काठमाडौं- बीबी एयरवेजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले 'प्रुफिङ' (डेमोस्ट्रेसन) उडान अनुमति दिएको छ। तीनवटा जहाज ल्याउन अनुमति पाएको म्याद सकिन एक दिन बाँकी रहँदा प्राधिकरणले बीबी एयरवेजलाई डेमोस्ट्रेसन उडान अनुमति दिएको हो।
२०२४ मार्च १२ मा तीनवटा जहाज ल्याउने अनुमति पाएको बीबी एयरवेजको समय भोलि मंगलबार सकिँदै छ। बीबीले 'एओसी' लिने प्रकिया जोगाउनकै लागि हतार-हतारमा भुटानको ड्रुक एयरको एउटा जहाज 'ड्याम्प लिज'मा लिँदै प्राधिकरणसँग उडान अनुमति मागेको थियो। प्राधिकरणले अन्तिम समयमा ड्रुक एयरको जहाजमार्फत बीबीलाई प्रुफिङ उडान अनुमति दिएको हो। तर बीबीले कुनै पनि प्रक्रिया पूरा नगरेको स्रोतको दाबी छ।
बीबीको एनओसी म्याद २०२५ मार्च ११ सम्म मात्रै रहेको छ। प्राधिकरणले बीबीलाई प्रुफिङ उडान अनुमति दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत नवीकरण गरेर ल्याएको अवस्थामा मात्रै थप प्रक्रिया अगाडि बढाउने भन्दै अनुमति दिएको स्रोतको दाबी छ। बीबी एयरवेजले जहाज आफ्नै स्वामित्वमा ल्याउनु पर्ने समयमा प्राधिकरणले राजनीतिक दबाबमा यस्तो अनुमति दिएको हो।
कुनै पनि एयरलाइन्सले एओसी पाउनका लागि पाँचवटा प्रक्रिया पुरा गर्नुपर्छ। प्रि-एप्लिकेसन, एप्लिकेसन, डकुमेन्टेसन, जहाज प्राप्ति तथा परीक्षण र प्रमाणपत्र जारी गरी पाँचवटा चरण हुन्छ।
त्यसमा बीबीले तीनवटा प्रक्रिया पूरा गरी चौथो चरणमा जहाज खरिद तथा भाडामा ल्याउन अनुमति पाएको थियो। अनुमति पाएको ३६४ दिनसम्म जहाज नै नल्याएको एयरले अन्तिम समयमा प्रक्रियालाई जीवित राख्न एओसीआरको प्रावधानको धज्जी उडाउँदै यो खेल रचेको थियो। अन्तत: बीबी एयरवेज त्यसमा सफल भएको छ।
प्राधिकरण स्रोतका अनुसार जहाज 'ड्याम्प लिज'कै लागि नेपाली व्यवसायीले करोडौँ रुपैयाँ खर्च गरेको कारण केही लचकता दिइएको हो।
सामान्यत: एनओसी जारी भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने क्रममा नै प्रुफिङ उडान हुनुपर्ने थियो। तर अन्तिम समयमा आएर यो काम भएको छ। प्राधिकरणले थप प्रक्रिया अगाडि बढाउन मन्त्रालयबाट इजाजत नवीकरण गराउएको अवस्थामा मात्रै हुने सर्तमा प्रुफिङ उडान अनुमति दिएको हो। योसँगै बीबीको एओसी ब्युँताउने खेल जीवित भएको छ।
२०२४ को मार्च १२ मा २०२५ को मार्च ११ सम्म दुईवटा जहाज ल्याउन बीबी एयरवेजले अनुमति पाएको थियो। तर जहाज नै ल्याउने अनुमति नै स्वत: खारेज हुने अवस्थामा पुगेपछि बीबीले यो खेल रचेको हो। 'एनओसी' पाएको एयरवेजले एक वर्षमा दुईवटा जहाज अनिवार्य ल्याउनु पर्ने थियो। तर भट्टले जहाज खरिद नै गर्न सकेनन्। किनकि भट्ट जहाज खरिदका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न सक्षम थिएनन्।
बीबी एयरवेजले एनओसीका लागि प्राधिकरणमा पेश गरेको प्रतिवेदनमा उल्लेख भएको वित्तीय व्यवस्थापनको विषय निकै कमजोर र लागु हुन नै नसक्ने खालको थियो। भट्टले राजनीति शक्तिको आडमा प्राधिकरणबाट एनओसी लिएका थिए। भट्टले जहाज ल्याएर उडान गर्नेभन्दा पनि बीबी एयरवेजको इजाजत नवीकरण गर्ने योजनाअनुसार मात्र काम गरेका थिए। लाइसेन्स नवीकरण भएपछि लगानीकर्ताबाट रकम उठाउनका लागि भट्टले स्रोतको सुनिश्चितता नै नभइ एनओसी लिएका थिए।
भट्टको वित्तीय तथा व्यावसायिक योजनामा लगानीकर्ताले विश्वास गरेका छैनन्। यसअघि नै भट्टको वित्तीय तथा व्यावसायिक योजनामा प्राधिकरणसमेत सन्तुष्ट थिएन। तर राजनीतिक शक्तिको गलत प्रयोग गरेर भट्ट एनओसी लिन सफल भएका थिए।
भट्टले जहाज ल्याउन अनुमति पाएपछि विभिन्न नेपाली तथा विदेशी लगानीकर्तासँग वार्ता गरेका थिए। तर उनको योजनामा कसैले पनि चासो दिएका छैनन्।
बीबी एयरवेजले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै 'एओसी'का लागि प्राधिकरणमा पत्र दिएको थियो।
२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो।
बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।
एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी ब्युँताउने प्रक्रिया बीबी एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो।
बीबी एयरवेजले प्रि-एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यावसायिक/वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको थियो।
सुरूमा दुईवटा एयरबसका न्यारोबडी जहाज ल्याएर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको थियो। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान थियो।
भट्टले लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एयर अपरेटर सर्टिफिकेट (एओसी) माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका थिए। बीबी एयरवेजको नयाँ व्यावसायिक योजना विश्वसनीय र भरपर्दो नदेखिएको प्राधिकरणले गठन गरेको अध्ययन समितिले निष्कर्ष निकालेको थियो।
व्यावसायिक योजना स्वीकृत भएपनि जहाज चलाउनका लागि आवश्यक वित्तीय व्यवस्थापन नहुने अवस्था देखिएको समितिले ठहर गरेको थियो। तत्कालीन समयमा भट्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साथ रहेको थियो। जसका कारण प्राधिकरणले दबाबमा परेर एनओसी दिएको थियो। जुन विषय अहिले पुष्टि भएको छ।
तत्कालीन समयमा समितिले जहाज उडाउनेभन्दा पनि लाइसेन्सको कारोबार हुनसक्ने व्यवस्थालाई रोक्नका लागि भन्दै वित्तीय व्यवस्था भरपर्दो हुनुपर्ने पूर्वसर्त राखेको थियो। बीबी एयरवेजको वित्तीय व्यवस्थापन कमजोर देखिएको थियो।
स्वपुँजीसँगै ऋण कहाँबाट ल्याउने भन्ने कुराको विश्वसनीय आधार बीबी एयरवेजको योजनामा प्रस्तुत नभएको समितिले नै ठहर गरेको थियो। साथै समितिले ऋणको लागत अनुमान पनि औसत १० प्रतिशत गरिएको र यो पनि भरपर्दो नभएको ठहर गरेको थियो।
वित्तीय व्यवस्थालाई ख्याल नगरी योजना प्रस्तुत गरिएको तथा आम्दानी र खर्चको प्रक्षेपणमा तालमेल नभएको, जहाज लिज, संख्या र उडानपूर्वको तयारी पनि योजनामा नदेखिएको समितिको ठहर थियो।