काठमाडौं- बहुचर्चित नागढुंगा सुरुङमार्ग परीक्षणकालीनरुपमा केही समय सञ्चालन गरेपछि मात्रै पूर्णरुपमा सञ्चालन हुने भएको छ।
सुरुङमार्ग सञ्चालनमा नेपालसँग अनुभव नभएका कारण सुरुमा 'ट्रायल'का रुपमा सीमित सवारी सञ्चालन गरेर अनुभव बढ्दै गएपछि पूर्ण क्षमतामा सञ्चालन गर्न लागिएको हो।
नागढुंगा सुरुङमार्ग आयोजना निर्माण कार्यालयका निर्देशक सौजन्य नेपालका अनुसार निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेको दुईदेखि साढे दुई महिनाभित्र सुरुङबाट सार्वजनिक सवारी चलाउने तयारी भइरहेको छ। उनकाे भनाइअनुसार आगामी पुस अन्तिम वा माघबाट सुरुङमार्ग सञ्चालन हुनेछ।
‘हामीसँग सुरुङमा सवारी चलाएको अनुभव नभएकाले एउटा नयाँ कम्पनी राखेर काम गर्नुपर्छ। त्यसैले एकैपटकभन्दा पनि निश्चित भेहिकललाई चल्न दिएर सिक्दै गएपछि सबैलाई खुला गर्ने योजना छ’ उनले भने।
आयोजना निर्देशक नेपालका अनुसार सुरूङको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ। सुरूङभित्र सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान, आगलागीकाे सुरक्षाका यन्त्र जडानलगायत काम सकिएर चेकजाँचको क्रम चलिरहेको छ।

वि.सं. २०७७ कत्तिकमा जापानिज कम्पनी ‘हाजमा एण्डो कर्पोरेसन’सँग निर्माण सम्झौता हुँदा सुरुङमार्ग निर्माणकाे म्याद ४२ महिना थियो तर कोरोना संक्रमण, स्थानीयको अवरोध तथा अन्य कारणले दुईपटक म्याद थप गरेर सन् २०२५ अक्टोबर २५ सम्मको म्याद छ।
सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग १६ अर्ब रुपैयाँ ऋण लिएर बनाएको सुरुङ निर्माणमा कुल २२ अर्ब रुपैयाँ खर्च हुने छ। आयोजनामा ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ।
सुरुङ निर्माण गरिरहेको कम्पनी हाजमा एण्ड कर्पोरेसन हो भने परामर्शदातामा ‘निप्पोन कोही’सहित तीनवटा नेपाली कम्पनी संलग्न छन्।

परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर असीम घिमिरे अहिले सुरुङमार्ग निर्मण सकिएको भन्दा हुने अवस्थामा पुगेको बताउँछन्। ‘जापानबाट आउने एउटा टोलीले अन्तिम परीक्षण गरेपछि सुरुङमार्ग सरकारलाई हस्तान्तरण हुन्छ, म्यादभित्रै यो काम सकिन्छ’ इन्जिनियर घिमिरेले भने।
नेपालमा सडकमार्गमा आधुनिक तरिकाले निर्माण गरिएको यो सुरुङमार्ग पहिलो हो। यद्यपि सिँचाइ, विद्युत, खानेपानी आयोजनाले भने सुरुङ बनाउने क्रम धेरै पहिलेदेखि चल्दै आएको छ। काठमाडौंको मुखैमा र नेपालमै पहिलोपटक आधुनिक तरिकाले बनाएकाले पनि यो सुरुङको चर्चा र सञ्चालनको अपेक्षा तीव्र छ।
२ हजार ६ सय ८८ मिटर लम्बाइको नागढुंगा सुरुङमार्गले थनाकोटको जाममा बस्नु पर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा छ। सुरुङमार्गबाट दुई मिनेटमा यात्रा गर्न सकिने आयोजना कार्यालयले जनाएको छ। जसका कारण करिब २५ मिनेट यात्राअवधि छाेटिने छ।

नागढुंगामा २०८० साउनमा आपतकालीन उद्धार सुरुङ छिचोलिएको थियो भने मुख्य सुरुङ २०८१ बैशाख ३ गते छिचोलिएको थियो।
सुरुङ 'ब्रेक थ्रु' भएपछि सवारी सञ्चालन गर्न कहिलेबाट पाइन्छ? भन्ने जिज्ञासा बढेको छ। नेपालमै पहिलोपटक निर्माण गरिएको सुरुङमार्ग सञ्चालन मोडालिटी भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अहिलेसम्म तयार गरेको छैन। यद्यपी २०८१ असोजमा झ्याप्लेखोलामा पहिरो जाँदा रोकिएका सवारीलाई आपतकालीन उद्धारका रुपमा सुरुङमार्गबाट कलंकी निकालिएको थियो।
सामान्य सडकजस्तो सुरुङबाट निःशुल्क सवारी सञ्चालन हुने छैन। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि सुरुङमार्ग, द्रुतमार्गजस्ता विशेष प्रकारका पूर्वाधार प्रयोग गर्नेहरूबाट निश्चित शुल्क (टोल) उठाउने गरेको पाइन्छ। टोल उठाउँदा आयोजना निर्माण गर्दाको लागत र मर्मत गर्न आवश्यक पर्ने रकम जम्मा हुने सरकारको विश्वास छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपाल सञ्चालन मोडालिटीको विषय छलफलको क्रममा रहेको बताउँछन्। आयोजना कार्यालय र सडक विभागले सवारीसाधनलाई चार भागमा वर्गीकरण गरेर शुल्क उठाउन प्रस्ताव गरेको उनले बताए।

सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्। त्यसबाहेक साना चारपांग्रे, माइक्रोबस, यात्रुबाहक ठूला बस र मालबाहक सवारी चल्न पाउने छन्। सोहीअनुसार सवारीसाधनलाई शुल्क लिने प्रस्ताव विभागले तयार गरेको मोडालिटीमा छ। मन्त्रीपरिषद्ले स्वीकृत नगर्दासम्म मोडालिटीलाई आधिकारिक मान्न मिल्दैन।
सुरुङ प्रयोग नगर्ने मानिसलाई आर्थिक भार नपरोस् भनेर त्यहाँ चल्नेहरूबाट मात्रै टोल उठाउने निर्देशक नेपाल बताउँछन्। साथै काठमाडौंबाट सिस्नेखोलातर्फ ओरालो झर्दा थोरै र सिस्नेबाट काठमाडाैं उकालो आउँदा बढी रकम उठाउने तयारीमा सरकार छ।
प्रस्तावित मोडालिटीअनुसार साना कार तथा माइक्रोले काठमाडौं आउँदा एकपटकमा ७५ र सिस्ने खोलातर्फ जाँदा ५० रुपैयाँ तिर्नुपर्छ। त्यस्तै मालबाहक ठूला सवारीले काठमाडौं आउँदा पाँच सय र धादिङतर्फ जादाँ तीन सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

‘थानकोट घुम्नुपर्ने समय, इन्धन खर्चलाई हिसाब गरेर त्यति रकम उठाउँदा उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौँ’ बिजनेस न्यूजसँग कुरा गर्दै आयोजना निर्देशक नेपालले भने, ‘जसले त्यो सुरुङ प्रयोग गर्छ उसलेमात्रै रकम तिर्दा हुन्छ, देशभरका जनताले आर्थिक भार बोक्ने गरी राजस्व उठाउने योजना छैन।’
सुरुङमार्गले चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्छ। काठमाडौंतर्फ निस्किने सुरुङको पूर्वी भागमा एउटा फ्लाइओभर निर्माणाधीन छ। फ्लाइओभरको पनि लगभग निर्माणको काम सकिएको आयोजना कार्यालयले जनाएको छ।
तस्बिर/भिडियो : नकुल भारती, बिजनेस न्युज