वीरगञ्ज- बाढीले क्षतिग्रस्त गण्डक नहरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भत्केको नहरको डिल, कल्भर्ट तथा पुल, सहायक नहरलगायत मर्मतका लागि १० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ।
पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लाको विभिन्न स्थानमा वर्षा र बाढीको पानीले क्षति पुर्याएपछि गण्डक नहर पूर्णरुपमा सञ्चालनमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगन्जका इन्जिनियर एवं सूचना अधिकृत सुरेशप्रसाद साहले जानकारी दिए।
‘नहरका संरचनामा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘यसलाई चाँडै नै मर्मत नगरिए आउदो गहुँको सिजनमा किसानको खेतसम्म पानी पुर्याउन कठिन हुन्छ।’
भत्केको नहरलाई सञ्चालन गर्न कार्यालयसँग पर्याप्त बजेट नरहेको र यसको लागि माथिल्लो निकायसँग समन्वय भइरहेको उनले बताए।
सबैभन्दा बढी पर्सा जिल्लामा नहर र यसका संरचनामा क्षति पुगेको उनले बताए। पर्सामा गण्डक नहरको ब्याकअपको रुपमा रहेको तिलाबे ब्यारेजको संरचनासमेत क्षतिग्रस्त भएको इन्जिनियर साहको भनाइ छ।
उनका अनुसार तिलावे ब्यारेजसँगै रहेको गण्डक नहरको तिलावे पुल पनि क्षतिग्रस्त भएको छ। पुल क्षतिग्रस्त भएपछि त्यस क्षेत्रका जनतालाई आवतजावतमा समेत कठिनाइ भइरहेको छ। बाढीको कारण पर्सामा मात्रै करिब ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
यसैगरी बाराको फेटा गाउँपालिकामा नहरको करिब साढे ३ सय मिटर लम्बाइको डिल भास्सिएर नहर पुरिँदा करिब २ करोड बराबरको क्षति भएको छ।
कलैया उपमहानगरपालिका-२२ बसतपुरमा पनि करिब १५ मिटर नहरको डिल भास्सिएर करिब ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बाराकै आदर्श कोतवाल गाउँपालिकामा नहरमा पानीको तीब्र प्रवाहले नहर गेट भत्किएको छ। बाराकै सिम्रौनगढ नगरपालिकाको गंगानगरमा करिब १५ मिटर नहरको उत्तरी डिल भास्सिएको छ।
रौतहटको राजपुर गाउँपालिकाको कोपुवामा करिब ७५ मिटर लामो नहरको पक्की एप्रोच सडक बगेर नहरमा करिब ४० फिट खाल्डो भएको छ।
‘समग्रमा तीनवटै जिल्लामा गरी १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,’ उनले भने, ‘भत्किएका संरचना तत्कालै मर्मत सम्भार गर्न संघीय जलस्रोत तथा सिँचाइ विभागले बजेटको व्यवस्थापन गर्नु पर्ने अवस्था छ।’
नहरमा पानी प्रवाह गर्न हाल भत्किएका नहरका मुख्य र सहायक संरचनाहरूको मर्मत सम्भार तथा व्यवस्थापन नगरी सम्भव नरहेको इन्जिनियर साहको भनाइ छ।
‘समय अत्यन्त कम छ, तत्कालै बजेट निकासा गरी नहरको मर्मत सम्भार र व्यवस्थापन गरिएन भने हिउँदमा तीनवटै जिल्लाका किसानले गण्डक नहरबाट गहुँ बाली सिञ्चित गर्न सक्दैनन्,’ उनले भने, ‘यसले गहुँ बालीको उत्पादन नै घट्ने सम्भावना बढेको छ।’ जतिसक्दो चाँडो नहर मर्मतको लागि बजेट व्यवस्थापन गर्न सरकारसँग उनले आग्रहसमेत गरे।
नेपाली बजारमा गहुँको माग बढेपछि अहिले नै सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने जनाएको छ। आउने सिजनमा समेत यस्तै समस्या रहिरहे गहुँ आयात झनै बढ्ने छ। अहिले बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल थालेको हो। भारत सरकारसँग गहुँको आयातका विषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताएका छन्।
नवलपरासीस्थित नेपाल भारत सीमामा निर्मित गण्डक ब्यारेजबाट यो नहरमा पानी आउने गर्छ। उक्त ब्यारेजबाट दोन, त्रिवेणी र तिरहुत गरी तीनवटा नहर निस्किएका छन्। दोन नहर भारतमै ९२ किलोमिटर यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ। नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरको नामले चिनिन्छ।
पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किलोमिटर रहेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले जनाएको छ।
सन् १९७५ र १९७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियो। गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीनवटै जिल्लाका ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भएपनि रौतहटमा लक्षित सिँचाइ सुविधा नहरले दिन नसकेको कार्यालयका अधिकारीहरूको भनाइ छ ।