काठमाडौं- आजदेखि १२औँ जनगणना सुरु भएको छ। केन्द्रीय तथ्यांक विभागले जनगणनाका अन्तर्गतको मूल गणना सुरु गरेको छ।
गएको असारमा सकिनुपर्ने यो गणना कोरोना भाइरस महामारीका कारण सरेको थियो। पछिल्लो साठी वर्षमा पहिलोपटक निर्धारित मितिभन्दा पछि गणना सरेको हो। २०७८ जेठ २५ देखि असार ८ सम्ममा सम्पन्न गर्ने कार्यक्रम निर्धारण भएको थियो।
लडाउनका कारण सरेको मूल गणना आजदेखि सुरु भएर मंसिर ९ गते सम्पन्न हुने छ। मुल गणनाअघिको घरपरिवार सूचीकरण यसअघि नै सम्पन्न भइसकेको छ।
‘मेरो गणना, मेरो सहभागिता: राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ यो पटकको जनगणना सम्पन्न हुनेछ।
जनगणनामा ४० हजार गणक खटिने छन्। यसपटकको गणनामा गणक छनौट गर्दा पहिलेको भन्दा फरक मापदण्ड तय गरिएको थियो। पहिलेका गणनाहरूमा शिक्षकहरूको बाहुल्यता हुन्थ्यो। तर अहिले गणनामा विद्यार्थी तथा शैक्षिक बेरोजगारहरू प्राथमिकतामा परेका छन्। त्यस्तै ८ हजार ५ सुपरीवेक्षक पनि खटिने भएका छन्।
७ प्रदेश, ८७ जिल्ला र ३४९ स्थानीय जनगणना कार्यालय रहेका छन्।
जनगणनाका क्रममा कुनै पनि नागरिकले आफ्नो गोपनीयता भंग हुने डर नमानी गणकलाई सहयोग गर्न तथ्यांक विभागले आग्रह गरेको छ। तथ्यांक ऐनअनुसार नागरिकको गोपनीयता रक्षा गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।
'कुनै पनि नागरिकको गोपनीयता भंग हुँदैन। यसमा हामीले तय गरेका कुनै पनि प्रश्नमा धक नमानी उत्तर दिन हामी आग्रह गर्छौं। ऐनले रक्षा गरेको हक कतैबाट पनि हनन् हुँदैन। यदि यसो भएमा हामी नै सजायाका भागिदार हुन्छौं। यतिसम्म कि उत्तरदाता र गणकबीचमा भएको कुराकानी तेस्रो व्यक्तीले सुन्न पाइदैन। यस्तो अवस्थामा ढुक्कसँग उत्तर दिन हामी आग्रह गर्छौं' श्रेष्ठले भने।
१२औँ जनगणनाका विशेषता यी हुन्
१. संघीयतापछिको पहिलो गणना
२०७२ सालको नयाँ संविधानले नेपाललाई संघीय प्रशासनमा रूपान्तरण गरेपछि पहिलोपटक गणना हुन थालेको हो। संघीय प्रशासनिक विभाजनपछिको गणना भएकाले यो पटक सोही अनुसारको गणना हुने र तथ्यांक आउने गरी तय गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए। यसअघिका गणनामा हिमाल पहाड र तराइ, जिल्ला र अञ्चलको तथ्यांक आउथ्यो। यो पटक भने प्रदेशअनुसार तथ्यांक आउने छ।
२. सबै घर समेटिने
रेग्मीका अनुसार यो पटक प्रत्येक घरमा प्रश्न सोधिने छ। पहिलेका गणनाहरूमा केही घर छोडिन्थ्यो। सबै समेट्ने गरेका थिएनन्। तर 'यो पटक हामी सबै घरपरिवारलाई समेट्छौ' रेग्मीले भने। यसबाट प्रत्येक घर परिवारको आर्थिक सामाजिकदेखि शैक्षिक अवस्थाको सूचक ल्याइने छ।
३. घरको विस्तृत विवरण
पछिल्लो समय नेपालले बहुआयामिक गरिबीको सूचक निकाल्न थालेको छ। यसका लागि विभागले प्रश्नावलीहरू सोहीअनुसार तय गरेको छ। घरको भौतिक संरचना, प्रकार, आयु, कुन सामग्रीबाट घर बनेको छ? घर परिवारको आर्थिक अवस्था, व्यावसायिक तालिम लिए नलिएको? वित्तीय पहुँच, ऋण लिए नलिएको जस्ता तथ्यांक निकालिने छ। रोजगारदेखि व्यावसायिक संलग्न व्यक्तिगत रुपमै र पारिवारिक आँकडा पनि निकालिने छ।
४. नयाँ प्रश्न
यो पटक केही नयाँ प्रश्न थपिएका छन्। यो पटकको गणनामा बालबालिकाको अवस्थाको बारेमा आँकडा निकालिने छ। उनीहरूले पाएको शिक्षाको अवसर, पोषणको अवस्थाको तथ्यांक निकाल्ने गरी प्रश्न तय भएका छन्। त्यस्तै वित्तीय पहुँच, अहिलेसम्म ऋण लिए नलिएको, बैंक खाता भए नभएको पारिवारिक स्तरमा कतिले यस्तो सुविधा लिएका छन् भनेर प्रश्न सोधिने छ। सरकारी अनुदान लिएर घर बनाए नबनाएको, सीपमूलक तालिम पाए नपाएको जस्ता प्रश्न पनि यो पटक समेटिने छन्।
यो पटक केन्द्रीय तथ्यांक विभागले सहरी जनसंख्या पहिचनाका लागि पनि प्रश्न तय गरेको छ। यसअघि नगरपालिकाको जति जनसंख्यालाई सहरी जनसंख्याको वर्गमा राख्ने गरिएको थियो। तर यसपटक नगरपालिका धेरै भएकाले वास्तविक सहर कुन हुन् र कुन होइनन् भनेर तथ्यांक निकालिने छ।
त्यस्तै सामुदायिक प्रश्नावली पनि थपिएको छ। प्रत्येक वडाको प्रोफाइल तयार पार्नका लागि यस्तो प्रश्नावली तयार पारिएको छ। यो प्रश्न भने वडा कार्यालयमै भरिने छ।
५. प्रविधिको प्रयोग
यो जनगणनाको तयारीदेखि नै विभागले प्रविधिको प्रयोगलाई बढावा दिएको थियो। र यो प्रयोग गणनासम्म हुने रेग्मीको भनाइ छ। विभागले गणक छनौटको प्रक्रिया नै अनलाइन माध्यमबाट गरेको थियो। गणनामा पनि ट्यावलेट, इमेल तथा इन्टरनेटको अधिकतम उपयोग हुने उनले बताए। यसक्रममा काठमाडौंका सात स्थानीय तहमा ट्याबलेटबाट तथ्यांक संकलन गरिने छ।
६ इ-सेन्सस्
यो पटकको गणनामा इ-सेन्सस पनि हुने छ। नेपाल बाहिर रहेका नियोगमा कार्यरत नेपालीहरुको तथ्यांक संकलन इन्टरनेटको माध्यमबाट गरिने छ। यसका लागि तालिम तथा प्रक्रिया सबै मिलाइ सकिएको विभागले जानकारी दिएको छ। नियोग बाहिर काम गर्ने नेपालीको भने तथ्यांक संकलन हुने छैन। ६ महिना बढी घर छाडेकाहरुलाई बसाइसराइ गरेको मानिने भएको र नेपाल बाहिर भएको भए सम्बन्धित परिवारबाटै तथ्यां लिने भएकाले विदेशमा हुने सबै नागरिककव तथ्यांक लिन कठिन हुने विभागले बताएको छ।
७ चार अर्ब खर्च
यो पकटको गणनामा चार अर्ब खर्च हुने विभागले अनुमान गरेको छ। गणनाको तयारीदेखि अन्तिम तथ्यांक प्रकाशनको समयसम्म ४ अर्ब रुपैयाँ खर्च हुने विभागले अनुमान गरेको छ। गणनामा खटिने चालिस लाख गणक तथा पर्वेक्षकहरुलाई पारिश्रमिक दिन भने १ अर्ब ६० करोड खर्च हुने विभागले जानकारी दिएको छ।
८ चालिस हजार गणक, एउटा घरमा २० मिनेट
गनणामा ४० हजार गणक आजदेखि मंसिर ९ गतेसम्म खटिनेछन्। त्यस्तै ८ हजार ५ सय सुपरीवेक्षक पनि खटिनेछन्। यी गणकका लागि एउटा घरमा गणना गर्न औषत २० मिनेट लाग्ने उनले विभागले बताएको छ। घर परिवारको संख्या हेरि समय तलमाथि हुने छ। एकजनाले गणना अवधिभर १७५ घरको गणना गर्ने छ। यो क्षेत्रअनुसार फरक पर्ने छ। हिमाली क्षेत्रमा थोरै हुने र सहरी क्षेत्रमा बढी हुने छ।