आइतबार, वैशाख २३ गते २०८१    
images
images

तरकारी खेतीबाटै घरघडेरी जोडेका नर्सुल्ला भन्छन् - सरकारको अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन

images
images
images
तरकारी खेतीबाटै घरघडेरी जोडेका नर्सुल्ला भन्छन् - सरकारको अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन

वर्षौँँदेखि व्यावसायिक तरकारीखेती गरे पनि सरकारले भने आवश्यकतानुसार सहयोग नगरेको उनको गुनासो छ। उनी भन्छन् - 'सरकारले दिने अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन।'

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन्। ५८ वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आएका छन्।।

images
images
images

२० वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन्। बितेको २० वर्षमा तरकारीबाटै मियाँको जीवन धेरै बद्लिएको छ भने पारिवारिक स्थिति पनि निकै राम्रो भएको छ। मियाँले भने, 'तरकारीखेतीबाटै मैले जीवनमा प्रगति गरेको हुँ, यही व्यवसायबाट सबै परिवारलाई यहीँ सारेँ, घरघडेरी जोडेँ अनि चारजना छोराछोरीको पढाइसँगै विवाह पनि उम्काइसकेँ।'

images

पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको दुई बिघा जमिनमा खेती गरेका मियाँले वार्षिक तीन याममा तरकारी उत्पादन गर्ने गरेका छन्। अहिले काउली, बन्दा, बड्काउली बेच्न भ्याइनभ्याई भएको छ। केही हप्ताअघिसम्म काउलीको मूल्य नपाएर चिन्तित मियाँले अहिले काउली बारीबाटै प्रतिकिलो २५ रूपैयाँमा बेचेका छन्।

images

'काँक्रो, करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु, लगाएकामध्ये आठ कठ्ठाको तरकारी बिक्री भइसक्यो', उनले भने, 'यो याममा काउलीको भाउ नआउँदा केही घाटा भयो तर अहिले बजार सुधारियो पूरै घाटा त हुँदैन जस्तो छ।'

images
images

वर्षभरि तरकारी फलाउने र बेच्ने मियाँले नाफाघाटाको हिसाब भने बैशाखमा मात्र गर्ने गरेका छन्। एक याममा तरकारी लगाउँदा करिब तीन लाख रूपैयाँ खर्च लाग्ने गरेको उनले बताए। कुनै याममा लगानीसमेत नउठ्नेगरी घाटा हुने गरेको मियाँको अनुभव छ। 'तरकारीको बजारभाउ घटबढ हुनाले सबै सिजनमा नाफै हुन्छ भन्ने हुँदैन', उनले भने, 'एक याममा घाटा भए पनि अर्कोमा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यका साथ काम गर्ने गरेको छु, त्यसैले आजसम्म टिकेको हुँ।'

आफूले सक्दासम्म नर्सुल्ला मियाँलाई तरकारीखेतीमा नै रमाउने मन छ। यहीँ व्यवसायबाट राजमार्ग छेउमा १२ कठ्ठा जमिन जोड्न सफल भएका मियाँका छोराछोरी पनि अहिले तरकारीखेतीमा सहभागी भएका छन्। 'मेहनत गरे कृषिक्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्ययता र लगनशीलता चाहिन्छ', उनले भने।

देशमा सम्भावना नदेखेर युवाहरू विदेशिने क्रम बढिरहेको बेलामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मियाँजस्तै किसानले तरकारीखेतीमार्फत वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन्। त्यसैमध्येका अर्का देवचुली-१६ कै नौसाद मियाँले पनि दुई बिघा जमिनमा तरकारीखेती गर्छन्। वीरगञ्ज घर भएका नौसादको परिवार तरकारीखेतीकै लागि देवचुली आएको हो।

उनको बारीमा काउली फलेका छन्। तीन याममा तरकारी फलाउने नौसादले अहिले धान भित्र्याएपछि टमाटर, भिन्डी, घिरौँला लगाएका छन्। उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन्। बजारको खासै पिर छैन।

'तीन सिजन तरकारीखेती गर्ने गरेका छौँ, धान काटेर तरकारी लगाउँछौँ', उनले भने, 'तीस मुरी धान फल्छ यही जमिनमा अनि तरकारी लगाउँछौँ, वर्षभरि खाने अन्न पनि जोहो हुन्छ।'

अघिल्लो सिजनमा लगाएको काउलीको उचित मूल्य नपर्दा मियाँले आधा नै घाटा बेहोर्नुपर्यो। अबको उत्पादनले भने राम्रो आम्दानी हुने मियाँले आशा राखेका छन्। तरकारीले लागतअनुसारको मूल्य पाए सबै खर्च कटाएर एक सिजनमा ६० हजार रूपैयाँसम्म बचत हुने उनको अनुभव छ। तरकारी खेतीबाटै नौसादको घरपरिवार राम्रोसँग चलेको छ। 'कहिलेकाहीँ ठीकठीकै हुन्छ, कहिलेकाहीँ घाटा पनि हुन्छ, आत्तिनु भएन', उनले भने, 'एक याममा छ-सात लाख रूपैयाँको कारोबार हुन्छ।'

तरकारी खेतीबाटै नौसादले छोराछोरीको पठनपाठन, औषधोपचारलगायतको घरखर्च राम्रोसँग चलाएका छन्। उत्पादन भएको तरकारी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौं निर्यात हुने गरेको उनले बताए।

'वर्षौँँदेखि व्यावसायिक तरकारीखेती गरे पनि सरकारले भने आवश्यकतानुसार सहयोग गरेको छैन', उनले भने, 'सरकारले दिने अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन।' रासस

images

प्रकाशित : बुधबार, माघ १० २०८०१०:५७

प्रतिक्रिया दिनुहोस