बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आफ्नो मान्छेलाई टेन्डर दिलाउन पर्यटनमन्त्री आलेले गरे हिमालयन र बडिमालिका ट्रेलको १५ करोडको ठेक्का रद्द

मन्त्री, सचिव र महानिर्देशकबीच भनाभन

सोमबार, कात्तिक २९ २०७८
आफ्नो मान्छेलाई टेन्डर दिलाउन पर्यटनमन्त्री आलेले गरे हिमालयन र बडिमालिका ट्रेलको १५ करोडको ठेक्का रद्द

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले पर्यटन विभागले गरेको टेन्डर आफ्नो मान्छेलाई दिन नपाउने भएपछि ठेक्का नै रद्द गर्न निर्देशन दिएका छन्।

पर्यटन विभागले कात्तिक ११ गते हिमालयन ट्रेल र बडिमालिका ट्रेलको मर्मत सम्भारका लागि भन्दै डेन्टर गरेको थियो। विभागले मंसिर १ गतेसम्मको समय सीमा दिएर टेन्डर गरेको थियो।

तर टेन्डरमा सहभागी हुन चाहने कम्पनीले आवदेन दिन पाउने समय ३ दिन बाँकी रहेकै अवस्थामा आफ्नो आसेपासेलाई टेन्डर दिनुपर्ने भन्दै टेन्डर नै रद्द गर्न मन्त्रीले दबाब दिएका हुन्। मन्त्री आलले आफ्नो मान्छेले पाउने गरी पुनः टेन्डर गर्नेसमेत निर्देशन दिएका छन्।

मन्त्री आलले सोमबार दिउँसो पर्यटन विभागमा महानिर्देशक तारानाथ अधिकारीलाई मन्त्रालयमै बोलाए टेन्डर रद्द गर्न दबाब दिएका हुन्। मन्त्रीको दबाबपछि महानिर्देशक अधिकारीले टेन्डरसमेत रद्द गरेको बुझिएको छ।

विभागले ग्रेट हिमालयन ट्रेलको धौलागिरी राउण्डको रुइसे डाँडादेखि धौलागिरी आइसफलसम्म र ग्रेट हिमालय ट्रेलकै मनास्लु क्षेत्रको रुबिनाला फेदेखि हुँदै रुबिनाला पास-ठाडो बोराङ र सामागाउँ-वीरेन्द्र ताल हुँदै मनास्लु बेसक्याम्पसम्म कामका लागि टेन्डर गरेको थियो।

साथै विभागले बाजुराको बडिमालिका ट्रेलको बोल्दे-फाइमा भण्डार गृह हुँदै मनागाउँको लागि अर्को टेण्डर गरेको थियो। याे ३ वटा कामका कुल लागत १५ कराेड रुपैयाँ बराबरी रहेको छ।

यसरी भएको टेन्डरमा आफ्नो मान्छे लाई प्रवेश गराउन नसक्ने भएपछि मन्त्री आलेले विभागका महानिर्देशक अधिकारीलाई नै मन्त्रालयमा बोलाएर रद्द गर्न लगाएको मन्त्रालय स्रोतको भनाइ छ।

मन्त्रालय स्रोतका अनुसार टेन्डरमा सहभागी हुन सक्ने समय भएकै बेला टेन्डरमा समस्या भएको भए सर्तसहित संशोधन गर्ने वा समय थप्ने व्यवस्था हुँदा हुँदै मन्त्री आलले ठेक्का नै रद्द गर्ने निर्देशन दिएका हुन्।

मन्त्री, सचिव र महानिर्देशकबीच भनाभन

छलफलमा बोलाएका आलेले आफ्नो सचिवालयका कर्मचारीसँगै सचिव र महानिर्देशकलाई समेत सँगै राखेको थिए। मन्त्री आलेले सिधै तपाईंहरुले गर्नु भएको ठेक्का रद्द गर्नु भनेपछि केही समय भनाभन भएको स्रोतले जानकारी दिएको छ।

मन्त्रीले ठेक्का रद्द गर्न भनेपछि अधिकारीले 'ठेक्का प्रक्रियामा के कमजारी भयो र मन्त्रीज्यू' भनेर सोधेका थिए। तर मन्त्रीले हामीलाई नसोधी कुनै एक कम्पनीलाई ठेक्का दिन गरी टेन्डर भएको छ यसलाई रद्द गनुहोस् भन्दै विभागका महानिर्देशक अधिकारीलाई हप्काउन थाले।

‘मन्त्रीले हप्काउन थालेपछि सचिव यादव कोइरालले मन्त्रीज्यू कार्यक्रममा परेका योजनालाई बजेट स्वीकृत भएपछि काम गर्ने निकायले नै काम गर्ने हो,’ स्रोतले भन्यो,‘  सबै काम सोधिरहनु नपर्ने बताउँदा पनि आलेले अधिकारीलाई हप्काउँदै ठेक्का रद्द गर्न दबाब दिइरहे। आलेको हप्काइ सहन नसकेपछि अधिकारीले भने हवस भनेर जवाफ दिए।’

छलफलमै सचिवालयका केही कर्मचारीले भिडियो खिच्न थालेपछि भिडियो भने नखिच्न सचिवले नै निर्देशन दिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार मन्त्रीले ठेक्कामा भएको सर्त परिमार्जन गर्न वा समय थप गर्ने निदेशन दिनु पर्ने भए पनि सिधै ठेक्का नै रद्द गर्ने दबाब दिएका हुन्।

यो विवादको जड विषय भने नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रहेको स्रोतको दाबी छ। 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend