काठमाडौं- गैरआवासीय नेपालीको लगानीमा मुलुककै ठूलो औषधि उद्योग बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको ओम मेगाश्री फार्मासिटिकल्सले साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्ने अनुमति दिएको छ। बोर्डले ओम मेगाश्रीलाई १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
पछिल्लो समय एकपछि अर्को औषधि उद्योग संकटमा गइरहेका बेला एनआरएनएहरूको लगानीमा गत वर्षदेखि ओम मेगाश्री फर्मास्युटिकल उद्योग सञ्चालनमा आएको थियो। उद्योगले ५३ थरी औषधिको उत्पादन अनुमति पाइसकेको छ।
२०७४ मै लाइसेन्स पाएको कम्पनीले २०७५ बाट उत्पादन थालेपनि कोरोनाका कारण औपचारिक रुपमा सञ्चालनमा आउन सकेको थिएन। उद्योगले अहिले २७ थरी औषधि उत्पादन थालेको छ। भारतमा समेत निर्यात गर्ने लक्ष्य राखिएको उद्योगको अझै विस्तार गर्दै जाने घोषणासमेत लगानीकर्ताले गरेका छन्।
चितवनको भरतपुर महानगरपालिकास्थित जुगेडीमा कारखाना रहेको यो उद्योगमा एनआरएनएका पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठसहित मेडिकल क्षेत्रका विशेषज्ञ व्यवसायीहरूको लगानी रहेको छ। २०७५ मा स्थापना भएको उद्योगको संरचना निर्माण भने कोरोनाका कारण समयमै सम्पन्न हुन सकेको थिएन।
उद्योगका अध्यक्षसमेत रहेका श्रेष्ठले अहिले उत्पादन सुरू गरेर बल्ल बजारमा पठाइरहेको कम्पनीले जनाएको छ। २२ हजार ४४ वर्गफिटमा फैलिएको उद्योगले उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।
अहिले नेपालको औषधि क्षेत्रमा ४७ प्रतिशत अंशमात्रै नेपाली उत्पादनको रहेको छ। पहिला प्राइभेट कम्पनीको रूपमा दर्ता भएको उद्योग दुई वर्षअघि पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।
कम्पनीको चुक्तापुँजी ६० करोड रहेको छ। जसमा ४२ करोड रुपैयाँ संस्थापक लगानीकर्ताको हुनेछ भने १८ करोड रुपैयाँको सेयर भने जनतालाई दिन लागिएको हो।
नेपालमा अहिले पनि ८० भन्दा बढी औषधि उद्योग रहेका छन्। नेपालमा सानाठूला गरी ५० वटा जति आयुर्वेदिक औषधि उद्योग पनि रहेका छन्।
स्वदेशी औषधिले कुल खपतको ८० प्रतिशत हिस्सा धान्न सक्ने अवस्था रहेपनि नीतिगत व्यवस्थाले गर्दा भारतीय र युरोपियन औषधिमा निर्भर हुनुपर्ने बाध्यता रहेको उद्योगीहरूले बताउँदै आएको छ। नेपालमा अहिले पनि ५० अर्बभन्दा बढी रकमका औषधि बर्सेनि भित्रिने गरेका छन्।
नेपालमा साढे ७ हजार ब्रान्डका विदेशी औषधि दर्ता भएका छन्। क्यान्सर, एचआइभी/एड्स, न्यूरोसम्बन्धी, मिर्गौलालगायत क्रिटिकल केयरका रोगीलाई खोपबाट दिइने औषधि आयात गर्नुपर्ने अवस्था छ।
एनआरएनएसहितको १ अर्ब २२ करोड लगानीमा चितवनमा खुल्यो अत्याधुनिक औषधि उद्योग