आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।

काठमाडौं- उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो। सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। शुक्रबारदेखि लागू गरिएको निषेधाज्ञा अर्काे आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।

कोभिड १९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ। चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ। चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ। यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ। सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ। उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ।

होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ। सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ। स्थानीय ढुवानी राति १ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी राति १ देखि बिहान ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, असोज १५ २०७८०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend