काठमाडौं- नेपालमा बियर उपभोगको ग्राफ बर्सेनि बढ्दै छ। अझ गर्मीको समयमा बियरको चुस्कीमा रमाउने जमात ठूलो हुन्छ। बियरका पारखीहरु बढ्दै गएपछि बर्सेनी नयाँ-नयाँ ब्रान्ड बजारमा आइरहेका छन्। बियर उद्योगमा ठूलो लगानी भइसकेको नेपाल मदिरा उत्पादक संघको भनाइ छ।
विश्वका प्रिमियम ब्रान्ड नेपालमै उत्पादन हुन थालेका छन्। दर्जनौँ स्वदेशी ब्रान्डका बियर बजारमा छ्यापछ्याप्ती पाइन्छन्। नेपाली बजारमा बहुराष्ट्रिय कम्पनीदेखि स्वदेशी ब्रान्डका बियरको उत्पादन र खपत बढ्दो छ।
वार्सटाइनर, बर्डवाइजर, काल्सबर्ग, टुबोर्ग, किङफिसर लगायत बहुचर्चित बिदेशी ब्रान्ड नेपालमै उत्पादन हुन थालेको छ।
उपभोक्ता बढेसँगै लगानी पनि बढ्दै गएपछि नेपाल बियरमा करिब आत्मनिर्भर भइसकेको छ। विगतमा मदिरा उत्पादन गर्दै आइरहेका व्यवसायीले बियरको बजार बढेको देखेपछि बियर उद्योगमा लगानी गर्न थालेका छन्।
अहिले मदिराको भन्दा बियरको बिक्री दर बढी रहेको संघको भनाइ छ। मदिरा पिउने ग्राहकहरू पनि वियरतर्फ मोडिन थालेका छन्। सामान्यतःः बियर सफ्ट ड्रिङ्क्स भए पनि पछिल्लो समय स्ट्रङ बियरको नाममा मदिरा नै बिक्री हुन थालेको छ।
अहिले मुलुकमा दुई दर्जनभन्दा बढी बियरका ब्रान्ड प्रतिस्पर्धामा छन्। तर बियरका उपभोक्ता बढ्दै गइरहे पनि गुणस्तरको विषयमा कोही सचेत देखिँदैनन्। बियरको गुणस्तरतर्फ कसैलाई वास्ता छैन। मात्र, बियर पिउन पाए भयो। बियरको गुणस्तरको विषयमा सरकार पनि मौन देखिन्छ।
अहिले ४ प्रतिशतदेखि ८ प्रतिशतसम्म अल्कोहल भएका बियर बजारमा पाइन्छ। तर, बियरको गुणस्तर कस्तो छ? कसरी उद्योगले उत्पादन गरिरहेका छन्? कसरी बिक्री वितरण भइरहेको छ? बियरको म्याद कति हुन्छ? त्यसको कुनै यकिन छैन।
बियर उत्पादन कम्पनी तथा बिक्रेतादेखि होटल तथा रेष्टुराले समेत बियरको म्याद सकिन लागेपछि स्किममा बियर बेचिरहेका हुन्छ। पार्टी प्यालेसमा त कस्तो वियर बिक्छ खानेहरूलाई पनि थाहा हुँदैन।
बियर उत्पादक कम्पनी तथा बिक्रेतादेखि होटल तथा रेष्टुरालेसमेत वियरको म्याद सकिन लागेपछि स्किममा वियर बेचिरहेका हुन्छ।
अहिले नेपालमा गोर्खा ब्रुअरी (समर्सबी, टुबोर्ग, सानमिगल, गोर्खा), टाइगर ब्रुअरी (टेन्सबर्ग), यती ब्रुअरी (अर्ना), सिजी ब्रुअरी (नेपाल आइस), माउन्ट एभरेस्ट ब्रुअरी, युनाइटेड ब्रुअरीलगायतले बियर उत्पादन गर्दै आइरहेका छन्। नयाँ उद्योगलाई इजाजत दिने सरकारी निर्णयसँगै बियर उद्योगमा लगानी बढ्दो छ। खाद्यवस्तुको गुणस्तर मापदण्ड बनाउने तथा नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो।
नेपालमा अहिलेसम्म बियरका लागि भनेर कुनै पनि मापदण्ड नबनेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जन बताउँछन्। विभागले हुस्कि, ब्राण्डी, जिन र भोटका लगागत ५ वटाको चाँही मापदण्ड तय भए पनि वियर र वाइनको कुनै मापदण्ड नबनेको महर्जन बताउँछन्।
‘वियर र वाइनको खाद्यले गुणस्तर मापदण्ड बनाएको छैन्,’उनले भने, ‘गुणस्तर तथा नापतौलले स्टान्डर्ड मापदण्ड त बनाएको होला। तर, त्यो बाध्यकारी छैन।'
अहिले वाइनलाई फोकस गरेर मापदण्ड बनाउने विषयमा अध्ययन भइरहेको तर स्पेसिफिकेसन नबनेको उनले बताए। वियरमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख हुन पर्ने उनको तर्क छ। सामन्यतया बियर उत्पादन भएको मितिले ६ महिनाभित्र उपभोग गर्नु उपयुक्त हुने बताइन्छ। उपभोक्ताले पनि बियर पिउँदा सचेत हुनुपर्ने उनी बताउँछन्। तर, १० प्रतिशतभन्दा बढी अल्कोहल भएको मदिरामा भने सकिने म्याद उल्लेख गर्नु पर्दैन।
बियर बिक्रीमा नै शंका
बजार म्याद सकिएको बियर उद्योगमा फिर्ता भएको खासै प्रमाण नभएको टाइगर ब्रुअरीमा कार्यरत एक कर्मचारी बताउँछन्। उनी थप्छन्, 'कतिपय पार्टी प्यालेसले त सस्तोमा म्याद सकिएको वा नभए पनि म्याद जान लागेको स्टकको बियर माग्छन्।'
रेष्टुराहरूमा २ वटा बियर खाँदा एउटा सित्तैमा भनेर टाँसिएको छ भने त्यो बियरको म्याद सकिएको पनि हुन सक्ने वा म्याद सकिन लागेको अवस्थामा रहेको हुने गोर्खा ब्रुअरीमा कार्यरत कर्मचारी समेत बताउँछन्। यसका लागि उपभोक्ता पनि सचेत हुन पर्ने उनको तर्क छ।