सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भयो चेम्बर एक्स्पो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २ २०७९
स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भयो चेम्बर एक्स्पो

अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको छ।

काठमाडौं- आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु भएको छ।

पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। कोभिड-१९ सङ्क्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो।

पाँचौँ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको चेम्बरले जनाएको छ। चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने चेम्बरले बताएको छ।

मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ। यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ। मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरू, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ।
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बङ्गलादेश पार्टनर कन्ट्रीको रूपमा रहेको छ। मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसमेत गरी १५० बढी स्टलहरू रहेका छन्। कोभिड-१९ बाट शिथिल अर्थतन्त्रलाई  क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए। 

अन्तर्राष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रहेको छ। रासस


प्रकाशित : बिहीबार , असार २ २०७९०७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend