काठमाडौं- 'धेरै रिसाउनुभो रक्सी खान जाम भन्ने साँढेलाई राखेर बोर्ड चल्छ?', संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको भाषणको मुख्य वाक्यांश हो यो, 'अब यहाँ साँढेहरूलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ। अब त्यो साँढे कस्तो हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ।'
नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई गाली गर्न मात्रै मञ्च प्रयोग गरे। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा गर्नुपर्ने काम र केही नयाँ योजना सुनाउनभन्दा गाली गर्नमै मन्त्री आले रमाए।
त्यसको केही घण्टामा नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा पनि उनको भाषणको मुख्य केन्द्रमा रेग्मी नै रहे। त्यहाँ त मन्त्री आलेले रेग्मीले सर्टिफिकेट चोरेको भन्दै खुलासा शैलीमा आरोप लगाइदिए, 'त्यो धनञ्जय रेग्मी भन्ने मान्छेले सर्टिफिकेट पनि चोरेर ल्याएको रहेछ।'
पर्यटन प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापना गरिएको पर्यटन बोर्डलाई मन्त्रीले आफ्नो निजी सचिवालयलाई समेत भन्न नमिल्ने शैलीमा भनिरहेको यो पहिलोपटक भने होइन। केही सातायता नै मन्त्रीको यो शैली हरेकजसो सार्वजनिक मञ्चहरूमा दोहोरिरहेको छ।
मन्त्रीले सहकार्य गर्नुपर्ने निकायका कर्मचारीलाई यसरी गाली गर्दै हिँडिरहँदा आफ्नै छबी कस्तो भइरहेको छ भन्नेमा ख्याल गर्न सकेका छैनन्। वरपर रहेर सुन्नेले बजाइदिएको ताली र हाँसोमा उनी थप उचालिएर गाली गर्ने गरिरहेका छन्।
गत नोभेम्बरमा लन्डनमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) आयोजना भएको थियो। विश्वभरका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू कार्यक्रममा सहभागी भएका थिए। जसमा नेपालबाट बोर्डका सीईओ रेग्मी र म्यानेजर लक्ष्मण गौतमका साथै पर्यटनमन्त्री आले, तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी सहभागी भएका थिए।
पर्यटनमन्त्री आले र बोर्डका सीईओ रेग्मीबीचको सम्बन्ध बिग्रन थालेको त्यसै कार्यक्रमबाट फर्किएपछि हो। डब्लूटीएमबाट फर्कंदा सीईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीसँग लफडा गरेको, बोर्ड हित विपरीत काम गरेको भन्दै कामकाजमा रोक लगाउने निर्णय भयो। जसमा उनलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको छ।
कानूनी रुपमा समाधान हुनुपर्ने अनुसन्धानको विषयमा पर्यटनमन्त्री आलेले आफ्नो हुकुमी शैली देखाउन खोज्दा समस्या व्यक्तिगत बनिरहेको छ।
'म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले, लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैँ होटेल खोजेर आफ्नै पकेटबाट खानुपर्ने', शुक्रबार बोर्डको स्थापना दिवस कार्यक्रममा मन्त्री आलेले भने, 'तर सीईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्नेमात्र रहेछ। अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ। त्यो त मुलुककै बेइज्जत भयो। म इरिटेड भएँ। यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ?'
अझ उचालिएर उनले थपे, 'आज तपाईं रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ। दुःखको साथ भन्न चाहान्छु लन्डनमा हुँदा ६ बजे कार्यक्रम भन्यो साढे ७ मा सुरू भयो। डेढ घण्टा म चिसोमा उभिएँ। सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे साइडमा बसेँ। हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ। आफ्नै आँखाले देखिरहेको छु। मलाई पनि खा भन्छ। पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई।'
मन्त्री विदेशमा हुने कार्यक्रममा जाँदा कार्यक्रमबारेको अध्ययन, त्यसको ढाँचा, आफूले गर्नुपर्ने काम आदि केही अध्ययन हुनु पर्ने हो या होइन? यो विषय मन्त्री आलेलाई थाहा छैन। विदेश जाने भनेपछि 'घुम्न हुन्छ जाउँ न त' भन्ने शैलीमा मन्त्री भएको एक महिनामै हतारिएर हिँडेका उनी अहिले त्यही विषयमा आफू चोखिन अर्को व्यक्तिलाई लगातार गाली गर्दै हिँडिरहेका छन्।
सीईओ रेग्मीलाई इङ्गित गर्दै उनी थप्छन्, 'लन्डनमा पुरानो व्यवसायी हुनुहुन्छ नेपाली साथी। उहाँले डिनरमा बोलाउनुभयो। त्यहाँ गइसकेपछि भटाभट ह्वीस्की तानेको छ। के कामको लागि आएको भन्ने मतलबै छैन। यस्तो मान्छेलाई सीईओ बनाइएर चल्छ? चारवटा गाडी टोयोटाको बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ।'
इमानको विषयमा बोलिरहँदा मन्त्री आलेले आफूले लन्डनको त्यही कार्यक्रमबाट फर्कंदा भन्सार छलेर ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी कसरी ल्याएँ भन्नेबारे भने बोलेनन्। एउटै कार्यक्रममा जान अन्य सहभागीले भने १ लाख ३८ हजार रुपैयाँमा किनेको टिकटलाई आफूले कसरी १२ लाख ३५ हजार रूपैयाँ खर्चिएँ भन्नेबारे पनि बोलेनन्। कानून मिचेर ५० हजारभन्दा बढी डलर कसरी लगेँ भन्ने बताएनन्।
चिनीको नाम जपेर मुख गुलियो हुँदैन भन्ने नबुझेर होला सुशासन गफ गरेरभन्दा काम गरेर नै देखाउने विषय हो भन्ने मन्त्री आलेलाई थाहा छैन। उनले पदभार सम्हालेदेखि नै के र कसरी काम गरिरहेका छन् भन्ने विषय जगजाहेर नै छ। आफूले के गर्नुपर्छ र के गर्छु भन्नेमा र आफूमाथि उठेका प्रश्नको जवाफ दिनमा भन्दा उनी बोर्डका सीईओलाई गाली गरेर आफ्नै अनुहार अँध्यारो पारिरहेका छन्।
बोर्डका सीईओ रेग्मीप्रति मात्र होइन मन्त्री आलेको स्वभाव अन्य आफू मातहतका कर्मचारीप्रति पनि राम्रो छैन। झडङ्ग हुने र आमाचकारी गाली गर्ने मन्त्रीको स्वभावले आफूहरू आजित भइरहेको मन्त्रालयकै कर्मचारीहरू अनौपचारिक कुराकानीमा बताउँछन्। उनले कतिपय विषयमा आमने सामने हुँदा कर्मचारीलाई गरिरहेको गाली अहिले त सार्वजनिक मञ्चमा नै देखाउन थालेका छन्।
मन्त्री आलेले भाषणमा व्यक्तिगत रूपमा कर्मचारीहरूलाई गरिरहेको गाली सुन्नेका लागि हाँसो र मनोरञ्जनको माध्यम बनिरहेको छ। बाहिर सुशासनको कुरा गर्ने उनको भित्री शैलीबारे उनकै भाषणमा ताली बजाउनेलाई पनि थाहा भएकै विषय हो। त्यसैले मन्त्री पदमा बसेर उनी 'मनोरञ्जनको साधन मात्र' बनिरहेको सुहाएको छैन।
वायुसेवा निगममा महाप्रबन्धकलाई हटाएर कार्यकारी अध्यक्ष बनाउने विषयदेखि मन्त्री आलेले आफ्नो स्वार्थअनुसार काम नगरेको भन्दै सचिव यादवप्रसाद कोइरालालाई सरुवा गराएको या पर्यटन विभागले गरेको टेन्डर आफ्नो मान्छेलाई दिन नपाउने भएपछि ठेक्का नै रद्द गर्न लगाएको विषय साथै अवैध सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका गुन्डा नाइकेलाई बिनाअध्ययन क्यासिनो सञ्चालनको अनुमति दिँदा या बजेटमा नराखिएको विमानस्थलका लागि प्राधिकरणको बजेटमा जवरजस्त रकम विनियोजन गराउँदा होस् मन्त्री आले सधैँ 'नांगिरहेकै' छन्।
उनी मन्त्री हुन्, काम गर्ने ठाउँमा छन्। जवाफ दिने ठाउँमा छन्। आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिने र आफूले लगाएका आरोपहरू प्रमाणित गरेर सही साबित हुन उनलाई केहीले नरोक्नु पर्ने हो। उनले बोलेका विषयहरूमा सत्यता छ भने त्यसमा कानूनी रुपमा कारबाही गर्न उनले काम थाल्न सक्छन्। निर्देशन दिन सक्छन्। आफ्नो कामबाट जवाफ दिन सक्छन्। तर 'भट्टीको झगडा चौतारोमा लगेजसरी' मनपरि गाली गर्दै हिँड्न लोकतान्त्रिक समाजमा मिलिजुली सरकारका समाजवादी मन्त्रीलाई सुहाउँदैन।
गर्जने बादल बर्संदैन भनेझैँ मन्त्री आलेको काम गर्ने छाँट देखिएको छैन। कामका विषयमा कोही भेट्दा 'नाम त थाहै होला... प्रेम आले! आ पनि ले पनि' भन्दै उनले घुस माग्ने गरेको कर्मचारी वर्गको आरोप उनका गतिविधिले देखाइरहेकै छन्। त्यसमा पनि उनको 'गाली पुराण'ले उनकै स्वभाव छताछुल्ल भइरहेको छ। मन्त्रीको जिम्मेवारी र शैली आफ्नो वशको विषय होइन भन्ने उनले प्रष्ट्याइरहेका छन्। 'ठेकेदारी शैली'बाट उनी कानूनी राज्यको मन्त्री हुन सकेका छैनन्।