लमजुङ- लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन। सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो।
जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन्। तीमध्ये एक हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपाङ्गता भएका व्यक्ति र २३ जना एचआइभी सङ्क्रमित व्यक्ति रहेको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी अनुपमा रेग्मीले बताए। जिल्लामा गत माघ महिनादेखि यो कार्यक्रम लागू भएको छ। यो कार्यक्रमबाट हालसम्म ५१ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए। कार्यक्रममा लागि जिल्लाका ७५ वटा वडामा एक/एकजना गरी ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार तीन हजार ५०० रुपैयाँ र पाँच जना भन्दाबढी परिवारका सदस्य भएमा प्रतिसदस्य ७०० का दरले शुल्क तिर्नुपर्ने हुन्छ। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भने पाँचभन्दा बढी भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्कमा थप हुँदै जाने व्यवस्था छ। स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधि उपचार पाइने दर्ता अधिकारी रेग्मीको भनाइ छ। उनका अनुसार बीमा कार्यक्रममा आवद्ध सदस्यले सूचीकृत अस्पतालबाट मात्रै निःशुल्क उपचार सेवा पाउने व्यवस्था छ।
जिल्लामा चार वटा स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध छ। हालसम्म जिल्ला अस्पताल लमजुङबाट मात्र यो सेवा लिएको बताइएको छ। जिल्ला अस्पतालमा हालसम्म ८०६ जनाले बीमाबापतको उपचार सेवा लिएका छन्। यीमध्ये ५३४ महिला र २७२ पुरुषले यो सेवा लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए। उनका अनुसार उनीहरुले यस अस्पतालबाट औषधिउपचारमा १० लाख रुपैयाँ बराबरको सेवा लिएका छन्। बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ।
यहाँका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अपाङ्गता भएका एवं रातो कार्ड भएका र एचआइभी सङ्क्रमितलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको दर्ता अधिकारी रेग्मीको भनाइ छ। त्यस्तै, महिला स्वयमसेविकालाई भने ५० प्रतिशत छुट दिएको उनको भनाइ छ। रासस