बुधबार, वैशाख १२ गते २०८१    
images
images

एमसीसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

पूर्वसर्त पूरा नहुँदै ईआईएफ घोषणाको तयारी   

images
images
images
एमसीसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

एमसीए-नेपालअन्तर्गतका परियोजना कार्यान्वयनमा अहिले देखिएको अर्को महत्वपूर्ण विषय हो, ‘पूर्वसर्त पूरा नगरिकनै इआईएफ मिति घोषणाको तयारी।’ परियोजना लागू गर्नका लागि पूरा हुनुपर्ने सर्तमध्ये एउटा सर्त अझै अपूर्ण। प्रसारणलाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वसर्त पूरा हुन सकेको छैन।

images
images

काठमाडौं- नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागु हुने अवस्था (इन्ट्री इनटु फोर्स-ईआईएफ) को चरणमा पुगेको छ। आगामी भदौमा ईआईएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जनाएको छ।

images
images
images

अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागु हुने अवस्थासम्म आइपुग्न छ वर्ष लाग्यो। यसबीचमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट संसद्‌बाट अनुमोदन भइसकेको छ। ईआईएफअघि पूरा गर्नुपर्ने भनिएका छ वटा पूर्वसर्तमध्ये जग्गा प्राप्ति बाहेकका पाँचवटा सर्त पूरा भइसकेका छन्।

images

तर यसबीच एमसीए-नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंश भने बढेको छ। सुरुवाती सम्झौतामा एमसीसी परियोजनाका लागि कुल ६३ करोड अमेरिकी डलरबराबर लागत अनुमान गरिएको थियो। जसमध्ये ५० करोड अमेरिकी डलर एमसीसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ।

images

तर गत जेठमा भएको एक ‘पूरक सम्झौता’पछि नेपाल सरकारले बेहोर्ने दायित्व छ करोड ७० लाख अमेरिकी डलर थप भइ १९ करोड ७० लाख अमेरिकी डलर पुग्ने देखिएको छ। समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। एमसीए-नेपालअन्तर्गत हुने कुल खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अनुपात यसअघि २० दशमलव ६३ प्रतिशत रहेकोमा अब बढेर २८ दशमलव २६ प्रतिशत पुगेको छ। परियोजनामा नेपालले बेहोर्नुपर्ने गरी पछिल्लो पटक थपिएको दायित्व करिब नौ अर्ब रूपैयाँ बराबर हो।

images
images

एमसीए-नेपालअन्तर्गतका परियोजना कार्यान्वयनमा अहिले देखिएको अर्को महत्वपूर्ण विषय हो, ‘पूर्वसर्त पूरा नगरिकनै इआईएफ मिति घोषणाको तयारी।’ परियोजना लागु गर्नका लागि पूरा हुनुपर्ने सर्तमध्ये एउटा सर्त अझै अपूर्ण। प्रसारणलाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वसर्त पूरा हुन सकेको छैन।

तर, उल्लेखित यी विषय पूरा हुने आधार देखिएको भन्दै एमसीए-नेपालले ईआईएफ तोक्ने तयारी थालेको हो। ईआईएफ घोषणापछि पाँच वर्षभित्रमा यो परियोजनाको काम सम्पन्न गरिसक्नुपर्ने कम्प्याक्टको अर्को सर्त हो। जसकारण जग्गा प्राप्ति नसकिकनै एमसीसी कार्यान्वयनको मिति गणना थाल्दा आगामी दिनमा कुनै समस्या देखिएर तोकिएको समयभित्रै सम्पन्न हुनेमा शंका गर्नसक्ने ठाउँ छ।

समग्रमा यो समाचार आलेख कम्प्याक्टमा अनुमान गरिएको भन्दा अहिले लागत कसरी बढ्न गयो? र, पूर्वसर्त पूरा नगरीकनै इआईएफको चरणमा जानुका पछाडिका आधार के हुन्? भन्ने यिनै दुई मुख्य प्रश्नमा केन्द्रित छ।

कसरी थपियो सरकारलाई नौ अर्ब दायित्व?

अर्थ मन्त्रालयको प्रस्तावमा गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल र एमसीसीबीच सम्पन्न सम्झौता संशोधन गरी नेपाल सरकारको योगदान वृद्धि गर्न स्वीकृति दिने’ निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा जेठ १६ गते नेपाल विद्युत् प्राधिकरण र एमसीए-नेपालबीच आयोजना सहायतासम्बन्धी सम्झौता भएको देखिन्छ।

उक्त सम्झौताको दुई दिनअघि जेठ १४ गते एमसीए-नेपालले एक विज्ञप्तिमार्फत् ‘नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको अनुरोधअनुरुप एमसीसी कम्प्याक्टको विद्युत् प्रसारण आयोजनामा थप कार्य समावेश गर्ने निर्णय गरेको’ व्यहोरा सार्वजनिक गर्‍यो। यो कामका लागि आवश्यक पर्नसक्ने छ करोड ७० लाख अमेरिकी डलर बराबरको अनुमानित थप बजेट कम्प्याक्टको मूल बजेटबाटै खर्च गरिने र उक्त मूल बजेटको पूर्ण उपयोगपछि नपुगेको रकम नेपाल विद्युत् प्राधिकरणले बेहोर्ने विवरण पनि उक्त विज्ञप्तिमा खुलाइएको छ।

त्यस्तै, थपिएको उक्त बजेटलाई हाल कम्प्याक्टका लागि नेपाल सरकारको योगदानका रुपमा लिइने र कार्यान्वयन पत्रमार्फत कम्प्याक्टको सम्बन्धित अनुसूचीमा परिमार्जन गर्ने त्यसमा उल्लेख छ। 'नेपाल-भारत सीमापार प्रसारणलाइन निर्माणका लागि अपुग हुने अनुमानित खर्चका लागि परिमार्जित बजेटको व्यवस्था गरी अनुसूची परिमार्जन गरिएको छ भने विद्युत् प्राधिकरणको वर्तमान तथा भावी कार्यदिशालाई ध्यानमा राखी तीनवटा सवस्टेशनमा थप बेज् जडान गरिने पनि परिमार्जित अनुसूचीमा उल्लेख छ', उक्त विज्ञप्तिमा भनिएको थियो।

सो विज्ञप्तिमा उल्लेखित यस्तो व्यहोराबाट पछिल्लो पटक थप गरिएको छ करोड ७० लाख अमेरिकी डलर बराबरको लागत रकम हाल निर्माण प्रक्रियामा रहेको न्यूबुटवल-गोरखपुर ४०० किलोभोल्ट नेपाल-भारत अन्तरदेशीय प्रसारणलाइनको नेपालतर्फको खण्ड र तीनवटा सबस्टेसनमा क्षमता बढाउन थप रकम खर्च हुन लागेको खुल्छ। तर न्यूबुटवल सबस्टेसनदेखि भारतको सीमासम्मको प्रसारणलाइन बनाउने भनेर एमसीसी कम्प्याक्टमा पहिल्यै उल्लेख भएको शीर्षकमा थप बजेट किन चाहिएको हो स्पष्ट देखिँदैन।

एमसीसी कम्प्याक्टको अनुसूची(१ ९ख० ९१० मा एमसीए-नेपालअन्तर्गत बन्ने प्रसारण लाइनबारे उल्लेख छ। नेपालभित्र डबल सर्किट ४०० किलोभोल्टको लगभग तीन सय किलोमिटर प्रसारण लाइन बनाइने कम्प्याक्टमा जनाइएको छ। काठमाडौंको लप्सिफेदीदेखि रातामाटेसम्म, रातामाटेदेखि हेटौँडासम्म, रातामाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म, र बुटवलदेखि भारतीय सीमासम्म विभिन्न पाँचवटा खण्ड (रुट) मा प्रसारणलाइन बनाइने कम्प्याक्टमा उल्लेख छ। अर्थात्, अहिले अतिरिक्त कामका लागि भनेर लागत थपिएको बुटवलबाट भारतीय सीमासम्मको प्रसारणलाइन बनाउने योजना साबिकको ६३ करोड अमेरिकी डलर बराबरको लागतभित्रै पर्न जान्छ। यसरी पहिल्यै लागत अनुमान गरेर कम्प्याक्टमा राखिसकेको उक्त प्रसारणलाइन खण्ड बनाउन थप बजेट छुट्याइएकोबारे बुझ्न राससले एमसीए-नेपाललाई प्रतिक्रिया मागेको थियो।

जवाफमा एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रममा थप गरिएको रकम विद्युत् प्रसारण आयोजनाको बजेटमा गाभिने र यो बजेट नेपाल विद्युत् प्राधिकरणको आवश्यकता तथा अनुरोधअनुसार थप ‘बेज’ जडान गरी तीन वटा सबस्टेसनको क्षमता विस्तार गर्नका लागि प्रयोग गरिने जनाएको छ। यसरी गाभिएको भनिएको रकमलाई आयोजनाको लागत वृद्धि भएको भन्न मिल्ने हो वा होइन भन्ने राससको प्रश्नमा एमसीए-नेपालका तर्फबाट सूचना अधिकारी राजीव दाहालद्वारा प्राप्त जवाफमा पहिले तोकिएभन्दा अतिरिक्त काम गर्नुपर्ने भएपछि स्वाभाविकरुपमा लागत बढ्ने जनाइएको छ।

'एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रममा नेपाल सरकारको तर्फबाट थपिएको रकमबाट नेपाल विद्युत् प्राधिकरणको आवश्यकता र अनुरोधअनुसार थप बेज जडान गरी निर्माणाधीन तीनवटा सबस्टेसनको क्षमता विस्तार गर्ने अतिरिक्त काम गर्न लागिएको छ', एमसीएले भनेको छ, 'पूर्वलक्षित कार्यमा अतिरिक्त कार्य थपिएपछि लागतमा पनि वृद्धि हुनु स्वाभाविक हो। तसर्थ आयोजनाको काम गर्ने दायरामा भएको वृद्धिका कारण थप लगानी गर्नुपर्ने आवश्यकता भएको भन्न मिल्छ।'

त्यस्तै, सडक मर्मत आयोजनाको काममा पनि केही परिवर्तन गरिएको भए पनि यसले सडकसम्बन्धी समग्र कार्यको बजेटमा कुनै प्रभाव नपर्ने एमसीए-नेपालले जनाएको छ। कम्प्याक्टमा तोकिएको भन्दा अतिरिक्त हुनेगरी नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाका काममा पनि बजेट खर्च हुने भएकाले लागत बढेको भन्ने एमसीए-नेपालको जवाफपछि यही विषयमा राससले प्राधिकरणको पनि प्रतिक्रिया लिएको छ।

न्यूबुटवल-गोरखपुर प्रसारणलाइनको भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारणलाइन पहिलो एमसीसी कम्प्याक्टमा राखिएको भए पनि बीचमा त्यो झिकिएको र पछि फेरि कम्प्याक्टअन्तर्गत नै कार्यान्वयन गर्ने निर्णय भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।

'यो प्रसारणलाइनअन्तर्गत आफ्नो तर्फको भूभागका लागि भारतले बोलपत्र प्रक्रिया थालिसकेको थियो। तर हामीकहाँ एमसीसी सम्झौता संसद्ले अनुमोदन गर्ने वा नगर्ने भन्ने विवाद टुंगो लागिसकेको थिएन। त्यसकारण हामीले त्यसलाई ‘डिट्याच’ (एमसीसी बाट छुट्याउने काम) गरेका थियौँ', घिसिङले भने, 'संसद्ले अनुमोदन गरेपछि एमसीसी कम्याक्टअन्तर्गतका कार्यक्रमको बोलपत्र प्रक्रिया पनि अघि बढ्ने भयो । प्राधिकरणले ठेक्का लगाउँदा सानो ‘कन्ट्रयाक्टर’ आउने तर उहाँहरुले (एमसीए-नेपाल) ले लगाउँदा ठूलो ‘कन्ट्रयाक्टर’ आउँछ भन्ने भएपछि फेरि त्यसलाई एमिससीभित्रै हालिएको हो।' यसरी पहिले कम्प्याक्टभित्रै रहेको काममा प्राधिकरणले ‘स्कोप’ (अतिरिक्त काम) थपेपछि लागत बढेको उनको भनाइ छ।

एमसीए-नेपालले बनाउने सबस्टेसनमा ‘बे’ (सर्किट जोडिने पावर लाइन) थप गरेर क्षमता बढाउनुपर्ने प्राधिकरणको आग्रहपछि यस्तो लागत थप भएको पनि घिसिङले प्रतिक्रिया दिए। 'एउटै सबस्टेसनमा फरक-फरक तरिकाले काम गर्ने भन्ने हुँदैन। त्यसकारण पैसा पुगेन भने प्राधिकरणले बेहोर्ने भनिएको हो। त्यही हिसाबले टेन्डर भयो', उनले भने, 'एमसीएले बनाउने सबस्टेसनमा हामीलाई अरु प्रसारणलाइन पनि जोड्नुपर्नेछ। उनीहरुले बनाएकै ठाउँमा प्राधिकरणले अर्को छट्टै बोलपत्र गरेर जानु भन्दासँगै काम गर्नेगरी जाने भनेको हो। क्षमता विस्तारका लागि थप केही काम थपिँदा पैसा बढेको हो।'

बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारणलाइनका लागि एकदेखि डेढ अर्ब रूपैयाँ बराबर लाग्ने अनुमान प्राधिकरणले गरेको पनि घिसिङको भनाइ छ। एमसीए-नेपालको सञ्चालक समिति सदस्यसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले पनि अतिरिक्त काम थपिएकै कारण लागत बढेको र एकै ठाउँमा एउटै प्रकृतिको कामका लागि दुई निकायबीच समन्वय भएको बताए।

'एमसीए-नेपालले बनाउने, सबस्टेसन र प्रसारणलाइनमा नेपाल विद्युत् प्राधिकरणले बनाइरहेका अरु प्रसारणलाइन पनि जोडिन्छन्। एमसीए कम्प्याक्टमा उल्लेख भएभन्दा बढी क्षमतासहितका सबस्टेसन तयार पार्नुपर्ने आवश्यकता प्राधिकरणले देखेर यो लागत थपिएको हो', उनले भने।

पूर्वसर्त पूरा नहुँदै ईआईएफ घोषणाको तयारी   

अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट अनुमोदन भयो। सम्झौताअनुसार ईआईएफपछि एमसीसी लागु हुने पाँच वर्षे अवधिको गणना सुरु हुन्छ। सुरुवाती सम्झौतामा २०७७ असार १६ गते ९२०२० जुन ३०० बाट ईआईएफ सुरु हुने भनिएको थियो। तर एमसीसी कम्प्याक्ट संसद्‌बाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा र कम्प्याक्ट लागु हुनुअघि पूरा गरिसक्नुपर्ने भनिएका काम समयमै नसकिँदा ईआईएफ मिति घोषणामा ढिलाइ भएको हो। ईआईएफका लागि पूर्वसर्तका रुपमा रहेको जग्गा प्राप्ति भने अझै बाँकी छ।

एमसीसी सम्झौता (कम्प्याक्ट) को दफा ८ मा ‘सरकारले प्रस्तुत सम्झौता कार्यान्वयन गर्न आवश्यक सम्पूर्ण जग्गा अधिग्रहण, स्थलपहुँच र वन क्षेत्र प्रयोगसम्बन्धी स्वीकृतिका लागि सम्पूर्ण सम्बन्धित सरकारी निकायको पूर्ण तथा शीघ्र सहयोग समयमै तथा एमसीसीको नीति अनुकूल हुने गरी उपलब्ध भएको सुनिश्चित गर्नेछ’ भनी उल्लेख छ। कम्प्याक्ट लागु हुने समयबारेको प्रश्नमा एमसीए नेपालले आगामी भदौभित्रै मिति घोषणा गरिने जवाफ दिएको छ।

'एमसीसी नेपाल कम्प्याक्टलाई २०८० साल भदौमा कार्यान्वयनको चरणमा लैजाने योजना बनाइएको छ। त्यसका लागि तयारी भइरहेको छ भने निश्चित मिति छिट्टै तय गरिनेछ', एमसीए-नेपालले भनेको छ, 'जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पर्याप्त र सन्तोषजनक रूपमा अगाडि बढिसकेको अवस्थामा ईआईएफमा प्रवेश गर्दा हुने समझदारी एमसीसीसँग भएको आधारमा ईआईएफको मिति आगामी भदौमा तय गर्न लागिएको हो।'

एमसीए-नेपालअन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका लागि कुल एक हजार चार सय ७१ हेक्टर र नुवाकोटमा निर्माण गरिने रातामाटे सबस्टेसनका लागि करिब २० हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्छ। प्रसारणलाइनमा पर्ने करिब आठ सय ५६ वटा विद्युत् प्रसारण टावर बनाउन एक सय चार हेक्टर जग्गा आवश्यक पर्नेछ भने भोगाधिकार क्षेत्र अन्तर्गत एक हजार तीन सय ४७ हेक्टर जग्गा रहेको छ। सबस्टेसनका लागि चाहिने जग्गाको विवाद बाँकी रहेको र प्रसारणलाइनका लागि चाहिने जग्गाको मुआब्जा वितरणको काम अझै सुरु भइनसकेको एमसीए-नेपालको भनाइ छ।

'पारिवारिक विवाद रहेको एक कित्ता जग्गा बाहेक रातामाटे सबस्टेसनका लागि आवश्यक सम्पूर्ण जग्गाको मुआब्जा वितरण गरिसकिएको छ। अहिले विद्युत् प्रसारण टावर निर्माणका लागि चाहिने जग्गा प्राप्ति र भोगाधिकार क्षेत्रमापर्ने जग्गासम्बन्धी प्रारम्भिक कानूनी प्रक्रिया अगाडि बढिरहेको हुनाले मुआब्जा वितरणको काम सुरु भएको छैन', उसले भनेको छ।

प्रसारण टावर निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ। आयोजनाबाट प्रभावित हुने नौ वटा जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारणसम्बन्धी कानूनी प्रक्रिया सुरु भइसकेको छ। 

विद्युत्प्रसारण टावरमा पर्ने जग्गा प्राप्ति सम्पन्न भएपछि भोगाधिकारमा पर्ने जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने प्रक्रिया सुरु हुनेछ। जग्गा प्राप्ति ऐन, २०३४ अनुसारका सम्पूर्ण प्रक्रिया सम्पन्न भई प्राप्ति गरिने जग्गा र भोगाधिकार क्षेत्रमा पर्ने जग्गाको मुआब्जा दर निर्धारण भएपछि मात्रै मुआब्जा वितरणको प्रक्रिया सुरु हुनेछ। आयोजना प्रभावित क्षेत्रमा एक सय २२ वटा सामुदायिक र सरकारी वन क्षेत्र पर्दछन्।

एमसीसी कार्यक्रम कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गर्ने, यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, नियामक निकायका रुपमा विद्युत् नियमन आयोग गठन गर्ने र बुटवल-गोरखपुर प्रसारणलाइन निर्माणमा भारतको सहमति लिनुपर्ने चारवटा पूर्वसर्त पूरा भइसकेका छन्।

चालु आवका लागि १० अर्ब ८४ करोड बजेट

एमसीएअन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले १० अर्ब ८४ करोड १७ लाख रूपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। जसमध्ये विद्युत् प्रसारण आयोजनातर्फ आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार रूपैयाँ, सडक मर्मत आयोजनातर्फ एक अर्ब ५० करोड ७६ लाख ५३ हजार रूपैयाँ, अनुगमन तथा मूल्यांकनतर्फ २१ लाख ९३ हजार, कार्यक्रम प्रशासनतर्फ ५५ करोड ५४ लाख ८८ हजार रूपैयाँ बराबर विनियोजन गरिएको छ।

एमसीए-नेपालको स्वीकृत दरबन्दी ६६ वटा हो। गत असार २१ गतेसम्ममा ६१ वटा पदपूर्ति भएको र पाँच वटा पदपूर्तिको विभिन्न प्रक्रियामा छन्। रासस

images

प्रकाशित : आइतबार, साउन २१ २०८००७:३०

प्रतिक्रिया दिनुहोस