आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विश्व पर्यटन दिवसमा ७ जना उद्यमीलाई परिसंघको सम्मान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
विश्व पर्यटन दिवसमा ७ जना उद्यमीलाई परिसंघको सम्मान

परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको छ। उनीहरू पर्यटन प्रवद्र्धन एवं विकासमा सक्रिय रहेको भन्दै परिसंघले सम्मान गरेको हो। 

काठमाडौं- नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ। विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले उनीहरूलाई सम्मान गरेको हो। 

परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको छ। उनीहरू पर्यटन प्रवद्र्धन एवं विकासमा सक्रिय रहेको भन्दै परिसंघले सम्मान गरेको हो। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताए। उनले नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैँ तयार रहेको उल्लेख गरे। 

‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दीगो बनाउन महिलाको भूमिका महत्वपूर्ण छ,’ उनले भने। नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन्स लिडरसिप फोरम र पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा सचिव कोइरालाले नेपाली वस्तुको उत्पादन वृद्धि गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आग्रह गरे। 

सचिव कोइरालाले परिसंघले अघि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानले स्वदेशी वस्तु उत्पादनमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे। कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दीगो आर्थिक विकासको आधारशीला तयार गर्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने बताए। नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थान आवश्यक रहेको उनले उल्लेख गरे। 

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्यको रूपमा रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको बताए। विभिन्न देशले नेपाललाई ‘रेड लिस्ट’मा राखेको भन्दै त्यसलाई हटाउन परिसंघले पहल गर्नेमा जोड दिए।  

यसैगरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील बनाउन सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताइन्।  

परिसंघ पर्यटन समितिकी सभापति पम्फा धमलाले सरकारले दिएका सुविधा वास्तविक लाभग्राहीले पाउन नसकेको बताइन्। उद्यमीले सरकारबाट सहयोगको अपेक्षा गरेको उल्लेख गरिन्। 


प्रकाशित : सोमबार, असोज ११ २०७८१४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend