आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

१७ हजारले लिए नयाँ बसपार्कबाट अग्रिम बस टिकट 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
१७ हजारले लिए नयाँ बसपार्कबाट अग्रिम बस टिकट 
फाइल तस्बिर

काठमाडौंको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। 

काठमाडौं- काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्। गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो। यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्। 

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए। 'कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्', उनले भने। कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। 

काठमाडौंको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको सङ्ख्या न्यून रहेको बताए। 'निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ', उनले भने। 

सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ। रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ। रासस


प्रकाशित : मंगलबार, असोज १९ २०७८०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend