काठमाडौं- सवारीसाधनमा धेरै पार्टपुर्जा हुने भएकाले उत्पादक कम्पनीले त्यसमा लाग्ने फास्ट मुभिङ र सबै प्रकारका पार्ट्स उत्पादन गर्दै आएका छन्।
आईसी इन्जिन सवारीको तुलनामा विद्युतीय सवारीको पार्ट्स केही महँगो हुनु स्वभाविक मान्न सकिएला। आईसी इन्जिन सवारीको अनुसन्धान र विकास धेरै पुराना भएको र प्रतिस्पर्धी बजार बढेकाले सहजै र कम मूल्यमा पार्ट्स पाइने गरेको छ।
यता विद्युतीय सवारी तुलनात्मक रुपमा कम बिक्री हुनु र उत्पादन पनि त्यहीअनुसार भइरहेकाले यसको पार्ट्स कम हुँदा केही महँगो हुनु स्वभाविक नै हो। तर पार्ट्स महँगो छ र मुभेवल पार्ट्स बनेको छैन भन्ने बहानामा सिंगो सिस्टम नै फेर्न लगाउने प्रवृत्ति बढ्न थालेको छ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ब्याट्रीको कभरको एउटा हुक ठोक्किएर चर्कंदा सिंगै ब्याट्री नै फेराएको छ। ब्याट्रीको कभरमात्र फेर्ने हो भने दुई/तीन लाख वा त्योभन्दा कम मूल्यमा फेरिन सक्छ। तर बीवाईडीले आफ्नो व्यापार बढाउन पूरै हाइभोल्टेज ब्याट्री सिस्टम नै फेराएर उपभोक्तालाई बिक्रीपछिको चर्को सेवा भिराइरहेको छ।
बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीको ब्याट्री कभर फेर्न नमिल्ने बताउँदै सिंगो ब्याट्री सिस्टम नै फेर्नुपर्ने गरि कोटेसन बनाउन लगाएको हो। ब्याट्री राखेर गाडीको च्यासिसमा झुन्ड्याउन वा अड्याउन बनाइएको ब्याट्री कभरको एउटा हुक चर्किएको एटो थ्रीको पूरै ब्याट्री नै फेर्नुपर्ने कम्पनीले बताएको सवारीधनी कमलकुमार गोयललाई उद्धृत गर्दै स्रोतले बतायो।
‘टेक्निकल कुरा धेरै त हामीले जान्ने भएनौँ। हाम्रो एटो थ्रीलाई अरु कसैले आएर ठोकिदियो। त्यसपछि सर्भिस सेन्टरमा लगेर देखायौँ,’ सवारी धनी गोयललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरुमा त सामान्य मर्मत गरे हुृन्छ भनेर २५ लाख रुपैयाँजतिको कोटेसन दिइयो। पछि फेरि नयाँ कोटेसन बनाउन पर्ने भो भने। त्यसपछि आएको कोटेसनमा ५० लाख ५८ हजार रुपैयाँभन्दा बढी लाग्ने भनेर आयो। के भएर यत्रो पैसा लाग्ने भयो त भनेर सोध्दा ब्याट्रीको कभरमा केही क्राक देखिएकाले त्यो पनि फेर्नुपर्ने हुँदा महँगो भएको हो भनियो।’
ब्याट्रीको कभरमा सामान्य समस्या आउँदा त पूरै ब्याट्री नै नभइ कभरमात्र फेर्न मिल्दैन? भन्ने जिज्ञासामा बीवाईडी सर्भिस सेन्टरले ठोस कुरा नबताएर 'पछि प्राविधिक समस्या आए के हुन्छ?' भन्दै तर्साउने गरी उत्तर दिएको सवारीधनीको भनाइ छ।
सामान्य ठोक्किएको गाडीको मर्मत खर्च नयाँ गाडीको मूल्यबराबर नै आउनु वा बनाइनु गम्भीर विषय हो। ठूलै दुर्घटनामा परेको गाडीको मर्मत खर्च धेरै आउनु स्वभाविक हो। त्यसमा पनि नयाँ सेगमेन्टका रुपमा उदाएको विद्युतीय कार र अझै संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्री गरेको दाबी गर्ने बीवाईडीका कारमा यस्तो हुँदा आफू पनि आश्चर्यमा परेको गोयलले बताए।
सामान्य रुपमा ठोक्किएको बीवाईडी एटो थ्रीको मर्मत खर्च ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसा लाग्नेगरी बीवाईडीको आधिकारिक सर्भिस सेन्टरले कोटेसन दिएको हो। बीवाईडीको विद्युतीय कार मर्मतमा आधिकारिक बिक्रेता र सर्भिस सेन्टरले मिलेर चर्को शुल्क असुल गर्ने धेयले सामान्य दुर्घटनामा परेको बीवाईडीको एटो थ्रीको मर्मत लागत त्यति धेरै तय गरिएको हो।
दुर्घटनामा परेको बागमती प्रदेश ०१-०३० च ०८४२ नम्बरमा दर्ता भएको बीवाईडी एटो थ्री सामान्य मर्मत गर्दा हुनु पर्नेमा बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स, विराटनगरको सर्भिस सेन्टर र गाडी धनीको समेत मिलेमतोमा बीमा कम्पनीलाई झुक्याएर धेरै दाबी लिन उक्त कोटेसन तय गरिएको पाइएको छ।
सुरुमा २५ लाख रुपैयाँ मर्मत खर्च लाग्नेगरी बनाइएको कोटेसनमा हाइ भोल्टेज ब्याट्री सिस्टम फेर्नु नपर्ने भनिएको थियो। साइमेक्स मुख्य सर्भिस सेन्टरबाट हाइ भोल्टेज ब्याट्री नै फेर्नुपर्छ भनेपछि विराटनगरमा रहेको बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सुपेरियर मोटर्सले ५० लाख ५८ हजार ८ सय २३ रुपैयाँ १० पैसाको कोटेसन बीमा प्रयोजनका लागि सवारीधनीलाई थमाएको हो।
बीमा प्रयोजनबाट रकम असुल्न बीवाईडी कम्पनी र त्यसको आधिकारिक बिक्रेता साइमेक्स इंक नै संलग्न हुँदा विद्युतीय सवारीको बीमा गर्ने कार्य विकृत हुने अटोमोबाइल व्यवसायीहरूको भनाइ छ।
‘बीवाईडीजस्तो कम्पनीले नेपालमा आफ्नै कर्मचारी राखेर काम गर्दा पनि यो तहको घटिया व्यवहारले पूरै विद्युतीय सवारी उद्योगमै असर पर्छ,’ एक अटोमोबाइल व्यवसायीले भने, ‘फेर्नु नपर्ने हाइ भोल्टेज ब्याट्री नै फेर्न लगाउने, कभर फेर्दा हुनेमा सिंगै सामान फेर्न पर्छ भनेर बीमा दाबी गरियो भने यसपछि बीमा कम्पनीले विद्युतीय सवारीको बीमा गर्लान्?’
बीमा प्रयोजनका लागि साइमेक्सकै संलग्नतामा गाडीको मूल्यबराबरकै कोटेसन दिइनु सर्वथा गलत भएको एक मेकानिकल इन्जिनियरले बताए। योभन्दा गम्भीर विषय बीवाईडीका गाडी उत्पादन नै कमजोर रहेको बुझ्न कठीन नभएको ती मेकानिकल इन्जिनियरको भनाइ छ।
‘विद्युतीय कारको सबैभन्दा महँगो भनेकै ब्याट्री हो। ब्याट्री प्याक गरिएको कभर फेर्नुपर्नेमा सिंगो ब्याट्री सिस्टम नै फेर्न लगाउनु बीमा कम्पनी, उपभोक्ता तथा एकप्रकारले राज्य माथिको घात हो,’ ती इन्जिनियरले भने, ‘गाडीको मर्मत नगरेर क्यासलस गरि गाडी धनीलाई नै उक्त गाडी दिइएको विषय अझ पेचिलो बनेको छ।’
रोकेर राखेको ठाउँमा अर्को गाडीले ठक्कर दिएको एटो थ्रीमा सामान्य इम्प्याक्ट दिएको छ। यत्तिको इम्प्याक्टमा ब्याट्री कभर साँच्चै क्राक भएको हो भने त्यो गाडी उत्पादनको गुणस्तरमा प्रश्न उठ्ने अर्का एक इन्जिनियरले बताए।
‘त्यति ठूलो कम्पनीको आरएन्डडीमै प्रश्न त उठाउन गाह्रो हुन्छ। तर लागत कम गरेर सस्तो मूल्यमा कार बजारमा ल्याउँदा धेरै कुरामा कम्प्रमाइज भएको हुन सक्छ,’ ती इन्जिनियरले भने, ‘त्यसरी कम्प्रमाइज गरेर बनाइएको अवस्थामा बिउल्ड क्वालिटीमा स्वभाविक रुपमा प्रश्न उठ्छ।’
अन्य केही इन्जिनियरको राय पनि उस्तै छ। उनीहरूले पनि सामान्य ठोक्किएर बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको हाइभोल्टेज ब्याट्री फेर्न लगाउनुले धेरैलाई ईभीबारे सोच्नुपर्ने बनाएको तर्क गरेका छन्। हाइभोल्टेज ब्याट्री निकै सुरक्षित र बलियो गरि प्याकिङ र प्रोटेक्सन गरिएको हुनाले सामान्य ठोक्किँदैमा साँच्चै फेर्नुपर्ने हुन्छ भने त्यो गाडी उत्पादनको गुणस्तरमै प्रश्न उब्जिएको उनीहरूको जिकिर छ।
यसका साथै अधिकांश सवारी आयातकर्ताहरूले पनि सामान्य ठोक्किएको एटो थ्रीमा फेर्नुपर्ने पार्ट्सको लिस्ट हेर्दा हाइभोल्टेज ब्याट्री फेर्नुपर्छ भनेर कोटेसन बनाउनु आश्चर्यको विषय भएको बताएका छन्। नेपालमा विद्युतीय सवारी आयात गर्ने सबैजसो कम्पनीका सम्बन्धितले यसबारेमा प्रतिक्रिया दिएका थिए। एकजनाले पनि उक्त कोटेसनलाई स्वभाविक भनेनन्। प्रतिस्पर्धी ब्रान्ड भएकाले उनीहरूले धेरै टिप्पणी पनि गरेनन्।
सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीमा १ सय ४२ वटा पार्टपुर्जा फेर्नुपर्ने गरि कोटेसन दिइएको थियो। उक्त एटो थ्रीमा सबैभन्दा कम लागतको पार्ट्स ५ सय ७७ रुपैयाँ ५० पैसादेखि सबैभन्दा महँगोमा २१ लाख ९५ हजार रुपैयाँसम्म लगाइएको छ।
बम्पर कुच्चिएको बीवाईडी एटो थ्री : २५ लाखको कोटेसनलाई बीवाईडी र साइमेक्सको दबाबमा ५० लाख ५८ हजार पुर्याइयो
बम्पर कुच्चिएको बीवाईडी एटो थ्रीको ५० लाख मर्मत खर्च : बीमाबाट कमाउने दाउ कि ‘बिउल्ड क्लालिटी’मा प्रश्न?
५० लाख ५८ हजार मर्मत खर्च लागेको बीवाईडी एटो थ्रीमा के फेर्न कति पैसा लिइयो? पार्ट्सको नाम र मूल्यसहित
सर्भिसमा बीवाईडीको मनोमानी : ५६ लाख ९० हजारको एटो थ्री मर्मत गर्न ५० लाख ५८ हजार रुपैयाँ