सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रतिनिधिसभा बैठक : पहिरोपीडितलाई उद्धार गरी राहत दिन माग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
प्रतिनिधिसभा बैठक : पहिरोपीडितलाई उद्धार गरी राहत दिन माग

सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
       
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय माग गर्दै उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको जानकारी गराए। 

उनले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरे। सांसद भट्टराईले ताप्लेजुङमा बाढी पहिराको प्रकोपले जनजीवन त्रसित बनाएको हुँदा पीडितको राहत र उद्धारका साथै काजकिरियाका लागि आवश्यक सहयोग र उपचारका लागि व्यवस्था गर्नसमेत सरकारसँग माग गरे। पहिराका कारण विद्युत्, टेलिफोन र यातायात अवरुद्ध भएको र सञ्चालन गर्न सरकारसँग आग्रह गरे।
       
सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा (माओवादी)का चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरे। उनले घटना हेर्दा व्यक्तिगत रिसिइवीका कारण भएको जस्तो देखिएको हुनाले सत्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गरे। निजको हत्या घरभन्दा ५०/१०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शङ्का उत्पन्न भएको र हत्यामा संलग्नको आशङ्कामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराए।

सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गरे। उनले हनुमन्ते खोलाको दायाँबायाँका डुबान पीडितलाई क्षतिपूर्ति दिन माग गरे। 

सांसद कृष्णभक्त पोखरेलले महिलाविरुद्ध हुने हिंसाका विषयमा संविधान र कानुनमा व्यवस्था गरे पनि यौनहिंसाका घटना बढ्दै गएकोप्रति सरकारकोे ध्यानाकर्षण गराए। रासस


प्रकाशित : शुक्रबार, असार ३ २०७९०९:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend