आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

छांगरुमा प्रहरी बस्न थालेको ५१ वर्षपछि सुविधासम्पन्न भवन बनाइँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
छांगरुमा प्रहरी बस्न थालेको ५१ वर्षपछि सुविधासम्पन्न भवन बनाइँदै

नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो। प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ।

दार्चुला- त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो।

नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा छांगरु सीतापुलमा बसेको थियो। प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ। प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो। छांगरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो। भवन निर्माणका लागि निर्माण व्यवसायी, प्रहरी पुगेर भवन निर्माण शुभारम्भ गरेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले निर्माण हुने भवनको शिलान्यास गरेका छन्।

पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुईतले ११ कोठे भवन निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए। भवन निर्माणको शिलान्यास गरिएको छ। अबको दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने छ। भवन निर्माणका लागि कूल दुई करोड दुई लाख ८५ हजार ५१९ रुपैयाँ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता गरिएको थियो।

भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ। भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो। यो क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिँदैन। अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ। भवन निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी सरियाको व्यवस्थापन गरिएको छ। 

भवन निर्माणका लागि आवश्यक तीन हजार ५०० क्युफिट काठका लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ। सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ। भवनमा काठको प्रयोग बढी हुने र छांगरुमा चिसो हुने भएका कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको प्रनाउ भट्टले बताए। छांगरुको नीतिकुण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी बस्ने गरेका छन्। विगतमा पुरानो जीर्ण भवनमा प्रहरी नबस्दा तस्करले भेडा-बाख्रा राख्ने गरेका थिए भने भवनमा आगो लगाइदिने गर्थे। रासस


प्रकाशित : बुधबार, असोज २० २०७८०५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend