सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कर्णालीका मुख्यमन्त्री भन्छन् - ऋण लिएर सेयर बजारमा लगानी नगर्नुस्  

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ४ २०७९
कर्णालीका मुख्यमन्त्री भन्छन् - ऋण लिएर सेयर बजारमा लगानी नगर्नुस्  

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी पनि गरे।

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन्। सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिए।

मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गरे। 'सेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन', उनले भने, 'सेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, सेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस्।' 

कर्णालीमा पुँजीबजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उनले विकासको गति, पुँजीबजार सचेतना, बैंकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गरे। उनले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताए।

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उनको भनाइ थियो। 'चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन सकिन्थ्यो', उनले भने, 'विगतका कमजोरी सच्याइएको छ, बहुवर्षीय योजना र क्रमागत योजनालाई पूरा गर्न बजेट केन्द्रित गरिएको छ।'

सचेतना कार्यक्रममा पुँजीबजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले प्राथमिक सेयर भर्ने प्रक्रियामा सुधारसँगै सेयर बजारप्रति आकर्षण बढेको बताए। उनले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा प्रवेश गर्दा भने पुँजीबजारको विषयमा बुझेर र आवश्यकमात्रामा समयको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पुँजीबजार अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको धारणा राखे। त्यस्तै नेपाल उद्योग परिसङ्घका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै सेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताए। रासस


प्रकाशित : शनिबार, असार ४ २०७९१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend