बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कमिसनको लोभमा बेचिँदैछ गुणस्तरहीन बियर : तीनवर्षअघि नै म्याद सकिएको टुवोर्ग बियरमा म्याद थप्दै डिलर

बिहीबार , फागुन ४ २०७९
कमिसनको लोभमा बेचिँदैछ गुणस्तरहीन बियर : तीनवर्षअघि नै म्याद सकिएको टुवोर्ग बियरमा म्याद थप्दै डिलर

डिलरको बदमासीको तथ्य खुलेसँगै डिलर सिलबन्दी गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिएका छन्।

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा बियरहरूले बदमासी गर्दै उपभोग्य मिति सच्याएरसमेत बिक्री गर्ने गरेको फेला परेको छ। बजार अनुगमनमा खटिएको टोलीले मंगलबार धुम्बाराहीमा तथा बुधबार सिनामंगलमा रहेका दुईवटा बियर गोदाम (डिलर)मा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा टुवोर्गका म्याद सकिएका गुणस्तरहीन बियरमा आफै म्याद थप गर्ने गरेको पाइएको छ। बुधबार बजार अनुगमनमा खटिएको टोलीले सिनामंलगको गैह्रिगाउँस्थित संस्कार ट्रेडर्स प्रालि र सिके ट्रेडिङ प्रालिको गोदाममा छापा मारेको थियो। सो क्रममा कम्पनीले २०२० को सेप्टेम्बरमै म्याद सकिएको बियरमा पुरानो मिति मेटेर नयाँ राखी बेच्ने तयारी गरेको पाइएको विभागले जनाएको छ।

यसैगरी गोदाममा राखिएको मुस्ताङ लगायतका बियरसमेत तीनवर्ष अगाडि नै म्याद सकिएको भएपनि नष्ट नगरी राखिएको विभागले फेला पारेको छ। डिलरको बदमासीको तथ्य खुलेसँगै डिलर सिलबन्दी गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए।

दुई दिन गरिएको बजार अनुगमनका क्रममा विभागको टोलीले नाम चलेका विभिन्न ७ वटा ब्रान्डका उपभोग्य मिति सकिएका ८२ लाख ६५ हजार मूल्य बराबरको २ हजार ७ सय ५७ कार्टुन बियर नियन्त्रणमा लिएको थियो।  

विभागले अनुगमनका क्रममा गोर्खा ब्रुअरीको काल्सबर्ग र टुवोर्ग बियरदेखि सानमिगेल, गोर्खा प्रिमियम, नेपाल आइस, बडवाइजर र मुस्ताङ ब्रान्डका गुणस्तरहीन बियर नियन्त्रणमा लिएको हो। यी बियर उपत्यकामा सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा पर्छन्। 

डिलरले म्याद सकिएको बियर न त बजारबाट उठाउँछ न त आफ्नो गोदाममा भएका म्याद सकिएका बियर उद्योगमा नै पठाउँछ। उद्योगमा फिर्ता नपठाउनुको प्रमुख कारण पहिले नै उद्योगसँग लिएको कमिसनका साथै डिलरले बियर नष्ट गरेर अन्त:शुल्क फिर्ता लिन नपाउनु हाे। 

beer 1.jpg

म्याद सकिएका बियर किन बजारमा जान्छ? 

अनुगमनका क्रममा कतिपय बियरमा त पुरानो म्याद मेटाएर डिलरले आफै म्याद राख्न तयार गरेको अवस्थामा समेत फेला परेको विभागले जनाएको छ। उपत्यकामै म्याद सकिएको बियर बजारमा बिक्रीका लागि गइरहेको छ भने गाउँ गाउँमा त म्याद सकिएको बियरको बिगबिगी नै हुने सक्ने विभागको अनुमान छ।

उपत्याकामा सबैभन्दा बढी म्याद सकिएका बियर ठूला-ठूला पार्टीहरूमा जाने गरेको विभागको अनुमान छ। पार्टीहरूमा आम बियर खाने उपभोक्तालाई बियरको बोत्तल दिइँदैन। सिधै बारमा रहेकाहरूले बियर गिलासमा राखेर दिने चलन छ। यस्तो ठाउँमा बढी मात्रामा म्याद सकिएको बियर प्रयोग हुन सक्ने भन्दै विभागले उपभोक्तालाई समेत सचेत हुन भनेको छ।

म्याद सकिएका बियर किन बजारमा जान्छ? म्याद सकिएको बियर नष्ट गर्दा व्यवसायीले अन्त:शुल्क स्टिकर वापतको रकम फिर्ता पाउँछन्। तर अन्य लागत भने खेर जान्छ। अन्त:शुल्क फिर्ता लिनका लागि पनि उद्योगले नै बियर आन्तरिक राजस्वका प्रतिनिधिको रोहबरमा नष्ट गरेर अन्त:शुल्क दाबी गर्नु पर्छ। तर डिलर लगायतका अन्य संरचनाले अन्त:शुल्क फिर्ताका लागि दाबी गर्न पाउँदैनन्। 

व्यवसायीले पनि डिलरहरूलाई उद्योगबाट उत्पादन भएर बजारमा गएको बियर फेरि उद्योगकै फिर्ता नगर्ने वातावरण बनाएका हुन्छ। एक बियर उत्पादन कम्पनीका काम गर्ने कर्मचारीका अनुसार वियर उत्यादन गर्ने उद्योगले डिलरलाई बियर दिँदा बजारबाट बियर फिर्ता गर्न नपाउने गरी केही प्रतिशत कमिसन दिएका हुन्छन्।

ती कर्मचारीका अनुसार डिलरलाई उद्योगले दुईदेखि तीन प्रतिशत कमिसन एडभान्स दिएर बियर बजारमा पठाउँछन्। कमिसनसँगै उद्योगको सर्त हुन्छ, 'बियर जसरी भएपनि बिक्री हुनु पर्छ र उद्योगले म्याद सकिए पनि बियर फिर्ता लिँदैन।' 

डिलरले पनि उद्योगीसँग एडभान्समा कमिसन लिएर बियर उठाउँछन्। उपभोग्य मिति सकिँदा पनि बियर बिक्री नभएको अवस्थामा डिलरले म्याद सकिएको बियर उद्योगमा फिर्ता गर्न पाउँदैन। जसका कारण डिलरले म्याद सकिएका बियर जसरी पनि बजारमा पठाउने ती कर्मचारीले बताए।

डिलरहरूले सबैभन्दा बढी बियर सहरी क्षेत्रको बढी भिडभाड हुने ठाउँमा तथा पार्टीहरूमा पठाउँछन् कि त पहाडतिर पठाउँछन्। भिडभाड तथा ठूला पार्टीमा कसैले पनि बियरको उत्पादन मिति र प्रयोग गर्न सकिने मिति हेर्दैनन्। यसरी कमिसनको लोभमा गुणस्तरहीन बियर बजारमा जाने गरेको छ। 'सहरी क्षेत्रकै गौदाममा म्याद सकिएका बियर छन् भने पहाडी क्षेत्रमा कति होलान्?,' एक डिलरले भने, 'पहाडी क्षेत्रमा त बियरको पनि उपभोग गरिसक्नु पर्ने मिति हुन्छ र? भनेर प्रश्न गर्ने ग्राहक भएका कारण डिलरहरूले गुणस्तरहीन बियर बिक्री गरिरहेका छन्।'

यस्तो छ अन्त:शुल्क फिर्ताको प्रक्रिया 

उद्योगबाट उत्पादन भएपछि ब्रिक्री नभइ म्याद सकिएका बियर नष्ट गराउँदै उद्योगले अन्त:शुल्क फिर्ता लिन पाउने आन्तरिक राजस्व कार्यालय कर अधिकृत तथा सूचना अधिकारी हरिराम ढकाल बताउँछन्।

अन्त:शुल्क फिर्ताका लागि म्याद सकिएको ३० दिनभित्र उद्योगले दाबी गर्दै सम्बन्धित कर कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। निवेदनपछि कार्यालयको सिनियर कर अधिकृतको नेतृत्वमा जिल्ला प्रशासनका प्रतिनिधि, अन्त:शुल्क अधिकृत, करदाताका प्रतिनिधि र उद्योग वाणिज्यको प्रतिनिधिसहितको पाँच सदस्यीय समिति गठन हुन्छ।

समितिले बियरको म्याद सकिएको हो भने मुचुल्का नै गर्नुपर्छ। समितिले कति मूल्यको तथा कति परिमाण हो भनेर मुचुल्का उठाएपछि परिमाणका आधारमा अन्त:शुल्क फिर्ता पाउँछन्। एक लाख रुपैयाँसम्म अन्त:शुल्क कार्यालयबाट नै फिर्ता हुने र एक लाखभन्दा माथिको हकमा आन्तरिक राजस्व विभागबाट हुने ढकालले जानकारी दिए। 

सूचना अधिकारी ढकालका अनुसार ३० दिन नाघिसकेपछि भने अन्त:शुल्क फिर्ताका लागि निवेदन दिन पाइँदैन। अहिले बियरको अन्त:शुल्क प्रतिलिटर २२५ रुपैयाँ रहेको छ।

काल्सबर्गदेखि टुवोर्गसम्मका आधा दर्जन ब्रान्डका गुणस्तरहीन बियर बिक्री गर्नेलाई कारबाही सुरु काल्सबर्गदेखि टुवोर्गसम्मका आधा दर्जन ब्रान्डका गुणस्तरहीन बियर बिक्री गर्नेलाई कारबाही सुरु म्याद गुज्रिएको टुबाेर्ग बियर गाउँगाउँमा म्याद गुज्रिएको टुबाेर्ग बियर गाउँगाउँमा सामान्य पेय बन्दैछ बियर तर, गुणस्तरको मापदण्ड खोइ?  सामान्य पेय बन्दैछ बियर तर, गुणस्तरको मापदण्ड खोइ? 


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend