बिहीबार , वैशाख ६ गते २०८१    
images
images

परिणाममुखी पर्यटनका लागि आठ पाइला

images
images
परिणाममुखी पर्यटनका लागि आठ पाइला

पर्यटन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा गरिने गतिविधिहरूले सृजित हुने अर्थतन्त्र हो।

images
images

नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच र मानसिकता, सुध्रिँदै र विस्तार हुँदै गएको पूर्वाधारका कारण नेपालको पर्यटन उद्योगमा ठूलो मात्रामा लगानी बढिरहेको छ। 

images
images
images

पर्यटन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा गरिने गतिविधिहरूले सृजित हुने अर्थतन्त्र हो।

images

कोभिड महामारीसँगै एक देशदेखि अर्को देश र एक सहरदेखि अर्को सहरमात्रै होइन, आन्तरिक आवतजावतसमेत बन्द हुँदाको असरले सबैभन्दा बढी पीडा भोग्न यात्रामा आधारित उद्योग पर्यटन बाध्य भयो। हालका दिनहरूमा महामारीको प्रभाव र त्रास विश्वभर नै उल्लेख्य रुपले घटेको छ। तथापी नेपालको पर्यटन पूर्ण रुपले पुनरुत्थान हुन सकेको छैन।

images

सन् २०१९ को तुलनामा सन् २०२० मा करिब ८१ प्रतिशत र सन् २०२१ मा करिब ९० प्रतिशतले खस्केको पर्यटक आगमन सन् २०२२ मा करिब ५० प्रतिशतले कम नै रह्यो। तर सन् २०२३ को मार्च महिनामा उत्साहजनक स्थिति देखा परेको छ। 

images
images

होटेल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एयरलाइन्स, रेस्टुरेन्टजस्ता क्षेत्रमार्फत सेवा प्रदान गरिरहेको पर्यटन व्यवसायले खर्बौंको आय सृजना गर्ने गर्दछ। प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष 'सप्लाइ चेन'समेत गरेर पर्यटन क्षेत्रमा करिब १० लाख जनशक्तिलाई रोजगारी सिर्जना हुने गरेको छ।

पर्यटन उद्योगमा मात्रै ४ खर्बभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको अनुमान छ। सुधारिएको त्रिभुवन विमानस्थल, नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुले सम्भावना बढाएको छ। पर्यटनका लागि लामो समयदेखि मुख्य बाधकका रुपमा रहेको पूर्वाधारमा भएको सुधारले पर्यटन विकास र विस्तारका लागि नयाँ आयाम थपेको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पूर्ववत अवस्थामै पुग्न थालेको छ। अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिभाइभल) र फैलाउन (थ्राइभल) का लागि एक स्पष्ट रणनीतिका साथ अझ बढी सक्रिय हुँदै हिँड्नुपर्ने आवश्यकता छ। विस्तारित पूर्वाधार र संसारभर नै नेपाल जस्ता गन्तव्यहरूको खोजी भइरहेको सन्दर्भमा हाम्रो लक्ष्य कोभिडअघिको अवस्थामा पुग्ने नभइ त्योभन्दा धेरै बढी हुनु पर्दछ।  

पर्यटन उद्योगलाई यथाशीघ्र लयमा फर्काउन र नयाँ गति दिन गर्नुपर्ने कामको सूची लामो हुन सक्छ। सबै कामहरू एकैपटक सुरु गर्न र सम्पन्न गर्न सम्भव पनि छैन। तसर्थ, दीर्घकालमा बलियो बन्ने तयारीस्वरुप निम्न क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने हुन्छ। 

१) लक्षित स्रोत बजारहरूमा व्यापक प्रवर्द्धन र गन्तव्यमा भएको तयारीको प्रभावकारी सञ्चार  

ब्राण्ड भिजिबिलिटी तथा पहिचान एउटा यस्तो पक्ष हो जुन संकटकाल होस् वा समृद्धकाल जहिले पनि भिजिबल भइराख्नु पर्छ। उद्यम, व्यापार, व्यवसायमा पहिचान र छबि स्थापित गर्ने कार्य सबैभन्दा महत्वपूर्ण हो। त्यसैले नेपाल मन पराउने र सहयोग गर्नेहरूसँग नेटवर्किङ गर्ने, देशभित्र विकसित भएका सकारात्मक विकासहरूको प्रचार गर्ने काम निरन्तर गर्नुपर्ने हुन्छ।

लकडाउनका बेला पनि विमानस्थलका काम भइरहेका थिए, स्थानीय तहमा पदयात्रा मार्गको स्तरोन्नति गरियो र काम भइरहेको छ, कतिपय सम्पदाहरूको सौन्दर्यीकरण भइरहेको छ, कतिपय विदेशीहरू नेपाल सुरक्षित ठानेर यहिँ लामो बसाइ गरिरहेका थिए। जुन कथाहरू बाहिर प्रचार गर्ने बेला पनि यहि हो। साँस्कृतिक विशिष्टता, प्राकृतिक सुन्दरता र हिलिङ डेस्टिनेसनको छबि अझ बढी प्रचार गर्नुपर्दछ।

आन्तरिक पर्यटक, विशेष रुचीका (निश) पर्यटक, आध्यात्मिक पर्यटक र बिजनेस पर्यटक हरेक संकटपछि पुनरुत्थान हुने महत्वपूर्ण चार सेगमेन्ट हुन्।

त्यसैगरी आन्तरिक, रिजनल, सर्टहल र लङहलका स्रोत बजारमा बिशेष र लक्षित पर्यटन प्रवर्द्धनका कार्यलाई प्राथमिकताका आधारमा सुरूवात तथा तयारी गरौँ, प्रभावकारी ब्राण्ड भिजिबिलिटीका साथ।

नेपाल सुरक्षित तवरले पर्यटकका लागि पूर्णतः खुलिसकेको, झन्झटरहित यात्राको सुनिश्चितता गरिएको, नयाँ गन्तव्य र पूर्वाधार विकास भएको, पर्यटकको संख्या बढिरहेको जस्ता अवस्था र सहज व्यवस्थाका बारेमा एउटा इन्फोग्राफिक भिडियो सामग्री बनाएर मुख्य स्रोत बजारका सरोकारवाला, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली संघ, नेपाली डायस्पोरा र दूतावासमार्फत यथाशीघ्र सम्प्रेषित गर्ने जसले नेपालको सक्रियता र तयारीका बारेमा सकारात्मक सन्देश दिनेछ। 

त्यसैगरी मुख्य स्रोत बजारबाट नेपालमा नियमित रुपमा पर्यटक पठाउने प्रतिष्ठित कम्पनीका विज्ञ प्रतिनिधिहरूमार्फत स्रोत बजारमा नेपाल आउन इच्छुक पर्यटकहरूमा नेपालको बारेमा रहेको बुझाइ, हामीले गर्नुपर्ने तयारीका बारेमा नेपालका सेवाप्रदायक व्यवसायीहरूलाई नियमित रुपमा वेबिनारमार्फत अभिमुखीकरणका साथै 'बीटूबी' का कार्यक्रमहरू गर्ने।   

अब यात्रामा निस्कने हरेक स्वदेशी/विदेशी पर्यटक, दुवैले गन्तव्य वा गतिविधि छनौट गर्दा स्वास्थ्यसम्बन्धी तयारीलाई पहिलो प्राथमिकतामा राख्नेछन्। पर्यटन पुनरुत्थान हुँदै गर्दा धेरैचिज पहिले जस्तै अवस्थामा फर्के पनि स्वास्थ्यसम्बन्धी चासो रहिरहने हुँदा सफाइ तथा हाइजिनको मापदण्ड कडाइका साथ लागु गर्नुपर्छ। निजी क्षेत्र तथा पर्यटक प्रहरीका प्रतिनिधि संलग्न एउटा संयन्त्र बनाएर त्यसको नियमित अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ, सुरक्षाको प्रत्याभूति पर्यटकहरू आकर्षित गर्ने एक महत्वपूर्ण आधार हो।

२) आपूर्तिको सबलीकरण 

नेपालमा पर्यटक आगमनका लागि सबैभन्दा बाधक पक्ष नेपालसम्मको पहुँच नै हो। हाल निर्माण सम्पन्न भएका दुईवटा नयाँ विमानस्थलमा यथाशीघ्र धेरै विमान सेवाहरू विस्तार गर्न उच्च प्राथिमिकतामा राख्नुपर्दछ। विभिन्न आकर्षक प्याकेजहरू अफर गरी, नीतिमार्फत सहजीकरण गरी, चार्टर फ्लाइटहरूका लागि सहजता प्रदान गर्न जरुरी छ। यी दुईवटा विमानस्थलमा कम्तिमा १५/१५ वटा एयरलाइन्स जोडिन सके पर्यटनबाट उल्लेख्य लाभ लिन सकिनेछ। 

त्यसैगरी गन्तव्यको छबि अभिवृद्धिका लागि र बढ्दो पर्यटक संख्यालाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि जनशक्तिको सीप अभिवृद्धि पनि अभियानकै रुपमा काम गर्नुपर्ने हुन्छ।  

३) आन्तरिक पर्यटन

पछिल्लो अवस्थामा आन्तरिक पर्यटन तीब्र रुपले वृद्धि भइरहेको छ। पर्यटनमा आउने संकटपछि पुनरुत्थान हुने पहिलो सेगमेन्ट आन्तरिक पर्यटन नै भएको हुँदा यसले प्राथमिकता पाउनै पर्छ। सरकारी तथा निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारीहरू १० लाखभन्दा बढी छन्। उनीहरूलाई वर्षमा दुई पटकगरी जम्मा १० दिनको खर्चसहितको भ्रमण बिदामा पठाउने कार्यक्रम विगतमा कार्यान्वयन हुन सकेन तर अबदेखि त्यसलाई लागु गर्ने।

मलेसिया, थाइल्यान्ड, सिंगापुर, भारत, चीन, दुबई, इन्डोनेसिया, युरोप तथा अमेरिकी सहरहरूसम्म घुम्नकै लागि जाने नेपालीहरू करिब १२ लाख छन्। विदेशी मुद्राको सञ्चिति घट्न नदिनको लागि सरकारले देशबाहिर घुम्न जाँदा लैजान मिल्ने विदेशी मुद्रा सटहीको व्यवस्थालाई अझै नियन्त्रण गरेको छ। अबका दिनमा यो संख्या पनि देशभित्रै पर्यटकीय गतिविधि गर्न प्रेरित भइरहेको छ। यो संख्या विदेशी पर्यटकहरूले गर्नेखालकै गतिविधिमा रमाउने र खर्च गर्ने खालको छ। त्यसैले यसको व्यवस्थित विकास र प्रभावकारी प्रवर्द्धनमा तत्काल र यथाशीघ्र जोड दिन अत्यावश्यक छ।

बलियो आन्तरिक पर्यटन समग्र पर्यटन विकासको भरपर्दो आधार हो। यसलाई नीति र प्रवर्द्धनात्मक कार्यक्रममार्फत थप प्रोत्साहित गर्न आवश्यक छ। 

४) नवप्रवर्तन र दक्षता अभिवृद्धि

हरेक संकटले एउटा नयाँ अवसर ल्याएको हुन्छ तर त्यो अवसरलाई चिन्ने र त्यसबाट फाइदा लिन सक्ने हाम्रो क्षमता नहुँदा आएका अवसरहरू गुमाइन्छ। युवाहरूलाई दिगो पर्यटनका लागि उत्प्रेरित गर्न यस संकटपछि नविनतासहित वातावरणमैत्री, दिगो पर्यटन, डिजिटल इन्नोभेसन, संकटको समाधानजस्ता विषयवस्तुमा केन्द्रित उद्यमशीलता जन्माउन स्टार्टअप/सिडक्याम्पको सुरूवात गर्ने।

पर्यटन क्षेत्रमा र पर्यटन क्षेत्रका लागि अग्रपंक्तिमा काम गर्ने जनशक्ति, उद्यमी, व्यवसायी, कामदारहरूलाई दक्षता अभिवृद्धिका लागि नियमित रुपमा तालिम तथा अभिमुखीकरण प्रदान गर्ने। 

५) गन्तव्यहरू र गतिविधिहरूको स्तरोन्नति

बढ्दो पूर्वाधारले आगामी ३ वर्षमा करिब ३५ लाख पर्यटक आउन सक्ने अवस्था देखिँदैछ, जुन एकदमै ठूलो संख्या होइन। 

नयाँ गन्तव्यको खोजी वा विकासमा हामीसँग रहेको सीमित साधन र स्रोत लगानी गर्नुभन्दा विद्यमान मुख्य पर्यटकीय गन्तव्यहरू जस्तै काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा परेका स्थलहरू, पोखरा/चितवन/लुम्बिनी/जनकपुर जस्ता क्षेत्र, राष्ट्रिय निकुञ्ज वरीपरिका क्षेत्रहरू, मुख्य पदयात्रा मार्गहरू र र्‍याफ्टिङ रिभरहरूको सौन्दर्यीकरण, सफाइ, मर्मत, तथा साइनेज स्थापना गरी स्तरोन्नतिका काम गर्ने। जसमा हाल बेरोजगार रहेका पर्यटन क्षेत्रमा संलग्न कामदारहरूलाई लगाउने।

त्यसैगरी बर्दिया, इलाम, धरान, पाल्पा, जनकपुर जस्ता उदयमान पर्यटकीय गन्तव्यहरूको विकासका लागि काम गर्ने।
 
७) आवश्यक समन्वय र पुनरुत्थानका लागि विशेष संयन्त्र र विशेष कार्यक्रम

विगत २० वर्षमा नेपालको पर्यटन विभिन्न खालका संटकहरूबाट गुज्रिनु परेको छ। संकटबाट यथाशीघ्र उम्कने मूल मन्त्र भनेकै एकता, समन्वय र सहकार्य हो। जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिन्छ।

यस्तो बेलामा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराएर एउटा पर्यटन पुनरुत्थनाका लागि संयन्त्र बनाउने। यसले पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको रुपमा काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने, र सन् २०२५ सम्म रिभाइभल र दिगो विकासका लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने। यसले छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्न सक्नेछ। 

८) नीतिगत सुधार तथा उत्प्रेरणाका कार्यक्रम 

संरक्षित क्षेत्रमा पर्यटनमैत्री र व्यवस्थित पर्यटकीय गतिविधि संचालन गर्न, नयाँ विमानस्थलहरूमा वायुसेवा सञ्चालकहरू आकर्षित गर्न, नयाँ प्रविधिमार्फत अध्यागमनमा सुधार गरी नेपाल आवागमनमा सहजता ल्याउन, छायाङ्कनका गतिविधि आकर्षित गर्न, विदेशी इभेन्ट्स र एक्जिविसनहरू बढाउन नीतिगत सुधार तथा उत्प्रेरणाका कार्यक्रम तत्काल ल्याउने।  

पर्यटनको सर्भाइभलसँग रिभाइभल र रिभाइभलसँग थ्राइभल जोडिएको हुँदा यी तीनै पक्षलाई एकीकृत ढंगबाट अघि बढाउन सकियो भने नेपालको पर्यटन छिट्टै पुनरुत्थान गर्न सकिने र भविष्यका लागि बलियो आधार पनि तयार हुनेछ। 

(जोशी नेपाल उद्योग परिसंघका महानिर्देशक, विश्व पर्यटन सञ्जाल संस्थापक कार्यकारी सदस्य र नेपाल पर्यटन बोर्डका पूर्वसीईओसमेत हुन्।)

बिजनेस न्युजको पर्यटन विशेष सामग्रीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

images

प्रकाशित : आइतबार, वैशाख ३ २०८००७:३३

प्रतिक्रिया दिनुहोस