काठमाडौं- मासु व्यवसायीहरुले दसैँका लागि खसीबोकाको मासुको मूल्य निर्धारण गरेका छन् । आफूखुशी लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।
व्यवसयीहरुका अनुसार आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार रुपैयाँ, बोसो राखिएकाको एक हजार दुई सय रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य एक हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।
कुखुराको मासु प्रतिकिलो ३०० तथा रागाँ र बङ्गुरको मासु पाँच/पाँच सय रुपैयाँ तोकिएको छ ।
राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए।
'सङ्घबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ । तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए सङ्घबाट कारबाही हुन्छ' उनले भने।