सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

शनिबार, असार ४ २०७९
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

गौरीफन्टा नाकामार्फत व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए।

सुदूरपश्चिम- प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताएका छन्   

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताएका हुन्। 'गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ' देउवाले भने। 
 
गौरीफन्टा नाकामार्फत व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए। नेपाल-भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै उनले कटान रोकथामका लागि पहल गरिने बताए। धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रुपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजंगलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो। 
  
नेपाल संघीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गए। जनताका काम छिटोछरितो ढंगले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरे।  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि प्रदेश सरकार स्थानीय पालिकासँग साझेदारी गर्न पछि नपर्ने बताए। उनले पश्चिम सेती जलविद्युत परियोजना र प्रस्तावित गेटा मेडिकल कलेजलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहल हुन जरुरी रहेको बताए।  
 
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले पाँचवर्षे कार्ययोजना अघि बढाएको जानकारी दिए। 'सुदूरपश्चिमको प्रवेशद्वार धनगढीको विकास र समृद्धिका लागि प्रदेश र संघीय सरकार विकासका काममा साझेदार बन्न आवश्यक छु' उनले भने। 
 
नेपाल सरकार र उपमहानगरपालिकाको सात करोड २३ लाख ४५ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण भएको हो । पाँचतले उक्त भवनमा ३५ कोठा रहेका छन्। रासस


प्रकाशित : शनिबार, असार ४ २०७९०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend