आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

खाद्यले सहुलियत पसलबाट बेच्यो साढे ३८ लाखको चामल, दाङ र मकवानपुरको खसी काठमाडौंमा बेच्दै 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
खाद्यले सहुलियत पसलबाट बेच्यो साढे ३८ लाखको चामल, दाङ र मकवानपुरको खसी काठमाडौंमा बेच्दै 

कम्पनीले यस वर्षको दसैँका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा १ हजार ७ सय खसी तथा बोका ल्याउने जनाएको छ। 

काठमाडौं- सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री गरेको छ।

यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट ३८ लाख ५९ हजार रुपैयाँभन्दा बढीको चामल बिक्री भएको हो। जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ। जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ। कम्पनीले काठमाडौँ उपत्यकामा रहेका चारवटा बिक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ।

त्यस्तै तीन सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल बिक्री भएको न्यौपानेले जानकारी दिइन्।

यस्तैगरी, एक हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ।

दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र आठ हजार २९२ लिटर डिडिसीको घ्यू बिक्री भएको कम्पनीले छ। कम्पनीले दसैँका लागि प्रति किलो खसी तथा बोकामा दश रुपैयाँ छुट दिएको छ। यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा पाँच रुपैयाँ तथा भटमासको तेल र सिमीमा १० रुपैयाँ छुट दिएको छ।

शनिबारदेखि खसीबोका बिक्री

शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ। 'हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ”, सूचना अधिकारी न्यौपानेले भनिन्।

कम्पनीले यस वर्षको दसैँका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा १ हजार ७ सय खसी तथा बोका ल्याउने जनाएको छ। 

दुई जिल्लामा खसी बोका खरिद भए पनि काठमाडौँमा कतीमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, असोज २० २०७८०६:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend