सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित, विपन्न नागरिकलाई पनि लगानीको अवसर

images
बुधबार, मंसिर १९ २०८१
images
images
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित, विपन्न नागरिकलाई पनि लगानीको अवसर

कार्यक्रमअनुसार, जलविद्युत आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकलाई बिनाधितो सहुलियत दरमा कर्जाको व्यवस्था गरिने जनाइएको छ।

images
images

काठमाडौं- सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ। कुल चार हजार पाँचसय मेगावाट क्षमताका २२ आयोजनालाई सो कार्यक्रममा समावेश गरिएको छ।

images
images
images

आम नागरिकलाई जलविद्युत् आयोजनामा बढीभन्दा बढी लगानीको अवसर प्रदान गर्ने, विपन्न र कमजोर आर्थिक अवस्थाका नागरिकलाई पनि लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ ‘जनताको जलविद्युत् कार्यक्रम’ को दोस्रो संशोधन गरिएको छ। यसअघि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले सो कार्यक्रम अगाडि सारेका थिए। 

images

कार्यक्रमअनुसार, जलविद्युत आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकलाई बिनाधितो सहुलियत दरमा कर्जाको व्यवस्था गरिने जनाइएको छ। सो कार्यक्रमअन्तर्गत चारसय ८२ मेगावाट क्षमताको अरुण किमाथांका, एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण, ३० मेगावाटको इखुवा र तीनसय ७२ मेगावाट क्षमताको अरुण चार रहेको छ। ती सबै आयोजना सङ्खुवासभा जिल्लामा अवस्थित छन्। 

images
images
images

ताप्लेजुङमा आयोजना स्थल रहेको ७२ मेगावाटको घुन्साखोला र ७० मेगावाटको सिम्बुवा खोला जनताको जलविद्युत् कार्यक्रममा समावेश छ। झण्डै एकसय मेगावाट क्षमताको तामाकोशी पाँच, ३७ मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री-बी’ लाई पनि सरकारले सोही कार्यक्रममा समावेश गरेको छ।

गोरखामा आयोजना रहेको ६० मेगावाट क्षमताको बुढीगण्डकी ग्वारखोला, एकसय मेगावाटको बुढी गण्डकी प्रो ‘क’, ७५ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ पनि क्रमशः सोही कार्यक्रममार्फत अगाडि बढाइने भएको छ।

नदी पथान्तरण आयोजनाअन्तर्गत रहेको भेरी बबई डाइभर्सन आयोजना पनि जनताको जलविद्युत् कार्यक्रममा समावेश छ। सो आयोजनाको क्षमता ४८ मेगावाट बराबर छ। यस्तै, चारसय ९२ मेगावाट क्षमताको फूकोट कर्णाली पनि प्रक्रियामा अगाडि बढेको छ।

डोल्पा र जाजरकोटमा आयोजनास्थल रहने ९२ मेगावाट क्षमताको जगदुल्ला-१ र ६५ मेगावाट क्षमताको जगदुल्ला-२ लाई आमनागरिकको लगानी रहने गरी कार्यक्रममा समावेश गरिएको छ।

बझाङमा आयोजनास्थल रहेको दुईसय एक मेगावाट क्षमताको चैनपुर सेती, एकसय ६३ मेगावाट क्षमताको सेती नदी तेस्रो र ५० मेगावाटको अपर सेतीलाई सरकारले जनताको लगानी रहने गरी अगाडि बढाउन लागेको छ। 

हालैमात्र निर्माण सम्पन्न भइ सञ्चालनमा आएको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाट क्षमताको साञ्जेन र एकसय ११ मेगावाट क्षमताको रसुवागढी पनि जनताको जलविद्युत् कार्यक्रममा समावेश छ।

विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युतको सेयर सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम अगाडि सारिएको र थप व्यवस्थित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ। 

हालसम्मको अभ्यासका आधारमा ‘जनताको जलविद्युत् कार्यक्रम’ लाई थप परिस्कृत गरिएको छ। गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर दुई लाख रूपैयाँदेखि अधिकतम पाँच लाख रूपैयाँसम्म बिनाधितो सहुलियत कर्जा उपलब्ध गराइ लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।

प्राकृतिक स्रोत माथिको अधिकार सबै नागरिकमा समान हुने भएकाले आर्थिक हिसाबले विपन्न नागरिकलाई समेट्ने गरी जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजना गर्ने उद्देश्यले सेयर लगानी गर्ने र त्यसको प्रतिफल सुनिश्चित गरिएको छ। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार, प्राकृतिक स्रोतमाथिको अधिकार सबै नागरिकमा सुनिश्चित गर्न गरिब तथा विपन्न घरधुरीलाई विना धितो सहुलियत कर्जाको व्यवस्था गरिएको हो।

'स्रोत माथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्धि हासिल हुन सक्दैन', मन्त्री खड्काले भने।

नेपाल सरकारले परिभाषा गरेका विपन्न नागरिक र स्थानीय तहले सिफारिस गरेका विपन्न नागरिकलाई प्राथमिकता दिनेछ। नहुनेका लागि उक्त कार्यविधि ल्याइएको र घरधुरीको आधारमा सेयरको व्यवस्था गरिएको छ। 

विपन्नलाई आर्थिक विकासमा सघाउने र सरकारको संकल्पका रुपमा रहेको समृद्ध मुलुक निर्माणका लागि जनताको जलविद्युत् कार्यक्रम थप प्रभावकारी हुने विश्वास लिइएको छ। परिमार्जित व्यवस्थाअनुसार, न्यून आय भएका राष्ट्रसेवक कर्मचारीले पनि सो कार्यक्रममा समावेश आयोजनामा लगानी गर्न सक्छन्।

सरकारले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। सो लक्ष्यअन्तर्गत जनताको जलविद्युत् कार्यक्रम पनि एक भएकाले थप व्यवस्थित गरिएको मन्त्रालयको भनाइ छ। कार्यक्रमअन्तर्गत यसअघि आयोजना प्रभावित जिल्ला र प्रसारण लाइन रहेका जिल्लाका विपन्न बासिन्दामा लागु गरिए पनि क्रमशः उक्त व्यवस्था मुलुकभर लागु गरिनछ।

जलविद्युत् आयोजनाको सेयर खरिदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आर्थिक रूपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैंक तथा वित्तीय संस्थामार्फत शतप्रतिशत बिनाधितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनका लागि कम्पनीले मन्त्रालयको सहयोग लिइ आवश्यक व्यवस्था मिलाउने छ।

स्थानीय सरकारले दिएको घरधुरीको सङ्ख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरूको सेयरको सुनिश्चितता सरकारले लिनेछ। सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि अगाडि सारिसकेको छ। 

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य विपन्न वर्गको जीवनस्तर उकास्नका लागि उक्त कार्यविधि संशोधन गरिएको बताउँछन्। सो कार्यक्रमले गरिबीको रेखामुनि रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने र समग्रमा राष्ट्रिय मानव विकास सूचाकांकमा यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले विश्वास लिएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर १९ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend