर आपूर्ति गर्छन्। यसरी किट बनाउनेहरूले मर्मत तथा सर्भिसका लागि आवश्यक पार्टपूर्जा नियमित रुपमा बनाएर पठाउँदैनन्। उनीहरूको ध्यान एक पटकको बिजनेसमा हुन्छ। यस्तो अवस्थाको मोडिफिकेसनमा अर्को पटकलाई समान प्रकारको कन्भर्जन किट पाउने सम्भावना लगभग हुँदैन।
अर्को महत्वपूर्ण पक्ष भनेको पार्टस निर्माताहरूले कन्भर्जन किट बनाउँदा रिसर्च एन्ड डेभलपमेन्ट(आरएन्डडी) मा खासै खर्च गर्दैनन्। त्यसैले उनीहरूले बनाउने किटको विश्वसनीयतामा प्रश्न उठ्छ। यो अवस्थामा कन्भर्जन गरिएको ईभीमा केही समयस्या आयो भने कसरी र कसले मर्मत गर्ने, सेवा दिनेमा ठूलो जटिलता आउँछ।
परीक्षण र प्रमाणीकरण
मुख्यगरि नेपाल देशसँग सवारी परीक्षण गर्ने आफ्नै कुनै संयन्त्र नै छैन। तर पनि यातायात व्यवस्था विभाग र त्यस अन्तर्गतका निकायहरूले सम्बन्धित देशका सवारी उत्पादन परीक्षण निकायले दिएको सर्टिफिकेटका आधारमा सवारी परीक्षण गर्दै आएका छन्।
अहिले पुराना आईसी इन्जिन सवारीलाई ईभीमा कन्भर्जन गरिएकामा पनि त्यसरी नै परीक्षण गरिँदै आएको छ। तर यसको जटिलना भनेको पुराना सवारीको आवरण बाहेक सबै बदलेर के आधारमा परीक्षण हुने हो त्यो परीक्षण गर्ने स्वयमलाई नै थाहा हुँदैन।
कन्भर्जन गरिएको ईभीको सुरक्षा सूचकहरूले काम गरेका छन् वा छैनन्, इन्जिन निकालेर ब्याट्री प्याक राख्दा लोड व्यालेन्स असन्तुलित पो भएको छ कि, कन्भर्जन गर्दा सवारीको संरचनामै दख्खल गरेको छ कि, यी र यस्ता विषयमा जाँच गर्न नेपालसँग न उपकरण छ न त यहाँ भएका प्राविधिकसँग दक्षता नै।
त्यसैले सुरक्षाका हिसाबमा, प्राविधिक वैधानिकताका आधारमा, कन्भर्जन भएको सवारीको फिटनेस, कन्भर्जन ईभीको दीर्घकालिकता आदिले कन्भर्जनको उपादेयता र विश्वसनीयतामा प्रश्नैप्रश्न उठेको छ।
के हो ‘कन्भर्जन’, पेट्रोलियम सवारीलाई विद्युतीय बनाउन चाहिनेभन्दा बढी चर्चा भएको हो?