भक्तपुर- भाटभटेनी सुपरमार्केटलाई सरकारी बजार अनुगमन टोलीले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमन क्रममा भाटभटेनीले चिनीमा अधिक नाफा खाएको भन्दै कारबाही गरेको हो।
भाटभटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी ८९ रुपैयाँमा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको भन्दै कारबाही गरिएको हो। चिनी बाहेक बोतलको पानी २६ रुपैायँमा खरिद गरेर ४५ रुपैयाँमा बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रतिकेजी मूल्य नखुलाइएको भन्दै भाटभटेनीलाई कारबाही गरिएको हो।
भाटभेटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तु एकै स्थानमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको छ । भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ । भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार रुपैयाँ जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताए। उनले भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरीत नाफा ८० देखि ३०० प्रतिशतसम्म राखेको पाइएको उनले जानकारी दिए।
खाद्यान्न, तेल, घीउ, चिनी लगायतमा २५ देखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै ३०० देखि ४०० रुपैयाँ बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिए।
हर्बल मिसावट चिनीमा आधा किलोको १५८ रुपैयाँ मूल्या राखेको पाइएको थियो। रासस