शनिबार, साउन १२ गते २०८१    
images
images
images
दुईपांग्रे एसेम्बलको अन्तरकथा

सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय

images
शुक्रबार, जेठ ४ २०८१
images
images
सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय

कम्पनीलाई मोटरसाइकल सस्तो हुँदा बिक्री संख्या बढाउने अस्त्र बनेपनि उपभोक्ताको सुरक्षामाथि भने गम्भीर खेलबाड गरिएको छ।

images

काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकलको मूल्य केही घटाएर उपभोक्ता आकर्षित गर्नका लागि महत्वपूर्ण सुरक्षा पार्ट्स झिक्नबारे त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमिटिभ र टीजी अटोले चालबाजी अपनाउँदै व्यापक छलफल गरेरै काम गरेको पाइएको छ। चलाखीपूर्ण रुपमा मूल्य कम गरी उपभोक्तालाई राहत दिएको देखाउन सुरक्षा विशेषता कम गर्दै कपटपूर्ण काम भएको छ। 

images
images

रोयल इनफिल्ड मोटरसाइकल प्रिमियम ब्रान्ड हो। बेलायती ओरिजिनको यो ब्रान्डको पूर्णस्वामित्व अहिले भारतीय कम्पनी आइसर मोटरसँग रहेको छ। यही ब्रान्ड विगतमा दुगड समूहले बिक्री गर्दै आएको थियो। त्यतिबेला ब्रान्डमाथि कुनै प्रश्न उठेको थिएन। 

images

जब रोयल इनफिल्ड मोटरसाइलकको आधिकारिक बिक्रेता दुगडबाट त्रिवेणी समूहले खोस्यो तब यो ब्रान्डले आफ्नो विरासतको विश्वास गुमाउँदै गइरहेको छ। सुरक्षा र थ्रिलिङका लागि चिनिएको रोयल इनफिल्डका मोटरसाइकलमा सुरक्षाका लागि महत्वपूर्ण पार्टस् एबीएस र डिस्कब्रेक झिकेर टीजी अटो ग्रुप र अल्फा अटोमोटिभले उपभोक्तामाथि कुठाराघात गरिरहेको छ। 

२०७८ चैतमा दुगड समूहबाट रोयल इनफिल्ड ब्रान्ड खोसिएको थियो। त्यसलगत्तै सोही महिना त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालि रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको थियो। 

images

२०७९ भदौमा मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुपमार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्नेगरी कम्पनी दर्ता गरेको थियो। उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापना भएको छ। उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने जनाइएको छ।

उक्त समयमा सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै ठूलो इन्जिन क्षमताका कार तथा मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको थियो। सोही समयमा त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ र टीजी अटो ग्रुपको टोली काम विहीनजस्तै थियो। त्यतिबेला रोयल इनफिल्डका मोटरसाइकलको सस्तो मोडलको मूल्य नै साढे ६ लाख रुपैयाँ थियो। सुरक्षा विशेषता झिकेर खोक्रो बनाइएको रोयल इनफिल्ड मोटरसाइकलको सुरुवाती मूल्य साढे ४ लाख रुपैयाँ निर्धारण गरेको छ। 

रोयल इनफिल्ड ब्रान्ड दुगडबाट खोसाउन एकवर्षअघि नै त्रिवेणी समूह आएका मेघराज पैडेललाई बिक्री संख्या बढाउनु पर्ने ठूलै दबाब थियो। त्यसका लागि नेपालमै रोयल इनफिल्डको मोटरसाइकल एसेम्बल गर्ने र मूल्य घटाउन के-कसो गर्न सकिन्छ भनेर ट्रेडिङ गर्ने अल्फा अटोमिटिभ र एसेम्बल गर्ने टीजी अटो ग्रुपले मूल्य घटाउनेबारे दुई महिनासम्म घनिभूत छलफल गरेको तथ्य फेला परेको छ। त्यतिबेलासम्म सरकारले नेपालमै एसेम्बल गर्न आयात गरिनरे सीकेडीमा दुई तह कर छुट दिने नीति ल्याइसकेको थियो।

टीजी अटोमोटिभका हर्ष संघई र मेघराज पौडेलसहित उच्च व्यवस्थापकीय छलफलमा रोयल इन्फिल्ड नेपालमा उत्पादन गर्दा कम आवश्यक पर्ने पार्टपुर्जा झिकेर सस्तोमा कसरी ल्याउन सकिन्छ भन्नेमै केन्द्रित थियो। त्यसक्रममा नेपालमा सवारी उत्पादनको कुनै कानून नभएकाले सुरक्षा विशेषता झिकेरै मोटरसाइकलको मूल्य घटाउने निष्कर्षमा पुगेको हो। त्यसमा उनीहरूले एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम), डिस्क ब्रेकलगायत ४/५ वटा विशेषता झिक्ने निर्णय टीजी र अल्फाले गरेको थियो। 

यसरी एबीएससहितका विशेषता झिकेर मोटरसाइकल एसेम्बल गर्दा टीजी अटोले प्रतिमोटरसाइकल एक लाख रुपैयाँभन्दा बढी मूल्यको सामान झिकेर मोटरसाइकल बनाएको छ। कम्पनीलाई मोटरसाइकल सस्तो हुँदा बिक्री संख्या बढाउने अस्त्र बनेपनि उपभोक्ताको सुरक्षामाथि भने गम्भीर खेलबाड गरिएको छ। 

यसबारेमा सोही छलफलमा सहभागी केहीले भने ठूलो इन्जिन क्षमताको मोटरसाइकलमा एबीएस जस्तो महत्वपूर्ण सुरक्षा विशेषता झिक्न नहुने कुरा उठाएका थिए। केही प्राविधिक तथा उच्च व्यवस्थापकहरूले नै एबीएस झिक्दा उपभोक्तामाथि अपराध नै हुने राय राखेका थिए। तर कम्पनीले गर्ने निर्णयमा उनीहरूको रायले कुनै स्थान पाएन। टीजी अटो ग्रुप र अल्फा अटोमोटिभसँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गरेर छलफलमा सहभागीहरूको राय लिएर बिजनेस न्युजले यो तथ्य पत्ता लगाएको हो। 

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालि हो। यही समूहअन्तर्गतको अर्काे कम्पनी टीजी अटो ग्रुप प्रालिले रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गरेर अल्फा अटोमोटिभलाई बिक्री गर्छ। भारतमा जुन विशेषता र कम्पोनेन्ट राखेर रोयल इनफिल्डका मोटरसाइकल उत्पादन भइरहेको छ नेपालमा भने त्यसलाई ‘कस्टमाइज’ गरेर ‘एबीएस’ र पछाडिको ‘डिस्क ब्रेक’लगायत अन्य ४/५ वटा विशेषता झिकिनु उपभोक्तामाथिको ठगी हो। 

यसरी भारतमा त अनिवार्य नै गरिएको सुरक्षासम्बन्धी विशेषता झिकेर नेपालमा रोयल इनफिल्ड एसेम्बल भइरहँदा उपभोक्ता त ठगिएका छन् नै सडकमा हुने जोखिमसमेत बढेको छ। 

सवारीसाधन एसेम्बलको विषयमा हामी किन यति कमजोर भयौँ भन्ने समीक्षा आवश्यक देखिएको यातायात व्यवस्था विभागका पूर्वप्राविधिक निर्देशक गोविन्दप्रसाद खरेल र सदर अधिकारी बताउँछन्। सवारी उत्पादनसम्बन्धी कानून नभएको बहानामा कुनै देशमा निश्चित गरिएको उत्पादनलाई तोडमोड गरेर एसेम्बल गर्न नपाइने उनीहरूको दाबी छ। 

‘अटोमोबाइल इन्जिनियरिङ’मा सवारीसाधनबारेको योजना, डिजाइन, निर्माण र स्तरवृद्धिका सबै विषयमा पछाडि फर्कनेभन्दा थप परिस्कृत गर्नेतर्फ नै विश्व लागिरहेको उनीहरू बताउँछन्। यस्तोमा केही सस्तो हुने नाममा भएकै सुरक्षा विशेषतासमेत झिकेर सवारी निर्माण गर्न नहुने उनीहरूको मत छ। 

१ सय ५० सीसीसम्मका मोटरसाइकलमा एबीएस अनिवार्य भइसकेको अवस्थामा टीजी अटो ग्रुपले ३ सय ५० सीसीको रोयल इनफिल्डको मोटरसाइकलमा एबीएस झिक्नै मिल्दैन थियो। भारतमा १ सय ५० सीसीसम्मका मोटरसाइकलमा एबीएस अनिवार्य छ। नेपालमा हालसम्म सवारीसम्बन्धी यस्तो निश्चित मापदण्ड नै छैन। कानून नभएको अवस्थामा एबीएस झिकेर उपभोक्तामाथि अपराध गर्न नहुने इन्जिनियरहरूको भनाइ छ। 

एबीएस मोटरसाइकल तथा गाडीहरूमा प्रयोग गरिएको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउने प्रविधि हो। यसको प्रयोगले एक्कासी ब्रेक लगाउनु पर्दा टायरलाई फस्न वा जाम हुनबाट पनि बचाउँछ। अचानक ब्रेक लगाउँदा हुनसक्ने दुर्घटना रोक्न पनि यसले महत्वपूर्ण भूमिका खेल्छ। यसको सहयोगले ब्रेक अचानक लगाउँदा मोटरसाइकलको सन्तुलन बिग्रँदैन।

संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर उत्पादन हुने सवारीसाधनमा सुरक्षाबारे एकरुपता हुनुपर्ने बताएको छ। नेपाल संयुक्त राष्ट्र संघ तथा डब्लूएचओको सदस्य भएको र बडापत्रमा हस्ताक्षर गरेकाले उक्त नियम नेपालले पनि पालना गर्नुपर्ने हुन्छ। सडक सुरक्षा तथा सवारीसाधनलाई सुरक्षित रुपमा गुडाउन विभिन्न मापदण्ड तय गरिएको छ। 

संयुक्त राष्ट्र संघले सवारी सुरक्षाका ८ वटा आधारभूत विषय (भेहिकल सेफ्टी फन्डामेन्टल्स) तयार गरेको छ। जसको आठौँ नम्बर बुँदामा मोटरसाइकल एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) (आर७८) हुनुपर्ने उल्लेख गरेको छ। 

नेपालमा भने जानाजान कानून नभएको फाइदा उठाउँदै संयुक्त राष्ट्र संघले नै तय गरेको मान्यताविपरीत टीजी अटो ग्रुपले आइसर मोटर इन्डियालाई प्रभावित पारेर एबीएस, एउटा डिस्क ब्रेकलगायत विशेषता झिकेर मोटरसाइकल एसेम्बल गरिरहेको छ। बजारमा अस्वस्थ्य प्रतिस्पर्धा सृजना गर्न र मूल्य घटाएको बहानामा बिक्री नम्बर निकाल्न टीजी अटो ग्रुपले ‘प्राविधिक अपराध’ गरिरहेको छ।

रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११५:३८
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend