शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

‘ब्रान्ड लिगेसी र विश्वसनीयता’बिनाका विद्युतीय स्कुटर : उपभोक्ताले दुःख पाउने मेसो, छैन प्रभावकारी नियमन

आयातमा विदेशी मुद्रा बाहिरिने, देश डम्पिङसाइट हुने

images
सोमबार, माघ २२ २०८०
images
images
‘ब्रान्ड लिगेसी र विश्वसनीयता’बिनाका विद्युतीय स्कुटर : उपभोक्ताले दुःख पाउने मेसो, छैन प्रभावकारी नियमन

सुरुवाती समयमा विद्युतीय स्कुटर नवप्रवेशी व्यवसायीहरूले ल्याएका हुन् तर पछिल्लो ५/६ वर्षयता भने ठूला व्यावसायिक घराना जो विगतदेखि नै अटोमोबाइल व्यवसायमा छन्, उनीहरूले ल्याउन थालेका थिए। यो शिलशिला पछिल्लो पटक वैद्यज अर्गनाइजेसनसम्म आइपुगेको छ।

images
images

काठमाडौं- हालसम्म नेपाली बजारमा ८० भन्दा बढी ब्रान्डका सयौँ मोडलका विद्युतीय दुईपांग्रे सवारी आयात भइसकेको छन्। दुई दर्जनभन्दा बढी ब्रान्डको त आयात नै बन्द भइसकेको छ भने आयात भइरहेका पनि ‘सस्टेन’ हुनेगरी बिक्री हुन नसकेको यथार्थ हो। यस्तोमा नयाँ ब्रान्ड भित्र्याउने होडमा पनि केही व्यवसायीहरू लागिपरिरहेकै छन्। 

images
images
images

१७/१८ वर्षअघिदेखि नै नेपाली बजारमा विद्युतीय स्कुटर भित्रिएका हुन्। सुरुवाती समयमा विद्युतीय स्कुटर नवप्रवेशी व्यवसायीहरूले ल्याएका हुन्। पछिल्लो ५/६ वर्षयता भने ठूला व्यावसायिक घराना जो विगतदेखि नै अटोमोबाइल व्यवसायमा छन्, उनीहरूले पनि ल्याउन थालेका थिए। यो शिलशिला पछिल्लो पटक वैद्यज अर्गनाइजेसनसम्म आइपुगेको छ। 

images

अरु ठूला घराना विद्युतीय स्कुटरको व्यापारबाट ‘पार नलाग्ने’ निष्कर्षोन्खुम हुँदा वैद्यज अर्गनाइजेसन भने ‘अति उत्सुक’ देखिएको छ।

images

वैद्यज अर्गजनाइजेसनअन्तर्गतको वैद्य इनर्जी प्रालिले गएको असोजमा भारतको एथर ब्रान्डको विद्युतीय स्कुटर ल्याएको हो। कम्पनीले निकै उत्साहपूर्वक ब्रान्डको ब्याख्या र विस्तार गरिरहेको देखिन्छ। तर यसअघि नेपाली बजारमा विद्युतीय स्कुटर ल्याएका व्यावसायिक घरानाहरू अहिलेको वैद्य इनर्जीकै शैलीमा अघि बढेका थिए। अहिले ती घरानाहरू विद्युतीय स्कुटरप्रति निराशप्रायः छन्। 

व्यावसायिक घराना र ब्रान्ड

व्यावसायिक घराना प्रवेश गर्नुपूर्व चार दर्जनभन्दा बढी विद्युतीय स्कुटर तथा मोटरसाइकल ब्रान्ड आयात भएपनि त्यसको बिक्री तथा चर्चा निकै कम थियो। यसको मुख्य कारण ठूला व्यावसायिक घरानाको दुईपांग्रे विद्युतीय सवारीमा प्रवेश नगर्नुलाई मानिएको थियो। 

ठूला घराना प्रवेश गरेको आधा दशक हुन लाग्दासमेत विद्युतीय स्कुटरको बिक्री निराशाजनक हुनुले नेपाली बाटोका लागि अहिले उत्पादनमा रहेको विद्युतीय स्कुटर उपयुक्त नरहेको निश्चित नै छ।  

लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इमोबिलिटीले भारतीय कम्पनी हिरो इलेक्ट्रिकका विद्युतीय स्कुटर भित्र्याएको थियो। हिरो इलेक्ट्रिकका एनवाईएक्स, फोटोन र  सिंगल ब्याट्री र डबल ब्याट्रीको अप्टिमा गरी चार मोडलका विद्युतीय स्कुटर उपलब्ध गराएको थियो। निकै उत्पाहपूर्वक भित्र्याइएको यो ब्रान्डका विद्युतीय स्कुटरको बिक्री दुईसय वटा पनि हुन सकेको छैन। 

आईएमई समूहअन्तर्गतको आईएमई मोटर्सले भारतको विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादक राफ्ट मोटर्स ब्रान्ड ल्याएको थियो।

राफ्टका स्कुटर एकपटक फुल चार्ज गरेपछि ४ सय ८० किलोमिटरसम्म कुदाउन सक्ने दाबी गरिए पनि बिक्री पर्फमेन्स शून्यप्रायः छ।

सुरुमा सरकारी टेन्डर (ललितपुर महानगरपालिकालाई)मा बिक्री गरेर तामझाम गरिएको राफ्ट ब्रान्डका विद्युतीय स्कुटर नेपाली बजारमा १ सय ४० वटाभन्दा बढी बिक्न सकेको छैन। बिक्री नभएका कारण पछिल्लो समय आयात भएको छैन भने विगतमा आयात भएका स्कुटर शोरुम कुरेर बसिरहेका छन्। 

आई हब प्रालिले ल्याएको अमेरिकी कम्पनी सेगवेको स्वामित्वमा रहेको चिनियाँ ब्रान्ड नाइनबोटको विद्युतीय स्कुटर तुलनात्मक रुपमा अलि बढी बिक्री हुने विद्युतीय स्कुटरमा पर्छ। मुरारका समूह र ओलीज स्टोरका सञ्चालन लोकेस ओलीले संयुक्त रुपमा सेगवेका स्कुटर ल्याएका हुन्। 

निकै उत्साहित रुपमा आकर्षक मोडल र रेन्ज दिने स्कुटर ल्याएको आई हब ब्रान्ड प्रमोसन र शोरुम विस्तारमा आक्रामक थियो। तर पछिल्लो समय बिक्रीमा गुणात्मक गिरावट आएपछि उनीहरूको सुरुवाती उत्साह सेलाएको छ। 

क्यालिबर ग्रुपअन्तर्गतको क्यालिबर अटो प्रालिले चिनियाँ ब्रान्ड मिकूका मोटरसाइकल तथा स्कुटर नेपाल ल्याएको हो। त्यसअघि चिनियाँ ब्रान्ड डोहानका विद्युतीय स्कुटर र तीनपांग्रे सवारी आयात गरेर बिक्री गर्दै आएको थियो। सुरुमा उत्साहपूर्वक क्यालिबर अटोले नक्सालमा मिकू ब्रान्डका लागि सोरुम निर्माण गरेको थियो। तर जुन अपेक्षा गरेर आक्राकम बजार विस्तारमा कम्पनी थियो अहिले त्यहि रुपमा शोरुम बन्द गर्नेसम्मको अवस्थामा रहेको छ। 

पछिल्लो पटक व्यावसायिक घराना वैद्यज अर्गनाइजेसन भारतीय ब्रान्ड एथरका विद्युतीय स्कुटर ल्याएको छ। अन्य घरानाले पनि विभिन्न ब्रान्ड ल्याएको छन् तर ती विद्युतीय स्कुटरको बिक्री हालत पुराना बिक्रेताकै हालतमा पुगेको छ। 

किन हुन सकेन बिक्री वृद्धि?

विद्युतीय दुईपांग्रे प्रोडक्टको उत्पादकत्व कम भएर हो वा आधिकारिक बिक्रेताप्रति कम विश्वास भएर हो या त बिक्रेताले आवश्यकता अनुसार ब्रान्ड/प्रोडक्टप्रति विश्वास दिलाउन नसकेर हो भन्ने राय धेरैको रहँदै आएको थियो। उपभोक्ताहरूले विद्युतीय स्कुटर तथा मोटरसाइकल किन्न जाने अवस्था हिजो पनि नबनेको र आज दर्जनौँ ब्रान्ड थपिँदा त्यो बढ्नु पर्नेमा उल्टो गिर्दो अवस्थामा छ। 

सञ्चालन खर्च कम हुने, प्रदूषण नगर्ने, चलाउन सजिलो हुनेलगायत कारणले विद्युतीय सवारी किन्न उपभोक्ता नै उत्साहित हुनुपर्ने हो। तर यहाँ ठूला घरानाले ल्याएर बिक्री प्रमोसन गर्दै उपभोक्ताकोमा जाँदा पनि विद्युतीय स्कुटर बिक्री हुने अवस्था छैन। 

मुख्यगरी पावर र रेन्जका कारण विद्युतीय स्कुटर उपभोक्ताको रोजाइमा पर्न नसकेको हो। सामान्य उकालोमा समेत नतान्ने र एक सय किलोमिटर हाराहारीमात्र रेन्ज दिने भएकाले सहरी क्षेत्रका उपभोक्ताले पनि विद्युतीय स्कुटर खरिदमा रूचि नदेखाएका हुन्। 

विद्युतीय स्कुटरप्रति उपभोक्ता आकर्षित नभएको पुष्टि दर्जनौँ ब्रान्डका सयौँ मोडल आउँदा पनि कुनैको रोजाइमा नपर्नु र आयातको तथ्यांकमा आएको गिरावटले गर्छ।

विद्युतीय स्कुटरमा जडान भएको मोटर पावर कम हुँदा सामान्य उकालोमा समेत दुईजना नतान्नु र बलिया उत्पादकहरूको उपस्थिति कम हुनुले पनि विद्युतीय स्कुटरको स्वीकार्यता बढ्न नसकेको हो।

बलिया ब्रान्डले ल्याउँदा पनि नेपालको भौगोलिक बनावट र यहाँ स्कुटरमा अधिकांश समय दुईजनाले यात्रा गर्ने भएकाले त्यसले नतान्ने समस्या देखिएको छ। 

नेपाल भित्रिएका ब्रान्ड संख्याका आधारमा विद्युतीय स्कुटरको आयात ज्यादै न्यून रहेको छ। २०२२ को अप्रिलदेखि २०२३ को मार्चसम्म जम्मा २ हजार ७५ वटा विद्युतीय स्कुटर नेपाल भित्रिएको तथ्यांक छ। जब कि २०२१ को अप्रिलदेखि २०२२ को मार्चसम्म ६ हजार ५ सय १० वटा विद्युतीय स्कुटर आयात भएको थियो। २०२० को अप्रिलदेखि २०२१ को मार्चसम्ममा १ हजार ५ सय ५० वटा विद्युतीय स्कुटर आयात भएको थियो। 

हाल नेपाली बजारमा करिब ८० वटा ब्रान्डका दुई सयभन्दा बढी मोडलका विद्युतीय स्कुटर भित्रिसकेका छन्। २०२२ मा चार दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर आयात भएको भन्सार विभागको तथ्यांक थियो। २०२३ मा त्योभन्दा कम ब्रान्डका विद्युतीय स्कुटर आयात भएका छन्। 

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ। त्यस्तै केही ब्रान्ड जापान, कोरियालगायत मुलुकबाट आयात हुँदै आएको छ। 

कमजोर नियमन 

नेपालमा आयात हुने विद्युतीय स्कुटरको परीक्षण स्वयम्भू क्षेत्रमा रहेको ह्वाइट गुम्बाको उकालोमा दुईजना राखेर उकालो उकालेर गरिँदै आएको छ। त्यसक्रममा आयात भएका लगभग सबै ब्रान्डका स्कुटरको परीक्षण सफल हुने गरेको छ। 

एक व्यवसायीले ल्याएको चिनियाँ ब्रान्डको स्कुटरले ह्वाइट गुम्बाको उकालो पास गरेपनि सडकमा गुडाउँदा नतानेपछि ब्रान्डको आधिकारिक बिक्रेता नै छाडेको थियो। ‘हामी उपभोक्ताको रुपमा परीक्षण गर्दा त्यति भायवल नदेखिएपछि बिक्री नगर्ने निर्णयमा पुगियो,’ ती व्यवसायीले भने, ‘सरकारी परीक्षण त के कसरी हुन्छ त्यो तपाईंहामीलाई थाहै छ।’ 

यातायात व्यवस्था विभागले सामान्य रुपमा ह्वाइट गुम्बाको उकालोमा चढाएर परीक्षण गरिने बताएको छ। सरकारसँग अन्य मेसिनरी परीक्षणका लागि इम्युपमेन्ट नभएको विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलले बताए।

उकालो चढाइमा लगेर गरिने परीक्षण एक पटकमात्रै हुने भएकाले त्यसको एक्युरेसी सडकमा पाउन कठीन हुने गरेको छ। त्यसैले परीक्षणको प्राविधिक आधारहरू हुनुपर्ने तर अहिले नेपालमा उपलब्ध नभएको उनको भनाइ छ। 

विदेशी मुद्रा बाहिरिने, देश डम्पिङसाइट हुने

भनिएअनुसारकै तनाइ र रेन्ज नपाइने भएकाले विद्युतीय स्कुटरहरू बिक्री भइरहेका छैनन्। तथापी नयाँ ब्रान्ड आयात गर्न नयाँ व्यवसायीमात्र होइन घरानाहरू अझै अग्रसर देखिएका छन्। परिणामतः यसबाट उपभोक्ताले लाभ पाउने परको कुरा हो भने देशले ठूलै क्षति बेहोर्ने छ।

घरानाहरूले ब्रान्ड होल्ड गरेर पोर्टफोलियो बढाउनेबाहेक अर्को उपलब्धी छैन। सबैजसो विद्युतीय स्कुटर आयातकर्ताले स्कुटर बिक्रीबाट शोरुम खर्च र कर्मचारी पाल्नसमेत सकिरहेका छैनन्। 

बिक्री नहुने विद्युतीय स्कुटर आयात गरेर राज्यले ठूलो मात्रामा विदेशी मुद्रा गुमाइरहेको छ। यसबारेमा अर्थ मन्त्रालय तथा राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने अवस्था आइसकेको छ।

विदेशी मुद्रा बाहिरिने मात्र होइन जतिधेरै संख्यामा यस्ता स्कुटर आए त्यति नै डम्पिङसाइट बढ्दै जाने छ। यस्ता मेसिनरी फोहर व्यवस्थापन निकै जटिल मानिन्छ। त्यसैले यस्ता उपभोगविहीन सामानको आयातमै राज्यले सक्रियतापूर्ण नियन्त्रण गर्न जरुरी छ।

सन्तुष्ट छैनन् विद्युतीय स्कुटर किन्ने उपभोक्ता

केही ब्रान्डहरू जस्तै एनआईयू, सेगवे, सुनरा, हिरोका विद्युतीय स्कुटर प्रयोगकर्ताले ठूला समस्या नझेले पनि अन्य सबैजसो ब्रान्डका उपभोक्ताले समस्या भोगिरहेका छन्। कुनैको स्कुटरले दुई जना नतान्ने, कुनैकोले रेन्ज नदिने, कुनै ब्रान्डको स्पेयर पार्टस् नपाइने त कुनै ब्रान्डको सर्भिस पाउनै नसकिएको गुनासो उपभोक्ताले गर्दै आइका छन्। 

विद्युतीय स्कुटर चलाइरहेका उपभोक्ताको यस्तो दुःखद प्रतिक्रियाले पनि नवप्रवेशी उपभोक्तालाई विद्यु्तीय स्कुटर नकिन्न प्रेरित गर्छ।

केही राम्रो पर्फमेन्स भएका विद्युतीय स्कुटरको चर्को मूल्य भएका कारण धेरै उपभोक्ताको पहुँचबाहिर छ।

त्यस्तैगरी ब्रान्ड लिगेसी भएका ब्रान्डका विद्युतीय स्कुटर पनि नेपालमा राम्रो पर्फमेन्स दिन सकिरहेको छैन। त्यसैले त्यस्ता ब्रान्डको बिक्री पनि न्यून संख्यामा रहेको छ।

यी सबै विषय नियाल्दा नेपालको भौगोलिक अवस्था र यहाँको आवश्कताअनुसार विद्युतीय स्कुटर डिजाइन वा उत्पादन हुन सकेको देखिँदैन।

विद्युतीय दुईपांग्रे सवारीको व्यापारमा ठूला व्यावसायिक घराना

यी हुन् २०२३ मा एउटै विद्युतीय स्कुटर आयात नभएका ब्रान्ड यी हुन् २०२३ मा एउटै विद्युतीय स्कुटर आयात नभएका ब्रान्ड

विद्युतीय स्कुटरमा उपभोक्ताको देखिएन रुचि : दुई तिहाइले घट्यो आयात, कुन ब्रान्डको कति? विद्युतीय स्कुटरमा उपभोक्ताको देखिएन रुचि : दुई तिहाइले घट्यो आयात, कुन ब्रान्डको कति?


प्रकाशित : सोमबार, माघ २२ २०८०११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend